This page has not been proofread
७
सेतो कमलको छाता मञ्जरीमय चामर ।
ऋतुराजत्वका चिह्न देखिन्छन् अति सुन्दर ॥
८
भुमराहरु वीणाको दिव्य झङ्कार गर्दछन् ।
गुणगायक भै पक्षी गानमा तान भर्दछन् ॥
९
बर्र बर्र लतावृक्ष लावा झैं फूल छर्दछन् ।
पुतली नर्तकीतुल्य नाचदै अघि सर्दछन् ॥
१०
मलयाऽचलको वायु लगातार सिरीसिरी ।
कलिला पालुवारूप पङ्खा हम्कन्छ सुस्तरी ॥
११
सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रथ ।
शान्तिको जल छर्केको खुला आनन्दको पथ ॥
१२
सारा वन बगैंचामा सजायेको छ आसन ।
ऋतुराज उतैबाट गर्छ त्यो शुभशासन ॥
१३
दिव्य आनन्दको रङ्ग, दिव्यकान्तितरङ्ग छ ।
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ॥
१४
त्यो दिव्य रङ्ग पायेका लतावृक्ष वनस्पति ।
देखिन्छन् योग्य नेताका रैती झैं उन्नताऽऽकृति ॥
१५
सानातिना सबैमाथि फैलियेको छ गौरव ।
योग्यको आड पायेको बिग्रला को कहाँ कब ?