Jump to content

Page:Tarun tapasi.pdf/68

From Nepali Proofreaders
Revision as of 20:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित ।
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
अहो कस्तो लीला ? प्रकृतिजननीको हरि हरि ॥

१०
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको ॥

११
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायें शिरभर सबै लर्कन सरी ॥

१२
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुलासाना नाना थकित बटुवाका नजरको
भयें मानू तारो उस बखत त्यो मार्गभरको ॥

१३
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो ।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥

१४
खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
घुमीहाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल ॥