This page has not been proofread
३४
त्यसै वेला यौटा विधिनियमको दर्पण बनी
चुँडेको चङ्गा झैं शिथिल रविको मण्डल पनि ।
गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी
गुते अग्ला अग्ला हिमशिखरले कान्तिपगडी ॥
३५
झर्यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको
विवेकाऽऽलोकश्री रहित मनझैं मन्दमतिको ।
म डुबें त्यै कालो तमजलधिमा त्यो समयमा
घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा ॥
३६
यसरि हृदयहारी भावगम्भीर भारी
सरस सरस सानू सूक्तिनिस्यन्द झारी ।
मुनिवर बनिहाले मौनभावाऽभिराम
अलिछिन मन मेरो चक्करायो तमाम ॥