Jump to content

Page:Munamadan.pdf/42

From Nepali Proofreaders
Revision as of 17:02, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

बज्रको झिल्का चड्केर गई आँधीको पुछार,
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार ।
कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,
औँसीको कालो आकाश-छाना घरको माथि छ ।
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,
अँध्यारोसँग मिसिएजस्तो टुकीको तुवाँलो ।
रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको,
भुल्काले आँखा बाटुला लायो रुखमा भाँचेको ।
कलिलो रुख पिटिक्क भाँचेको ।
पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला;
औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला ?
हा कठैबरी ! भिजेका परेला !
सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,
बुहारी मूच्र्छा इन्तु-न-चिन्तु माथिको तलामा,
ती मुना कठै ! नीली भै पलामा !
दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप,
छातीमा हात, आँखामा आँसु, मनमा विलाप,
बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्तैन,
दैवले देखे कसरी हेर्छ ? कलम लेख्तैन !
त्यो कालो सर्प बनाई मुटु कसरी उठायो ?
मदन मरेको कसरी चिठी गुण्डाले पठायो ?
सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल,
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल !

'के देख्न आएँ ? हे मेरी आमा ! के देख्नुपर्‍यो नि ?
हे मेरी आमा ! हे मेरी आमा ! यो छाती चिर्‍यौ नि !
आमा ! यो छाती चिर्‍यौ नि !