Page:Tarun tapasi.pdf/83: Difference between revisions
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 21:26, 15 June 2025
१२
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा ।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
भनेँ मर्मस्पर्शी वचन उसलाई अलिकति ॥
१३
तँ सानै छस् बाबू ! तर तँसित आलोक-कणिका
हुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा ॥
१४
हजारौँ तैँ जस्ता पुरुषहरु पैले पिलिपिली
गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।
गये वा जाँदैछन् तँ पनि तिनि झैँ कत्ति नडरी
अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥
१५
तँ सानू, त्यो सानू किरण-कण, सानू गतिविधि
कठै ! त्यो झन् सानू, निविड तम-विच्छेदन-विधि ।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥
१६
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न आँखाले भेट्छन् चपल-बिजुली दर्शन-खुशी ।
अहा ! त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
तँमाथी वर्षन्छन् प्रणय-फुल मेरा उतिउति ॥
१७
न त्यो तेरो तातो छवि छ रविको झैँ अति कडा
न त्यस्मा क्यै देख्छू तुहिनकरको शीत-बखडा ।
अनौठाको, सानू तर मधुर आलोक-गठरी
म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