Jump to content

Page:Tarun tapasi.pdf/38

From Nepali Proofreaders
Revision as of 20:44, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


तपस्याको अग्लो भवनबिच चढ्ने असजिला
कडा दैवी बाधामय अति नराम्रा खुडकिला ।
सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि
भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि ॥


त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी
ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी ।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
जगत्को कल्याणव्रतविषयमा साहस बढ्यो ॥


सबै आऊन्, पाऊन् प्रणयसुखद्वारा हृदयको
कसैलाई मेरो नगिच नरहोस् नाम भयको ।
म भन्थें झुम्मिन्थे पथिक सब, राती तर तिनी
नबस्नाले हुन्थें मन मन अली खिन्न म पनि ॥


म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
चुलोचम्को लाई खचित नगिचै लाखन शिला ।
उता मीठो पानी, सब तरहले वास सजिलो
थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो ॥

१०
त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो
दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो ।
नजाने केले हो ? अलि दिनपछी ग्राम्यजनको
ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको ॥

११
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
चिने चौकी चाक्लो उपर छपनीले सम गरी ।
म त्यो चौकीमाथी झलमल बनें गोल गजुर
कठै गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