Jump to content

Shakuntala: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Line 1: Line 1:
<pages index="Shakuntala.pdf" />
<pages index="Shakuntala.pdf" from=1 to=378 />

Latest revision as of 23:36, 24 June 2025

नेपाली
शाकुन्तल
(महाकाव्य)

लक्ष्मीप्रसाद देवकोटा नेपाली
शाकुन्तल
(महाकाव्य)

लक्ष्मीप्रसाद देवकोटा प्रकाशक : साझा प्रकाशन
संस्करण : पहिलो (ने. भा. प्र. स. बाट)

दोस्रो, २०२५
तेस्रो, २०३४
चौथो, २०४४
पाँचौँ, २०४८
छैटौँ, २०५४
सातौँ, २०६१
आठौँ, २०६३
(साझा प्रकाशनबाट सातौँ पटक, २१०० प्रति)

आवरणकला :टेकबीर मुखिया
मूल्य : रु. १३७।-
मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर
फोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६

ISBN: 99933-2-518-x
वक्तव्य

नेपाली महाकाव्य आइसल्याण्डको सर्पजस्तो थियो । मलाई अभाव पूरा गर्ने इच्छा पह्लाएर आएकोले लेखेँ । लेखेँ तीनै महिनामा राति राति बसेर फुर्सदमा । कलम बिजुली झैं दौडयो, तर कति उज्यालो आयो म भन्न सक्तिनँ । समितिको व्याकरणमुताबिक लेख्ने प्रयास गरेकीले ठाउँ-ठाउँमा वैयाकरण- बलिदान दिनुपरेको स्पष्ट देखिएला । पुरानो शैली नै अपनाउन खोजियो- वार्णिक छन्दमा । विस्तार नै यसको गुण र अवगुण होला । के यो नेपालीमा प्रदान ठहरिन सक्छ ? त्यो भविष्यको नजरलाई । अहिले अभावपूर्तिको रूपमा खडा छ । ६०० पेज पुग नपुग, तीन महिनाको फुर्सद-फुर्सदको काम, कति राम्रो भइहाल्यो होला र ? संस्कृत प्रचुर मात्रामा प्रयोग गरेको देखिएला । त्यो म सम्झन्छु यस किसिमका रचनालाई आवश्यकीय। ज्यादा लामो हुनाले 'तीन महिनामा रचना तीन वर्षको पढाइ' भन्ने उखान निक्लेला जस्तो छ । पट्टयार जरूर लाग्ला । पण्डितहरूलाई ठाउँ-ठाउँमा आधुनिकताले तर्साउँछ, ग्रयाजुएटलाई संस्कृतले, साधारण पाठकलाई विचारको र शब्दको क्लिष्ट नवीनताले । म पर्छु बीचको शून्यमा । लोकप्रियता टाढै रहोस्‌, बुझेर पढिदिने एक हातको औंलामा गन्न पाए काफी छ । दोस्रो संस्करणमा यसलाई राम्रोसँग संशोधन गरूँला भन्ने आशा गर्छु । अहिले त्रुटि धेरै होलान्‌ । म सदा समालोचकको त्रासमा रहन्छु । हुन त समालोचकको छेड कतै कुतकुत्याउँछ, चिलाउने ठाउँमा कन्याइदिन्छ, कतै लिखा परेको ठाउँमा ठुङ मार्छ, घाउ चिरिदिन्छ, रालसिङान पुछ्दछ । व्याकरणले तर्कुल्या-बर्धन्याको दायाँ-बायाँको घुम्टाे ठाउँ-ठाउँमा मिलेन भनेर नाक चेप्रयाउने अवकाश कहीं पाउला तर रसिक अर्कै चीजमा रमाउला ।

कविता कोमलवनिता
रसयति रसिक रसेन सम्मिलिता

तब धेरै किन ? यो एउटा भगीरथको गङ्गा हो, थाप्लामा बोक्न मुश्किल छ, एक बार यस्तै भयो । पछि अझ राम्रो गरूँला ।

लक्ष्मीप्रसाद देवकोटा

डिल्लीबजार

॥:श्री:॥

नेपाली शाकुन्तल महाकाव्य

प्रथम सर्ग

(शार्दूलविक्रीडित)

चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ॥
बिर्से झैँ "भन को तिमी" यति भनी गौरी रुलाईकन ।
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥
(१)

चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।
गम्किन्थे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे ।
त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ॥
(२)

मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ॥
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै ।
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥
(३)

बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति ।
हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ॥
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली ।
श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ॥
(४)

आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने ।
मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ॥
चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने ।
ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥
(५)

गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा ।
चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा ॥
काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो ।
हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो ॥
(६)

माटो हो हुनता तथापि गहिरा आँखा हुने सज्जन ।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ॥
जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो ।
जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ॥
(७)

आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा ।
गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा ॥
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ?
यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका दारिद्र्यका चित्र छन् ॥
(८)

यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता ॥
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन ॥
(९)

छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर ।
सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर ॥
सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता ।
हामी दीन र हीन बन्नु छ भनी लेखें पुरानो कथा ॥
(१०)

लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन ।
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर ।
लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥
(११)

नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन ।
रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी ।
सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥
(१२)

बिर्सेका तकिया बनून् रसिकका शैलादि झैँ शीतल ।
तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥
जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको ।
कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा ।
(१३)

पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीनीका चलून् ॥
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥
पृथ्वी हून् तरुनी, फरक्क समयै फर्कोस् सुनौला बनी ।
ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥
(१४)

बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी ।
सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा ।
जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥
(१५)

उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ?
जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ?
मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन ।
हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥
(१६)

भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥
(१७)

भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥
(१८)

दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥
(१९)

के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्‌चके ।
"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥
(२०)

कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥
(२१)

गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जुहारहरुका झल्झल् लडेथे लडी ॥
उर्लेको खहरे तिनै सुर लिई हाम्फाल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥
(२२)

"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥"
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥
(२३)

मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥
(२४)

"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥
(२५)

"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै ॥
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥
(२६)

जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥
(२७)

"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।
जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥
(२८)

अर्ती, बुद्धि छ चाहिने यदि भने भेटून् यहाँ गौतमी ।
बूढी सुन्दर चाउरीहरु हुने मेरो रुचाऊन् कथा ॥
मातालाइ शकुन्तला छ करमै 'थप्या' र 'थप्या' दिन ।
भज्ने स्वर्ग छ पाउने झिलिमिली देखेर आरोहण ॥
(२९)

देखून् सज्जन हातले नजर क्यै छेकेर टाढातिर ।
यो प्राचीन जगत् सुदूर युगका छेडी सबै बादल ॥
नाचून् पात्र सजीवतासँग यहाँ हृद्‌रङ्गमा देशको ।
थोरै बेर जिऊन् दरिद्र दुनियाँ प्राचीन आनन्दमा ॥
(३०)

ठूला नीति सिकून्, प्रजाहरु सिकून् सद्‌भक्तिको माधुरी ।
ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी ॥
जानून् गर्न विलास दिव्य यसमा सारा नवाबी जन ।
बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ॥
(३१)

हामी बालक हौँ भुलेर युग यो, याे क्रूर कोलाहल ।
बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ॥
यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा ।
ल्याऔँला नवगन्ध पुष्प हँसिला पोल्टाभरी बासना ॥
(३२)

पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी ॥
गालाबीच गुलाफका कमल झैँ सेतो चढाई कर ॥
फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी ।
मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी ॥
(३३)

प्रेमीमुग्ध हुँदी कुरङ्गनयनी ओजस्विनी कामिनी ।
प्रेमीसाथ बसी पढून् प्रियकथा फुल्दा छहारीमनि ॥
मारी चारु कटाक्ष ती तब भनून् "भुल्छन् कसोरी नर" ।
"भुल्नेछन् भँवरा, म भुल्दिनँ" भनी प्रेमी दिऊन् उत्तर ॥
(३४)

झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुक्कुर झैँ रमी हृदयले योगी डुलून् कानन ॥
"रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" ।
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥
(३५)

हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ॥
पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूमा नशा ॥
(३६)

पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्यसरि भै मागोस् सदा काव्य यो ॥।
(३७)

चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ॥
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ॥
(३८)

स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ॥
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून् ॥
(३९)

माटैको अझ गन्ध फूल फलमा, खानाहरूभित्र छ ।
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ॥
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ॥
(४०)

(वियोगिनी)
सुन मिष्ठकथा सुवाषिणी,
मृदुमाधुर्यविलासमोहिनी ।
वनशीतलवारिवाहिनी
शिवसत्‌सुन्दरतानिनादिनी ॥
(४१)

सुन कोविदकालिदासको
कलकल्लोलकलास्वलङ्कृता ।
रचनाप्रतिबिम्बिनी कथा
सब यो भारतको प्रिय-ज्यथा ॥
(४२)

वसुधा हरियो गरी सुधा-
जल छम्की बहुरङ्ग-सम्पदा ।
युगनाममिलिन्दगुञ्जिनी
छ नदी झैँ कुसुमायना कथा ॥
(४३)

मरुपान्थ ! नदी छ शीतल
पसिना सुक्न ! सुगन्ध-मञ्जुल ।
मृदु वन्य हवा हिलाउँछ
जलकल्लोल प्रसन्न मञ्जरी ॥
(४४)

हिँड सुन्दरको विदेशमा
चिडिया आज बनूँ उडी त्यहाँ ।
ढकमक्क सुगन्ध छाउने,
वनमा नीड रचेर गाउने ॥
(४५)

कलिकल्मषहीन कालिनी
कनकाभा छ उषा चिरन्तनी ।
ऋषिजीवनले रमाइली
छ हरा शावकको वनस्थली ॥
(४६)

जल चञ्चल कल्कलाउँदी
वन फुल्दो तटमा सुहाउँदो ।
मुदृ मर्मरका मिठासमा
सपनातुल्य कथा छ बासमा ॥
(४७)

सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी-
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
(४८)

म त जान्छु, हिँडेँ सखे ! अब
किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
कविका काननमा सुधाऽऽसव ॥
(४९)

हडबडसित लेखेँ छैन उस्तो मिठास ।
गडबड कति पर्छन्; मर्दछन् भित्र आस ॥
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
(५०)

द्वितीय सर्ग
(मालिनी)

विपिन छ बहु-शाखा-रम्य, ऊँचा विशाल ।
विटपदलहरुकाे शीतल स्निग्धजाल ॥
बहु-विहगहरूले गुँज्छ जो चल्मलाइ ।
पवन-चपल बास्नादार पुष्पादि पाई ॥
(१)

वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।
कलकल जल खेल्ने चल्मलाएर चाँदी ॥
सरस मृदु मुनाका स्वादजिज्ञासु साना ।
दुधमुख मृगबच्चा खेल्दछन् नित्य नाना ॥
(२)

मृग सुखसँग खेल्छन् हेर पाेथी कन्याई ।
मखमल हरिया छन् मस्त उग्राइलाइ ॥
बहुल विपिनबल्ली नाच्दछन् दिव्य हल्ली ।
पिक नव-रव बाेल्छन् मञ्जरीभित्र चिल्ली ॥
(३)

शहर छ पशुकाे झैँ पत्रकाे छत्रदार ।
किसलय-कलि पन्ना लुर्किने रङ्गदार ॥
जल-लवसित मुक्ताहार झैँ झर्छ दाना ।
विविध विटप खम्बा छन् अलङ्कार नाना ॥
(४)

ध्वनित पवनले छन्‌ बाँस बाजा वनैया ।
चिरबिर चुँचुँ चुच्चो चारु चल्छन्‌ गवैया ॥
महल छ लहराकाे क्या हरा ! फूलदार ।
मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥
(५)

छिरबिर कति बुट्टा छन्‌ कलाका छहारी ।
मधुरगति मरुत्‌ले डोल्छ पड्खा फिँजारी ॥
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव ।
पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥
(६)

'शहर पर हरामा रम्य यो तारतम्य ।
वन विजनपरीको सिर्जना झैं अचम्म ॥
रविकरकन छेकी पालुवाले हजारौँ ।
प्रकृति हृदय खोल्छे ध्यानका दृष्टिद्वारा ॥
(७)

हरितवसनवाली पुष्पमाला धरेकी ।
जललव टप लाई, वल्लरीमा झरेकी ॥
अमृतकिरण प्यूँदी काखमा ली खरायो ।
छिरबिर वनमा के शान्तिको राज्य छायो ॥
(८)

प्रथम घर कलाको व्यासको पाठशाला ।
प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥
कुसुमहरु यहाँ छन्‌ वेदका पत्रतुल्य।
सृजन प्रलयका छन्‌ चित्र राम्रा अमूल्य ॥
(९)

गगनपथ यहाँ छन्‌ आउने सत्‌प्रभात ।
यस वनतिर झर्छन्‌ तारकाबाट भाव ॥
पवन पनि अनौठा चल्छ कानेखुसीले ।
प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥
(१०)

कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना ।
विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥
यस वनतिर जाँदा कल्पना बन्छ छीटो ।
तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥
(११)

रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन्‌ ।
शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन्‌ ॥
मधुर प्रकृत बाली देवताबाट फल्छन्‌ ।
कतिपय धन मिल्छन्‌ जो जगत्‌मा हुँदैनन्‌ ॥
(१२)

अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥
छिरबिरसित भारी रम्य पारी छहारी ।
मधुमय विधु ओर्ली डुल्दछन्‌ भै विहारी ॥
(१३)

तरल जलपरीका नागिनीतुल्य झीना ।
रजतपयर नाच्छन्‌ स्वप्नभन्दा मसीना ॥
विधुकर तल पर्दा झल्मलाएर बोली ।
'कल कल कल' भन्छन् ती मिलाएर लोली॥
(१४)

झलमल नभ नीला झूल झैं झल्ल पारी ।
तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥
अचल पवन अड्दा स्तब्धता ली निशाले ।
विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥
(१५)

कुसुमित छ यही नै सत्यशाखाप्रशाखा ।।
कुसुम विहग बन्दै पाउँछन् आदिभाषा ॥
प्रकृति सृजद्वारा चारुताका विचित्र |
मनुजहृदय खिच्छिन्‌ सत्यतर्फै पवित्र ॥
(१६)

कुसुमयुत हवामा निस्किनामा शिखारु ।
विषम भुइँभरी त्यो खज्मजाएर चारु॥
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
निविड विपिन राम्रो हेर गोदावरीको ॥
(१७)

(शिखरिणी)
यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
जगज्जेता बन्ने प्रबल मनमा कीर्तिशिखर ॥
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
तपस्याकाे बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
(१८)

थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
महाज्ञानी मानो मुकुटमणि झैँ मानव महान्‌ ॥
प्रशाखा फैलेका बहु विषयका कीर्तिहरित ।
महादानी भूभृन्मणि अब बसे पादपतल ॥
(१९)

जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
उठूँ छाडी छोटा विषयधन यी पार्थिव भनी॥
सबैलाइ राम्रा कुसुमधन झार्दा नूपवर ।
जगत्‌को निद्रामा तरुसरि समाधिस्थ अब छन्‌॥
(२०)

नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ?
हराले बाँधेका तटकन चुमेका कलकल ॥
उज्याला झल्का दी जल-लहर बेरेर रसिला ।
जहाँ बम्छिन्‌ श्रद्धा जलधिकन सम्झेर सरिता ॥
(२१)

नदी छर्छिन्‌ सारा घन झिलिमिली चारु करले ।
न हीरा भन्छिन्‌ ती, न त सुन न मोती लुँगलुँग ॥
बगाई ती चादीँ, महलहरु छाडीकन पर ।
सबै छन्‌छन्‌ भन्छिन्‌ उछलिइ उतै भक्तिरसमा ॥
(२२)

हँसीलो चाला ती जलधितिर पाषाणपथमा ।
कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥
भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' ।
थिइन्‌ बास्ना फुल्दी मुनिमन-लतातुल्य असल॥
(२३)

त्यहाँ सुत्थे सुन्दै चिरसमय पाषाणपथमा ।
लिई निद्रा मीठो कलकल कुराका महलमा ॥
त्यहाँ 'धानी' भयाउ च्यवन ऋषिकाे झै छ गहना ।
त्यसै भुल्थे आफ्नो परुषपन ती झङ्क्रित बनी॥
(२४)

सधैँ झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरी ।
हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥
अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी ।
सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥
(२५)

सुधा झर्थ्यो मीठो शशिवदनको शीतलतम ।
हवा सुत्थ्याे पातै पनि अचल बन्दै हरदम ॥
सुषुम्ना झैं बाङ्गो जलपथ कुनै नागरमणि ।
बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥
(२६)

पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी ।
नदी देखी भज्दी खुश दिल बनी ब्रह्मजलधि
दुवै आँखा चिम्ली दिवस र निशातुल्य सुचिर ।
बसे ध्यानी राजा सुरपुर गराई थरहर ॥
(२७)

न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल ।
पलेँटी मार्थे ती तरूमनि चुनी शीतल थल ॥
दुवै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा ।
उदाएका देख्छन्‌ शशिवदन पीयूष-करमा ॥
(२८)

थुनेका छन्‌ दोटै श्रवण बलले भित्री मनको ।
छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥
असङ्कल्पी ध्यानी विमलदिलका, पर्वतसरि ।
निशामा छन्‌, अड्दा पवन, नचलेका रउँ-मुना ॥
(२९)

अँध्यारो भो सारा जगत अब कालो तिमिरता ।
निभे बत्ती कालारँग सब मिली कृष्णरँगमा ॥
उज्यालो भो यौटै कमलदिलको भै विकसित।
बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥
(३०)

गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका ।
उडे पत्रे बोक्रा, जब ऋषि बसे शान्त तपमा ॥
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई ।
उठे बज्रीलाई अब भय महाभीषण दिई ॥
(३१)

हरे ! हामी भन्छौँ त्रिभुवन जितौँ शस्त्र-बलले ।
गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥
अहा ! सत्‌को प्यारो सुखद पथमा शान्त विजयी ।
अशोकै छन्‌ यौटा कि त अघि थिए काैशिक यिनै ॥
(३२)

परीक्षा ठूला छन्‌ जटिल तर यो शान्ति-पथमा ।
करोडौँ सेना छन्‌ समर पनि छन्‌ शान्त रणमा ॥
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले ।
जिते सारा आफैं अमरपति जित्छन्‌ सहजले ॥
(३३)

परीका गाला झैं रसमधुर प्यालाहरु लिई ।
विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥
सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल
बनाई राज्‌ गर्थे, तर डर पसी विह्वल बने ॥
(३४)

सुरीला फुल्दा ती सुरवनपरी, बैँस असर ।
उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
गलालाई गुँथ्थे अति ललितमाला हरदम ॥
(३५)

तिनै नाच्थे छम्छम्‌ कुसुमपदले कोकिल-ध्वनि ।
पखेटा फर्फर्‌ भै रससहित लच्कीकन घुमी ॥
जुनेली जादू झैं वसन पतलामा अधखुला ।
नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
(३६)

नटी नाच्थे छम्छम्‌ गिरि-विपिनका निर्झर कला ।
छरी हीरा झल्झल् लहर हँसिला, नृत्य रसिला ॥
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
(३७)

करोडौँ द्याैताका मुकुट-मणिले पाउ सजिने ।
रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान्‌ ।
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान्‌ ॥
(३८)

गडड्गड्‌ गड्कन्थ्याे घनमहिम भै शक्ति जसको ।
चचड्चड्‌ चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
झझल्‌झल्‌ झल्कन्थ्यो घनु पनि जगत्‌का नजरमा ।
तपस्वीको ठूलो बलअघि त्यही दन्छ डरमा ॥
(३९)

तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
जटाजूटी ध्यानी, परम प्रभुका सन्निधि भई ।
उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
(४०)

डराएका उँँचा सुरपति चिहाई तलतिर ।
झुकी सोच्छन्‌ “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन्‌ सुरभवन-साम्राज्य सहज ।
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
(४१)

थिए काला ठूला असर बलिया नित्य झगडे ।
असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥
न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन्‌ मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)

छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
यहाँ क्वै जित्दैनन्‌ प्रबल तपलाई असिबल ॥
प्रहारीको आफैँ थरहर भई काँप्दछ कर ।
अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस्‌ हाल-खबर ॥”
(४३)

लिई आई प्याला मधुर मदवाला जब परी ।
सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन्‌ बज्रीले सजलनयनी भैकन चली ॥
(४४)

सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ ॥
जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका ।
बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥
(४५)

त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन्‌ प्रबल तप त्यौ जित्न जतन ॥
(४६)

तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
महामायाद्वारा विचलित बनाईकन यसो॥
बडा बज्री जस्ता पनि कपट ली कातर भए ।
बडा द्याैता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥
(४७)

बुझे बज्रीले यो प्रबल तपको तापहरण ।
तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥
ननाघी स्वर्गैको झिलिमिलि जगत्‌को जितिलिने ।
परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥
(४८)

मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥
तर हरि ! कविता यो कालिमाले छ काली ।
यससँग दिन बित्छन्‌ खानुपर्ने छ गाली ॥
(४९)

तृतीय सर्ग
मेनकाऽऽगमन

(तोटक)

सुन बादल भो सुन सूर्य भए ।
सुरद्वार खुल्यो सुनको नभमा ॥
सुनको भव भो सुनको जलले ।
सुन तार बजाउँछ कल्कलले ॥
(१)

सुनको छ सिँढी सुरमार्गसरी ।
अलि लाल गुलाब छरी हँसिलो ॥
झलमल्ल समुज्ज्वल कान्तितिर ।
दिन हेर्छ सुवर्णपुरीशिखर ॥
(२)

अब दिव्य हिरण्मयको प्रहर ।
दिन पुग्दछ स्वर्ग उडी सहजै ॥
सुन-पङ्ख लिई सुनको चिडिया ।
मन देख्दछ क्या ! सुनको शहर ॥
(३)

सपना दिउँसै सब चक्षुअघि ।
सुनबाट सुगन्धसमान खुल्यो ॥
अब शीतल शान्त समीरणले ।
मन लग्दछ सुन्दर-मन्दिरमा ॥
(४)

पृथिवी सुनले सब छाइदिँदा ।
सुरका पुरको सुन कान्ति हुँदा ॥
सुरलोक भनीकन देवपरी,
छकिईकन आउँदछन् कि झरी ?
(५)

दिनको सपना रचना रसिलो ।
अब पुग्छ चढी सुनको शिखर ॥
रविले कवि भै छवि छाइदिँदा ।
अब धप्प भयो सुनको शहर ॥
(६)

म त हेर्दछु आज रही तटमा ।
वनमा जलको सुन-छल्छलमा ॥
दरबार बनाउँछ कल्कलले ।
घनका प्रतिबिम्बित टल्पलमा ॥
(७)

सुन झन्झन छन्छन शब्द भरी ।
घुँघुरा जलका श्रुतिरञ्जन छन् ।
अलि-गुञ्जन झैं जल-भञ्जन ती ।
सुन मञ्जुल शब्द सुनाउँदछन् ॥
(८)

लहरी कति भयाउ किनार हुँदै ।
झलमल्ल झरीकन छर्बरिंदै ॥
हरिया भुइँमा बहुरत्न लडी ।
लयदार बने झलमल्ल गुडी ॥
(९)

हरियो वनमा नव बैंस हुँदा ।
नव पल्लवका अधराऽसवले ॥
मदमत्त छ कोकिल काल बुझी ।
वनबीच वसन्त र स्वर्ग सुझी ॥
(१०)

ऋतुराज छ आज यहाँ वनमा ।
छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
छ फुलेर हुँदो सपना सरस ॥
(११)

लतिका पतिका सुकराश्रयमा ।
सुनको पलमा ध्वनि कोमलमा ॥
"सुनकेश परी तल हेर, झरी !"
अति शब्द सुनेर फुली नखरी ॥
(१२)

सुनकी तनकी सुनकेश परी ।
जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
विहगाबलिले कति चारु बनी ॥
(१३)

कि त मायिक मोह रची झलल ।
सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अब मोह रँग ।
करबाट बढाउँछ झन् दुगुना ॥
(१४)

मृगशावक हेर फुरुक्क पयो ।
सुनको दुनियाँ जब सामु भन्यो ।
पिउनाकन वारि नदीतटमा ।
जब त्यो शिशु चञ्चल भै दगु ॥
(१५)

म त एक परी मृदुलाधरकी ।
मृदु रेशममा हरियो वनको ॥
पतला भुइँमा बहुपुष्प जडी ।
सँगिनी यस ठाउँ बनाउँदथें ॥
(१६)

कुसुमाऽधरका मदिरा बटुली ।
मधुमस्त बनी तरुमूलतिर ॥
जलका घुँघुराहरुबाट कथा ।
कति दिव्य रचेर सुनाउँदथें ॥
(१७)

उ मुसुक्क गरेर गुलाब बनी ।
कति हाउ र भाउ झिकेर अनि ॥
वनकी महिमासरि कान दिने ।
म बुनी दिलमा सपना कहने ॥
(१८)

म बताउँदर्थे कसरी दिलमा ।
सुन साँझ पसी सब सभ्य बने ॥
कसरी चिडिया पनि गान बने ।
कसरी कविता जलबाट बुने ॥
(१९)

अनि ल्याउँदथें जलरत्न पनि ।
उसका शिरलाइ जुहार दिन ॥
अनि निर्झरिणी सुनकी सुनिँदा ।
उत नृत्य बनी म त गाउँदथें ॥
(२०)

उनका मृदु अङ्ग प्रसङ्गसँग ।
कुसुमान्वित भै मलयाऽनिलमा ॥
सब प्राकृत प्रेरणले रसिला ।
प्रबलीकृत भाव हिलाउँदथे ॥
(२१)

अनि अस्फुट पल्लव भावहरू ।
मृदु आउँदथे उनका मनमा ॥
सुन छाउँदथे उनका शिरमा ।
सुन तार बजाउँदथें करमा ॥
जल झल्झल प्रेम लिई गहमा ।
रहँदा वनमा उनका सँगमा ॥
(२२)

वनकी महिमा उ सजीव तिनी ।
किन चाहनु मर्त्यसुता सँगिनी ॥
सब नृत्य गरीकन भाव भरी ।
नजरैअघि हेर यही मधुरी ॥
(२३)

तपको मद भङ्ग हुने ऋतुमा।
यस सुन्दर काननमा नृपति ॥
गह बन्द गरी अवहेलनले ।
रहँदा तर इन्द्रसमेत गले ॥
(२४)

(द्रुतविलम्बित))
कनककान्ति छ बादल खुट्किला ।
सुरपुरीतिरको नभ सान्ध्यमा ॥
पयर चट्ट उचाल्न तयार ती ।
उपर हेरन ! चित्रित मेनका ॥
(२५)

समय सुन्दर सान्ध्य सुवर्णको ।
मदनमन्दिरमा वन पर्णको ॥
जलनिनाद लिँदी ललितांशुका ।
तल झरिन् पृथिवीतिर मेनका ॥
(२६)

