Jump to content

Page:Tarun tapasi.pdf/63

From Nepali Proofreaders
Revision as of 20:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१५
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि ।
वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा
उनैको छातीमा सब लय हुँदैछन् निमिषमा ॥

१६
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
सिपालू, उद्योगी, गुरुसदृश यो विश्वभरको ।
बुझोस् ता यस्ले त्यो परहितमहामन्त्रमहिमा
दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम बहिमा ॥

१७
कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा ।
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
कठै मेरा आँशू तरतर बहन्छन् किन किन ?

१८
हजारौं यै जस्ता मनुज मनमौजीपन धरी
हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी ।
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
मित्यारी लायेका अति कठिन कारुण्यरहित ॥

१९
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
लडेको त्यो भोको पथिकतिर लाटोपन धरी ।
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
अहो कस्तो कालो समझ तिनको त्यो हरि हरि ॥

२०
गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि ।
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
अहो त्यस्तो नीचो पतन किन यो मर्त्यमनको ?