१८
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी ।
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
अहा कस्तो कस्तो अगम छविमा तन्मय भये ॥
१९
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा ।
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥
२०
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्यरसको
ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
तुरुन्तै उत्रे ती, हृदयबिच लाग्यो किरिकिरी ॥
२१
म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्गद थियें ?
कसो भो ? के के भो ? किन म सहसा बेगल भयें ?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
घुमे निक्कै तृष्णातरल कवि फेरी फनफनी ॥
२२
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
बिचैमा भेट्टाये विधिवश कुनै दिव्य तपसी ॥
२३
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा ।
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
जटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥
Page:Tarun tapasi.pdf/15
Appearance
This page has not been proofread
