Page:Mhendu.pdf/18: Difference between revisions
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 17:37, 3 May 2025
[१]
रानी जुनेली
चाँदी उजेली,
राज्छिन् हेलम्बु
सेर्पा झोलुङ्गो !
[२]
ढुङ्गा फुल्ला फुल्लामा
पानी बोल्ला बोल्लामा
थुँगा हिल्ला हिल्लामा
टह टह जून ।
[३]
भन्छिन् हिन्दु कुरंगी
उसका आँखा कोस लामा
जलभर जलभर
टलपल छन्
वसन्तको वन ।
[४]
बाबा गम्बोजी
आगो फिलिङ्गो ।
नछोड् भन्दछ
सेर्पा झोलुङ्गो ॥
[५]
आँखा टलपल ती
पार्छिन् अंबुजा !
गुम्बु भन्दछन् दुखी दिलधुजा
"हाम्लाइ रोक्नमा
उनलाई के मजा ?"
आँखा आँखामा
जूझी रसायो ।
पीर्ति पीर्तिमा
बोल्ने जल आयो ॥
[६]
आँखा पुछी ती
मीठी वनचरी
आँखा चिम्लिन्छिन्
आँखा मन भरी ।
[७]
"छोड म्हेन्दु जून रानी मलाई !
गेरु रँगाउँला
केको दुख हाई ।
म्हेन्दु छीटो अँगालो, हाल्छिन् !
बल्लरी रोई फूलफूलमा
दाना बर्बरी !
[८]
"नजाऊ" भन्दछन्
फेरि त्यो घरमा !
हामी मरौंला
झुण्डी यो बरमा ॥"
[९]
आँसु रुमालले
पुछी बर्बरी ।
गुम्बु भन्दछन् ।
प्रेमका निर्झरी ॥