मधुर शिल्पकला जिउँदो बनी ।
युवति चित्र उडान तयार छ ।
कुसुमबीच वसन्तविहारको ।
नृपतिका दरबारसमीपमा ॥
प्रकृत पड्ख लिएर सुहाउँदो ।
सदृश छन् नभमा अब अप्सरा ॥
सुन गुलाब त्यहाँ सब फुल्दछन् ।
मधुर पड्ख फिंजी मृदु बोल्दछन् ॥
(२७)

"तल भरूँ कि" भनेर दिनान्तमा ।
सुरपुरी रहने 'छवि' साँझको ॥
कनकपङ्ख ढलक्क गरीकन ।
अधरलाल मुसुक्क जसो गरी ॥
शिखर झील रँगाउन हेर्दछन् ।
अब त्यसै उनले पनि गर्दछन् ।
(२८)

तल भरूँ कि भनेर त्यहाँ तिनी ।
लघुतनी हलुकासँग ओर्लिइन् ॥
कुसुम त्यै मनले मलयाऽनिल-
चपतमा धरणीतिर झर्दछन् ॥
(२९)

शबल पङ्खहरू तरुमा अडी ।
तल सफा जल प्यूँन मसक्क भै ॥
प्रथम फर्फरले अघि हुत्तिई ।
उर अगाडि दिई अलि कर्किदै ॥
(३०)

जुन प्रयत्न गरीकन दृष्टिको ।
मधुर पात गरी तल हेर्दछन् ॥
सदृशता त्यसको उनमा थियो ।
जब तिनी पृथिवीतिर फर्किइन् ॥
(३१)

बहुत दूर हुँदा चिडिया थिइन् ।
जलद उज्ज्वलका चयबीचमा ॥
अब बनिन् सुमुखी तल ओर्लिंदी ।
कवि घनीकृत झैं सुषमा कुनै ॥
(३२)

हृदयव्योमसुवर्णविहारिणी ।
मधुरमादकपङ्खप्रसारिणी ॥
विहग आवलिले कलभाषिणी ।
अनुपमा सपनासरि छन् तिनी ॥
(३३)

मदनशासनकाल धरातिर ।
मृदुलपड्ङ्ख रँगीन सुरेख भै ॥
कुसुमरम्य उडीकन आउँछन् ।
पवनमा हलुका गतिले भरी ॥
(३४)

नजर सूक्ष्म नभै नरको तर ।
गगन देख्न कठोर छ सुन्दर ॥
सदृश छन् लघु-पङ्ख-प्रचालिनी ।
सुरपुरी वनकी कुसुमाङ्गिनी ॥
(३५)

मधुर छन्द थियो कविता परी ।
प्रकृतपङ्ख लिएर बहेसरि ॥
सुनहलापन बीच रमाउँदो ।
हृदय सिर्जनको नव बागमा ॥
नजरले सुखका क्षण शान्तमा ।
अलसपड्ख गरी पृथिवी सब ॥
हृदयरम्य विहार बनाउँदा ।
जलदरङ्ग लिँदो मृदु भागमा ॥
(३६)

सुनहला चिडियासरि साँझकी ।
अब बराबर हॉकिन वेगले ॥
अनि बराबर लाउन चक्कर !
उरअगाडि दिईकन बैंसका ॥
लहरले, रस चारु धकेलिने-
जलद फुल्छ जहाँ तहमा तह ।
गगनमा सुषमा अब ओर्लिइन् ॥
(३७)

हृदयकी सुषमा सुरदेशकी ।
त्रिदशमन्दिरद्वार खुलाउँदी ॥
वचनवर्णन धूसर पार्दछिन् ।
अवनिमा गह दी मनमोहिनी ॥
(३८)

सुखद दृश्य मनोहर देखियो ।
घर, पुरी, वन, शैल, नदीभरी ॥
सकल सूक्ष्म सुरूप लिने गरी ।
अलि अलौकिक नव्य छ माधुरी ॥
(३९)

गिरि बने गज झैं ।
वन रोम गजुर हैम शिवालयमन्दिर ॥
सकल छन् पुतली शिशुको सरि ।
सलिलका पथ छन् मृदुरेखित ॥
(४०)

शहर छन् सब अल्प मनोहर ।
मधुपका घर मैं बहुखण्डका ॥
सडकका पनि सूत्र विचित्रका ।
अवनिका पटमा तनु तानिने ॥
(४१)

वन छ मिर्मिर दूर भईकन ।
सब छ अल्प हुँदा मृदु मोहनी ॥
अनि कतै कुइरो अलि निल छ ।
सब बताउन सक्तिन लेखनी ॥
(४२)

अवनिका सुखको मृदु मोहनी ।
सकल सुन्दरको लव गोल झैं ।
रजतरात्रि प्रभा सुघनीकृता ।
कुसुममाथि हिमाम्बु बनी भन्यो ॥
(४३)

कुसुमलोल समीरणले गरी ।
मधुर प्रेरण सत्त्वर फर्किई ।
विटपमा परिवेष्टित वल्लरी ।
वदन हेर्न मनोहर कर्किई ॥
(४४)

सुन सफा दुनियाँतिर आउँदी ।
अब त्यहाँ मुनियाँ वनकी कथा ॥
कति फुरुक्क फरक्क उ फर्किई ।
मधुर शब्द सुनाउन बिर्सिई ॥
(४५)

किनकि ती कनकाभ सुकालमा ।
मधुरपङ्ख चलीकन गाउँथिन् ॥
सदृश गाउँछ स्वर्णचरो दिन ।
जलधि चुम्बनलाई उडी पर ॥
(४६)

अविदिता सुषमा सुरदेशकी ।
श्रवणमा मनको मृदु मर्मरी ॥
तुहिन हेम हुँदा गिरि कानन-
तिर सुदूर झरेसरि निर्भर ॥
मधुर पड्ख प्रचारण गर्दछिन् ।
जब धरातिर ती तल झर्दछिन् ॥
(४७)

नव अलौकिक वाद्यहरू भरी ।
नसुनिने मृदुल स्वर-मञ्जरी ॥
कवि बनेर सुनेसरि बागमा ।
मृदुलको कुसुमाकर आउँदा ॥
(४८)

म त अहो अब बढ्न कठोर भो ।
मृदुलका सब शब्द मिलन् कहाँ ॥
वदन दृश्य भई अब लेखनी ।
लटमुखासरि हेर्दछ मोहनी ॥
(४९)

सकल अक्षर मञ्जु वसन्तका ।
अधखुला कलिकासरि कोमल ॥
हृदय सौरभगुञ्जनसूचना-
सहित मात्र भए महिमा भरूँ ॥
(५०)

तदपि एक छ शब्द बयानको ।
उ छ विचित्र अनिर्वचनीयता ॥
युग अनेक मिलिन्द बनूँ भनी ।
जसअगाडि बने नित बेपता ॥
(५१)

जुन शरद् ऋतुको विधुको रँग ।
तुहिन शुभ्रशिखाऽऽवलिशासन ॥
वदनको रँग सोहिसमान छ ।
जुन चकोरमनोहरप्राण छ ॥
झलकबीच अनन्त बन्यो पल ।
अब झिलिक्क बनीकन मञ्जुल ॥
(५२)

वदन मानव झैं तर तेजिलो ।
अमरपुष्पसमान अरू अघि ॥
झलक एक सुनाउँदथ्यो यही ।
"सुरपुरी सुनले लटरम्म छ ॥"
(५३)

अमृत ओज थियो सुकुमारिता ।
कुसुमका तनुबाट बनेसरि ॥
वदन शिल्पकला रचनासरि ।
विधु गिज्याउँदथ्यो मुखबाटुला ॥
(५४)

मृदुल अञ्चल क्रौञ्च भुवाबुना ।
गगनका गतिले अलि लत्रियो ॥
कुसुम पत्र सफासरि लत्रियो ।
मधुर फर्फर बीच प्रवातको ॥
(५५)

पिहित छन् स्तन चूत बढालु झैं ।
सुरपुरीलतिका उर बाँध्दछन् ॥
फल लुकाउन फूल जडीकन ।
शरम राख्न सुगन्ध समाउँछन् ॥
(५६)

उर अधोगत देख्न वनस्थली ।
पुलकसाथ बनी कुसुमाऽऽवलि ॥
पिक मदालस बोल्छ "कुहू कुहू ।
" मधुर प्रश्न गरेर मुहुर्मुहुः ॥
(५७)

सुरपुरी सब हेर्दछ, रङ्गको ।
मृदु घडाहरु दृश्य-भरी छरी ॥
लहर बन्छ समीरण सुस्तरी ।
श्रवणमा मुनिको मृदु मर्मरी ॥
(५८)

तर उनी नसुनी दृढमौन छन् ।
जड त्यहाँ जब रुन्झुन गर्दछन् ॥
तटशिला पनि सुन्दरले छँदा ।
सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥
(५९)

अब झरिन् धरणीतिर अप्सरा ।
मधुरपङ्ख निमीलित भै चरा ॥
विटपका करमा करले अडी ।
मृदुलतासरि छन् तरुमा जडी ॥
(६०)

सलिलदर्पणमा मुख हेर्दछिन् ।
अब म भन्दिनँ त्यो मुखमाधुरी ॥
कुन बयान ? बने कति अप्सरा ।
जल तथा थल औ. उरमा परी ॥
(६१)

प्रथम पुष्प प्रकाशक पद्मको ।
उर छुने उनको बुझ उच्चता ॥
तदपि अल्पवयस्क छ त्यो रस ।
अमर- षोडश-बैंस-मदालस ॥
(६२)

पयर ती चतुरा छमछम् चले ।
लहरमा सम दीकन चञ्चले
विगहका सब मूक गला खुले।
अधर फर्फर भै ऋषिका चले
(६३)

मधुर कम्बरमा कर कोमल ।
कुसुमतुल्य दिईकन लच्किँदै ।
चपल चॉप सजीकन नर्तन ।
लिन तयार भइन् मृदुलाधरा ॥
(६४)

यदि यथार्थ खुलासित लेखियोस् ।
तब बयान हुँदा बहुतै धनी ॥
अवनितर्फ कुबेर झरीकन ।
"म छ गरीब" भनीकन धाउँथे ॥
(६५)

धवल जॉघ थिए कदलीदल ।
रहरका रसिला अलि पेशल ॥
मधुर मसृण मादकता भरी ।
दुइ हिले हलुका हँसिला खुली ॥
(६६)

पयर छम्छम चल्छ कला-लघु-
म उपमा कुन चीजविषे लगूँ ?
मदनका वनमा गुनकेसरी ।
पहिरिने कि त काश्मिरमा परी-
तिर कुनै तुलनापदमा पुगेँ ?
(६७)

कि पर रेशमको घर चीनमा ।
मधुर किम्बु टिपेर पहाडमा ॥
अधर लाल गरीकन गाउने ।
युवतिका पद भन्नु मनोरम ?
(६८)

धनुष दिव्य खुली रँगले भरी ।
अवनिनिम्ति तृषार्त भरी भरी ॥
विविध रङ्ग सिँगार लिने परी ।
शवल-पड्ख मयूर निवासिनी ॥
सुख झरीकन हेर्न जसो गरी ।
झिलिमिली शिखिपङ्ख फिंजाउँछे ॥
मधुर नाच्न झमाझम माधुरी ।
अब चलिन् त्यसरी सुरसुन्दरी ॥
(६९)

मलय- मन्द- समीर - सुगन्धको ।
धन लिनाकन कोमल कोषको ॥
विकच सुन्दरतासँग निस्किँदा ।
मधुर हाव र भाव गरीवरी ॥
कुसुमिता लतिका वनकी परी ।
मुकुलदार विभूषण भुमिकई ॥
नव लिई नखरा अलि गम्किई ।
तनु हिलाउँदछन् नव बैंसको ॥
रँग सिँगार लिएर जसो गरी ।
कनक- पड्ख हुँदा दिन माधुरी ॥
अब उही नखरासित नाच्दछिन् ।
(७०)

पयरको गति चारु छ मोहनी । '
मृदु मना भुइँमा मरणै पनि ॥
पयरस्पर्श मिले अमृतै भनी ।
सकल अर्पणनिम्ति तयार छन् ॥
तदपि फेरि उठीकन भन्दछन् ।
"छुनु हरा नवजीवन बन्दछन् ॥"
(७१)

अब लता, तरु आ तृण, पात नै ।
मधुर दोलन ताल दिने भए ॥
गगनमा छवि लाल सबैतिर ।
मदनकी मदिरा रँगिली बनी ॥
(७२)

अब दिवाकर राज्य अनङ्गको ।
झलल पार्न गई जलमा डुबे ॥
कमलिनी उरमा भँवरो धरी ।
नयन चिम्लिननिम्ति तयार छ ॥
(७३)

हरर मंग्मग बासहरू चले ।
मृदु समुच्छ्वसित प्रणयाऽऽसव ॥
मधुर भै दिनको प्रखर प्रभा ।
तरु गलासँग बद्ध छ कामिनी ॥
(७४)

किसलयी अबला कुचकोमला ।
मधुर पर्न ढिटी पिकको गला ॥
शरमलाल उरोरुह छेक्दथी ।
अब फुकी अवगुण्ठन फ्याँक्दछे ॥
(७५)

सुरभिका शरले उर भेदिने ।
विविध रङ्ग दिईकन भावमा ॥
रति - मनोरमको रजनी सफा ।
अब छ शासन हेर सुवासको ॥
(७६)

मधुर काम जगाउन गाउँथिन् ।
नरम नर्तनमा मृदुकामना ॥
कुसुमतुल्य हुने रँगमा झरी ।
शवल भै मनका मृदु बागमा ॥
(७७)

उहुहु, हेर मसक्क मुसुक्क भै ।
युवतिबाट झिलिक्क कटाक्ष गो ॥
नयन दिव्य सजीव झलक्क भो ।
हृदयमा रतिदीप झिलिक्क भो ॥
(७८)

धनु थियो भ्रुकुटी शरदर्शन ।
हृदय घायल पाउँछ स्पर्शन ॥
रुधिर लाल भरेर गुलाबले ।
रँग लियो वनबीच वसन्तमा ॥
(७९)

बढ अघिल्तिर भन्दछ लेखनी ।
बहुत चाख लिई तरुनो बनी ॥
समय धेर गयो भुलुँला भनी ।
त्रिभुवनै अब थाम्दछु तैपनि ॥
(८०)

चतुर्थ सर्ग
मैनकानृत्य र तपोभङ्ग

हे साधो सुन ! मूर्ख छौँ सब तिमी फुम्रा कुरामा पन्यौ ।
ढुङ्गा आसन भो, हठै व्यसन भो, भन्‌ स्वर्गबाटै झन्यौ ॥
शय्या एक बनाउनू मखमली बुट्टा भरी सुन्दर ।
यौटा राख त अप्सरा मृदुमुखी देखिन्छ है ईश्वर ॥
(१)

चिम्टाका बदला चुरी छनछनी 'गाँजा त्यजी कामिनी ।
शिक्षा प्रेम लिए जगत्‌ भुलिगए मायाविनी यामिनी ॥
आँखा आधि गरी निमीलन सुखी सन्मार्गमा सत्वर ।
आरु, सुन्दर नागिनी धर गला, पाक त्यहाँ ईश्वर ॥
(२)

विश्वामित्र थिए अनन्त तपमा तेजी थिए धप्धप ।
ढुङ्गामाधि जमेर आसन कडा भनज्थे महान्‌ पादप ॥
त्यस्ताको पनि चित्त डग्मग भयो आनन्द नाचीकन ।
मुद्रा छैन अनङ्ग, बिभछ शर है ! भो छोड माला, वन ॥
(३)

(भुजङ्गप्रयात)
नटी मेनका छम्छमाञन्‌ अगाडि ।
कटी भाँच्न लच्की लिई चाल भारी ॥
भुलून्‌ गर्व हेरी सबै आज साधु ।
मसीनो कलाको भजी मोहजादू ॥
(४)

बनून्‌ दीप्त आँखा सबै सौख्य पाउन्‌ ।
खुली स्वर्ग झल्काहरू झल्किजाङन्‌ ॥
सफा पाउ राम्रा सधैँ छम्छमाउन्‌ ।
सबै श्लोकले 'हाइ क्याबात' पाउन्‌ ॥
(५)

तपस्वी बडाका खुलून्‌ आज आँखा ।
हँसीला उज्याला परी जग्मगाउन्‌ ॥
यहाँ एक कन्या अनौठी उज्याली ।
नटी मेनकाकोखमा जन्म पाउन्‌ ॥
(६)

झुकी साँझ आइन्‌ झरिन्‌ एक तारा ।
थियो चारु घुम्टो फिका मिर्मिरिको ॥
पखालेर लाली उँचा टाकुरामा ।
झरिन्‌ शीतका बूँद ली फूलमाथि ॥
(७)

कणा सौरभी कुद्न लागे मरुत्‌मा ।
सबै ठाँटका फूल पारेर मस्त ॥
निशा झिम्किइन्‌ झूल तानेर नीलो ।
सजी कामको फूलगुट्टे निछौना ॥
(८)

थियो दिव्य षड्यन्त्रको सूक्ष्म जादू ।
कहाँ टिप्न सक्थे त्यहाँ हेर ! साधु !
यता मेनका मोहिनी छम्छमाई ।
उता कोयली साँझमा सौध्न आई ॥
(९)

तपस्या त्यसै शब्द सुन्दै डराई ।
मरेका सबै मासु आयो पलाई ॥
जगतृतर्फ आँखा खुले चल्मलाई ।
जसै मेनकाले परीगान गाई ॥
(१०)

नवात्योचरीकक वात्यो महो
न वा कृष्णको मोहनी मा ?
न वा विश्वसौन्दर्यको चातुरी हो?
यसै कान पीयूषले नै भरी भो॥
(११)

बडा सागासाएुल्य ल्य आँखा लगाई ।
फर्के सुनी छम्छमाई ॥
जसोरी उषाका सुनौला नचाई ।
तपस्वी निशाको वनै डग्मगाई ॥
उघारेर आँखा नगी पूर्वतर्फ ।
महा$५शचर्यको दृश्य दिन्छन्‌ खुलाई ॥
(१२)

फुले: चाँद ठूला जगत्‌ भो ।
त्यहाँ सयले सफा अङ्गलाई ॥
दिई चारु लच्का घुमाई नचाई ।
अहा ! कामगाना शशीमा सुनाई ॥
(१३)

यतां चन्द्र हाँसे, उता फूल हाँसे ।
मरुल्लोल छन्‌ वल्लरी फूल-आशे ॥
रँगी पङ्ख वासे, उता एकनासे ।
॥ सरिच्चालले लोक कल्लोल गाँसे ॥
(१४)

सबै पुष्पले कामवास्ना निकासे ।
रँगाएर छाती सबै साधु छासे ॥
मिही भित्रको प्रेरणा गन्ध मासे ।
कचौरे बने क्वै, कुनै छन्‌ गिलासै ॥
(१५)

हरा वृक्ष हाँसे सबै दुःख नाशे ।
झरी झर्न लाग्यो वनैया बतासे ॥
जुहारी अकाशे परी दिव्य हाँसे ।
टिपी स्वर्ग-हीरा नयाँ माल्य गाँसे ॥
(१६)

झझल्‌झल्‌ झझलझल्‌ छ झल्कीरहेको ।
मरुल्लोल कल्लोल छलछल्‌ छ छल्‌छन्‌ ॥
जहाँ जून टल्पल्‌ छ चल्मल्‌ चलेर ।
ककल्‌कल्‌, नयाँ कल्पना कल्कलाई ॥
(१७)

यता स्वर्गका अप्सरा छम्छमाए ।
मिही झिम्किने चालले चम्चमाए ॥
उता वायु नै गन्धले झम्झमाए ।
यता रङ्ग नै राप भै रम्रमाए॥
(१८)

“सधैँ के तपस्या ?” भनी पालुवाले ।
नयाँ कामको रङ्गकी बैंसवाली ॥
भरीलो नशादार चापल्यद्वारा ।
गरी वायुको आड पाई इशारा ॥
(१९)

चुमे पातले पात त्यो प्रेरणाले ।
हन॥ 2001 नाम ली गन्धवाह ॥
अँगाः का | 0 खा ००० ।
गिज्याई मुस्कुराई ॥
(२०)

भने च्याखुराले “छ सौन्दर्यभित्र ।
अहो ! मारको मोहनी क्या विचित्र ॥
त्यही स्वर्ग देखिन्छ, त्यो हो समाधि ।
अरू शून्य हो, शून्य वैकुण्ठगादी ॥”
(२१)

त्यसै स्वर्ग ओर्ल्यौ तपस्या गिज्याई ।
परीरूप भन्थ्यो “सबैले मलाई ॥
सधैं खोज्दछन्‌, साधु ! संसार त्यागी ।
नदेख्ने नटिप्ने सबै हुन्‌ अभागी ॥”
(२२)

झरे झल्किई निर्फरी शीकराणु ।
सुधारश्मिका वन्य मीठा मरुत्‌मा ॥
मिल्यो जूनमा शब्दमाघुर्य सारा ।
झन्यो कानमा दिव्य पीयूषधारा ॥
(२३)

परी भन्दछिन्‌ निर्भरी झैं बनेर ।
सबै ग्रामका शब्दका माघुरीमा ॥
“अकेला उनी बस्नलाई उठेर ।
कहाँ छन्‌ तिनी श्री ?” भनी खोज्न लागे ॥
(२४)

तिनी मुस्कुराएर नाचेर आइन्‌ ।
बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥
पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा ।
कुनै तत्त्व मीठो दुवैका नशामा ॥
(२५)

सबै विकारङ्गार भो प्रेमलाई ।
ब्यूँफझिए काम सौन्दर्य पाई ॥
पहीली उषा फुल्न लागी गुलाफी ।
उठे। राम-बुट्टा बनी छिर्बिराई ॥
(२६)

महाशून्यमा तारका झिल्मिलाए ।
फुले चाँद नालाहरू झल्मलाए ॥
सबै कीयलीले वनै खल्बलाए ।
जसै कामले रङ्ग राम्रा रँगाए॥
(२७)

'शशी-मोहले मुग्ध बन्छन्‌ चकोर ।
नदी चल्दछन्‌ प्रेम बेली विलोर ॥
जुहारी बने हेर तारा उज्याला ।
चढे इन्द्रका कण्ठमा प्रेममाला ॥
(२८)

सबै सत्य पग्ली शशीमा सुधा भो।
त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥
असत्‌ बीच लज्जा बनी चारु लाली ।
भयो नृत्य नै जिन्दगी नाम खालि ॥
(२९)

"लताकेशमा रेशमी पालुवा छ।
मुगा ओठ मेरा, गुलाबी कपोल ॥
नशामा छ नाला उषालाल लोल ।
ममा प्रेम गर्नेछ को आज ? बोल॥
(३०)

म ता माघुरी सत्यको मोहनी हुँ ।
म आत्माहरू खिच्न आएँ झरेर ॥
सबै स्वर्गका तर्फ बोलाउँदी छु ।
असत्‌को तपस्या अरू हुन्छ हेर ॥
(३१)

नछोए असत्ले जगत्मा मलाई ।
बडो लाजले भाग्छ आत्मा डराई ॥
भए प्रेम सच्चा म लैजान्छु स्वर्ग ।
नजान्ने कुनै प्रेम गर्नै मलाई ॥
(३२)

म देखेर जो मोहनीले छुँदैन ।
उ आत्मा जगत्मा सजीवै हुँदैन ॥
तपस्या महुँ, ईशकी भै सिँगार ।
अरू कष्ट हुन्‌ हेर फुम्रा अँगार ॥
(३३)

तपस्वी हठी शून्यमा पुग्छ मेरो ।
भुली मोहनी, गर्व ली तुच्छ सार ॥
सबै सिर्जना डग्मगाएर काँप्छे ।
सबै सभ्यता बन्छ कालो अँगार ॥
(३४)

“म बोलाउँदी भै तिमी बोल प्यारा !
तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥
न ता रुन्छु सारा जगत्‌ नै जलाई ।
सुने फुल्छ सारा जगत्‌को भलाई ॥”
(३५)

भरेका सुगन्धी सफा शीतभित्र ।
सबै कौमुदीका कणा बोल्न थाले ॥
सुनी कल्पना योग धिक्कार्न लागिन्‌ ।
तपस्या डराई अखूतर्फ भागिन्‌ ॥
(३६)

तपस्वी बने लट्ठ, आँखा खुलेका ।
भयो प्रेरणा आधि बोलाउनाको ॥
दबाए त्यसै भाव लज्जा उठेर ।
दुवै नेत्र भन्थे 'नछाडे मलाई ॥'
(३७)

त्यहाँ त्यहाँ एक एक एक फुल्का भयो उल्का ।
नराम्रो कुरा क्यै सुनायो कराई ॥
नराम्रा कुराका सबै त्रास पस्दा ।
उनी तर्सिइन्‌ “लौन नी" भन्नलाई ॥
नशा किर्किरी भो, भयो ढक्क छाती ।
“बचार कुनै” भन्दछिन्‌ ती “मलाई ॥"
(३८)

तपस्वी उठे गर्न रक्षा परीको ।
तिनी ठाँचाइक माड पपाई लजाई ॥
जसोरी कुनै वल्लरी ।
बडौ वृक्षको आड लिन्छे समाई ॥
(३९)

भयो स्पर्श त्यो कान्तिको झै धरामा ।
जहाँ कौमुदीका सुधा वर्षनाले ॥
सबै रोम जस्ता मुनामा हजारौं ।
नयाँ कम्प लिन्छन्‌ भिजेका कणाले ॥
(४०)

तिनी प्रश्न गर्छन्‌ “कहाँबाट आयौ ?
कहाँबाट द्राहरू मिष्ट ल्यायौ !?
परी हौ कि कोही कि देवी उज्याली !
नढाँटी तिमी बोल सङ्घोच फाली ॥”
(४१)

उनी लाम्चिला नेत्रका ती कुनाले ।
यसो हेर्न लागिन्‌ झफुकी लाज मानी ॥
यता लाजका हात ब्यूँझी सँभाले ।
पछ्यौरा उता लकिँदा बिर्सनाले ॥
(४२)

हरे ! के छ यो कामिनीका कलामा !
सबै षट्पदी छन्‌ फुका कोपिलामा ॥
तरी उर्मिवाला अनोखी तरङ्ग ।
वसन्ती मरुत्‌ खोज्दछन्‌ दिव्य अङ्ग ॥
(४३)

सुगन्धीपना बैंसको ठाँट पारी ।
महामोहको मोहनीतुल्य भारी ॥
कलीलो लिई ओठ फुल्दो छ सारा ।
तपस्वी लगाई छखुट्टै किनारा ॥
(४४)

भई मोहनी ईश लदट्ठ्याउँदा छन्‌ ।
कुनैमा सुधा दी कुनैमा विषै दी॥
कुनै आसुरी कामले लट्ठ पर्छन्‌ ।
पिई मर्त्यताको सुरा यो अनादि॥
(४५)

महात्माहरूबाट दृष्टान्त पाई ।
अजेया ,यिनी छन्‌ भनी बैंसलाई ॥
तपस्यापरी सुन्दरी चट्ट छोडी । “
सबै भज्दछन्‌ कामिनी भुन्भुनाई ॥
(४६)

