Jump to content

Page:Tarun tapasi.pdf/97: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated

Latest revision as of 18:14, 17 June 2025

This page has been validated

२१
गयो बढ्दै चढ्दै किन किन ठुलो पूजन-कला
मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला ।
अनौठाको आडम्बर उदित भो मर्त्य-मनमा
कठै ! त्यस्सै भाग्यो श्रुति-विहित-अध्यात्म वनमा ॥

२२
महात्मा भै कोही फगत पर-निन्दाकन गरी
म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी ।
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी
कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी ॥

२३
निचोरी निर्धाका रगत-पसिना घूस बटुली
ठुलो पूजासामासहित लिइ बोकाहरु बलि ।
कुनै पूजा गर्थे 'जननि ! खुसि होऊ' भनिकन
म रुन्थेँ त्यो देखी मनुज-मतिको उग्र पतन ॥

२४
क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो
हजारौँ के लाखौँ मनुजहरुको भीड उनियो ।
अहा ! त्यो वेलाको अति मधुर मेला रमझम
थियो यौटा भारी चटकमय भाग्योदय-सम ॥

२५
हजारौँ धर्माऽऽत्मा जनहरु तहाँ रात-दिवस
बसी गर्थे लाखौँ किसिमसँग सद्धर्म-बहस ।
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये
नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये ॥

२६
अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो
क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो ।
उज्यालो, देखौवा तिलक अति सानू अबिरका
निशाना भैहाल्यो विधिवश कठै ! धर्मतिरको ॥