This page has not been proofread
१
बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी ।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्तिमाधुरी ॥
२
चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथें यो चोला जुन बखतमा लोकहितको ।
उसै वेलादेखी जुन जति सहें कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥
३
म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौं जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥
४
सहारौं, सम्भारौं, अशरण छ यो बालक भनी
मलाई को हेर्ने ? उस बखत मायावश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै अन्धा जस्ता; विषयविषले व्याकुल अति ॥
५
कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी ।
म थर्कन्थें, भन्थें पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिंड जमिनमा, अन्ध नबन ॥