झिना झुन्झुने स्वर्गाका तारलाई ।
मिलाएर बोल्ने कलाको मिठाई॥
तपस्याहरू लाख गर्थे तथापि ।
म पाए सधैँ सुन्न ती कान थापी ॥
(४७)

तिनी भन्दधिन्‌ बीन झैं रुन्झुनाई ।
सबै कोषमा शब्द पीयूष ल्याई ॥
त्यहीँ फेरि चाली उछाली उचाइ ।
सबै सप्तक स्वादुका शब्द छाई ॥
(४८)

“म ता मेनका स्वर्गकी नाचनानी ।
थिएँ अप्सरा देवताकी बयानी ॥
वसन्ती थियो नृत्यमा लाल नाग ।
जहाँ देवता भृङ्ग झै झुल्न लागे ॥
(४९)

म लाली हुँदा लाजका फूल फुल्थे ।
यहाँ यी घरामा गुलाबी बयानी ॥
झरी सूक्ष्म झल्का त्यही गानबाट ।
सुधा भर्दछन्‌ कोयली कानभित्र ॥
(५०)

थियो नाटघशाला जहाँ देवबाला-
हरू निर्झभरीका हँसीला जुहार ॥
टिपी शन्दले गानमा दिव्य सार ।
भरी नाचमा जोड्न खोज्छन्‌ सिँगार ॥
(५१)

त्यहाँ नाच गर्थे सबैका अगाडि ।
निशाकज्जली मोह झैं केश छाडी ॥
त्यसै कालमा मर्त्यले सम्झिनाले ।
गिच्यो आँसु मेरो त्यहाँ हृद्‌ छुनाले ॥
(५२)

वहाँ प्रेममा भावना मात्र हुन्छन्‌ ।
जहाँ प्रेम सच्चा घराभित्र हुन्छन्‌ ॥
भ्रयो दिव्य भावानुसारी रुलाई ।
त्यहाँ हर्षको नाचमा झन्‌ मलाई ॥
(५३)

उठ्यो इन्द्रको वीर भौँमाथि आँधि ।
र आज्ञा भयो छैन तेरो समाधि ॥
घराको वियोगी हरामा गएर ।
बसेस्‌ खालि खल्लो कुरामा रहेर ॥'
(५४)

म बले त्यहाँ च्याँठ लाग्यो अनन्त ।
अँध्यारो पसै झैं थियो दिग्दिगन्त ॥
यहाँ कोयली शन्द खल्लो सुनेर ।
म छुँ र भएँ आड शून्यै भएर ॥
(५५)

म नाचूँर गाउँ भने झैं भएछु ।
भर झैं दिशामा यहाँ रङ्ग रङ्ग ॥
थपूँ मञ्जरीमा सफा कल्कलाई ।
भयो वेदना झैं सरित्‌ सल्सलाई ॥
(५६)

कला सम्झिएँ सत्यको भाव भर्ने ।
भयो भित्रको प्रेरणा गान गर्ने ॥
यहाँ चालमा दिव्यता नै नपाई ।
भयो सक्सकी नाच्नलाई मलाई ॥
(५७)

तिमी फूलका बाहुलीबाट गाला ।
दुग्मापि फुल्ने छिपाएर लाली॥
'अरू के भनूँ के भनूँ' को मिठास ।
भई चल्मलाई बनिन्‌ चित्र खास ॥
(५८)

खुल्यो चाँदनी चारुको निस्कनाले ।
त्यसैबीच चाँदी किनारा उज्यालो ॥
सबै प्रेमका भावका कोपिलाको ।
लिई चारु उक्साइको गन्ध छाले ॥
(५९)

सबै बैंसका लाज लाली सुराले ।
शाशी झै परीमा शशी मुस्क्राइन्‌ ॥
मिही व्यङ्गय जस्ता गुलाबी सफाइ ।
" लिएका अनौठा नबोल्ने कुराले ॥
(६०)

सुधासङ्‌ लिएको सुधारशिम छाई ।
खुल्यो दिव्यता बाटुलो झल्मलाई ॥
कलीलोपना हास्यमा कल्कलाई ।
प्रभाको सफा नव्य संसारलाई ॥
(६१)

हरे ! देख्न पाए तिमी बुझन सक्थ्यौ !
रहेछन्‌ केती स्वर्गमा झिल्मिलाई ॥
बनी च्याखुरा नेत्र भै मुग्ध दोटै ।
नबोलूँ नबोलूँ पिक भो मलाई ॥
(६२)

जुनेलीपनाले बने झैं सजीव ।
थियो नेत्र पानीभरी कल्कलाई ॥
यसै उड्दछन्‌ की दुवै नेत्र मेरो ।
तिमीतर्फ भन्ने छ झस्को मलाई ॥
(६३)

भए चित्रकारी भरी रङ्ग भारी ।
त्यही चाल झल्का सफा ठिक्क पारी ॥
जुनेली दिई दिव्य पानी उतारी ।
जगन्नेत्रमा मोज दिन्धें म भारी॥
(६४)

हरे ! सक्छ को खिच्न रेखा मिहीन ।
परी इन्द्रमाया जगत्मा दिएन ॥
सधैँ कल्पिनाको लिएका मिठास ।
भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥
न साफल्य पायौं न बन्छौं हताश ।
(६५)

न मिल्ने, न खुल्ने, न फुल्ने, न गल्ने ।
सबै चीजको झै तिनी छन्‌ मिठास ॥
लता विश्वकी श्री सफा दिव्य पाई ।
फुले झै हिले झैं छुँदै स्वर्‌ बतास ॥
(६६)

छ जो नेत्रको नीलिमामा चढेकी ।
उज्यालो नटी दिव्य सौदामिनी भै ॥
घना केशको मेघ चढ्दा हिमाल ।
यहाँ नाच गर्थी बनी दिव्य ज्योति ॥
(६७)

कुरङ्गीहरूका हरा राज्यरङ्गी।
वनैया कलेजी कलीला मुनाले ॥
ननोलेर बोल्थे त्यसै भल्किनाले ।
मुगाओठ राम्रा मिही झल्किनाले ॥
(६८)

त्यहाँ ब्रह्मको अमृता$नन्द झल्की ।
तपस्वी रमाए सुधा दिव्य टल्की ॥
त्यहाँ खोज आफ्नो पुग्यो सिद्धिचूली ।
भए मुक्त ज्यूँदी जगज्जाल भुल्दा ॥
(६९)

लिए हात आहा ! लता झैं कलीलो ।
'शाशीको सफा बाहुली झैं हँसीलो ॥
जहाँ पुष्परेखा नशादार राम्रा।
छुँदामा नशामा नशा झैँ दगरर्छ ॥
(७०)

तपस्यापिपासा बुभ्यो बाहुलीमा ।
" त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥
रस्तीला भएका तिनी बोल्न थाले ।
सुनिन्‌ लज्जती लाजकी मेनकाले ॥
(७१)

“तिमी मोहिनी ईशकी ुमतुल्ल्य ।
सबै विश्वकी माधुरी झैं अमूल्य ॥
तिमी चाँदनी छौ निशाभित्र काली ।
जगद्द्योतिनी दिव्य ज्योत्स्ना उज्याली ॥
(७२)

तिमी चाँदनी छौ म तिम्रो चकोर ।
तिमी तारका छौ म पानी विलोर ॥
तिमी फूल प्यारी म ता बासना झैं ।
यता दिव्य स्वप्ना, उता सम्झना झै ॥
(७३)

तडित्‌ झैं तिमी छौ म ता मेघमाला ।
तिमी श्री जगत्‌की म ता भाग्यज्वाला ॥
तिमी वल्लरी वृक्षको प्रेम मेरो।
तिमीमा जगत्‌ बाटुलो हुन्छ फेरो ॥
(७४)

तिमी दिव्य सौन्दर्यकी छौ पयोधि ।
म हूँ कर्मि आनन्दको पूर्णिमामा ॥
महँ शौल फुल्दो तिमी स्वर्णचूली ।
वहाँ झक्लियो स्वर्णको नै बिजूली ॥
(७५)

तपस्या सबैकी तिमी सिद्धिदेवी ।
तिमी अप्सरा छौ म ता पादसेवी ॥
म चाहन्नँ है इन्द्रको राज-छत्र ।
म नेता जगत्को यिनै नेत्रभित्र ॥
(७६)

ममा प्रेम राखे दयाकोमला छौ ।
म रच्नेछु यो कुन्जमा विश्व एक ॥
कुरा मात्र तिम्रा बनी बीजतुल्य ।
जगत्‌ रोपिएला उज्यालो अमूल्य ॥
(७७)

बसौं आज हामी जहाँ वल्लरीले। .
बनाई जुनेली सफा पुष्पकुञ्ज ॥
हवाका सुगन्धी उज्याला हिलोर ।
सुखी रोमका स्पर्श दिन्छन्‌ चुमेर ॥
हरा भ्याउमा लोल कल्लोलतूल्य
« बगे झैं सफा कल्कलाई विलोर ॥”
(७८)

तिनी लाज मानी त्यहाँ मुस्कुराइन्‌ ।
सबै स्वर्ग पृथ्वी उज्यालो गराइन्‌ ॥
“म जस्ती निकम्मा” भनी नेत्र तर्छिन्‌ ।
५बिकम्मा कुरा मात्र जान्ने म जस्ती”
भनी खिल्खिलाई सबै दुःख हर्छिन्‌ ॥
(७९)

“म यस्ती निकम्मा छु नाजोर व्यर्थ ।
तपस्वीहरूको अरू नै छ अर्थ॥
मकुण्डी भनी फ्याँक्दछन्‌ स्त्री भनेर ।
महात्मा परीलाइ तुच्छै गनेर ॥”
(८०)

यही व्यङ्गयमा इन्द्रजी माथि हाँसे ।
त्यहाँ मुस्किई वल्लरी स्वर्‌बतासे ॥
नटी चम्चमाए उज्याला अकासे ।
सदा मुस्कुरे नृत्यका माल्य गाँसे ॥
(८१)

यहाँ छन्‌ धरामा अनेकौँ अभाव ।
कडा दुःखदायी स्वभाव ॥
यहाँ फूल काँडाविना राखिँदैन ।
बिनाआँसुको नेत्र कोही हुँदैन ॥
(८२)

तिनी चिन्तिता झै लिएकी भुकाई ।
मलीनोपना फा सिँगारेर लाई ॥
त्यहाँ थप्दथिन्‌ “प्रेममा आँसु भर्छन्‌ ।
वहा रे, भनी भन्दथे क्या ! मलाई ॥”
(८३)

“नटुट्ने पनि प्रेम हुन्छन्‌" भनेर ।
झुकी काननेरै गई क्यै बुझाई ॥
हवाले चुमे झैं गरी भित्र ईर्ष्या ।
“चुमे लोभले हल्लिँदो केशलाई ॥
(८४)

तिनी झस्किइन्‌ भन्दछिन्‌ मुस्कुराई ।
सबै रोम छन्‌ भाव नुभ्ने मलाई ॥
यही मर्त्यको हो पहीलो छुवाई ?
-त्यसैले अनौठा र नौली भएर-
भयो चट्ट के के भए झै मलाई ॥
(८५)

यसैबीच दोटै पसे कुञ्जभित्र ।
रँगीलो वसन्ती सुखो ठाउँ पाई ॥
त्यहाँ कोपिला फुल्दथे जूनलाई ।
हवा चोर्दध्यो वासना चल्नलाई ॥
(८६)

सफा कल्पनाकुञ्जमा चाँदनीको ।
बसेका कलाकार भै झन्झनाई ॥
हरा सिर्जनाको सुवासी हवामा ।
बसे लेखनी चित्र-मूर्छा बनाई ॥
(८७)

त्यहाँ भन्दछिन्‌ मेनका “भै अकेली ।
अनेकौं धरात्रास हुन्छन्‌ मलाई ॥
अकेली हुँदा नन्दने बागभित्र ।
म निर्भीक हुन्थें सुरागान गाई ॥
(८८)

वहाँ कामको वासना देखिँदैन ।
सबै छन्‌ कला मौनमा मस्त हाई !
यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी ।
हवाका झिना हात लाग्छन्‌ मलाई ॥
(८९)

बहाँ भेद देवी तथा देवताको ।
छ राम्रा कला सिर्जना गर्नलाई ॥
सुवासी त्यहाँ प्रेमका भाव झीना ।
यहाँ टिप्दछन्‌ फूलले- वासनामा ॥”
(९०)

सुनी काम लज्जाहरूमा बिलायो ।
बनी स्वादु आनन्द अर्कै रमायो ॥
वहाँ थप्दथिन्‌ मैनका “दिव्य नीति ।
विना बाँधले राख्छ आनन्दरीति ॥
(९१)

सधैं दिव्य इच्छा कतै छैन बाधा ।
त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥
यहाँ बाँधिएकी धराचक्रभित्र ।
बनिन्‌ आज यी खुम्चिए झौँ मलाई ॥
(९२)

जसै उड्नको प्रेरणा पङ्खभित्र ।
ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥
उज्यालो कलाकारकी स्वप्नतुल्य ।
म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥
(९३)

न ता बाँधिएकी म भै फूलतुल्य ।
सबै ओठ भै मूक हा ! वैलिनेछु ॥
सफा प्रेममा स्वर्ग पृष्वी हुनाले ।
म बस्नेछु सच्चाइले नै छुनाले ॥
(९४)

नहोस्‌ बढ इच्छा प्रभो दिव्यप्रश ।
हओस्‌ एकली यो सजीली प्रतिज्ञा ॥
'तिमी उद्न खोजेम छोड्नेछु फेरि ।
म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥”
(९५)

सुनी भन्दछन्‌ ती तपस्वी विलासी।
“सबै शब्द हुन्‌ सिद्ध तिम्रा विकासी ॥
न यो प्रेम मर्ला न ती पङ्ख उड्लान्‌ ।
विषादी कुनै आँसु झैं भै अकाशी ॥”
(९६)

परी मेनका ती नजीकै भएर।
क्रा गर्न थालिन्‌ यसो टाँस्सिएर॥
जसोरी सता फुल्न स्वेच्छा मिलेकी ।
जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥
(९७)

त्यहाँका क्रा गर्न लागे समस्त ।
हरे ! जिन्दगी नै नहोला समस्त ॥
यही चित्र हेड जनी आज मस्त ।
सुनूँ भित्रका कानले सुस्त सुस्त ॥
(९८)

पञ्चम सर्ग

यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥
बन्दो कुड्मल फुल्दथ्यो हृदयको संवादसौगन्ध्यमा ।
बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
(१)

चल्छन्‌ वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा ।
हुन्छन्‌ रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा ।
आनन्दी वनका सुगन्ध मनका छर्छन्‌ फुली रङ्गमा ॥
(२)

उड्दा स्वर्ण-पखेरु चारु दिन छन्‌ लाली सुनौलासँग ।
गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
प्याला फूल छ, चाँदनी रस भरी पङ्खा छ हाँगाभरी ।
कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌ गरी ॥
(३)

राम्रा वन्य कुरा सबैतिर त्यहाँ स्वादिष्ट छन्‌ रञ्जन ।
मिल्छन्‌ पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।
पाउँ बस्न त बन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
(४)

चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी ।
फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥
राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृताऽऽभूषण ।
मेरा मित्र, सुचित्र भित्र मनमा यो मात्र होस्‌ चित्रण ॥
(५)

झुल्दा छन्‌ सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी ।
फुल्दा छन्‌ रँग रश्मिका कति थरी बास्ना भरी भै झरी ॥
झल्झल् गर्दछ शीत पुष्प ऋतुको वर्षा परी झर्झरी ।
पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥
बुट्टा जून छिरीबिरी मुख परी तेर्सी बनिन्‌ सुन्दरी ।
(६)

फुल्दो हार छ बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची ।
बुट्टा भर्दछ व्योममा र मनमा त्यो दृश्य हेर्दा सजी ॥
यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन ।
गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥
(७)

नाच्छन्‌ चित्र विचित्रका छ बहिनी जो नामका छन्‌ ऋतु ।
सातौं स्वर्ग पुर्याइ सर्व सपना लाखौं भरी माधुरी ॥
कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना ।
के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ?
(८)

हाँसी काल दगुर्छ चारु पदमा कल्लोलका चालमा ।
नाच्छन्‌ भाव मिठाससाथ नखरे नाच्दा परी तालमा ॥
लुर्कन्छन्‌ हँसिला जुहार हरिया पन्ना सजी सालमा ।
विश्वामित्रसमान बन्न कसको भाग्यै थियो भालमा ॥
(९)

त्यस्तो वन्य कुटी, विलास रसिलो आनन्दको नन्दन ।
धेरै रोज बगिन्‌ तरङ्गसलिला यो काव्य झैं गुन्गुन ॥
लागेछन्‌ सहकारमा फल, चुसी माधुर्य त्यो दृश्यको ।
लज्जा भो दिन एक ती युवतिमा बेढङ्गले अङ्गको ॥
(१०)

झन्‌ झन्‌ कोमलता लिएर मुखले छाला भयो पातलो ।
लज्जा मुस्किन खोज्छ झैं हुन यो बाक्लो बनी व्यर्थमा ॥
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कुती ।
भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥
(११)

धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी ।
अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।
केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन्‌ मेनका ॥
(१२)

देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो ।
केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥
चाँडै नै तर अग्नि शान्त हुने गो ठण्डा बनी क्यै अलि ।
हाँसे मुस्स सुधांशु झैं घनहरू थाङ्ना बनेका दिन ॥
(१३)

औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।
गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।
देखी दङ्ग हुँदा झसङ्ग मनमा झस्के त्यहाँ ती ऋषि ॥
(१४)

लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ?
बूढोलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन्‌ ?
लौ बित्यास परेछ ! नारद डुबी मायाविषे विष्णुको ।
आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थे म उस्तै भएँ ॥"
(१५)

चुट्की दी चुचु ! साथ चारु नयनीलाई हँसाईकन ।
"धाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥
पापा खोज्न म जान्नँ जान्छु तपमा" भन्छन्‌ उठी ती ऋषि ।
थाङ्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥
(१६)

सानो कुड्मलपङ्खमा मलयका हावा परीले धरी ।
नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
उड्दो झैं मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
आइन्‌ पङ्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
(१७)

लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको ।
देखिन्‌ चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥
फर्किन्‌ थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु ।
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन्‌ ॥
(१८)

छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका ।
राखी फूल सुगन्धदार तकिया पारी बडो कोमल ॥
हेर्थिन्‌ ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर ।
आफ्नै बालशशी लुटुक्क घनमा फुल्दो महाशाखमा ॥
(१९)

"बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।
आमातुल्य दयावती प्रकृतिका खाए सबै व्यञ्जन ॥
मेरो आशिषसाथ दिव्य सुषमा पाई बढे फूल झैं ।
आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं ॥
(२०)

कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।
तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन्‌ धराका परी ॥
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन ।
राख्नेछन्‌ महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
(२१)

मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्‌, छन्‌ बीज राम्रा जहाँ ।
कालो मुण्मय छन्‌ धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली स्वर्गिक बीज पर्छ हुनु है ! छन्‌ पङ्कमै पङ्कज ।
कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
(२२)

हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने ।
त्यस्तो बालमिठासको अमृतमा छन्‌ सिंह भोकाउने ॥
छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि ।
देख्छन्‌ शैशवको अहिंस्रकपनाको स्वर्गको मोहिनी ॥
(२३)

एकै केन्द्र छ ऐशभित्र दिलमा सारा त्यहाँ भाइ छन्‌ ।
हिंसा नै तमको विकार बुझिने छन्‌ दिव्य क्या सूचना ॥
आत्मा हेर, विभिन्न रूपहरुमा ती फूलमा जन्तुमा ।
एकै ऐक्य सहानुभौतिक गुँथे क्या प्रेमका तन्तुमा ॥
(२४)

भाषा एक छ प्रेम शब्द रसिलो जो भित्रका भावमा ।
सुन्छन्‌ बुझ्न समर्थ छन्‌ शिशुहरू यो प्राकृतोद्यानमा ॥
जे बोल्ने मन गर्दछन्‌ कुसुमले लाली लिँदो ओठले ।
सो टिप्दै मुखरी छ मानव-चरो त्यो शैशवी खोजले ॥
(२५)

यत्रो विश्व बनाउने छ करुणाको दिव्य तस्वीर झैं ।
आनन्दै दिन जीवमा गगनमा तारा भर्यो झिल्मिली ॥
सोही कुँद्छ मुना, छिनो छ मसिनो कुँद्ने जगन्माधुरी ।
खाना दिव्य खुवाउलिन्‌ प्रकृतिले नानी परी सुन्दरी ॥
(२६)

यो शिक्षालय हो सबै कुसुम छन्‌ रङ्गीन अध्यापक ।
पानी दिव्य खुलेर अक्षर सफा छन्‌ रोज नै पाठ यी॥
खुल्दो प्रेम समष्टिसार रसिलो साफल्य हो पाठको।
हामी नित्य परीक्षित प्रकृतिमा छौं प्रश्नले आठको ॥
(२७)

आत्मा मानव चुस्छ ओठ कलिला यी पुष्पका सुन्दर ।
ताराबाट झझल्किँदो छ महिमा जो बन्छ विश्वम्भर ॥
गर्छन्‌ खुस्खुस कानमा अनिलले सन्देशको चारुता ।
पन्छी गर्छ कुरा त्यही ऋषिहरू जो खोज्न छन्‌ बेपता ॥
(२८)

जो छन्‌ नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू ।
त्यस्तामा पनि शस्त्ररूप उसका छन्‌ दिव्य प्रेमी क्रिया ॥
सानो सुस्त छिनो लिएर करमा कुँद्दो छ सौन्दर्यको ।
प्रेमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥
(२९)

रोगैमा पनि शुद्धिका कति क्रिया देखाउँछन्‌ लक्षण ।
डोरामा शिव नीतिका उडुभरी झल्की प्रभा-मोहिनी ॥
कालै हो यदि राह ता अमृतको क्या दिव्य त्यो अक्षर ।
हाम्रा कण्टक दुःखका कुसुमको भर्दो छ पत्तीहरू ॥
(३०)

धोका हुन्न कहाँ कतै प्रकृतिमा हे दिव्यताकी शिशु ।
बुझ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥
मिल्ला त्यो मह जो अनेक कुसुमी मौरीपरी हाल्दछन्‌ ।
जो मीठो मृदुभाव खोजहरुका मौनीहरू जान्दछन्‌ ॥
(३१)

पन्छीले सुरकी लता फुलिदिने जानेर प्रेमी बनी ।
हेर्चाहासित बोलमा मधुरता खोजी महान्‌ प्रेमको ॥
हेर्नेछन्‌ शिशुलाइ जन्तुहरुले दिन्छन्‌ इशाराहरू ।
जेले ती पशु पाउँछन्‌ हृदयमा आत्मा-सुखी आबरू ॥"
(३२)

यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन्‌ ती परी ।
हाँस्दै पङ्ख फुकाउँदी कुसुम झैं वैशाखका अन्त्यमा ॥
औंलाले भुइँमा दिई भर यसो थोरै उचाल्दी तन ।
उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन्‌ ॥
(३३)

मौरी झुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह ।
मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥
टिप्तै स्वादु मुना फुरुक्क वनमा "खान्छौ कि नानी ?" सरि ।
लाग्यो शावक चर्न चारु जननी जान्थी पिलाईवरी ॥
(३४)

नौलो स्वादु जगत्‌ अनन्त छ मुना टूना त्यहाँ गुन्गुन ।
नाच्छन्‌ नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥
"बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि बोलूँ गरे ।
पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥
(३५)

"को को हो" सित कोकिला मृदुगला सोध्थी सुखी चञ्चल ।
"पाक्यो काफल" सोद्धछन्‌ खग सुनी हाँस्थे फुकी कोपिला ॥
लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली ।
साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर्‌ गरी कोरली ॥
(३६)

फुल्थिन्‌ लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा ।
खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन्‌ वल्लरी ।
हीरा लुर्कन लाउँदा वनभरी ती रातमा झल्लरी ॥
(३७)

पन्ना प्रस्फुट त्यो वसन्त ऋतुको कुँद्थ्यो छिनोले कुनै ।
हीरा खेल्न विभिन्न रङ्गहरु छन्‌ भूस्वर्ग गर्ने वनै ॥
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे ।
पग्ली पङ्ख त्यहाँ बिहानपखमा मोती बनी गुड्दथे ॥
(३८)

छल्कन्थिन्‌ जल ढल्किंदा किरणमा भङ्गीमयी निम्नगा ।
झल्कन्थिन्‌ अनि माघुरी प्रकृतिकी चल्मल्‌ गरी रत्नदा ॥
बल्कन्थिन्‌ कलिला नशा लहरमा लाली बनी कल्कली ।
ढल्कन्थिन्‌ जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥
(३९)

ताजा स्वादु हरा रँगीन मदिरा पोख्थे त्यहाँ अप्सरा ।
बन्थे ती रँग ओठमा कुसुमका बैंसालु चढ्दा सुरा ॥
टूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा ।
मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन्‌ विरङ्गी कुरा ॥
(४०)

आँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन्‌ सुधा तन्तनी ।
साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥
बोल्थे झ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी ।
जो बोल्छन्‌ शिशु छालले जलधिको माधुर्य झैं फन्फनी ॥
(४१)

राम्रा हास्य टिपी सिँगार तिनका राम्री छ वन्यस्थली ।
सिक्छन्‌ भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥
हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी ।
हाम्रो यो अनुमान हुन्छ सबको हो सूत एकै थर ॥
(४२)

शायद्‌ पल्लव जन्मिए सब जहाँ ती बालका ओठ छन्‌ ।
शायद्‌ जून झझल्किए पनि जहाँ ती नेत्रका ज्योति छन्‌ ॥
शायद्‌ विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना ।
एकै चीज छ भित्र बाहिर जगत्‌ भन्ने छ सम्भावना ॥
(४३)

हाम्रो शैशव मानवी प्रकृतिको हृत्‌केन्द्रमा जन्मियो ।
एकै पोषणले भयो मधुर यो, ती भावले झुम्मियो ॥
पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ छोइयो ।
एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥
(४४)

यौटै चित्‌ छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो ।
बल्दो धप्प छँदो शशी, रवि कहीं खोला बनी भङ्गिँदो ॥
झल्की दीप्ति झलक्क झल्किइदिँदो त्यस्सै मिही मुस्किँदो ।
फुल्दो फूल बनी रहस्य भवको खोली मिही फुस्किँदो ॥
(४५)

छाडूँ क्यार ! बयान आज शिशुको लामो छ ढाक्ला जगत्‌ ।
झल्ला झल्ल खुलाउने अलि यसो कामै छ मेरो फगत्‌ ॥
ती सानी वनकी सुचारु दुहिता त्यो कुञ्जमा शीतल ।
बढ्छिन्‌ कोमल मोहनी शिशु लिँदी आनन्द शाकुन्तल ॥
(४६)

षष्ठ सर्ग
(स्रग्विणी)

