Jump to content

Page:Tarun tapasi.pdf/93

From Nepali Proofreaders
Revision as of 21:07, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
चतुर्दश विश्राम


अलि बेर पछी तपोधन
तपसीको मुखपद्म पावन ।
ढकमक्क भयो पुरा पुरा
चुहिहाले मकरन्द झैं कुरा ॥


खिचातानी हेर्दै गरम पसिनाको छक परी
झुकेको मौकामा प्रकृतिजननीले शिरभरी ।
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
जुटे जस्ले गर्दा अतिथि अघि झैं लाखन थरी ॥


लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
जती जस्ले पायो भरशक लुछ्यो लालच धरी ।
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
उदेकायें खाली नलिइ पिर वा दर्द मनमा ॥


गरी यै ढाँचाले परहित सदा भक्तिसहित
बिते मेरा सुस्तै विजनपथमा वर्ष बहुत ।
भयो फुस्रो धुस्रो तन पनि कडा कालगतिले
सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥


म भोग्थें वर्षेनी जुन विभवले चोट अरुका
लुछिन्थें, लाछिन्थें, उहि सब भयो कारण फुका ।
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
म लागें एकाकी फगत उहि छायासुख दिन ॥