१५
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी
उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी ।
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी
तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि ॥
१६
कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना
सबैमाथी गर्दै जिउ जकडले शीतल टुना ।
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो
विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो ॥
१७
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो
हुँदै आयें, पायें कठिन तपको स्वाद गुलियो ।
अघीको शीतोष्णप्रभृति सब बाधा पर सर्यो
विधाताले मानू अभय पदमा दाखिल गर्यो ॥
१८
त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी
सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी ।
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन्
धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन् ॥
१९
नयाँ हावा लाग्यो, जलथल भयो मञ्जुल नयाँ,
नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ ।
नयाँ बोलीचाली, विषयरुचि निस्क्यो सब नयाँ
नयाँ भैगो मानू समयगतिले गैह्र दुनियाँ ॥
२०
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी
फिँजारी चौतर्फी मधुर सुखसौन्दर्यलहरी ।
वसन्तश्री गर्थिन् सब तरुलतामा चहचह
छचल्किन्थ्यो जस्ले प्रणयरसको निर्मल दह ॥
Page:Tarun tapasi.pdf/35
Appearance
This page has not been proofread