मेनका हेर्दथिन्‌ भावले सुन्दरी ।
बालिकालाइ ती मालिनीतीरमा ॥
आउँथे प्रेरणा दिव्य आनन्दका ।
चन्द्रका रश्मिमा स्वर्गदेखिन्‌ झरी ॥
(१)

घामको उष्णता चम्किँदा मुस्किने ।
फूलका मुस्मुसे शान्त जादूहरू ॥
चक्षुमा बालको पस्दथे सुस्तरी ।
ओठ आनन्दले सुस्त मुस्काउन ॥
(२)

रङ्गका वस्त्रमा बास मग्‌मग्‌ भरी ।
रेशमी पातला पुष्पका शानले॥
दक्षिणी वायुको राहमा डाकिने ।
गुन्गुने गानका पङ्ख छन्‌ भृङ्ग ती ॥
(३)

आउँथे झुण्ड भै वल्लरीमा सजी ।
पुष्प पीयूषको एक गोला त्यहाँ ॥
पुष्पका स्नायुका चाँदनीका सुधा ।
तप्त तप्काउँथे ओठमा बालको ॥
(४)

चन्द्रमा टिप्नको चाहमा बाहुली ।
फ्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥
मालिनीतीरका छालका शब्दले ।
केलिकौतूहला बालिका बन्दथिन्‌ ॥
(५)

तारका झल्किँदो झूलमा नीरको ।
चम्किँदा चक्षुका चारु चम्काइले ॥
चञ्चले चालले सुन्दरी बालिका ।
हेर्दथिन्‌ स्वर्गका मेनकाका सखी ॥
(६)

वायुले झस्किँदा स्नायु ती पातका ।
दिव्य आनन्दका स्वप्नमा सुत्दथिन्‌ ॥
पुष्पको कोपिलातुल्य आधी खुला ।
चक्षु ती चुम्दथ्यो चाँदनीले सफा ॥
(७)

वायुमा वन्य ती वासले बेलिँदा ।
पालुवामा हुने हिल्नको प्रेरणा ॥
केलि आनन्दको त्यो हवेलीविषे ।
बालका चालमा तालमा ल्याउँथ्यो ॥
(८)

एक लाली चढ्यो पश्चिमी फेरमा ।
सान्ध्य आकाशको पक्षमाला धरी ॥
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
दिव्य सङ्घारमा स्वर्गको उघ्रिँदो ॥
(९)

हुस्सु झैं पातको चारु पोल्टो भरी ।
तारकाका लिई दिव्य दानाहरू ॥
मिर्मिरे पस्दछिन्‌ द्वार कर्के गरी ।
शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
(१०)

लाजको लालिमा भालमा झल्किँदो ।
दूरदेखि त्यहाँ सूर्यको स्यन्दन ॥
टाप सप्ताश्वका कड्किँदा पूर्वमा ।
झस्किइन्‌ स्वर्गका रत्न चोरीवरी ॥
(११)

देख्छ चोरी त्यहीं कण्वको चक्षुले ।
स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥
फर्किदो फेरमा स्वर्गका द्वारमा ।
एक तारा झरी झल्किँदा नीरमा ॥
(१२)

इन्द्रका चापका रङ्गका गिन्तिले ।
अश्व जोती डटे सूर्यले स्यन्दन ॥
दिव्य सम्राट्‌ बनी पूर्वमा हाँस्दछन्‌ ।
अन्धका शैलका ती विजेता बनी ॥
(१३)

बाफको दुर्ग जो रौप्य भै बस्दथ्यो ।
स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥
सत्यको रोशनी दिव्य सौन्दर्यमा ।
जिन्दगी सूतमा रङ्गिए झैं अहा ॥
(१४)

ध्यानका चक्षुले कान्तिमा स्वप्निल ।
देख्न लागे तिनी कृष्णका भूषण ॥
मेघ सारा बन्यो दिव्य पीताम्बर
नीर त्यो रङ्गमा झल्कियो आनन ॥
(१५)

गोपिनी झैं बने फूल ती चञ्चले ।
अप्सरा बन्दछन्‌ गाउने ती चरा ॥
वेणु झैं बज्दछन्‌ प्रातका रश्मि ती ।
सात रङ्गी बनी दिव्यको ग्राममा ॥
(१६)

"स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
कृष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
(१७)

जान्छ टाढा कतै स्वर्गको देशमा ।
दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
चित्त मेरो खिँची लग्‌ परै पूर्वमा ॥"
(१८)

यत्ति बोली तिनी काँसका फूल झैं ।
धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
शीतका बिन्दुको झल्लरी कान्तिमा ।
वृक्षशाखा हुँदा बढ्दछन्‌ झन्‌ अघि ॥
(१९)

आज लौ बाजले लाज छोडीकन ।
पेट नै भर्नको रक्तको काजमा ॥
पूर्वका साजका माझ सौन्दर्यको ।
शान्तिको सूचना तोड्छ झम्टीकन ॥
(२०)

एक तर्सी रुँदी आँसुवाली चरी ।
बालिका नीडकी त्यो पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिँदा आउने ।
कम्पमा रुग्‍रुगे पङ्क तर्सी रुँदी ॥
(२१)

"ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
हा नलुछ्‌ ! हा नलुछ् ! जिन्दगीका भुवा ॥
फूल झैं कोमला बालिका सुन्दरी ।"
शब्द यस्तै गरी कण्व लागे पछि ॥
(२२)

"क्रूर हे कालको भाइ– नङ्ग्रा हुने ।
भो नच्यात्‌ ! भो नच्यात्‌ ! पुष्पको पात त्यो ॥
जीवनाऽऽनन्दको कोमल स्पन्दन ।
ढुक्ढुकाई छिटो त्रासले भो, नमार्‌ ॥
(२३)

हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
लाल हिंसा धराबीच बुट्टा बनी ॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
क्रूर के डस्दछस्‌ ईश्वरैको मुटु ?
(२४)

योनि फेर्‌, योनि फेर्‌ शाक खाने बनी ।
मूल खाने बनी ले फलाहार तँ ॥
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूर हो ।
लाश खाने लुछी लाज छोडीकन ॥
(२५)

हाय हा ! हाय हा ! हाय हा ! हाय हा!"
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
चीं चिंचीं चञ्चुले पक्क पानी भजी ।
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
(२६)

गै उठाए त्यहाँ कण्वले बालिका ।
आर्द्र आँखा हुँदी क्रूरका पापले ॥
देखिइन्‌ बालिका अप्सराकी त्यही ।
कुञ्जमा फूलको गर्दथिन्‌ क्रन्दन॥
(२७)

त्रास संसारका दूर छाया बनी ।
बालको त्यो बिलौनाविषे सुस्तरी ॥
आउँदा चित्तमा मेघका पङ्ख झैं ।
वारिवर्षा गरी ती विलाप्थिन्‌ त्यहाँ ॥
(२८)

अहो ! कोयली अप्सराकी मुहार ।
बिजूली नटीकी सुती झैं उज्याली ॥
वसन्ती मुनामा रसिली बनेर ।
विलापीरहेकी चुहाएर आँखा ॥
(२९)

उषातुल्य राम्री उदाई सबेरै।
सफा भालमा स्पर्श गर्दी हिमाल ॥
नयाँ घुम्रिएका भुवाले सिँगारी ।
यहाँ ओर्लिइन्‌ शीत ती आँसुदार ॥
(३०)

चुचुच्चु ! च्चुचुच्चू! कुनै नीडबाट ।
चरी स्वर्गकी आज पृथ्वी झरेकी ॥
रूँदी फूलकी कोकिला बासवाली ।
फुलेकी चरी ! आँसु पार्छ्यौ सिँगार ॥
(३१)

अहा ! कोस लामा भिजेका परेला ।
दुवैबाट झल्काउँदी रत्न दाना ॥
परी एकलो ठाउँको त्रास रुन्छ्यौ ।
नजानी रुँदो शब्द जो भन्छ "आमा" ॥
(३२)

पिपिल्‌पिल् पिपिल्‌पिल् तिमी दुःख मानी ।
ममा हेर्दछ्यौ आड पाएर नानी॥
म बूढो बनूँ चोर तिम्रो कि क्या र ?
कुनै छैन आधार यो ठाउँमा र ?
(३३)

हलूका नयाँ पुष्प जस्तै प्रभाती ।
तिमीलाइ चोर्ने म हावासमान ॥
कुँदाएर लैजान्छ आनन्द मानी ।
जहाँ गौतमी चाउरी छन्‌ बयानी ॥
कुनै शैल जस्ती मुजाले पुरानी ।
(३४)

मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा ऋषि ॥
(३५)

वल्ली बेह्रिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥
छाएको खरले विहङ्गस्वरले मीठो हवा शीतल ।
पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी ॥
(३६)

हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी ।
हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने झैं गरी ॥
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा ॥
(३७)

दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले ।
छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥
हीराका चय विश्ववन्द्य रवि जो हुन् पद्मिनीवल्लभ ।
लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥
(३८)

"ल्याएँ यी ललिताङ्गीनी मुसमुसे मुन्द्रे परी-बालिका ।
आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी ॥
स्वप्ना झैं वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥"
(३९)

यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी ।
ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी ।
आफैले तपको गरी निहूँ कतै जन्मिन् कि यी बालिका ?"
(४०)

"प्यारी गोबर गौतमी छ चुनरी बूढ्याइँको भूषण ।
खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छ्यौ सुखी चाउरी ॥
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रँग ।
टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
(४१)

चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी ।
यो आँखा दुइका सुधांशु छवि झैं छौ झोपडीमै तिमी ॥
बूढो प्रेम बढी बसी नजरमा गर्दै तुषारस्तुति ।
लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
(४२)

पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहीँ पातला ।
उड्छ्यौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा झुकी ॥
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्ने अझै आँखिभौं ।
हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
(४३)

यस्ता बात सुनी तिनी हँसमुखी गाली दिँदी दृष्टिले ।
"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी ॥
"आऊ छ्यानु यहाँ, करै ! कति बछ्यौ एकान्तमा एकली"
भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
(४४)

"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल झैं गुन्गुने ।
आधा शब्द लुकेर अर्द्ध बुझिने वाक् बोल्दछिन् फूल झैं ॥
(४५)

बस्दामा वनमा महाविजनमा माता पिता दूर भै ।
तर्स्यै क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ॥
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी ।
अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
(४६)

यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन ।
गाभा झैं सुनकी महीरूहविषे बोक्दै झुलिन्‌ गौतमी ॥
आमाका सब भाव जो प्रथम छन्‌ हावा झुलौना बनी ।
पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥
(४७)

के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
बूढा बाबु सदैव छन्‌ हँसमुखा यो झल्लरी झूलमा ॥
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन् सह्यारी शिशु ।
सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
(४८)

बाँडौला र छुनूमुनू कुसुमका हाँगाहरूका सब ।
बीयाँका भुइँबीच वर्षशुरुमा ती पासलीपोसली ॥
हावाका "झुल बाबु" रङ्गहरुका चाचा, चरी चक्चके ।
तोते ताति अनेक छन्‌ प्रकृतिमा वात्सल्य नै विश्व हो ॥
(४९)

"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाङ्गिनीसाथमा ।
सोधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी ॥
"राम्रो सूझ गर्यौ" भनेर ऋषिले लेखे नयाँ पातमा ।
चिल्ला पिप्पलको हवासित सदा उछ्लेर मर्मर् लिने ॥
(५०)

न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
गुन्‌ गुन्‌ गुन्‌ भँवरा सुरारस पिई आनन्दको, पङ्खिदा ॥
साना छुन्मुन स्निग्ध पल्लव फुटी, पन्ना हिलेका दिन ।
आँखाले हँसिली मुमा प्रकृतिको देखाउँथिन्‌ ती शिशु ॥
(५१)

मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन्‌ ।
गम्काईकन जौतमी चमचमी चम्किन्‌ त्यहाँ बालिका ॥
पारी शीतल शान्त चित्त उनको भन्थिन्‌ कथा स्वर्गको ।
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
(५२)

तोतो बोली बालको यो छ सारा ॥
गुन्गुन् गर्ने काव्य सङ्केतद्वारा ॥
खेलै होला खालि सौजन्यलाई ।
"थय्या, थय्या" स्नेहको "हाइ हाइ !"
(५३)

सप्तम सर्ग
(उपजाति)

सानी उज्याली वनबालिका ती ।
हालेर जादूमय स्वप्न जाली ॥
बन्थिन् तरङ्गीपट भाँति भाँति ।
अनेक राम्रा मृदु भाव काती ॥
(१)

हेर्थिन वसन्ती कलिदार डाली ।
कल्लोल झैं स्वर्णप्रभातमा ती ॥
आनन्दका पाउ छिटा उचाली ।
(२)

दिन्छन् मुना, पल्लव, पुष्प, ताली ।
विहङ्ग बोल्छन् रसिला कुरा ली ॥
छन् वल्लरी नै उनलाइ आलि ।
चल्छन् हवाले मृदु अङ्ग चाली ॥
(३)

कल्लोलले निर्मल नृत्यवाली ।
नाला बगेका गिरिकुन्जभित्र ॥
भाषा छ तोते नवपल्लवीय ।
वसन्त झैं शब्द हुने मुनामा ॥
(४)

रेखाहरूको नव कोपिलाको ।
मुनाहरूका मृदु चालबाट ॥
आकाशका सुन्दर मेघबाट ।
भाषा छ बग्दो तिनको अचम्म ॥
(५)

जो भाव बन्छन्‌ हरिया र रङ्गी ।
वसुन्धरामा नव रश्मिद्वारा ॥
ती भाव राम्रा मसिना मिहीन ।
छन्‌ रेखिएका दिलमा नवीन ॥
(६)

ती चारु प्यारी वनकी कुमारी ।
आनन्दकी शासनमा हरीयो ॥
बन्थिन् कहीं फूल कहीं चरा ती ।
अलौकिकाऽऽभास लिएर जाती ॥
(७)

जो सिर्जनाको झलमल्ल ज्योति ।
सेतो भई राप, बनेर मोती ॥
निशापरीका घन केश काला ।
भरी सधैं झल्मल छन्‌ उज्याला ॥
(८)

हामीहरू नाम दिएर तारा ।
जो हेर्दछौं झल्मल नित्य सारा ॥
ती रत्न देखेर शकुन्तला ती ।
प्रवाह लिन्थिन्‌ कति भाँति भाँति ॥
(९)

परीहरूले सपना दिएर ।
मिठासको स्वप्नसुसार गर्थे ॥
प्रभाततारा सुनतुल्य आशा ।
अनेक राम्रा दिलभित्र भर्थे ॥
(१०)

उषा उज्याली घनकेशवाली ।
सुवर्णवातायनबीच बत्ती ॥
बाली, जसै "स्वागत अंशुमाली ।"
भन्थिन्, हवाभित्र सुगन्ध हाली ॥
भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको ।"
गुलाफबारीहरुको सुगन्ध ॥
सुँघेर बग्दी सुनमा सुगन्ध ।
(११)

(वसन्ततिलका)
ऐनासमान हलपी जलतुल्य साफ ।
निष्पाप शुद्ध दिलमा नभएर ताप ॥
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग ।
आनन्दको सुन सुगन्ध लिएर भल्की ॥
(१२)

नालासमान तिनका पद नृत्य गर्छन् ।
चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई ।
फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥
(१३)

जादूनिकेतनसमान समस्त विश्व ।
आनन्दको छ जसको गहिरो रहस्य ॥
जो रूपरङ्गहरुको छ अनन्त टूना ।
त्यो बालनिम्ति छ अरू सब दुःख भन्छन् ॥
(१४)

जो साधुले भजिरहे युगसम्म लाखौं ।
जो भाव दुर्गम सधैं छ सरस्वतीको ॥
जो भोग्छ ईशपति बाल बनेर आई ।
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ ।
(१५)

पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती ।
मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
भाषा बुझिन्छ खगको अनि नाटकीय ।
त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
(१६)

जो पात एक महलैसरि दिव्य ठानी ।
बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु ।
आनन्दका महल हुन् शिशु नै फुलेका ॥
(१७)

छन् प्रौढभाव उनका मनमा मुना झैं ।
स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर ।
बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥
(१८)

बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
संवादबीच दिल शैशवको छ मस्त ।
अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
(१९)

देखेर ऐक्य सब रूप र रङ्गभित्र ।
जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
मीठोपनासँग समाउँछ भित्र छाती ।
त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
(२०)

निर्जीव छैन तटनेर शिला सलक्क ।
जो हुन्छ चारु लहरी जलको झलक्क ॥
त्यो गर्छ भाषण मनोहर कल्कलाई ।
आनन्दको मुटुसितै लय नै मिलाई ॥
(२१)

विश्वासको मृदुलता जुन हो मुना झैं ।
जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
खस्दैन आँधिहरुबाट, ढलेर जाँदा ।
ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
(२२)

आधारदार सुकुमार विचारधारा।
सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
आनन्द झैं मधुर ज्योति लिने विचित्र ॥।
(२३)

आनन्दको मधुर ज्ञान अनन्त निल्ने ।
जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली ।
जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
(२४)

आँखा अनन्तसित गर्छ कुरा चमक्क ।
धप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द ।
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
(२५)

जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा ।
त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
झल्किन्छ त्यो प्रगतिमा सुरगुह्य झल्ल ।
जो भावमा विवुध छन्, शिशु छन् त्यहीं नै ॥
(२६)

पाऊँ म त्यो मधुरता यदि आज थोर ।
बन्थें परी, विवुध, स्वर्ग नलाई बेर ॥
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
विश्वाससाथ सब विश्व उ राज गर्छे ॥
(२७)

हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई ।
पूजा गरेर दिलले जलसाथ हेर्छौ ॥
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म ।
कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
(२८)

बिग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा ।
वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥
त्यो कालमा शिशु अविकृत शान्त हाँसी ।
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
(२९)

त्यो इन्द्रको धनुपछाडी दगुर्न खोज्ने ।
देखेर सत्य खँदिलो नभबीच ऊँचा ॥
जो भावको गति छ त्यो यदि आज पाऊँ ।
यौटा नयाँ निगम यो जगमा बनाऊँ ॥
(३०)

खेली कुँदेर छरिता पदसाथ नाची ।
हाँसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश ।
आए बनेर शिशु गर्न सुचारु लीला ॥
(३१)

यो दुःखको जलधिमा यदि मिल्छ एक ।
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कतै छ तममा यदि जिन्दगीको ।
त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
(३२)

सानी शकुन्त-सँगिनी हँसिली भएर ।
पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्थिन् सुवर्णनभमा सुप्रभातभित्र ।
रङ्गीनपङ्ख मनमाफिकले विचित्र ॥
(३३)

देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी ।
श्रीकृष्ण छन् ऋषि कुनैकन पातमाथि ॥
चिल्लो हरा मृदुलता नव पालुवाको ।
पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥
(३४)

यो कोपिलाकन सुगन्ध दिने जरामा ।
हो स्वर्ग, हैन जलरश्मि यहाँ धरामा ॥
त्यो शब्दको मधुर तान थियो चरामा ।
तोते मिठास अझ छैन कि स्वर्गमा नै ॥
(३५)

यो काँचको घर न हो बहुरत्न-छाना ।
छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥
प्रत्येक रश्मि रविको पनि हुन्छ झल्ल ।
त्यो कल्पना अझ छ रङ्ग दिने झलल्ल ॥
(३६)

के फूल् हुन् र कविजी जग-सिर्जनाका ।
आदर्शरूप दिलका मृदु गुह्यवाला ?
मेरा निमित्त शिशु नै सब फूललाई ।
जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥
(३७)

ती अप्सरा र नृपकी दुइ-अंशवाली ।
पृथ्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥
आनन्दलाइ ऋषिको तपको गिज्याई ।
आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥
(३८)

दाढी सफा सकल ज्ञान छुने हिलाई ।
"नानी" भनेर जब कण्व पुकार गर्थे ॥
नानी दुवै चमकले दुइ स्वर्गतुल्य ।
हेर्थे मनोहर बनी ऋषिमा प्रफुल्ल ॥
(३९)

त्यस्ती जुहार घरमा हँसिली हुनाले ।
टूनासमान छविदार गयो अँधेरी ॥
दारिद्र्य नै धन भयो र कुबेर हाँसे ।
लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
(४०)

ती गौतमी पनि बनी जननी तिनैकी ।
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई ।
छन् मस्त, गीत रसिला उसमा सुनाई ॥
(४१)

मारेर सुस्त ठुँग मस्त हुँदी ठिटीका ।
मुद्रा मुनासरि सुकोमल केशमाथि ॥
ती बाललाइ पृथिवी जननी बनेर ।
बूढी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
(४२)

राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
राम्रो लिएर शिशुचाल रमाइलोले ॥
ती कल्पनासरि भइन् रसिली सजीव ।
देखेर झल्ल सब जो ऋषि थोर देख्थे ॥
(४३)

यौटा थियो घरविषे मृग सानु बच्चा ।
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बढ्दै गएर दुइ साथ बसेर वार्ता ।
गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥
(४४)

तारा विभातहरुका सरि एकली भै ।
एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्थिन् ॥
यौटा प्रभा सुनहला तब विश्वमित्र ।
स्वप्नासमान नव जागृत बन्न जान्थ्यो ॥
(४५)

(अनुष्टुप्)
अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा ।
खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥
(४६)

रानी पारी तिनैलाई ताज फूल बनाउँदै ।
सिँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥
(४७)

वसुन्धरा कतै नाच्थे कतै "छम् छम् छनानना ।"
पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥
(४८)

बिहा गरेर ती खेल्थे 'चारु' राजा बनीकन ।
रानी शकुन्तला बन्थिन् प्रजा बन्थे अरू जन ॥
(४९)

(शालिनी)
यस्तै लीला बाल्यमा चारु खेली ।
मीठो पाई सौख्य जस्ती हवेली ॥
चोरी गाना मालिनीका उज्याली ।
बढ्थिन् हाम्री अप्सरारूपवाली ॥
(५०)

जूनै जूनैबाट मानो , कुँदेकी ।
फूलै फूलैबाट मानो बनेकी ॥
राता गाला दीर्घ आँखा उज्याला ।
विश्वश्री झैं प्रातमा चारुचाला ॥
(५१)

बढ्थिन् हाम्री बालिका दिव्य राम्री ।
तोते बोली अप्सरा शब्द घोली ॥
झुप्रोलाई एक थुप्रो जुहार ।
जस्तो पारी रूप भारी कुमारी ॥
(५२)

(स्रग्धरा)
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी ।
बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी ॥
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी ।
रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन् चित्त-गङ्गी ॥
(५३)

ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी ।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ क्रीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी ।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन् चित्तचङ्गी ।
(५४)

भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र ।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
(५५)

अष्टम सर्ग

विपिनबीच छन्‌ ती शकुन्तला ।
कुसुम-कोपिला कान्त-कुन्तला ॥
चपल चालकी दीर्घलोचनी ।
ललित लालिमा-युक्त मोहनी ॥
(१)

वदन बान्किलो हास्य सुन्दर ।
विहगगानकी मञ्जुमन्दिर ॥
रँग प्रवालका, ओठ पातला ।
दशवसन्तकी दिव्य पातला॥
(२)

सलिलकेलिकी कान्ति झल्झल ।
मधुर गानकी मुर्ती कल्कल ॥
मृदु गुलाबमा शीत विन्दु झैं ।
पतित, झीलमा चारु इन्दु झैं ॥
(३)

चपल वीचि झैं तीरचुम्बिनी ।
दिव्य कान्तिले मुस्किँदी तिनी ॥
मधुर चालकी छन्‌ स्वतन्त्रता ।
विपिन-बालिका केलिमा रता ॥
(४)

ललित चालले लोलमञ्जुला ।
सरल शान्त छन्‌ ती शकुन्तला ॥
हरिणनृत्यको फुर्फुरेपना ।
रङ्ग कोपिलाबीच चल्दथ्यो ॥
(५)

कुसुम पङ्ख भै मिष्ट बोल्दथ्यो ।
विगह फूल भै शान्त फुल्दथ्यो ॥
प्रकृतिमा मिली नाच्न आँगन ।
पहर आठ छन्‌ चञ्चलेक्षण ॥
(६)

बाल-केलिको स्वर्णकाल छ ।
प्रौढको जगत्‌ धूलिजाल छ ॥
जनकभावले भू प्रकाशित ।
नव सिँगारले हुन्छ भूषित ॥
(७)

छ र अनन्तमा खेल्नको मन ।
रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले ।
चपल गानमा तारका बसे ॥
(८)

कुद र खेल हे वन्य बालहो !
मधुर गानले स्वर्ग बन्छ रे ॥
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
मधुर शानमा खेल्छ डुल्छ रे ॥
(९)

नव सिँगारकी छन् वसुन्धरा ।
रवि भजी रिङी नृत्य अप्सरा ॥
लय र तालमा तारका परी ।
हृदयकन्दरा बस्दछन्‌ भरी ॥
(१०)

भ्रमरभित्रको मिष्ट भुन्भुन ।
छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥
जनक सुन्दछन्‌ बन्न गद्गद ।
सृजनमाधुरी-बीच षड्पद ॥
(११)

शवल सिर्जना ईशले गरे ।
किन त ? बालका नृत्य हेर्न रे ॥
सुख शिला भरी फुल्छ जिन्दगी ।
पयर पाउँदै नृत्य गानको ॥
(१२)

कुसुम-ओठमा नव्य नाद छन्‌ ।
छ ऋतु नृत्यका पाठ बन्दछन्‌ ॥
स्वप्न बान्किने बोट झैं बनी ।
किरण केलीमा फुल्छ जिन्दगी ॥
(१३)

भावना मिली बढ्न फुल्नको ।
मधुर वासना पाउँछिन्‌ तिनी ॥
मृदु प्रियम्वदा चारुचञ्चला ।
सखि तृतीय ती द्वेषहीनता ॥
(१४)

मृद्‌ शकुन्तला छन्‌ चतुर्थ यी ।
दश-वसन्तकी कान्तकुन्तला ॥
छनन छन्न छन्‌ छम्म छम्ममा ।
जल छचल्किने शस्यतीरमा ॥
(१५)

मधुर कुञ्जमा जून छर्किंदा ।
झम्म झाँगमा पत्रपुञ्जमा ॥
विपिनका परी नाच गर्दथे ।
सरस रङ्ग भै पत्र हेर्दथे ॥
(१६)

छलल छल्ल छल्‌ छाल गर्दथे ।
टलल टल्‌ टपल्‌ चन्द्र झर्दथे ॥
पुलिन सज्दछन्‌ नृत्यवाद ती ।
कथन भज्दछन्‌ क्या रमाइला ॥
(१७)

यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा ।
आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा सुनाईकन ॥
उँचा चन्द्रमुहारले मुसुमुसू, सौन्दर्य छाईकन ।
सुन्थ्यो स्वादु कुरा जगत्‌ सब बनी क्या चाँदनीको वन ॥
(१८)

ती साना मसिना झिना मृदु मुना टूना कुरा गन्गन ।
बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥
जूनेली जल झन्झने लहर ली आनन्द भै दोगुना ।
पार्थिन्‌ वीर प्रसूनका छुनमुना, रत्नार्णणी कामना ॥
(१९)

