This page has not been proofread
खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि।
पानी अलिअली दिन्छ मेघ कञ्जूस झैं बनी।।
वर्षाको त्यो महादानी मेघको महिमा सब।
गरीबीपनले हो कि खुम्चियेछ पुरा अब?।।
न त पानी कतै बस्छ न कतै भल चल्दछ।
प्राणीको शास्तिका साथ खालि जमिन गल्दछ।।
वातले खुम्चिनूपर्ने अँध्यारो माघको झरी।
बताउनै बडो गाह्रो दुःखीको जीवनीसरी।।
न ज्यादा जल वर्षन्छ न त आकाश खुल्दछ।
दुःखको भोग झैं लम्बा झरी लम्लष्ट चल्दछ।।
कर्मजञ्जाल झैं मैलो झरीका वशमा परी।
गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा सरी।।
धुनीमा सब धुम्मिन्छन् श्रद्धासाथ घरीघरी।
दुःखमा देवताजस्तै भगवान्को वरीपरी।।
कोही काखविषे राखी अग्निले पूर्ण अट्टल।
योगी झैं परमाऽऽनन्दी बस्छन् बाँधेर पट्टल।।
लामा लामा बिरालीको गोडामा ताँति लाग्दछ।
तैपनि घरमा मूसो असाध्यसित जाग्दछ।।