Jump to content

Page:Tarun tapasi.pdf/37

From Nepali Proofreaders
Revision as of 20:44, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
पञ्चम विश्राम


वचनामृत त्यो पियें जति
दिलमा प्यास बढ्यो अहो उति ।
अब त्यो कब पाउँला भनी
अडियें निश्चल दीप झैं बनी ॥


चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्यो सानू रेखा स्मितकिरणको ओष्ठपुटमा ।
खुल्यो जोडी लामा कमलदल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैं वदनको ॥


निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोकलहरी ।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि ॥


बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥


थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको ॥