३
म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा
परी भागीहाले विगह बिचरा दूर वनमा ।
बिझयो काँढो जस्तै कठिन घटना त्यो नयनमा
घृणा ज्यादा लाग्यो मनुजमतिको त्यो पतनमा ॥
४
चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखें सकल पृथिवी त्यो बखतमा ।
दिशा देखें मैला, वरपरि सबै शैल धमिला
नदी देखें काली शिव शिव उनै पुण्यसलिला ॥
५
यती चाँडै मेरो किन कसरि आँखा धमिलियो ?
तमासा यो क्या हो ? भुवन किन मैलो सब भयो ?
भनी हेर्दा हेर्दै वर पर कठै विश्वभरमा
उही देखें कालो कुरुचि भरियेको इथरमा ॥
६
अहो यस्तो कालो विकट परहिंसाकुरुचिले
बिगारेको वातावरण कुन दैवी सुरुचिले ?
सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा
म एक्लै झोक्रायें नयन युग चिम्ली विजनमा ॥
७
उडेंछू त्यै वेला चपलगति सङ्कल्परथमा
चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा ।
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
गयो गल्दै गल्दै, स्थिति अगम झल्क्यो भुवनको ॥
८
मजा मानी नीलो नभजलधिमा निर्भय बुडी
घुमी पौडी खेलें, प्रणयसित यद्वा लडिबुडी
सुनें त्यै वेलामा अगम रसिला लाखन कुरा
खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा ॥
Page:Tarun tapasi.pdf/50
Appearance
This page has not been proofread