"को दुष्यन्त ?" शकुन्तकी सखि त्यहाँ सोध्थिन्‌ सफा चाखले ।
"राजा रूप प्रतापका र गुणका छन्‌ सन्तका पालक ॥
ती दुष्यन्त दिगन्त-कीर्ति, दिलका छन्‌ कान्त, ती शान्त छन्‌ ।
फिँज्दै प्रान्त र अन्त अन्त जगमा वासन्तिका वासना ॥"
(२०)

भन्दी चारु भइन्‌ हलक्क अलि क्यै चाँडै बढेकी ठिटी ।
आनन्दी शिशुसाथ नन्दनकुनाका बीच सौगन्धमा ॥
फुल्दो कुड्मलतुल्य छन्द तिनको गर्थ्यो सुगन्धी कुरा ।
दुष्यन्त प्रभुका अनन्त यशको जो सन्त पाल्ने थिए ॥
(२१)

"हात्ती छन्‌ सुनका छुने गगन रे ! बाबै ! सिँगारीकन ।
चढ्छन्‌ रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन्‌ अरे ॥
सारा सागरका जुहारहरुका छन्‌ हार रे सुन्दर ।
मीठा बाग फुली बिहारहरुका छन्‌ रम्य रे मन्दिर ॥
(२२)

छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने ।
रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे।
खोलामा पनि बग्छ रे सुन झझल्झल्‌ बालुवातुल्य रे ॥
(२३)

रत्नै फल्दछ रे अनेक रँगको सारा बगैंचाभरी ।
छाना नै सुनको अरे गजबको !" आँखा यहाँ चम्किए ॥
गर्छिन्‌ शान दुवै समुच्च करले, "आकाशभन्दा पनि ।
ठूलो रे, सुनको बिहानसरिको झल्झल्‌ उँचा रम्य रे॥"
(२४)

भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन्‌ महान्‌ नीरमा ।
त्यो अत्युक्ति सुनेर चन्द्रनभमा मुस्काउँदा छन्‌ मृदु ॥
हाँसिन्‌ सत्वर मालिनी-तरलता तारङ्ग ती बालको ।
टिप्दै गुन्गुनसाथ "सत्य सब हो" जस्तो गरी जूनमा ॥
(२५)

"बूढा छन्‌ त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
हाम्रा कण्वपितासमान वयका सारा कुराका धनी ?
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ?
आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?"
(२६)

भन्छिन्‌ एक "छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ।
हाम्रो उम्रिदिँदैन क्यार !" यतिले खिल्खिल्‌ बने ती सबै ॥
ती बस्छन्‌ दरबारमा झिलिमिली आनन्दका सारमा ।
रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥
(२७)

भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी ।
पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
धप्कादार जुहार झल्मल गरी बस्छन्‌ नचाई परी ।
मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
(२८)

"त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?"
भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥
ती देख्छिन्‌ सपना बनाइ बिपना छायासितै जूनको ।
"रानी भन्न सुयोग्य छ्यौ" जब सुनिन्‌ भस्किन्‌ पुगेझैं कहाँ ॥
(२९)

"ती राजा अब आउँछन्‌ सखि यहाँ गर्छन्‌ बिहा छाँटले ।
तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर ।
बस्नेछ्यौ सखि ! चाकरी सब गरी लिन्छ्यौ बुझ्यौ चामर ॥"
भन्थिन्‌ ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साथकी ।
"जाऊ धुत्त नकच्चरी" यति भनी फर्किन्‌ परी सुन्दरी ॥
(३०)

"जाऊ चारु तिमी त आरुसरि छ्यौ तीतो बियाँकी गुदी ।
जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछु ।"
भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन्‌ ॥
(३१)

चीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
चीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
उठ्छन्‌ ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना ॥
(३२)

(मालिनी)
यतिपछि हिँडिहाले ती उज्याला मुहार ।
पयर प्रकृतचाला नृत्य गर्दा समान ॥
तरुवरमनि राम्रा जूनले भासमान ।
छिरबिर भुइँ-बुट्टा राहमा झल्मलिन्थ्यो ॥
(३३)

आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
पुष्पैतुल्य हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥
जूनेली सुरपुष्प सुन्दर सफा मानो छ फुल्दो त्यहाँ ।
बास्ना नै जसको छ शान्ति रसिलो, आनन्द नै रूप छ ॥
(३४)

"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
टूना चारमुखी महा नृपतिका आनन्द कारीगरी ॥
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना सूक्ष्मका ।
थोरैमा जति छन्‌ उनी अरु कहीँ छैनन्‌ उज्याला हरि ॥
(३५)

आऊ नानि ! शकुन्तला किन तिमी बस्छ्यौ अबेरैतक ?
यस्तो बेर गरी नआउनु बुझ्यौ राका-चकोरीसरि ॥
ठण्डा सत्तु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ॥"
(३६)

सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
कस्तो रात सफा छ हेर्नु त हवस्‌" भन्छिन्‌ दुवै हातले ॥
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
भन्छन्‌ "रात सफा भएर न त्यहाँ छन्‌ खान क्यै पातमा ॥"
(३७)

फाँको सत्तु लगाउँदी वदनका कूना सफा पार्दछिन्‌ ।
छोटी भैकन खान थोर भुइँमा सेतो झरी झार्दछिन्‌ ॥
पुछ्दी फेरि यसो मुहार करले पानी पिई कल्कल ।
ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी झार्दछिन्‌ ?
(३८)

यति बाद सुतिन्‌ शकुन्तला ।
सपनामा वनमा परीसँग ॥
सुनको दरबारमा उडी-
कन हेर्दी नृपकीर्तिका रँग ॥
(३९)

मानो छ एक सपना मनको मलाई ।
आउन्न रङ्ग बिपनातिर सत्य हाई !
हुन्‌ कालिदास कवि नै कि त व्यास आई ।
राखून् समस्त पद चित्रणमा सफाइ ॥
(४०)

नवम सर्ग
(पृथ्वी)

छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा ।
वसन्त छ परागमा, विहगका गला रागमा ॥
प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा ।
विभाग वनका झुले मधुर रागका लागुमा ॥
(१)

छ काग पनि कोयली मधुर 'कोयँ' को शब्द ली ।
डटे तरु फुली झुली नरम बैँसजादू बली ॥
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली ।
फुलेर सुषमा झुली मृदुलता लताको मिली ॥
(२)

कुरङ्गगवन रङ्ग भो बहुविहगका सङ्गमा ।
प्रसङ्ग घुइरा चले कुसुमओठका रङ्गमा ॥
अनङ्ग छ तरङ्गमा, प्रकृत सिर्जना ढङ्गमा ।
उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥
(३)

वसन्त छ अनन्तको मधुर पन्थ झैं सन्तको ।
बली कुसुमवृन्तको हृदय दीप्ति झैं अन्तको ॥
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥
(४)

बढेर नव आँकुरा भुइँभरी हरा औ भरा ।
मुसुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥
चरासरि नयाँ कुरा यति बढेछ छापी धरा ।
भनेर कुसुमाकरा द्युति पुर्याउँछे टाकुरा ॥
(५)

बनेर नृप वन्य झैं ऋतु वरेण्यमा गण्य झैं ।
कुबेर घनधान्य झैं कलुषकालिमा शून्य झैं ॥
मनोहर अनन्य झैं मदनजन्य लावण्य झैं ।
प्रफुल्लित हिरण्य झैं छ ऋतुराज सौजन्य झैं ॥
(६)

लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी ।
नशासरि रँगीन छन्‌ जुन त्यसै भरी बेसरी ॥
हवा हरहरी गरी मलयको परीको थरी ।
हिलाउन डुले धरी चमर हेर लाखौं थरी ॥
(७)

डटी वसनमा हरा मखमली बनाई धरा ।
लिई कुसुमका सुरा पुलकमा पुर्याई शिरा ॥
गवाउन्‌ सिकी चरा सुरभिले छुँदो उर्वरा ।
प्रसूनज्वलिताम्बरा, नृप छ राज गर्दो धरा ॥
(८)

रँगीन उसको कला कति भला रसामा खुला ।
नचाउँछ पला पला सुचपला मुना कोपिला ॥
अनेक रसिला थला मृदुगला गुँजिन्छन्‌ भला ।
तँगीकन तला तला कुसुमरङ्गमञ्ची कला ॥
(९)

छ ईश मृदु छन्दमा कुसुमबन्धका गन्धमा ।
विकास दिलको लिँदो किरणदार आनन्दमा ॥
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता ।
कुँदेर मृदु ओठ ती, छ मुस्काउँदो फूलमा ॥
(१०)

विशाल पटमा टमाटम भरी टुना चातुरी ।
टुसाउन लगाउने किसलयी हरा माधुरी ॥
थपी रँग थरी थरी कुसुममा सहस्राऽधरी ।
विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ?
(११)

धराभरा हराभरा वनभरी कुनै अप्सरा ।
बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥
दिंदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी ।
रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥
(१२)

छ चित्‌ शवल रङ्गमा लहरिँदो लतासङ्गमा ।
फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा ।
शिखासरि धधप्किँदो मधुर बासको नै कतै ।
कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥
कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी ।
(१३)

अपार गति पारमा विपिनसार संसारमा ।
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥
झिना मधुर तारमा, भ्रमर भारका सारमा ।
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥
(१४)

अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल ।
निकुञ्जभर गुञ्जिँदो कुसुमपत्रमा पुञ्जिँदो ॥
सिँगार नव पाउँदो मधुर काम फैलाउँदो ।
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥
(१५)

छ हास सब वासनामय महाचिदाऽऽभासमा ।
समुल्लसित ज्योति छन्‌ सृजनाका हृदाकाशमा ॥
बनी मधुर बोल्दछन्‌ विहग-जीवनी आशमा ।
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥
(१६)

सफेद कर काँच झैं सकल मूलका काममा ।
झिलीमिलि रँगाउँछन्‌ कुसुमकालका रङ्गमा ॥
सबै किरणकामना हृदयका बनी भावना ।
तिनै किरणपोषमा मधुर तोष हालीकन ॥
नशाभर सुरा भरी रँग र रूपमा माधुरी ।
प्रकाशन प्रयत्नमा अधर हालिदिन्छन्‌ हरि ॥
(१७)

छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता ।
त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥
सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा ।
अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥
(१८)

अबोल पनि बोल भै अचलसम्म नै दोल भै ।
सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै ॥
फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा ।
सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ?
(१९)

झरेर तरुनोपना हरितरङ्ग बल्दो घना ।
छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥
विहङ्गम गला गरी मधुर वेणु झैं मोहन ।
जगत्‌ छ कि बनाउँदो नित नवीन वृन्दावन ॥
(२०)

कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा ।
हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥
बनी रँग विभिन्नता छिरबिराउँछन्‌ के यता ।
चलूँ मृदु झूलूँ फुलूँ रव गरूँ भने झैं कता ॥
(२१)

चरा छ जसको कुरा अनि छ रोगन नै हरा ।
छ पुष्प मधुरो शिरा किसलयाऽऽधरा हृद्हरा ॥
छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा ।
हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥
(२२)

जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता ।
दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥
उरोज मृदु उप्सिने मधुरता नयाँ भावका ।
झरे वनविषे परे अब शकुन्तलामा पनि ॥
(२३)

जहाँ पिक छ प्रश्नमा हृदयभित्र 'को हो ?' भनी ।
जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥
प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी !
विहार वनमा गरी अब फुलिन्‌ फुकी कामिनी ॥
(२४)

बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी ।
कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥
करङ्गनयनी यिनी ललितता लताकी बनी ।
बनिन्‌ विपिन झैं धनी मदनमोहिनी मोहनी ॥
(२५)

कथाहरु पुराणका विपिन गर्दछन्‌ वर्णन ।
प्रफुल्ल लहरा जहाँ हरहरा हवा हर्दछन्‌ ॥
अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी ।
स्वरूप छ र कृष्णजी तल झरे कि झैं छन्‌ यिनी ॥
(२६)

सुरेख मृदु अङ्ग छन्‌ वश अनन्त आफैं हुने ।
बनी भजन भृङ्गको हृदयले सुधा नै लिने ॥
शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी ।
हुने मरण नै मजा पयरमाथि छाती धरी ॥
(२७)

कहाँ प्रकृत साधु छन्‌ ? हठ र योगका भक्त ती ।
नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥
अमानव छ शून्यता नजरमा न रोमाञ्च छ ।
छ साधु मकनै उही जुन अगाडि सत्‌ जादु छ ॥
(२८)

पर्यो विपिन जानु नै किन बसी घरैका घर ।
जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥
झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि ।
उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥
(२९)

छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी ।
महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥
बुझे मधुर रूप नै निगम नै छ के काम र ?
बुझे हृदय प्रेमको भव छ स्वर्गको मन्दिर ॥
(३०)

बुझे सरस लाजको मृदुल "नाइँ" को माधुरी ।
छ दर्शन यहाँ अरू कुन जगत्‌विषे चाहिने ?
अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन्‌ यहाँ ।
कडा परुषहातले मृदुलता कहाँ छोइने ?
(३१)

"अनन्त रसकी सुधा हृदयमोहिनी पो म ता ।
सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ?
समुच्च मृदु भावनासित म दिव्य टूनाकन ।
सधैंभर भजे म छु प्रकृतप्राप्त आत्माकन ॥"
(३२)

"ममा शरम चित्तमा नरम रङ्गले आउँछ ।
कडा परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥
म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ बुझ ।
भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ ॥"
(३३)

यही छ ध्वनि रूपको कृसुमतुल्यको यौवन ।
प्रदर्शन गरी गरी हृदय गर्छ आमन्त्रण ॥
अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी ।
यहाँ किन झरिन्‌ र को हृदय डाक्न आइन्‌ यिनी ॥
(३४)

"तमोवृत छ जो जगत्‌ विषयका खिचातानमा ।
यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥
यिनैकन गरूँ भनी मृदुल रूप आमन्त्रण ।
भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥
(३५)

न लेशभर लोभका न कटु कामको कामना ।
लिईकन छुनू यहाँ ?" भनि-दिँदै सफा सम्झना ॥
गुलाबहरु बेलिँदै विषयपत्र झारी झरे ।
उडेर तर मोहनी मृदु कपोलमा ती चढे ॥
(३६)

वियोगसरि बन्दछन्‌ कुसुमबोट भै कण्टक ।
सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने ।
बनिन्‌ अमृत झैं यिनी अधरदार पृथ्वीविषे ॥
(३७)

अरू चपल चारुता चटुलता र चाञ्चल्यले ।
बनेर नखरे ठिटी मन इशारिने बढ्दछन्‌ ॥
यिनी मधुर-भावकी सरलता फुलेकी लता-
समान अति चारु छन्‌ प्रकृतभावलज्जास्पदा ॥
(३८)

हवासदृश बग्दछन्‌ सुरभिभाव सानन्द ती ।
तिनी प्रकृत चालकी मृदु प्रवाल छन्‌ मालती ॥
मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा ।
अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥
(३९)

यिनी शरम-शुद्ध छन्‌ मधुर रङ्ग चढ्दैछ त्यो ।
छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥
उघारिन उघारिनै छ कि तयार झैं माधुरी ।
उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥
(४०)

बुझे पनि नबुझ्नुमा छल गरी दिलै भज्नुमा ।
सुने पनि नसुन्नुमा नबिझिए त्यसै बिभ्नुमा ॥
अनेक नखरा गरी रिझिनुमा तथा रिझ्नुमा ।
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥
(४१)

यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक ।
मिठास सरसाउँदी अविदिता बनी कामना ॥
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना ।
छ सूक्ष्म ललिताङ्गिनी वदनकी सुगन्धीपना ॥
(४२)

सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी ।
मिही मृदुल चालले श्रवण थोर ढल्काउँदी ॥
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी ।
तिनी मृदुलयौवनी रतिसमान बस्छिन्‌ हुँदी ॥
(४३)

दशम सर्ग

गुणसुवर्णका आढ्य आकर ।
चहकदार छन्‌ नृपतिका बर ॥
यश फिँजाउँदा विश्व नै भर ।
उदय स्वर्णका कान्तिसुन्दर ॥
न छ कसी कुनै राख्न त्यो दर ।
लेखनी त्यसै बन्छ कातर ॥
(१)

समरसिंह ती उच्च शासन ।
गुण पहाडका कीर्ति-कानन ॥
बीच वल्लरीका ध्वजा फुली ।
फर्फराउँदो राज्यमा डुली ॥
गौरवी बनी उत्तमोत्तम ।
नृप नृसिंह छन्‌ ती प्रजाकन ॥
(२)

तिमिर रूपको शत्रु नाशिने ।
शार समानका रश्मि फैलिने ॥
पूर्व सानुमा छन्‌ दिवाकर ।
तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
दश दिशा तिनी हाँक्दछन्‌ रथ ।
कनक-कीर्तिको उच्च ती पथ ॥
(३)

उर उदारका दाननिर्झरी-
हरु बहाउने वीरता-गिरि ॥
यश हराभरा दीप्त कानन ।
शिखर स्वर्गका भूमि धारण ॥
(४)

कीर्ति वल्लरी बागमा फुली ।
नरम वासले मम्मगाउँछ ॥
रङ्ग रङ्गका फूल रङ्गिने ।
कुसुमकालमा कोकिलायिता ॥
(५)

भारतेन्दु ती हृदय-सिन्धुका ।
कीर्तिकौमुदीपूर्णिमा बनी ॥
कुसुमचूड ती उर्लिआउँदा ।
क्या फुलाउँथे बीचि वल्लरी ॥
(६)

अवनिमा बनी भूपका मणि ।
स्वर्ग चित्र झैं व्योमका मनि ॥
तारका मिलेतुल्य सुन्दर ।
जन मिलापले राज्यमन्दिर ॥
सुख र ज्योतिले नित्य छाउन ।
तल झरे शशीसरि उदाउन ॥
(७)

रङ्ग देखिँदै हृदयभित्रका ।
यदि फुलून्‌ सबै लवज वासले ॥
तब बनाउँथे पत्रका पट ।
रसिक सामुमा चारुचित्रका ॥
(८)

तर छ सामुमा खालि बादल ।
दूर शृङ्गको दृश्य ढाकिने ॥
हृदय देख्छ जो कीर्तिका धन ।
सहज ढाक्दछन्‌ शब्दका घन ॥
(९)

गगननीरमा एक सूर्य झैं ।
सहज गर्दथे धूप शासन ॥
चन्द्रमा बने, तारका बने ।
नृप अरू उनीसामु धूसर ॥
तमविषे छटा छाउँथे अझ ।
उडु निभाउँथे ज्योतिले यिनी ॥
(१०)

विपुलवक्षका वीर बान्किला ।
तिलकदार छन्‌ पुष्टभाल यी ॥
मुख छ तेजिला ओजदार छन्‌ ।
सब प्रतापका दिव्यसार छन्‌ ॥
(११)

जलधिको तिनीमा गभीरता ।
विमलभावका वीचिका छिना ॥
गुण बनाउँदै रत्न कुँद्दछन्‌ ।
जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुद्दछन्‌ ।
गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
(१२)

विष्णुरूपका युग्म बाहुली ।
राज गर्दछन्‌ भूप भूमिमा ॥
बाहुली दुवै स्वर्गमा पनि ।
राज गर्दछन्‌ देवताकन ॥
(१३)

शिखरबीच छन्‌ वीर शङ्कर ।
तारकाविषे छन्‌ दिवाकर ॥
ऋतु समस्तका यी वसन्त छन्‌ ।
कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
(१४)

कविहरू बनी गानका चरा ।
नीडरूपकी त्याग्दछन्‌ धरा ॥
हृदयपङ्खले पाउँदै सुरा ।
उच्च कनकको कीर्तिकान्तिमा ॥
(१५)

मृदु मुहार ली कामदेवका ।
समरदेवता डालडोलका ॥
चतुर हान्दछन्‌ युद्धमा शर ।
युवति दैख्दछन्‌ पुष्पका तर ॥
(१६)

दीनका यिनी कल्पका तरु ।
कुसुम रत्न छन्‌ बाहुमा भरी ॥
सब पुकारका श्वासले सदा ।
प्रकृत भावले आउने झरी ॥
कल्पवृक्ष त्यो स्वर्गमा बरु ।
नर निमित्तको छैन रे तरु ॥
फूल टिप्दछन्‌ देवताहरू ।
(१७)

एक सूर्यले फुल्छ जीवन ।
नित हराभरा रङ्ग रङ्गमा ॥
किरण केन्द्र छन्‌ चित्तका सब ।
जन जरा बनी पाउँछन्‌ रस ॥
मधुर बीज झैं स्वप्न बढ्दछन्‌ ।
देश कालमा रङ्ग रङ्गिन ॥
सौख्य कुन्जका वृक्ष झैं प्रजा ।
पाउँछन्‌ हरा धन्य जीवन ॥
(१८)

स्वर्ग पङ्खका नीड सुन्दर ।
विहगभावका पत्र मन्दिर ॥
मृदु कला छ क्या रङ्ग लेखिने ।
पत्र पुष्पमा मञ्जु देखिने ॥
(१९)

समरघोष छन्‌ मेघ झैं यिनी ।
अरि निभाउने घोर गर्जन ॥
रुधिर शत्रुको बन्दथ्यो झरी ।
देख्दथे त्यहाँ मित्रले तर ॥
धनुष इन्द्रको कीर्तिसुन्दर ।
दिल खुसाउने लोकको सब ॥
(२०)

हरित कुञ्जको माथि उच्चता-
साथ शृङ्गगमा रम्य ठाउँमा ॥
तुहिन देशका काँधमा कहीँ ।
शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह झैं व्योमचारक ।
पङ्ख कीर्तिका भूप फिँज्दथे ॥
(२१)

गगन झैं सदा यी उदार छन्‌ ।
ग्रह विचार ती तेजदार छन्‌ ॥
पवन चल्दछन्‌ युग्‌ सुवर्णका ।
विश्वप्रेमका स्वप्न बन्दछन्‌ ॥
(२२)

सकल तारका ती विचारका ।
नीतिमा लिई तौल अड्दछन्‌ ॥
. ईश सूर्य झैं पाउँछन्‌ पथ ।
कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥
हित अगाधमा प्रेमसागर ।
पुत्रवत्‌ प्रजालाइ हेर्दछन्‌ ॥
रत्न रत्नका बूँद देशमा ।
जलधि कोषका झर्र भर्दछन्‌ ॥
ज्योति झर्दछन्‌ स्वर्ग देशका ।
पुष्प झैं कलामाथि पर्दछन्‌ ॥
(२३)

न्याय, तौलको झैं तुला बनी ।
युगल हातको तुल्य थालमा ॥
वजन नापिने रौं प्रमाणका ।
यश फिँजाउँछन्‌ न्यायमूर्तिको ॥
(२४)

तुहिनपूत भै पग्लिने त्यसै ।
अति दयालुता शुभ्र शैलको ॥
सलिल नागिनी भै झरेसरि ।
तरल रौप्य झैं झर्दथी तल ॥
पार्न क्षेत्रका वक्ष नै हरा ।
विमल भावले अब्धिमा पुगी ॥
स्वर्गमा चढी फेरि वर्लिन ।
(२५)

नित हरा यिनी छन्‌ महीरुह ।
कर हजार छन्‌ दानविस्तृत ॥
अमृतता फली प्यास मेटिने ।
खबर ल्याउँथे देवदूतले ॥
मलयसम्मका वायु चाखका ।
सुरभि कीर्तिको गन्ध पाउँथे ॥
(२६)

जति दुह्यो उती कामधेनु झैं ।
सद्‌गुणी त्यहीँ पाउँथे सुधा ॥
शस्य चाहिने कामधेनुमा ।
भक्ति चाहिने खालि भै यता ॥
(२७)

नीलछत्रका ग्रह जुहार झैं ।
राज्य पाउँदा चन्द्रशीतल ॥
सब प्रजा थिए चम्चमाउँदा ।
सुखप्रकाशले उत्तरोत्तर ॥
(२८)

भक्त धर्मका, युक्त कर्मका ।
साधु मर्मका विज्ञ भूपति ॥
दुष्ट व्याघ्रका चर्म नै झिकी ।
रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥
(२९)

बागमा यिनी सौख राख्दछन्‌ ।
कुसुम कीर्तिका मृदु फुलाउने ॥
सूर्य कान्तिका स्वकरले रची ।
रङ्ग रङ्गका सुरभि सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
वन बनाउँदै बहु विभागमा ॥
(३०)

विज्ञको सभा ग्रह जुहारले ।
बाटुलो बनी पूर्णरूप छ ॥
निष्कलङ्कतामा नवैलिने ।
नृपतिको त्यहाँ चन्द्ररूप छ ॥
(३१)

मधुर कान छन्‌ गानमा यिनी ।
सूक्ष्म ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई ।
प्रीतिले लिने शान्तिको पथ ॥
(३२)

सत्यपालनामा सुधीर छन्‌ ।
नीति राजको सत्यमा अडी ॥
आफूले रची जाल, पर्दछन्‌ ।
दुष्ट माकुरा सोहि जालमा ॥
(३३)

तुल्य दृष्टि दी अल्प, उच्चमा ।
पर्णका कुटी रश्मिले छुने ॥
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
बालुवाभरी सो छ झल्किने ॥
(३४)

उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन्‌ समुज्ज्वल ।
स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥
अस्त भै यता, देशमा अरू ।
पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥
(३५)

थकित झोंझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै ।
वन विहारमा छन्‌ तयार ती ॥
(३६)

कनक-सूतको कोट झल्मल ।
रत्नदारमा मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरकद्युति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त छन्‌ देशनन्दन ॥
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ ॥
(३७)

रथ चढे तिनी चार अश्वको ।
टलकदार छन्‌ अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटका स्निग्ध यालका ॥
गुच्छदार छन्‌ लोल पुच्छर ।
घावमेच्छु छ्न्‌ रोकिँदा, तर ॥
पद अधीर भै ती उचाल्दछन्‌ ।
हिन्हिनाउँदै मार्गखातिर ॥
(३८)

धनु छ हातमा कोष पीठमा ।
बगलमा बसे बक्बके अब ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)

अश्व चल्दछन्‌ अग्र प्रेरित ।
रथ सिँगारको चल्छ तीपछि ॥
छल्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)

पद हजारका वाद्य बज्दछन्‌ ।
चालमा मिली बढ्दछन्‌ अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्‌' वाद्य रुन्झुने ॥
'धुँ धुँ धुँ' गर्दछन्‌ तालमा मिली ।
पयर चल्दछन्‌ लाम लश्कर ॥
(४१)

गगन खैरियो धूलिधूसर ।
जनसमूहको आँधि आउँदा ॥
वाद्य छन्‌ जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि झर्दछन्‌ ॥
(४२)

कनकयानमा सूर्यतुल्य ती ।
धनुष हातमा रश्मि झैं शर ॥
क्रुरताहरू मार्न चल्दछन्‌ ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)

एकादश सर्ग
(पञ्चचामर)

