घरमा आई माउर लाई नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे समाई,
'कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
छ मैना भयो खसम हजूर ! गएको ह्लासामा ।
बिस्र्यो है क्या र ? हजूरलाई तरुनी-खासामा ।
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?'
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो;
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो ।
खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू !
म अरु जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू !
सुन्दर सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा ।
गुलाफ आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले
बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,
लज्जाले खुम्ची भाग्दछ देही
के माटोबाहेक हात लाग्ला केही ?
मुस्कान देऊ फुस्कन देऊ बास्नामा मधुर,
बास्नाले मात्र सौन्दर्य छोऊ
आँखाको लोभ आँसुले धोऊ
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले ।