This page has not been proofread
दायाँ बायाँ दुवैतर्फ हान्दै खोला दगुर्दछन्।
संसारमा छुचा यस्तै काममा अगि सर्दछन्।।
जरा खनेर खोलाले खसाले तीरका रुख।
छोटाको आड लागेर मिलदैन कतै सुख।।
सारा कीटपतङ्गाऽऽदि आत्तिये भेलमा परी।
दारिद्र्यले डुबाएका भारतीय प्रजासरी।।
घुमाई लहरीहात दौडन्छन् नाचदै नदी।
दानी पयोदको दिव्य झल्काई कीर्तिकौमुदी।।
लडाउँदै मुढा ढुङ्गा खहरे गड्गडाउँछ।
छोटो मानिस मौकामा ज्यादा जोश बढाउँछ।।
कलिले श्रौतयागामि कर्म झैं बटुवाकन।
झरीले बाटबाटैमा रोकेको छ प्रतिक्षण।।
पार जाने डुँगा साँघु उडायो भलले सब।
छोटो बढेपछी विघ्न नगरी छोडला कब?।।
हिले आहाल देखिन्छन् धमिला भलले भरी।
ज्यादा दुर्वासनाजाल जमेका हृदयैसरी।।
फुलाएर गला धोत्रो काढी सङ्गीतको धुवाँ।
हिले आहालमा पाहा गर्न थाले टुवाँटुवाँ।।