छुटे सबै पदाति ती, पछाड़ अश्व पर्दछन् ।
सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक ।
हजार वृष्टि आँधिका हजार पङ्ख वादक ॥
(१)

खुला छ मार्ग यानको शिला छरेर खड्खडे ।
शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे ।
घरर्र चार चक्र ती बने गुडेर गड्गडे ।
थरर्र बन्छ घच्घचा रथै समस्त हड्बडे ।
(२)

चरा अनेक चिर्बिरे फरर्र पङ्ख छिर्बिरे ।
हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे ।
दगुर्छ यान थर्थरे लिएर मार्ग धर्धरे ॥
(३)

विशालमा उडान ली दिएर दृष्टि नीडमा ।
भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
अनेक पङ्ख मजा उडी, बही, धकेलिँदै ।
सवेग हानिँदै लिने चरा सुनेर भीत भै ॥
अवश्य लौ विपद् परे भनी डराउँदै झरे ।
बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥
(४)

"अडा" भनेर कीर्तिमान्‌ यताउती निहार्दछन्‌ ।
खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन्‌ ॥
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन्‌ ।
अधीर चाल टापले अगाडि सुस्त बढ्दछन्‌ ॥
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।
सफेद दाँत बाउँछन्‌ पछाडि याल फर्किंदा ॥
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।
पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥
(५)

नजीक झट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।
सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर ।
टिपी मुना रमाउँदो मिठासदार फींजले ॥
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले ।
सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥
पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर ।
सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन ।
चपाउँदै गरी गरी मुनाहरू बराबर ॥
सत्रास फेरि फर्कंदो, भुलेर दाँत सत्वर ।
अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शर ।
बुझेर तर्सिई झर्यो फरक्क त्यो तलैतिर ॥
(६)

"सवेग हाँक्‌” भनी त्यहाँ पछाडि दृष्टि जो दिने ।
लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ ।
सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥
सवेग अश्व कामका चढेर पुष्पमार्गले ।
सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥
(७)

कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो ।
शिला चटट्ट चड्कियो गडड्ड यान गड्कियो ॥
घरर्र चक्र घुम्दछन्‌ झिलिल्ल अग्नि झल्कियो ।
सवेग अश्व चल्दछन्‌ तथापि मिर्ग अल्पियो ॥
(८)

बढेर जान्छ वेग झन्‌ पिटाइ पाउँदा हय ।
तडित्‌समान बन्दछन्‌ बुझी समस्त आशय ॥
गरेर घोष मैघको दगुर्छ झल्किँदै रथ ।
अरण्य-अग्रगण्यको लिएर वेगले पथ ॥
(९)

सफेन अश्व तेजका भिजी प्रसाधिताङ्ग ती ।
जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन्‌ ॥
फुरेर नाक फोहरा फुरुर्र बीच बीचमा ।
गला सुदीर्घ यालका समस्त छल्बलाउँछन्‌ ॥
सजीव स्थूल नेत्र छन्‌ र कान छन्‌ उचालिँदा ।
सुशीघ्र चारु टाप छन्‌ उचालिँदा खसालिँदा ॥
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर ।
अगाडितर्फ उफ्रिँदा कटट्ट टाप कड्किँदा ॥
(१०)

उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा ।
छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ बाङ्गिँदो ॥
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको ।
अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥
जमीन थोर नै छुने र धेर जो हवा हुने ।
झिना सुशीघ्रपादले फटक्क फट्ट फड्किँयो ॥
दिएर दृष्टि यानमा सशङ्क सट्ट सड्किँदो ।
(११)

सुवर्णयानमा डटी मुहारका समुज्ज्वल ।
खिचेर ज्या सुवाहुले यसो पछाडि ढल्किँदा ॥
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि ।
खिँचेर ज्योति नेत्रको सुदूरमा लगाउँदा ॥
(१२)

'उडूँ उडूँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर ।
हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥
छ चित्र काल जीवको जगत्‌ अरण्यमा सरि ।
सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥
(१३)

अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई ।
सुशान्त साधुरूप छन्‌ त्रिरेख भाल चन्दन ॥
खडा भएर बीचमा स्ववक्षबाट रक्षण ।
गरेर भीत मिर्गको उचाल्दछन्‌ दुवै कर ॥
"प्रहार माफ होस्‌" भनी उठाउँदा दुवै स्वर ।
(१४)

झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए ।
झल्याँस्स ! चट्ट वाण त्यो झुकेर झर्छ झारमा ॥
सुवीर बाहु काँप्दछन्‌ र भर्छ पाउमा धनु ।
स्वधर्मका विरोधमा त्यसो गरेर झस्किनु ॥
(१५)

"प्रहार माफ पाउँला प्रभो" भनेर बढ्दछन्‌ ।
अगाडि हात जोड्दछन्‌ विनीत वाक्य बोल्दछन्‌ ॥
"प्रहार माफ पाउँला ! प्रभो जगत्‌-प्रभाकर ।
नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥
छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर ।
हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥
सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर ।
(१६)

बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत ।
गरी कूटी सुहाउँदो नवीन नृत्यले नित ॥
फुरुक्क फुर्कि हुर्कियो महर्षिको मनोरथ ।
सुचारु हातले सदा सप्रेम सुम्सुम्याइँदो ॥
(१७)

सचेत चारुनेत्रले सजीव दृष्टिले रुँदो ।
तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥
सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन्‌ नर ।
कि झैं भएर कृद्दध्यो सयत्न-फीँज सत्वर ॥
(१८)

सशङ्क वक्ष उप्सिँदो, धकाउँदो र आत्तिँदो ।
तडित्‌ समान वेगको छलूँ जगत्‌ भने सरि ॥
छरेर शस्य दाँतले छरक्क फींज छर्किदो ।
फटक्क नाघ्दथ्यो बुटा बनेर अन्ध वेगको ॥
खलाँतितुल्य सासको, फरक्क फर्किई रुँदो ।
तरक्क आँसु नेत्रको झलक्क भै हवा हुँदो ॥
(१९)

भएर अन्ध वेगमा मिलेर चट्ट ठक्कर ।
चरक्क घाउ रेखिँदो भिजेर रक्तले खुर ॥
कतै कतै छिटा झरी भुवा रँगाउँदो अलि ।
उड्यो हवा बनेर त्यो अनन्त त्रासले बली ॥
(२०)

न सुन्दथ्यो कुटीविषे कदापि शब्द कर्कश ।
सदा प्रसन्न टिप्दथ्यो चुनेर शस्यका रस ॥
न त्रासले सताउँथ्यो न कालको थियो डर ।
प्रभो ! नृसिंह देखिँदा उडेछ होश झैं तर ॥
क्षमा गरेर भीतमा प्रभो क्षमा-महीधर ।
सुपुण्य प्राणदान होस्‌, न कष्टले उठून् कर ॥"
(२१)

सुनी प्रतापका धनी दयार्द्र चित्तका बनी ।
महागुणी सुनाउँछन्‌ दयालु भावका ध्वनि ॥
"भनेर मिर्ग मामुली लखेटमा थिएँ तर ।
बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥

त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर ।
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
सुशीघ्र टापले झिना हवा बनी बचाउँथ्यो ॥
कलङ्कबाट पापको मलाई जो उडी पर ।"
(२२)

विनीत प्रार्थना दुवै मिलेर गर्दछन्‌ त्यहाँ ।
"नजीक पर्णको कुटी छ चारु कण्वको यहाँ ॥
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
थकाइसम्म मर्दथ्यो शिकारको यसो वहाँ ॥
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
प्रदीप्त सुर्य ओर्लिदा सुवर्ण तेजले डटी ॥
समान रश्मिका सदा चढेर कीर्ति टाकुरा ।
सुदीन शस्यको छुने बढालु आश आँकुरा ॥
महर्षि कण्व पाल्नु‍भो सुदूर सोमतीर्थमा ।
दया भए प्रसन्नता हुने थियो कृतार्थमा ॥"
(२३)

यसो गुनेर भन्दछन् "म आउँला यसो घुमी ।
अरण्यका विभिन्न यी सुचारु दृश्यमा रमी ॥
धरेर वस्त्र मामुली हिँडेर आज पैदल ।
सुदूर राख सारथि प्रशस्त अश्व औ दल ॥
म लिन्छु वन्य मार्गको विहार चारु शीतल ।
नगर्नु शान्त ठाउँमा 'म छू' भनेर खल्बल ॥"
(२४)

यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
धरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
सुचारु माथपोसमा अनङ्ग झैं मनोहर ।
लिएर साथ हास्यको सँगी रमाइलो चर ॥
हट्यो लिऐर यान त्यो घुमेर सूत त्यो पर ।
(२५)

हराभरा अरण्यमा चरा टिपेर आँकुरा ।
कुरा गरी धुराधुरा रँगीन-पङ्ख-फर्फर
जरा भिजी हरा हुँदा तुषार नै हराउँदा ।
झुझुप्प वृक्ष झाँगमा वसन्त फौज झैं हुँदा ॥
पुरानु पङ्ख पत्र झैं जमीनमा गिराउँदा ।
महीप कीर्ति गानमा थिए कि चिर्बिराउँदा ॥
(२६)

सुशान्त शीतलोपना, हरा अनन्त यौवन ।
विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी ।
सुबोल शब्दले भरी, मिठासमा थरी थरी ॥
अनेक रङ्ग मोहनी फुटेर चित्‌ सरोवरी ।
सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी ।
कतै छ फेरि मिर्मिरे कतै छ हेर छिर्बिरे ॥
कतै छ पङ्ख उच्चता भजूँ भनेर फर्फरे ।
कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥
छ काव्य-हृज्जगत्‌सरि प्रभावमा भनूँ भने ।
(२७)

हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर ।
सुचारु छत्र झैं थिए विचित्रता मनोहर ॥
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर ।
सिँगार पुष्पका लिने क्षितीश छत्र छन्‌ तरु ॥
हिलाउँछन्‌ लता जहाँ अडेर पत्र चामर ।
(२८)

छछल्‌ छछल्‌ छचल्किँदी छ छालदार छल्छले ।
नदी सलील चञ्चला झलल्ल कान्ति-अञ्चला ॥
गरी किनार कल्कले सजीव चारु चालकी ।
झलल्ल झिल्ल झल्किँदी वसन्त नृत्य तालकी ॥
शिला तरङ्ग बोलमा हिलोर लोल लाउँदी ।
स्वतन्त्र नागवेलिमा छ वन्य गान गाउँदी ॥
चराहरू सिकाउँदी सबै गला रसाउँदी ।
अनेक हाव-भावकी नटी वनै रसाउँदी ॥
हरा-भरा सुवासको समीर शीतलाउँदी ।
(२९)

वसन्तकी वनस्थली छ चारु हाव-भावमा ।
हरा सिँगार मोहनी प्रसुन हास्य-सुन्दरी ॥
सुस्निग्ध-बैंस माधुरी-प्रदर्शिनी-परीसरि ।
सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥

सरर्र शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवाऽधरा ॥
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
अनङ्गराज्यरङ्गले बनाउँदी हरा-भरा ।
अबीर स्वर्गको छरी सुवर्णमा सुगन्ध दी ॥
मुसुक्क मुस्कुराउँदी सजेर स्वर्ग झैं धरा ।
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर ।
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
(३०)

उ भन्छ "काम के यहाँ ? मिठाइ छैन खानको ।
कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
छ चार पाउ चाहिने र बार्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
न लड्डु बालुवा लिई मुठी मुठी चपाउनु ॥
न यी 'अहा ! अहो !' प्रभो गरी यहाँ अघाउनु ।
थरर्र थर्र काँप्दछन्‌ नसा टुटी टुटी उरु ॥
छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु ।
बडा अघाउँदा सधैं न पीर बुझ्दछन्‌ मिही ॥
(३१)

अरर्र ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वेधक ।
अहो ! उहू ! अरे ! बिझ्यो नि ! चस्स चस्स भै मुटु ॥
मरें नि बाहुनीचरी तृषार्त भै अकालमा ।
दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥

सिएर पात ओढने भए बनी गुटुमुटु ।
समस्त विश्व रन्कियो नशा तनक्क तन्कियो ॥
वनै घनक्क घन्कियो कपाल आज सन्कियो ।
म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नँ है हवा ॥
छ लड्डु मोतिचूरको सिवाय और के दवा ?"
भनी लडूँ लडूँ गरी विचित्र विकृताऽनन ॥
"थकाइले मरें" भनी हँसाउँदा भए वन ।
(३२)

धरेर हात कानमा "नगै हुँदैन आउ लौ ।"
भनेर तान्दछन्‌ त्यहाँ क्षितीश मुस्कुराउँदा ॥
"यहाँ छ सात हातको गजेन्द्र मेघ गर्जन ।
लुला र लङ्गडा मिले छ ओर्लिने चपाउन ॥"
भनेर हाँस्न हेर्दछन् सँगी हँसाउँदोकन ।
थरर्र काँप्दछन्‌ सँगी झिकेर स्वाँग गन्थन ॥
(३३)

"अहो ! म जान्नँ जान्नँ नि करालदंष्ट्र आउला ।
म तीन हातको बुजो मकै भनी चपाउला ॥
कपालकाँशकी प्रिया धुरू धुरू रुवाउला ।
ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥
म रुन्छु पेटमा पसी झिकेर को बचाउला ?"
भनेर आँसु नक्कली निकाल्न थूक लाउँदा ॥
भए विनोद, हास्यका सँगी त्यहाँ हँसाउँदा ।
(३४)

सुचारु वन्य मार्गका दुवै किनार फुल्दछन्‌ ।
विहङ्ग रङ्ग रङ्गका कुँजेर मस्त झुल्दछन्‌ ॥
अनङ्गवाण रङ्गका अनेक ढङ्ग फुल्दछन्‌ ।
सँगी लिई क्षितीश ती प्रसन्नचित्त चल्दछन्‌ ॥
(३५)

सुकाइँदा उ देखिए अनेक चारु वल्कल ।
हरा प्रशाख वृक्षमा भिजेर तप्तपाउँदा ॥
टपक्क रत्न बूँद ती गुडेर झल्मलाउँछन्‌ ।
विभिन्न रङ्गमा फुटी जुहार झैं सुहाउँछन्‌ ॥
कतै छ खोल बाहुको कतै छ कोट वक्षको ।
लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥
(३६)

"कृहू, कुहू" छ कोयली, सुगाहरू कराउँछन्‌ ।
कतै त्यहाँ "पिवी पिवी" कतै त कुर्कुराउँछन्‌ ॥
"चिरिर्र" चिर्बिराउँछन् चरेर चुर्बुराउँछन् ।
"चिँचीँ चुँचूँ कुलुल् कुलुल् ! चचच्चले" चलाउँछन्‌ ॥
सुसेलिंँदा र केलिँदा, कराउँदा र कुर्लिदा ।
फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
(३७)

कतै छ फूल सौख्य झैं कतै छ दुःख सङ्कट ।
कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥
अनेक जन्तुले भरी स्वभावको थरी थरी ।
जगत्‌समान रूपकी वनस्थली छ सुन्दरी ॥
(३८)

कला सुचारु देखियो फुली सुहाउँदो थला ।
यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥
अनेक फूल बोट छन्‌ चुनी बढाइँदा भला ।
कुटी नजीक कण्वको भई अवश्य मञ्जुला ॥
(३९)

क्षितीशपार्श्व दाहिना फरर्र फर्फराउँदा ।
यहाँ छ प्रेम सूचना भनेर भित्र आउँदा ॥
कुरा चरासमानका गरेर बागमा डुली ।
घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥
सशङ्कचाल सुन्दरी फुलारु वन्य माधुरी ।
वसन्त बैंसमञ्जरी अरण्य-वासिनी परी ॥
सुचारु-अङ्गवल्लरी-प्रसूनतुल्य-वल्कला ।
त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥
"लुकेर हेर" भन्दछन्‌ छिपी क्षितीश तेजिला ।
(४०)

द्वादश सर्ग
(वंशस्थ)

अडेर हाँगाहरुमा हराभरा ।
फुलेर झुल्छन्‌ लहराहरू हरा ॥
नसा कलेजा छ र पात मञ्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन्‌ हलुका र बान्किला ।
(१)

चुरी छ नङ्ग्रा पनि रेशमी हरा।
अडान खोज्छन्‌ तरुमा मनोहर ॥
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
अडाउँछन्‌ ती मृदुबैँस घूँघुर ॥
सहर्ष प्रेमी तरुका भजी उर ।
(२)

झुकीरहेका तल शान्त सुन्दर ।
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
त्यजेर उड्छन्‌, तरुपाद छाँदले ।
छुँदै, हवाको पथ प्रेमको लिई ॥
सुनेर प्रेमी तरुका चरा-कुरा ।
(३)

फुकाउँछन्‌ कुड्मल पत्र घुम्रिँदा ।
उरोजमा चादरतुल्य लत्रिँदा ॥
प्रकाशतर्फै नित तिर्सना लिँदा ।
समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
(४)

रँगीन छन्‌ स्वर्गिक-रश्मिका शिशु ।
उषापरीका कुसुमाञ्चला सुता ॥
चढेर पानी सुकुमार बैंसमा ।
मुना तथा फूल र कोश केशर ॥
लिएर जन्मे रँगिँदा, रमाउँदा ।
हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र भावादिकतुल्य बैंसका ।
फुलूँ र सिर्जूं रँगले भरुँ भनी॥
फुटीदिँदा जीवन डाँठका सुरा ।
सुवास दिन्छन्‌ तरुमा, सुनी चरा ॥
(५)

तथापि सापेक्षिक भावमा त्यहाँ ।
फुलूँ हिलूँ वक्ष उचालियोस्‌ झुलूँ ॥
रँगीन बन्दै मधुवासले खुलूँ ।
मिलिन्द सानन्द बनाउँदै चलूँ ॥
चरा-कुरामा पृथिवी सबै भुलूँ ।
लज्जा रसीला नवपल्लवाऽधर ॥
खोलेर, आधा मुसकान सुन्दर ।
अनङ्गका रङ्ग खुलाउँदै डुलूँ ॥
भन्ने सबै भाव पह्लाउँदा ठिटी ।
छन् बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
(६)

कडा र चिल्ला अलि दीर्घ बान्किला ।
सलक्क उप्सीकन फर्किंदा निका ॥

टलक्क टल्केर हराशिरा धरी ।
पछाडि खेरा कलिका-भुवा भरी ॥
कडा र ठाडा जुन पात बाहिरी ।
बढाउँछन्‌ कोमल शुभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं ।
फुकीलिने षड्पद कोषमा धरी ॥
खिलाउँदै त्यो मकरन्द माधुरी ।
छ गुप्त गट्टासँग जो सुधासरि ॥
छुँदा पहेँलीकन घाउ लाग्छ जो ।
छ फुक्न उप्सीकन शुभ्रता भरी ॥
थियो त्यहाँ बोटसमान बैंसको ।
फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फैलिँदो ।
उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शब्द सुन्दर ।
तथापि फुक्दा स्तन पद्म-कोपिला ॥
कपोलका चाँद र कोयली-गला ।
सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन्‌ अझ हेर सुन्दरी ।
(७)

फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला मधुपूर्ण डाँठमा ।
जडाउ ढुङ्ग्री हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
तथापि बैंसे कमनीय बोट छन्‌ ॥
फुलाउने षोडशवर्ष माधुरी ।
हवा भरी बास मिही फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन्‌ ।
मुनामुना केश सुहाउँदा परी ॥
(८)

गुलाब छन्‌ लाल सुकोमलाऽधरा ।
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
फुकेर छाती मृदुपात भर्दछन्‌ ॥
हवा छिपेका जब गुह्य चोर्दछन्‌ ।
(९)

शराव झैं लाल सुडोल बैंसका ।
कपोलमा षड्पद झुम्न झर्दछन्‌ ॥
मौका ढुकी चुम्बन चारु गर्दछन्‌ ।
जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर्र झर्दछन्‌ ।
लाली र लज्जा रस स्वास छर्दछन्‌ ॥
सुवास मुस्की सुकुमार सार छ ।
प्रफुल्लता बैंस लिँदो मुहार छ ॥
तथापि राम्रा रमणी कपोलमा ।
सुचारु लाली अझ दिव्य सार छ ॥
(१०)

हवा भजी पङ्ख फिँजी ढलक्क ती ।
गरेर भूँ भूँ भमरा झुली कति ॥
चुसेर त्यो यौवनको सुधारस ।
बनीरहेछन्‌ तरुमा मदाऽऽलस ॥
तथापि कालो छ टलक्क टल्किने ।
कपाल त्यो रेशम झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
सलक्क केस्रो लहराउँदो झरी ॥
(११)

कुरङ्ग हुन्छन्‌ वनमा रमाइला ।
अनङ्गका पुष्पित कुञ्जमा हरा ॥
फुलेर झुल्छन्‌ लहरा जहाँ सुनी ।
बुट्टा बनी निर्झरका नयाँ कुरा ॥

टिपेर बोल्छन्‌ तरु शाख भै चरा ।
विचित्रवार्ता-तरलायिताऽधरा ॥
तन्नाहरू मख्मलका सजी धरा ।
बनाउँछिन्‌ पल्टिन शस्य-बिस्तरा ॥
बरर्र बर्सिन्छ झरी फुलीकन ।
हाँगाहरूमा रवि-रश्मिका सुरा ॥
हवा हुँदा शीतल काम हम्किने ।
रोमाञ्च झैं जङ्गलमा हराभरा ॥
त्यहाँ बसेकी मृगिणी कन्याइँदी ।
छ अंशमा स्पर्श मिलेर सर्सर ॥
चपाउँदी जो मृगदारुको रस ।
बनेर न्यानो मुखमा मदाऽऽलस ॥
बराबरी पुच्छर झारमा परी ।
कुहू कुहू सुन्न उठाउँदी शिर ॥
चिल्ली रसीली, मृदु कोरली ठिटी-
जस्ती उज्याली लम-कोस-लोचनी ॥
उचाल्दछे झट्ट झलक्क मोहनी ।
उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥
फुलीरहेका तरु औ लतामनि ।
(१२)

मिही छ लच्का जुन इन्द्रका धनु ।
कुँद्ने कुनै कोमल भावको छिनु ॥
लचक्क लाम्चा र सलक्क सुन्दर ।
रेखा छ पार्दो भ्रुकृटी मनोहर ॥
रँगै मिलाई रँग-कृष्णमा तर ।
(१३)

सुती कुनै कल्कलको किनारमा ।
एकान्तको पुष्प सुवास सारमा ॥
वसन्तमा चारु पखेरुका मनि ।
सुष्प्तिका चित्र सफा खुला बनी ॥

देख्दो छ कोही कवि बागमा हरा ।
परीहरू चञ्चल चारु लोचनी ॥
घडा लिएका वनमा सुरा भरी ।
खन्याउँदा लच्लच अङ्ग माधुरी ॥
कुलो र राम्रो रँग, बोटका जरा ।
भिजाउँदै ती मदिरा छरीबरी ॥
जो रश्मिमा रङ्ग हुँदो छिरीबिरी ।
बनेर उक्लिन्छ नशा भरी भरी ॥
त्यस्ता परीका रसपूर्ण ती घडा ।
कटी झिना लच्किनुले छचल्किँदा ॥
दायाँ बनी सुन्दर बैंस ढल्किँदा ।
बाङ्गो बनाई अलि चाल माधुरी ॥
देखीरहेको कवि मुग्ध पर्दछ ।
र कल्पना देख्दछ व्योमका परी ॥
वर्षासुता बादलसूतका तनु ।
पोखेर जाग्छन्‌ घटबाट जो झरी ॥
वनस्पति प्रस्फुट भाव-माधुरी ।
त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥
लिएर गर्दो कविता थरी थरी ।
देखीरहेको छ त्यहाँ सफा जल ॥
काला कुना बीच झलल्ल चञ्चल ।
भौँ त्यो उचालिन्छ मिही बराबर ॥
ठट्टाहरूले शिर हिल्छ सुन्दर ।
मसक्क मस्किन्छ लचक्क भै उर ॥
ढलक्क ढल्कीकन फेरि मञ्जुल ।
घलल्ल घल्चा जल चल्दछन्‌ तल ॥
मानो त्यहाँ छन्‌ जलका परीहरू ।
जो बस्दछन्‌ बादल बाग शीतल ॥
भिजाउने, कुञ्ज हरा गराउने ।
लिएर पुष्पाऽमृतका घडाजल ॥
(१४)

विशाल वक्षस्थलमा छचल्किँदा ।
बनेर राम्रो सपना जलैजल ॥
हवा तथा स्वर्ग प्रकाशमा चल ।
कुँदिन्छ छल्छल्‌ जल छालले छुँदा ॥
सफेद मोती लिइ स्पर्श कोमल ।
सिपीहरूमा ध्वनि मात्रको बल ॥
पसेर रेखा दिन जान्छ मञ्जुल ।
हुरी वहाँ बन्दछ खालि कोमल ॥
बन्दो छ दाना खँदिलो जहाँ तल ।
उम्रीरहेछन्‌ जल झ्याउ चल्मल ॥
विचित्र छन्‌ जन्तु जहाँ सुशीतल ।
ती पीङका सुन्दरता सफा सफा ॥
पानी भरेका मृदु दाँत कोमल ।
लिएर मुस्के मृदु बैंसका फल ॥
सौन्दर्यको वारिधि वन्यमा तल ।
(१५)

जहाँ छ फुल्दी नलिनी लिई दल ।
सलक्क बान्कीसित छाल कोमल ॥
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
त्यो ठाउँ हो नाक निधारको तल ॥
(१६)

जहाँ शाशीको छवि हुन्छ टाकुरा ।
सेतो उज्यालो हिउँका शरद्‌ सफा ॥
ती भाल हुन्‌ कोमल, कर्ण-कन्दरा ।
ती केश हुन्‌ कृष्णलता हराभरा ॥
गला त्यही हो जुन छन्‌ त्यहाँ चरा ।
(१७)

श्रीकृष्णले सुन्दर बैंस चालको ।
हेरूँ भनी चारु खुलस्त माधुरी ॥
लुकेर वृन्दावनबीच झाँगमा ।
जो देखिनेछन्‌ मृदु गोपिनीहरू ॥

सुवासको मग्मग रङ्ग भै तरु ।
छ जो घडा सुन्दरता खडासरि ॥
पोखूँ कहाँ यौवन वारि झैं गरी ।
चलीरहेका प्रियका अभावमा ॥
ठट्टा खुलाले वन नै हँसाउँदो ।
त्यस्तै थिए सुन्दर ती परीहरू ॥
(१८)

(रथोद्धता)
एक छन्‌ बगलमा प्रियम्वदा ।
मिष्ट-भाषण-मुहारकी सुधा ॥
चारु चाल चपला यता जुदा ।
चारु छन्‌ तरुणभाववैभवा ॥
(१९)

छन्‌ तृतीय गणना सुखास्पदा ।
कोमला र अनसूय-भावदा ॥
छन्‌ सुकोमल शकुन्तलाऽभिदा ।
अप्सरा-शिशु कुरङ्ग-दृष्टिका ॥
बेस मूर्तिसरि छन्‌ चतुर्विधा ।
(२०)

