Jump to content

Page:Bhikari.pdf/7

From Nepali Proofreaders
This page has been proofread

हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेको,
दिन दिनको त्यो छातीमाथी
चिरा चरक्क चिरेको ।


अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरी भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै,
'चामल एक मुठी ।'
जीवनभरको एक पुकारा
'चामल एक मुठी ।'


मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन ।
भाईहरुसँग भिक्षाको यो
मुठी दयाको याचना ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।


को होला यो, कसको छोरा ?
कसको बाबु गरीब ?