स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।
हास्य-चारु-अधरा प्रियम्वदा ॥
बैंस-मिष्ट नखरासितै कुरा ।
गर्नलाइ चतुरी प्रियाऽधरा ॥
गर्दछिन्‌ मधुर प्रश्न आलिमा ।
मिष्टभावप्रतिनादकन्दरा ॥
मोहिनी मृदुल-भार-मन्दिरा ।
(२१)

"बोल्दिनौ किन सँगी ! शकुन्तला ?"
झुक्दछन्‌ नजर निम्न लाम्चिला ॥
छैन हास्य-छवि बैंस चञ्चला ।
(२२)

मञ्जरी-कुसुम-रुद्ध भै गला ।
मूकि छौ कि भन कण्ठकोकिला ?
या फुलेर मृदुबैंस सुन्तला !
खोज्छ प्रेम भँवरा सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?"
(२३)

मुस्कुराउँछ विनम्र लोचन ।
तेज चढ्छ, बिजुली कि मोहन ?
भाव झल्किन गई छुँदो मन ।
लाम्चिईकन कुना विमोहन ॥
रोक्न कोशिश गरेर मुस्मुस ।
चारु ओठ क्रमका विकासले ॥
पालुवासरि प्रवालका खुले ।
ती कपोल कलि लाल भै फुले ॥
रेखियो मधुरता मुहारमा ।
आँखिभौँ अव उचालिँदा चले ॥
वक्र लोचन बनेर दृष्टिले ।
चारु उत्तर दिइन् कुरै फुले ॥
(२४)

थप्दछिन्‌ तब प्रियम्वदा त्यहाँ ।
"क्या फुली मृदुलता लतासरि ।
लाज फुल्छ लिन लाल माधुरी ।
एक डाकन मिलिन्द सुन्दरी ॥"
(२५)

आँखिभौँ मृदुलरेख खुम्चिँदी ।
लाजसाथ अलि चट्ट फर्किंदी ॥
त्यो अशोक तरुलाइ कर्किंदी ।
अप्रसन्नपनसाथ तर्किंदी ॥
छन्‌ खडा अलि घडा छचल्किँदी ।
बैंसको ढलकसाघ ढल्किँदी ॥
मेघका विपिनबीचकी कला ।
वारुणी मधुरता शकुन्तला ॥
(२६)

"ह्वैन ह्वैन नखरे यिनी सदा ।
बौल्दछिन्‌ अनृत है प्रियम्वदा ॥
गर्दिनन्‌ बुझ बिहा शकुन्तला ।
क्या गिज्याउन सिपालु चञ्चला ॥"
भन्दछिन्‌ जल दिएर बोटमा ।
चारु हास्य-रससाथ ओठमा ॥
(२७)

चूपचाप अलि बेर चल्दछन्‌ ।
वल्लरीकर कुनै त गल्दछन्‌॥
गुप्त दर्शक "म बोक्दथें भनी ।
त्यो घडा युवतिको परीसरि ॥"
आर्त चुक्चुक गरेर जल्दछन्‌ ।
(२८)

चारु चङ्ग चपला बसीकन।
त्यो घडाकन धरिन्‌ जमीनमा ॥
"बोक्न सक्दिनँ म भार" भन्दछिन्‌ ।
"ढेडु यो घटभरी बिकाममा ॥
छाद्छ छल्छल गरी सधैंभरि ।
खालि रुग्ण शिशु झैं झुकीवरी ॥
आफू चल्न नसकी सधैं चढूँ ।
भन्छ कम्मर गह्रूँ गरी गरी ॥
रुन्छ हेर बहुतै, छचल्किई ।
वल्कलै पनि भिजाउँदै झरी ॥
चल्मलाउँछ सदा कटी पनि ।
खान्छ चल्मल गरेर कर्करी ॥
'जान्छु वा' घर बरू बिहा गरी ।
बाल वास्तव कटीविषे धरी ॥"
(२९)

हिल्हिलाउँछ निकुञ्ज सुन्दर ।
हाँस्दिनन् अझ रिसाउँछन् तर ॥
ती शकुन्तसँगिनी मनोहरा ।
(३०)

भन्दछिन्‌ "नगर दुष्ट है कुरा ।
कान दुख्दछ मलाइ चर्चर ॥"
(३१)

चूप बन्दछ समाज बैंसको ।
थप्दछिन्‌ अलि सँभालिँदो स्वर ॥
"हेर हेर सखि कुञ्ज कौमुदी ।
मञ्जुपत्रहरुले खुशी हुँदी ॥
यो थिई हिउँदमा यहाँ रूँदी ।
आज क्या तरुणता छ गम्किँदी ॥
यो वसन्त वन जून झैं हुँदी ।
यो अशोक तरुकी विचुम्बिनी ॥
झुल्दछे सुख हुँदी हवा छुँदी ।"
(३२)

बोल्दथिन्‌ अनि सुमिष्ट सर्वदा ।
शाब्दकोमल मिही प्रियम्वदा ॥
"कौमुदी छ हँसिली सुधालता ।
बैंसदार स्तन-कुड्मलाऽङ्किता ॥
चन्द्रसुन्दर समीरचुम्बिता !
प्रेमकोमल-करा सुकेशर ॥
त्यो अशोकपरिरम्भिणी रता ।
बैंसकी मृदुलता बनी लता ।
झुम्किँदो मृदु सिंगारकी परी ॥
बेर्दछे तरु बडो मनोहर ॥
वाद्य चारु त्यसमा बने चरा ।
यो विवाह छ वसन्तमा यहाँ ॥
छौ तिमी त अबला कठैबरा !"
(३३)

यो सुनेर मनको प्रतिध्वनि ।
पाउँदा मधुर शब्दका मनि॥
भन्दछन् मनमनै जगन्मणि ।
कीर्तीका विभवका बडा धनी ॥
'क्या मिलेछ यिनमा प्रियास्पदा ।
नाम सुन्दर अहा ! प्रियम्वदा ॥
बोलिदेउन अरू कुरा त्यता ।
बोल्न छोड्नु किन चूप भै यता ?'
(३४)

चारु चट्ट अघि सर्दछिन्‌ अब ।
"क्या मसक्क भन बैंस मस्कियो ॥"
सुन्दछिन्‌ नजरले इशारिँदी ।
ती नजीक रहँदी प्रियम्वदा ॥
"लच्किएछ अलि उप्सिईकन ।
वल्कलै पनि बढालु बैंसमा ॥
क्या छिचल्छ तरुणोपना भने ।
वस्त्र, कुड्मल सुगन्ध बन्धन ॥
फुक्छ पात भँवरा झुलाउन ।
उप्सिएर नलिनी-प्रकोशमा ॥
फुट्दछन्‌ हरित बाह्य बन्धन ।
मुग्ध पाउँछ सुवासको धन ॥"
(३५)

"चारु जा तँ नखरे" भनी तिनी ।
अर्द्घचाख तर अर्द्धलाजकी ॥
लालिमा वदनमा सरक्क भै ।
रङ्ग रोक्न अलि यत्न गर्दछिन्‌ ॥
अर्द्ध छन् सफल ती मुहारमा ।
अर्द्ध छन्‌ विफल रङ्ग आउँदा ॥
(३६)

थप्दछिन्‌ छुन कपोल कोमल ।
हातले सुख लिँदी उरोरुही ॥
पुष्टतासँग प्रफुल्लता हुनु ।
पोटिलो हुनु चढेर माधुरी ॥
(३७)

'धन्य ती कर' भनी अभागका ।
हात सुन्दर सुरेख हेर्दछन्‌ ॥
ती सहस्र समरादिका जयी ।
जो बने सहजमा त्यहाँ वश ॥
देखिँदा मधुर बैंसको यश ।
राज्यबीच हरियो दिशा दश ॥
भाललाइ करले मुसार्दछन्‌ ।
फूल 'चारु' करले घुसार्दछिन्‌ ॥
(३८)

केशमा प्रचुर रङ्ग कोमल ।
भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
"फूल हेर नखरे सबै यहाँ ।
वस्त्र सुन्दर तथा सिँगारले ॥
शान गर्न चतुरा झुलीकन ।
बैंसका रस सुवासले हवा ॥
पार्दछन्‌ सब फुलेर मग्मग ।
डाक्न ती मधुपलाइ सुन्दर ॥"
(३९)

"छाड भो ! सकल यी कुरा तिमी ।
भर्न जानु बरु फेरि है घडा ॥
नत्र काम गरिनौ भनीकन ।
जाउँला र म लगाउँला कुरा ॥"
भन्दछिन्‌ सरस ती शकुन्तला ।
(४०)

भन्दछन्‌ मनमनै महीप ती ।
"होइनन्‌ द्विजसुता अलीकति॥
अप्सरा कि त नयाँ कुनै परी-
तुल्य बोल्नु गतिमा छ माधुरी ॥"
(४१)

चारु भर्न घट चल्दछिन्‌ अब ।
कुँज्छ कोकिल 'कुहू कुहू' रव ॥
लाम्चिली हँसमुखी उचाल्दछिन् ।
नेत्र पानिभरिला त्यहाँ जब ॥
देखिने डर हुँदा यसो लुकी ॥
फर्किए नृपति, खुम्चियो सँगी ॥
(४२)

भन्छ शानहरुमा अनेकन ।
"यी असुन्दर र पापका वन ॥
घोच्दछन्‌ कुसुम शूलले यहाँ ।
खान छैन सब पेट रित्तियो ॥

जङ्गली कुसुम छन्‌ अनर्थ हो ।
राह दीर्घ घरको अनर्थको ॥
काँप्दछन्‌ उरुसमेत थर्थर ।
वस्त्र छेड्छ वन-वायु हर्हर ॥
लोकनाथ सब बिर्सिने तर ।"
(४३)

चूप्प चूप मुखमा गरीकन ।
अङ्‌गुली नृपतिले दिईकन ॥
थाम्दछन्‌ घर भजी विना धक ।
चल्न तत्पर हुँदा विदूषक ॥
(४४)

भन्दछन्‌ "विपिनवल्लरीहरू-
सामु तुच्छ दरबारका तरु ॥
प्राकृताशय सुखी यिनीहरू ।
नक्कली बहुसिँगार ती बरु ॥
यो हरा छ वन सामु स्वर्ग झैं ।
यी परीहरुसमान सुन्दरी ॥
अल्प भूषण र अल्प चाहना ।
फुल्दछन्‌ विपिन माधुरी घना ॥"
(४५)

"हेर हेर ! सखि लौ प्रियम्वदा ।
यो सुकी छ लहरा कठैबरा !!
सुम्सुम्याउँछु सदैव प्रेमले ।
हौसला दिन गरी नयाँ कुरा ॥
हालिदिन्छु जल सेचिने जरा ।
हाय ! तैपनि छ रुग्ण यो बरा ॥
के उपाय अब लौन बोलन ।
यो पलाउन, म दिन्छु जीवन ॥
के भयो भन त वैलिँदो लता ?
पाल्नुभो कि पर तीर्थमा पिता ॥"
भन्दछिन सजललोचनी परी ।
रित्तिँदो घट जमीनमा धरी ॥
(४६)

भन्दछन्‌ मनमनै समुज्ज्वल ।
कीर्तिका, 'दिल रहेछ कोमल ॥
त्यत्तिकै जति छ रूप मञ्जुल ।'
(४७)

दुष्ट कृष्ण भँवरो उडीकन ।
ती कपोल दुइ फूलमोहन ॥
वन्य मिष्ठ मधुसार हुन्‌ भनी ।
दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥
(४८)

प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
केश रेशमलता भनी भनी ॥
भाव भै कुसुम रङ्गको त्यहाँ ।
घुम्छ शंसक पखेरु भुन्भुनी ॥
(४९)

'लौन लौन' सँग आत्तिँदी तिनी।
खोज्दछिन्‌ अलि दगुर्न तैपनि ॥
के गरूँ हुन गएर त्रासले ।
'लौन लौन !' ध्वनिको मिठासले ॥
बाहुली दुइ दिई कपोलमा ।
फेरि केशतिर चट्ट फर्किदा ॥
'लौन लौन' ध्वनिकी पुकार छन्‌ ।
लर्बरिन्छ मृदु अङ्ग, 'के गरूँ ॥
लौन लौन' सँग डाक्दछिन्‌ तरु ।
आँधिमा सदृश छन्‌ लताहरू ॥
पुष्प भन्दछ झुली 'म के गरूँ ?'
हास्यको सुख भए सँगी अरू ॥
भूप छन्‌ 'अघि सरूँ कि के गरूँ ?'
भन्छ शानहरुले विदूषक ॥
झाँगलाइ 'करले, म के गरूँ ?'
हातले अलि धपाउँदो 'अलि ॥'
झर्किएए नखरे उ नक्कली ।
फर्किएर डरले यसो अलि ॥
(५०)

चारु हास्य चपला हिली हिली ।
हाँस्दछिन्‌ मधुप भुन्भुने छली ॥
जान्छ त्यो सब त्यजी यिनैतिर ।
हाँस्दछन्‌ अझ सँगी मनोहर ॥
(५१)

"लौन लौन' सित ती प्रियम्वदा ।
भन्दछिन्‌ मधुर उत्तरप्रदा ॥
"यो पुकार गर भारतेन्दुमा ।
सद्‌गुणी विशद रत्नसिन्धुमा ॥"
(५२)

युवतिका लतिका कृतिका निका ।
रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥
उपर भृङ्ग चहार्दछ रङ्ग त्यो ।
जुन छ यौवनको वनको रस ॥
(५३)

सुमनका मनमा रस सारका
अधरका कलिला धरका थिए ॥
महक भै महको 'म हकी' भनी ।
भनभनी नभनीकन क्यै अरू ॥
भुनभुनाउँदथ्यो भँवरो बरो ।
(५४)

सुन हुँदा नहुँदा दिवस प्रभा ।
मधुप धूप भई अलि कोमल ॥
कमल कोमलको रस मञ्जुल ।
कुसुम देख्छ कपोल सुडोलमा ॥
(५५)

कर गरेर गरे करले पर ।
वर वरै भँवरो गठरो हुने ॥
भुनुभुनूँ नभनूँ अझ मात्तिने ।
मन भने नभने अझ आत्तिने ॥
(५६)

"उपलले पलले थलमा यही ।
मृत बनी तँ बनी रज झर्दथिस्‌ ॥
मन भरी नभरी करुणा रहोस्‌ ।
ल अब आबरु आ बरु आबरु ॥"
(५७)

विनयले नयले नधपाइने ।
उभयले भयले नहटाइने ॥
मधुर आशयले शयले पनि ।
पर धपाउन पाउन मुस्किल ॥
(५८)

पर सरी, रस रीस र रागकी ।
पवनकी वनकी कुसुमाङ्गिनी ॥
शरमदार-मुहार गुलाब छन्‌ ।
ललित लोलित दोलित भाव छन्‌ ॥
प्रकृत छन्‌ कृतझङ्‌कृत कान ती ।
सरसता रस ताल र ढङ्गकी ॥
(५९)

गरि गुहार मुहार निहारदी ।
पवनमा सुकुमार प्रहार दी ॥
कुसुमरूप जुहार शिकार ती ।
मधुपकी, धपकीकन लाल भै ॥
अब बनिन्‌ वनमा रति कामकी ।
(६०)

अघि सरी बिचरीकन भन्दछिन्‌ ।
सहचरी अलि चञ्चललोचनी ॥
नृपतिमा पतिमान गरीकन ।
यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
अलि धपाउनु पाउन ! लौ भन ॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
अरुणता दिनकी सुरमोहिनी ॥"
(६१)

यति भनी नखरे मृदुलाधरा ।
मुसुमुसू मित मुस्किदिइन्‌ बरी ॥
त्रिदशकी दुहितासरी ती परी-
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
श्रवणसिक्त प्रसन्नमना नृप ॥
मधुपको मधु प्यूँन चढे अघि ।
नजरले मधुकार शिकारमा ॥
(६२)

सकल चञ्चलता चकिता बने ।
मृदुलता लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
नचलने चल-नेत्र अलीकति ॥
पुरुषको रसको सुख कर्किदा ।
पवनले गति चञ्चल बिर्सिँदा ॥
(६३)

जन प्रतिष्ठित को ? कुन यो युवा ?
नर कि किन्नर ? देव कि मार वा ॥
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
(६४)

किन यतातिर आउँछ त्यो युवा ?
रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस 'शकुन्तला' ।
चकित छन्‌ कृतझङ्‌कृतकुन्तला ॥
(६५)

'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसको मनमोहन ॥
(६६)

"सदय देव यहाँ अरुणोदय-
सरि सवार हुँदो वनवारिमा ॥
पयरकष्ट गरीकन आसन ।
लिनुहवस्‌ कुशको प्रिय शासन ॥"
(६७)

"नगर भो अति कष्ट सुकोमला ।
नगरका घरका जननिम्तिमा ॥
नगर शान्त निकुञ्जनिवासिनी ।
न गरमी छ यहाँ न थकाइ छ ॥
न गरुकाउँछ आँग न वा उरु ।
नगरलायित छन्‌ वनका तरु ॥"
यति विदूषकले तिनमा भने ।
बहुत खिल्खिल ती पुतली बने ॥
(६८)

"यदि खडा 'बखडा तरु' फुल्दछ ।
किन खडा म नहूँ नखरा लिई ॥
म छु वयस्क हुँदा तगडा अझ ।
किन खडा हुनगो झगडा यहाँ ॥
धवल केश फुली लटरम्म छ ।
तरुणभाव त तैपनि टम्म छ ॥"
यति सुनीकन हास्यविनोदिता ।
अधर छोप्न तयार भए लता ॥
जब विदूषक छिँक्क गरी रुघा ।
सरस ताउ लगाउँदछन्‌ जुँघा ॥
(६९)

"सखि ! कुशासन ल्याउन जाउन ।"
यति भनी शरमाउँदछिन्‌ जहाँ ॥
वचनकी मधु ती, उनमा नृप ।
वचन मिष्ट सुनाउँदछन्‌ यहाँ ॥

"किन यसै, नबसे पनि ठीक छ ।
जब सुवर्ण उ साँझ नजीक छ ॥"
यति सुनीकन 'चारु' लिई घडा ।
मधुर आग्रहभाषण गर्दछिन्‌ ॥
"थकित पाउ हुने रहँदा खडा ।"
(७०)

बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा ।
देखी तेज प्रसन्न भै मनमनै सोद्धी नयाँ प्रश्न ती ॥
पाएको मरुमा सफा जल हराकै कुञ्जमा शीतल ।
यात्री झैं अति तृष्ण ती नजरकी हेर्दी भइन्‌ पाहुना ॥
(७१)

दोटैका मनमा पस्यो प्रथम त्यो जादू छ जो कोयली ।
हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न झैं ॥
'को होला कुन यो महापुरुष हो' भन्थिन्‌ उता सुन्दरी ।
'को होलिन्‌ कुन हुन्‌ परी ? ऋषिसुता हैनन्‌' उनी भन्दछन्‌ ॥
(७२)

झुक्दै चट्ट बराबरी भुइँभरी बुट्टा भरी भित्रका ।
हेर्ने चाख भएर झट्‌ नजर ती वेला पखी लाउँछिन्‌ ॥
आँखा जुध्छ कि झैं हुँदा सहज नै हाँगा हुँदी बैंसकी ।
ढुक्‌ ढुक्‌ बढ्न गएर लाल-गरमी लज्जा लिँदी गण्ड छन्‌ ॥
(७३)

सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन ।
"हाम्रो भाग्य बलेछ आज कसरी ! आँखा उज्याला हुन ॥
के सेवा दिन सक्दछन्‌ वन ठिटी भन्दो अहो भाग्यले ।
ल्यायो आज गिज्याउनै कि वनमा तेजी बडा पाहुना ?"
(७४)

सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती ।
भन्छन्‌ भूप "म आज आउँछु यहाँ दुष्यन्तको दूत झैं ॥
रक्षा गर्न र हेर्न जाँच ऋषिका यी यक्षका आश्रम ।
ठोकी दूर धपाउँला दितिजका दाह्रा दनासा भनी ॥"
(७५)

"हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक ।
ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झैं ॥
ती राजा थलका तथैव जलका, सारा दिशाका छवि ।
हावासाथ सुगन्ध कीर्ति रहने ती दानका सागर ॥
(७६)

ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै ।
ह्वैबक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची ?
चाहन्छौं यति सुन्न छैन उनको त्यो चेहरामा कुनै ।
उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !"
(७७)

भन्ने प्रश्न सुनेर ती नजरमा आनन्द गै कानको ।
भन्छन्‌ भूपति, "छैन दुःख उनमा छाती छ मानो शरद्‌ ॥
काँढा छैन सबै छ फूल, त्यसमा आनन्दको वास छ ।
यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥"
(७८)

मानी चाख मिठास ती वचनका प्यूँदी दुवै कानले ।
घेरै बेर झुकेर तीक्ष्णश्रवणी आँखा उचाली लिँदी ॥
बिर्सेकी मनमुग्ध भै शरम नै चैतन्य चाँडो पसी ।
लालीदार मुहार भै पलक ती चाँडै वराल्दी भइन्‌ ॥
(७९)

"मीठो नाम म सुन्न पाउँछु भने बन्ने थिएँ कोयली ।
को को हो यस कुञ्जमा अधर ली राम्रा रहेका फुली ?"
भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा ।
भन्दा भूप निहार्दछन्‌ नजरले फुल्दी झुकेकी ठिटी ॥
(८०)

"मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझीहालिने ।"
भन्छिन्‌ चारु, प्रियम्वदा अघि सरी दिन्छिन्‌ यही उत्तर ॥
"राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झैं सम्झिने ।
कस्ती प्रेमशिखारु चारु हँसिली यी चारु छन्‌ ओठकी ॥
(८१)

ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन्‌ लाजले ।
मानो फूल थुँगा बनी मधुरता झुक्छिन्‌ स्वयं भारले ॥
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि ।
आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?"
(८२)

भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै ।
आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन्‌ ॥
मानो सुन्दर छन्‌ स्वरूप अरुका आँखा छली फुल्नको ।
आफ्नो सोख लिँदो थियो शरमको गाली दिँदो नेत्रले ॥
(८३)

"होवैनन्‌ ऋषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग ।
ओठै छन्‌ उनका प्रवालरँगका क्या पातला पालुवा ॥
बोले कोकिलले लिई शरम के बिर्सिन्छ भाषा भनी ।
बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन्‌ वायुमा ?"
(८४)

भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै ।
फर्किन्‌ झट्ट 'कसो गरूँ' हुन गई बोक्छिन्‌ घडाको जल ॥
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन ।
सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन्‌ कल ॥
(८५)

"औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ ।
थाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गर्‍हुँ ॥
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।"
भन्दा नेत्र जुधेर तीन सखिका बन्थिन्‌ प्रशंसा तिनी ॥
(८६)

थप्छिन्‌ फेरि प्रियम्वदा "छ यिनमा सौन्दर्य नै स्वर्गको ।
पृथ्वीमाथि झरेसमान सखि छन्‌ दोसाँधकी सुन्दरी ॥
यी हुन्‌ कौशिककी सुचारु तनया जो मेनका-कोखमा ।
पाई जन्म यहाँ बढिन्‌ कुसुम झैं छोरी पिता कण्वकी ॥"
(८७)

पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
काँढो गो मनको 'यिनी ऋषिसुता ह्वैनन्‌' भनी चित्तले ॥
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
कालो पापसमान दब्छ कुइरो आकाशमा पत्लिई ॥
(८८)

धेरै मिष्ट कुरा भए, तब थपिन्‌ आली कुनैले त्यहाँ ।
"हाम्री छन्‌ सखि पुष्पतुल्य, मधुकी प्याला फुकेकी रँगी ॥
झर्किन्छिन्‌ भँवरा नजीक नहवोस्‌ भन्ने गरी भावना ।
लैजान्छन्‌ कि टिपेर मन्मथ स्वयं भन्ने छ शङ्का यहाँ ॥"
(८९)

भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन्‌ ।
"कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
आमैसाथ गएर भन्दछु यहाँ के दुष्टता गर्दछौ ?"
(९०)

भन्दै भन्न फनक्क भैकन गइन्‌ टाढा पुगिन्‌ ती पर ।
फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिझ्दा बहाना दिने ।
"आच्छू ! लौन" भनी थचक्क भुइँमा ती वेदनाले बसिन्‌ ॥
(९१)

राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको ।
तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
देखाईकन काम तीसँग बिदाबादी भए भूपति ॥
(९२)

त्रयोदश सर्ग
(मालिनी)

मधुकर महिषीले पङ्ख कूँजा फिँजारी ।
मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥
हँसमुख सखि यौटी साथमा ली अकेली ।
कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥
मधुकर सुइँकोले खोज्दछन्‌ भुन्भुनाई ।
वनविचरण गर्दी भक्तको भक्तिलाई ॥
वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा ।
नृपजनहरु डुल्छन्‌ भूप खोज्दा दशामा ॥
(१)

खलबल पहिले ता भुन्भुनाएसमान ।
अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥
निकट छ अन मानो शब्द सारौं-कराई ।
हलचलहरु भर्दै पङ्ख झैं खल्बलाई ॥
(२)

कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी ।
शरसदृश छ आँखा, चाल कल्लोल-भङ्गी ॥
भ्रमर मधुर भौँका कण्ठका कोयली ती ।
खलबल हुन जाँदा भूप छोड्छन्‌ त्यहीँ ती ॥
(३)

उदित रवि उज्यालातुल्य ती सामु आए ।
विहगहृदय तृष्णा ती प्रजाको बुझाए ॥
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
दिनभर जुन छेक्थ्यो ज्योति भर्ने मुहार ॥
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
(४)

"अब सब घर जाओ एकलो बस्छु पाई ।
सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
मुनिवरहरु बस्ने यो हरीयो निवास ।
मधुर कुसुम फुल्ने स्वर्गको भावना छ ॥
(५)

तप, जपसित बस्दा मोहिनी दिव्य आई ।
हृदयकन छुनेछन्‌ प्रेम झैं मुस्कुराई ॥
जुन ऋषिहरु खोज्छन्‌ वन्य मीठो विभूति ।
नयननिकट बन्छिन्‌ आज मेरी यहीँ ती ॥"
(६)

विहसित मुख हेर्छन्‌ अर्थले ती सँगीमा ।
मुखविकृत अनौठा भट्ट आकारिँदामा ॥
"अब वन वनचारी जङ्गली-प्रेम धारी ।
द्विजउपर हुँदामा आज रित्तो भकारी ॥
(७)

वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
उदरकन बटारी ह्वौ वनैया भिखारी ॥
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
शहरतिर हिँडें है हात ठण्डा बटारी ॥"
वचन यति लगाई हिँड्न तम्सेर भन्छ ।
"महल धन म पाउँ ताजलाई सिँगारी ॥
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।"
(८)

मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥
स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी ।
"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥"
(९)

"सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।
रँग बिरँग फुलेका चारु शाखा सगाती ॥
कसुमहरु उडे झैं बोल पाएर नाना ।
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
(१०)

अगणित महिमाका रङ्ग फुट्छन्‌ हजार ।
जलद-लसित ज्योत्स्ना दृश्यका छन्‌ किनार ॥
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
(११)

सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
पुलकित तरु बोल्छन्‌ नीड पाली अमोल ॥
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
मुखरितसरि बोल्छन्‌ अर्थ नाघ्नेपनामा ।
(१२)

लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
समररहित मीठा शान्तिका भाव-भङ्गी ॥
चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
(१३)

अतिशय मृदु राम्रा फूलका जो जरामा ।
अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
पवनसँग हिलेका छन्‌ हँसीला शिकारू ॥
(१४)

ध्वनि मृदु मुरलीका चल्दछन्‌ श्वाससाथ ।
स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
अनि विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी ।
ऋषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
(१५)

विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन्‌ ।
खबरहरु चरा छन्‌, स्वर्गसन्देश-चारु ॥
बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन्‌ ।
कुसुमहरु कला छन्‌ रङ्ग चढ्दा सुरा छन्‌ ॥
(१६)

दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य ॥
तह तह छ किताबी अक्षराऽऽभास भारी ।
प्रकृतिहृदयमा छन्‌ पाठ राम्रा विहारी ॥
(१७)

अलि पर बहँदी छन्‌ मालिनी कल्कलाई ।
जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
ऋषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।
विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र ॥
(१८)

प्रकृतपन नशामा, अङ्गमा वन्य भाव ।
हृदय-कुसुम-गन्धी वल्लरीका स्वभाव ॥
नयन मृदु कुरङ्गी बोल कल्लोलवाला-
सहित मधुर बैंसे फुल्दछन्‌ वन्य-बाला ॥
(१९)

झिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
ऋषिमहल हरीयो पात झुम्का सिँगार ।
विटप विविध खम्बा कुञ्ज खोपी हजार ॥
सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।
मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥
(२०)

म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व ॥
प्रचुर धन यहाँ छन्‌, रत्न-पन्ना-जुहार ।
विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
(२१)

हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी ।
पवन चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
(२२)

खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई ।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
(२३)

घरतिर सब जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान थाप ॥
श्रवण ऋषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
(२४)

पछिपछि म त हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झोँकका कामकाज ।
अमर वन-विहारी बन्छु झन्‌ देवराज ॥"
(२५)

अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण विलासीको इरादा बुझेर ॥
(२६)

अब वनतिर डुल्दा छन्‌ मिलेका सँगी ती ।
शर चतुर यिनी छन्, तीक्ष्ण त्यो मर्मभेदी ॥
नृपति दश दिशामा किर्तिका हास भर्छन्‌ ।
द्विज चतुर ठट्यौला हास्यले वश्य गर्छन्‌ ॥
(२७)

"छि ! छि ! वनअमिली यी" च्वाट्ट टड्कारिएर ।
चतुर चतुर भन्छन्‌– "दौंतरी हेर ! हेर !!
अतिशय अमिला छन्‌– देख्न जिभ्रो रसायो ।
तर पछि रसनामा स्वादले रन्थनायो ॥
(२८)

हुन त सब बिजूलीतुल्य तीखा उज्याला ।
तर ज्वर पछि आई रन्न पार्नेछ गाला ॥
म त यदि दुइ पैसाका मिले चार चार ।
छि! छि ! कति अमिला यी भन्दथें बार बार ॥
(२९)

किन हरि हरि सित्तैं, यो कुरुङ्गी कन्याई ।
रहनु वन अँध्यारो बीचमा रग्मगाई ॥
झिलिमिलि महलैमा ठाँट शृङ्गार पारी ।
मदनविजय गर्ने छन्‌ परी दिव्य भारी ॥
(३०)

चपल नयनवाला रङ्गका चारु गाला ।
कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥
शरम सरस चाला, बैंसवाला उज्याला ।
सुकठिन उरवाला चारु रम्भोरुवाला ॥
(३१)

ढलमलसित हिंड्छन्‌ हंसका ढङ्गवाला ।
भ्रमरसदृश काला केशमुन्द्रा उज्याला ॥
जुन चटु नखरामा गर्दछन्‌ मात नाला ।
उनकन किन छोडी लाउने वन्य माला ॥
(३२)

न छ पहिरन राम्रो, शुष्क बोक्रा भिरेका ।
युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥
पशुहरु पछि लागून् यी मुकुण्डीहरूका ।
जब उदर छ रित्तो छन्‌ पिँडौला गहूँका ॥
(३३)

न सरस नखराले भौं छरीता उचाली ।
नयन मृदुल तिर्छीको इशारा निकाली ॥
चलचल चतुरा छन्‌ स्नेहका चट्ट छाले ।
मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥
(३४)

कुसुम तरु खडा झैं फुल्दछन्‌ ठिङ्गरा यी ।
शरम पनि नजान्ने जङ्गली क्या बरा यी ॥
बरु सब गमलामा राख्नु तस्बीर पारी ।
युवति सदृस चाला एक नै छैन भारी ॥
(३५)

न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
न त विपिनविषे यी पाउँछन्‌ एक पठ्ठा ॥
वरिपरि सब सेना देख्दछन्‌ ज्ञानलट्टा ।
यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
न त वचन म बोलूँ बन्द पार्नेछु बट्टा ।
बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥
बरु कमल फुलेको हेर्नु सौगन्धगट्टा ।
(३६)

छि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
हिँड महल उज्यालो दौँतरी, विन्ति जानी ॥
दहि-महि अमिला छन्‌, सातु छन्‌ कन्दमूल ।
यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥"
(३७)

नृपवर तब भन्छन्‌- "जङ्गली यी प्रसून ।
प्रकृत तवरका छन्‌ पौर-चापल्यहीन ॥
सहज ललितताका छन्‌ लता झैं फुलेका ।
मृदु अधर खुलेका, अङ्ग राम्रा मिलेका ॥
(३८)

यिनसँग नखराको नक्कली भाव छैन ।
छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥
सरस सरल वार्ता गर्दछन्‌ मिष्टभाषी ।
वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥
(३९)

वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌ ।
प्रकृति कलित राम्रा कोपिलाका कुरा छन्‌ ॥
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्‌ ।
सब वनदुहिता यी बैंसका आँकुरा छन्‌ ॥
(४०)

मृग-शिशुसँग खेली प्राकृत स्वादु केली ।
कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥
मदन शर बनाई बस्दछन्‌ कुञ्जभित्र ।
हृदयसँग बढालू भाव मागी विचित्र ॥
(४१)

वन विरचित स्वप्नातुल्य राम्रा मुहार ।
प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
स्वर विहगहरूको भित्रिँदो बोल ढङ्ग ॥
(४२)

सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
तुहिनधवल झल्कासाथ पाई सफाइ ॥
'कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याऊँ ?'
भनिकन विधिले यी आधि दोधारभित्र ॥
मसृण छिनुहरूले छन्‌ कुँदेका विचित्र ।
(४३)

यिनकन जलका छन्‌ बोल लोलाउने जो ।
गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
पवन वन झुलौना झूल छन्‌ पात झुम्का ।
हरित शिशु जगत् छन्‌ मालिनीतीर थुम्का ॥
प्रकृति सरल शिक्षा ज्ञानको सत्‌ प्रभाव ।
मधुर विहगवाला-तुल्य मीठा स्वभाव ॥
(४४)

जलद गगन ज्वाला रङ्गवाला उज्याला ।
रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
(४५)

विधुवदनसुधाको शीतलो शीत थाली ।
टहटह वनमा जो दिव्य जादू खसाली ॥
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी ।
मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
'बल बल'- सित बल्की रङ्ग चढ्दछन्‌ सुरामा ॥
(४६)

मृग-शिशुहरु पाई शैल सींढी तहालु ।
लघु पयर उचाली फुर्फुरे सौखचालु ॥
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
हरित मृदु दुभोको शैलको खातवाला ॥
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न ।
विपिन सरल हुन्छन्‌ चाल त्यो चारु वन्य ॥
कति मधुर घुसेका कामिनी हेर धन्य।
(४७)

हृदय किरण न्यानो कोपिलाले फुकाई ।
पवन रसिकलाई चोर्न खोली मिठाई ॥
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
कुसुमित छ उज्यालो बैंस खुल्दो मुहार ॥
(४८)

निशिभर सपनामा तारका छम्छमाई ।
मृदु वन सहभावी भावमा चम्चमाई ॥

तदनुसरण गर्ने चालका प्रेरणामा ।
मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥
प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा ।
अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥
किरणसँग सुनौला सूर्य बन्ने दिशामा ।
कति सरस उज्याला हास्यका चालदार ॥
मदनवनकुरङ्गी लच्किए अङ्गदार ।
(४९)

प्रथम छवि उषाको बाल झैं वारिवाह ।
उदय-नभ सँघारे टुक्रिएको अथाह ॥
लघु मधुर बुनेको माकुरो-जालतुल्य ।
कवि-दिल सपनाको सूत जस्तो अमूल्य ॥
(५०)

लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर ।
जब मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥
जब पट सपनाको देश झैँ खुल्छ धेर ।
प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥
त्यस रँग मधुरोले छोइएका कपोल ।
विपिन कुसुमवाला देखिए क्या अमोल !!
(५१)

मदन वनविहारी पुष्पको वाणधारी ।
अतिशय सकुमारी नग्न शोभाधिकारी ॥
मधुर मधु नशाले बैंसको वन्य मस्त ।
कर-धृत कलिप्याला कुञ्जमा चारु लस्त ॥
(५२)

तर सब तिनमध्ये एक ती छन्‌ पहीली ।
प्रकृत सरलताको पानी-आँखे छबीली ॥
अलक मृदु शिरीषी जो झुकेका परेला ।
लघु तवर उचाल्छिन्‌ पर्खदै हेर्न वेला ॥
(५३)

कुसुमउपरका ती मिष्ट छन्‌ स्वर्णदाना ।
सुरवन सुषमाकी रत्नरूपी खजाना ॥
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना ।
अमर तरु फुलेकी बैंस लावण्य नाना ॥
(५४)

कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन्‌ ।
अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥
(५५)

अवनितिर झरेकी रत्नको व्योम ज्योति ।
पयर मधुर चल्ने फूलको झैं छ लोती ॥
मधुर मधुर गिर्छन् मुस्किँदा चारु मोती ।
अरुसरि तिनि छैनन् चारु सङ्कोचकी ती ॥
(५६)

अलि परतिर सर्ने मर्द देखेर सामु ।
प्रकृत शरमवाली कोपिला झैं खुला छन्‌ ॥
रँग सुमधुर चढ्दी कोपिला झैं सुगन्ध ।
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
(५७)

डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
छिन घिन मृदु गाला छोप्दछिन्‌ ती नुहेर ॥
शिर रससित कर्के, कान यौटा उचाली ।
छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
(५८)

अलिकति पर सर्दी फेरि झस्केर छर्दी ।
अलक अनि 'कहाँ गो' झैं भनी चट्ट हेर्दी ॥
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन्‌ ।
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन्‌ ॥
(५९)

जलभृत घट बस्दा लच्किएका कटी ती ।
छचल जल छचल्की झल्किएकी छचल्का ॥
तरुण रस ककल्‌ कल्‌ फूलका बोट पोषी ।
हृदयज-जल जस्ता भावना छाल पोखी ॥
विपिन कुसुम-पोस्ने देवकन्यासमान ।
उपवनकन दिन्थिन्‌ स्वर्गको चारु भान ॥
(६०)

कमलसरस भाल स्वेदले भो झिझिल्ल ।
उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
अलकतिर शिरीषी माधुरी साम्यभावी ।
रँग विलसित गाला कर्म-टूना अमूल्य-
सरि युवति थिइन्‌ ती कामकी झैं विलास ।
(६१)

सहन कठिन बन्छन्‌ बैंस ठट्टा तिनीमा ।
किन शरम हुने ती चाल गर्छन्‌ भनेर ॥
चकित मधुरता झैं अप्रसन्न प्रभा छन्‌ ।
तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन्‌ ॥
(६२)

पयरतिर बिझेको शल्यले 'आच्छु' पारी ।
सखितिर जब फर्की बन्दधिन्‌ ती गुहारी ॥
निठुर सरसता झैं दैवले पङ्गु पारी ।
नजर सरस दिन्धिन्‌ कर्किंदी स्वर्ग प्यारी ॥
(६३)

महल छ सब खल्लो छट्टका राज्य जस्ता ।
रँगहरु अति चड्का, पौर छन्‌ चाल सस्ता ॥
झिलिमिलि सब बोक्रा, बैंस खोक्रा त्यहाँका ।
सुमन मृदु खिरीला डाँठमा छन्‌ यहाँका ॥
(६४)

अप्रकृत नखराका धूर्तताका शिकार ।
अति चपल प्रदर्शी भावका शून्य सार ॥
अधर अति रँगाई बैंस ज्यादै सजाई ।
अतिशय नकली ती नाक भौं शानदार ॥
विकृतिमय र कामी-भावनाका शिकार ।
युवति शहरका जो छन्‌ सितारा-सिँगार ॥
उनअघि वनबाला स्वर्गका छन्‌ जुहार ।
विकृत मुख न तीतो नक्कली चाल पार ॥
अब म त वन बस्ने रोज सानन्द चार ।"
(६५)

यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
हृदयपट सिँगार्ने मौन खिच्दै हजारा ॥
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
मुख विकृत लगाई खोज्दथ्यो व्यङ्ग्यपर्रा ॥
घन जन घर छोड्ने भूपमा हान्न छर्रा ।
(६६)

शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
कुसुमित जब देखे छन्‌ त्यहाँ बैंस-ढीली ॥
त्यससँग मुटु पोल्दा च्याखुरा एक बोल्दा ।
अलि गलित भएछन्‌ दुब्लिँदा ज्योति ढल्दा ॥
चतुर विपिन तित्रासाथ लाई मितेरी ।
हृदय सब खुलाई गर्दछन् एक विन्ति ॥
"स्वकरगत बनाऊँ ती उज्याली हँसीली ।"
चतुर विपिन तित्रा भन्छ "ओर्लेर आऊ ॥
सलिल-तिर डुबुल्की स्नेहको एक लाऊ ।"
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले ।
शशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब झर्थिन् स्नानका निम्ति हेर ।
तब कर हलुकाले चट्ट टिप्छन् शशीले !
तब शशधर बन्छन्‌ पूर्णतामा खुशीले ।
अहह ! कति मजाको प्रेमलीला छ वन्य ॥
भज अब शशवाला चन्द्रवंशी सुधन्य ॥
महल धन मजा ती स्वर्गको छोड रम्य ॥
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
पतिसित बतुरे ती ओठ तीता लगाई ॥
छि छि छि छि ! सँग थुक्छन् वन्य पैयूँ चपाई ।
तर अब निशि ओर्लिन् रङ्ग सारा पखाली ॥
गगन मधुर पारी मिर्मिरे भाव हाली ।
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप ।
(६७)

चतुर्दश सर्ग

वनकोपिला सपने ठिटी ।
शिशुकालबाट फुकी छिटी ॥
अलि लाजदार सचेतता-
सँग भृङ्गको ध्वनि खोज्दथी ॥
(१)

रसिला हवाहरू खुस्खुस ।
बहँदा थिई अलि मुस्मुस ॥
ऋतुराजका रवि आउँदा ।
मृदु प्रेमका छवि छाउँदा ॥
(२)

सपन अनेक सुवर्णका ।
किरणेच्छुकका उरमा घुसी ॥
रँगमा फुटीकन छाउँथे ।
नव बैंसका मृदु भावना ॥
(३)

सब स्वर्ग झल्झल भै रुँदा ।
निशिमा छ आँसु वियोगको ॥
विरहाश्रुका जल-विन्दुले ।
अति सुन्दरी वन-मन्दिरा ॥
(४)

वन कोपिलासरि फुल्दथिन्‌ ।
सुकमारदार शकुन्तला ॥
तर कल्कलाउँछ माधुरी ।
जल बिन्दुका झलका परी ॥
(५)

दृग झुक्दथे सखिका अघि ।
रसिलो लिई डर आँसुमा ॥
जब भूपका यश वर्णन ।
सखि गर्दथे खुद सामुमा ॥
(६)

मितभाषिणी वनवासिनी ।
अति सोच्दछिन्‌ मनमा कुरा ॥
तर ओठ बन्द सधैं थिए ।
लजिली हुँदा वन-आँकुरा ॥
(७)

अलि म्लान छन्‌ मृदु ओठमा ।
रँग बैंसका वनपल्लवी ॥
अलि वैलिँदी कलिकोमला ।
छ मुहारको मधुरो छवि ॥
।८)

अलि व्योममा रँग मेघको !
तिर दृष्टि दीकन एकली ॥
दुइ ओठमा मृदु अङ्गुली ।
दिन खोज्दछिन्‌ दुख झैं फुली ॥
(९)

बहिरी हुने अलि प्रश्नमा ।
अलि चित्त दूर उडेसरि ॥
अलि तारकामनि बस्नकी !
हृदयेच्छु छन्‌ वनबीचमा ॥
(१०)

ऋतुराजका विषयी केरा ।
वनमञ्जरीसँग गर्दछिन्‌ ॥
मनले त्यसै अखुलस्त ती ।
सखि सामुमा गह भर्दछिन्‌ ॥
(११)

"सखि छन्‌ कहाँ ऋतुराज ती ।
विरही बन्यौ किन मालती ?
जल टप्किँदी अलि दीन छौ ।
दिल नै दुखेसरि हीन छौ ॥
(१२)

कुन ली दिशा मलयाऽनिल ।
सब फूलको घरमा गयो ?
कुन ठाउँमा वन शोभन ।
अब छन्‌ विराजित लौ भन ?
(१३)

न त जल्छ जो मनको मन ।
नबताइने विरहाऽनल ॥
अब कालले भइ शीतल ।
तनुसाथ निभ्छ यसै तल ॥"
(१४)

सखि के गरी कुन मोहनी ।
पुरुषाकृति प्रभुतामनि ॥
तल झर्दछिन्‌ वनकामिनी–
कन पुष्पदार शिखा बनी ॥
(१५)

न त बिर्सिने नित सम्झिने ।
मनमा हुने मुदु भाव त्यो ॥
अरु काममा किन विस्मृति ।
दिन लिन्छ सुन्दर जागृति ॥
तरुको नजीक बनूँ बनूँ-
सरि मुन्द्रिने लिन यो मति ॥
(१६)

कुन भाव यो नव-रङ्गको ।
ऋतुराजको वन स्वागती ॥
निक मञ्जरीहरु छन्‌ नव ।
अधरेच्छुता दिलको सब ?
(१७)

गहमा झुलाउन शीतल ।
जलबिन्दुको गहना किन ॥
यति सौखको सुकुमारिता ।
दिल टप्किँदा सुख यो किन ?
(१८)

"खगका कथाहरू नै सुनूँ ।
पिकको मिठो रवमा मिलूँ–
सरि कोपिले रँग रङ्गिँदो ।
कुन भाव यो मृदु भङ्गिँदो ?
अरुको अगाडि भसङ्ग भै ।
सपना बनेर तरङ्गिँदो ॥
मुख झल्किँदो वन व्योममा ।
दिननाथको मधुराऽऽकृति ॥
मुटु न्यानु भै, मसकाउने ।
कुन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
खदिलाउँ झैं दृग सामुमा ॥
पछि लागुँ झैं अलि क्यै उडी ।
दिलमा रची वन-पत्रका ॥
नव पङ्ख चारु विचित्रका ।
कुन भाव यी 'म उचालिऊँ ॥
उर उप्सिएर' भनेसरि ?
सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कुन हुन्‌ सखे ! मृदु कामना ॥
कुन नामको वनको कुना-
तिर गर्नु लौन, उपासना ?"
(१९)

कलिली तिनी विरही बनी ।
अलि सोच्दछिन्‌ मृदु प्रश्न ली ॥
सखि वल्लरी वनमा फुली ।
मृदु हाँस्दथे कलि खिल्खिली ॥
रँग लाजका मुखमा बली ।
अधरेच्छु भै नखुली कुरा ॥
उनबाट दिव्य रहस्य ली ।
(२०)

तर देख्दछिन्‌ जब अल्मली ।
अलि कोपिले मनमा जली ॥
सबमा शराप तिनी पनि ।
मृदु ढङ्गका मनले दिँदी ॥
यति भन्दथिन्‌ "रवि आउँदा ।
सब आँसुदार बने रुँदा ॥"
तब बन्दथे सब छुन्मुना ।
पवनेच्छु ती कलि औ मुना ॥
(२१)

तर बुझ्दछिन्‌ कि प्रियम्वदा ।
कि त चारुले मधुरास्पदा ॥
सखि-भावना मन-मञ्जरी ।
ऋतुराजको महिमा भरी ॥
(२२)

"किन बस्दथिन्‌ सखि एकली ।
मरुपुष्प झैं खिइँदी फुली ॥
मृदु वासना नव बैंसको ।
विरही शिखा बनिगै जली ॥"
दुई भन्दथे सखि चिन्तिता ।
अनसूयिनी र प्रियम्वदा ॥
(२३)

"किन बस्दथिन्‌ सखि एकली ।
मितभाषिणी निहुरी भली ?

लमकोस ती रसिला कुना ।
पनि छन्‌ लुकाउन क्यै छली ॥
प्रभु कृष्णलाई प्रसूनले ।
क्षण मौन बीच सिँगार्दछिन्‌ ॥
अनि यो लता सपना हुँदो ।
गहले भुलेर निहार्दछिन्‌ ॥
(२४)

शरमाउँदी नभनी कुरा ।
मुख-रङ्ग चट्ट सपार्दछिन्‌ ॥
कृशता बढी अलि म्लान भै ।
अधरै सुकेर बिगार्दछिन्‌ ॥
मृदु बोटका कुसुमोज्ज्वल ।
सखि मुग्ध छन्‌ जब निश्चित ॥
पृथिवी-पती महिमासित ।"
(२५)

यति बातले दुइ मुस्मुसे ।
रहँदा भए अलि खुस्खुसे ॥
जन सूर्य लाल भई घुसे ।
जल-गेहमा पर झल्मल ॥
(२६)

त्यस रातमा न त नीँदले ।
पनि छोइँदी वन-मञ्जरी ॥
सपनाहरू बिउँझै रची-
कन सोच्दछिन्‌ मनमा परी ॥
कुन भाव यो मधुराऽकरी ?
(२७)

"कसरी उनीकन भित्रका ।
मृदु भाव रङ्ग विचित्रका ॥
कुन ढङ्गबाट बुझाउनु ?
नबुझे कहाँ सुख पाउनु ॥

अब के गरी कुन युक्तिले ।
नजिकै बनी यशदारको ॥
दिनु सूझ यो दिलको निको ।
न त बोलिने न त रङ्गिने ?
न त चालमा मृदु भङ्गिने ।
कुन चित्रमा मन रङ्गिने ?
(२८)

किन लाग्छ रूँ गहमा यसै ?
किन चित्त विह्वल भो त्यसै ?
किन हेरुँ हेरुँ भयो सदा ।
किन खोजुँ खोजुँ जतातता ?
(२९)

मधु-सञ्चयीकन शानले ।
कुसुमी परीहरू डाक्दछन्‌ ॥
नव चाल चारु सिँगारदै ।
जब कोयली रस लाग्दछन्‌ ॥
तब के त्यसै गरी शानमा ।
मृदु भाव यो छ झुलाइने ?
(३०)

जसरी लताहरू डाक्दछन्‌ ।
मलय-प्रवात वसन्तमा ॥
मनको कुरा मृदु अङ्गले ।
त्यसरी कि बन्छ सुभाषित ?
कित पुष्पतुल्य सुवासित ?"
(३१)

यति सोच्दछिन्‌ मनमा तिनी ।
किन चारु ती नखरा गरी ॥
अलि नक्कली रुन सुन्दरी ।
मृदु हाँस्दथिन्‌ चपलासरि ?
(३२)

बहुतै तरङ्ग अरूहरू ।
मनमा भए लहराउँदा ॥
वन-सुन्दरीकन बासना ।
मलयाऽनिलैसित आउँदा ॥
(३३)

अनि नीँद रङ्हरूसँग ।
मिसिई झरी वन-जूनमा ॥
अमृतांशुका कर झैं लघु ।
ऋतुराजका मृदु पातमा ॥
तरुणी सुतिन्‌ कुसुमायिता ।
सपना खुली छवि-संयुता ॥
वन पस्दथे सपना कता ।
मृदु कुञ्जमा कुसुमी कता ॥
(३४)

यमुना-विचुम्बित तीरमा ।
अमृतांशुले सुषमायुत ॥
तरुशाखिनी वन-वल्लरी ।
दुइ डोरमा तल झर्दथी ॥
तर पीङ बन्न बटारिँदी ।
मुरली-मनोहर विन्तिमा ॥
रज झर्दथ्यो सन बर्बर ।
तरु गर्दथे अरु मर्मर ॥
दल गर्दथे सब सर्सर ।
वन-श्वासमा मृदु हर्हर ॥
मृदु चञ्चुका स्वर चिर्बिर ।
वन भर्दथे मुरली स्वर ॥
छवि छिर्बिरे तरु फेदमा ।
वन-वल्लरीतिर देख्दछिन्‌ ॥
प्रभु कृष्णको मुसकानमा ।
मुरली-मनोहरको छटा ॥

शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥
बिजुली चमक्क सुलोचन ।
स्वर झर्दथे मुरलीभरी ॥
(३५)

तरु फुल्दछन्‌ वन-मञ्जरी-
हरु झुल्दछन्‌ खग बोल्दछन्‌ ॥
यमुना मुनाहरु छालका ।
मृदु बोलमा मुजुराउँथिन्‌ ॥
(३६)

तब सामु गैकन सोद्धछिन्‌ ।
प्रभुमा तिनी सपनातिरै ॥
"प्रभु प्रेमको कुन भाव हो ?
कुन दिव्य चारु प्रभाव हो ?"
(३७)

प्रभु भन्दछन्‌ "सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।
वन-वेलिका दिल झैं सटी ॥
सित सत्यको रँगमा फुटी ।
रँग मिल्नको तुषिता द्युति ॥
जग-बागमा रस-राजको ।
गति गानमा प्रकटाकृति ॥
जुन जुन्किरीहरु बाल्दछन्‌ ।
तमबीचमा दिलका प्रति ॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
सब फूलको सुरबागको ।
छवि सम्झने करणेच्छुता ॥
सब सिर्जनाभर झल्किने ।
जल-विन्दुको गहिरो पता ॥

सब प्रेम हो, बुझ सुन्दरी ।
ध्वनिमा छ जो मुरली भरी ॥"
यति बातले अलि जिल्ल ती ।
अरु प्रश्न गर्न विचार्दथिन्‌ ॥
तब झट् झल्याँस्स बनी उठिन्‌ ।
जब मिर्मिरे नभ भो अलि ॥
अब प्रातले वनपातमा ।
मधुर प्रवात उठाउँछ ॥
रवि दूर भै छवि मिर्मिरे ।
'दिन' सूचना दिन आउँछ ॥
(३८)

मधु शीतको लहरीसरि ।
तुहिन-प्रभावित मिर्मिरी ॥
बिउँझी हवा अचली चली ।
गति मन्द ली लहराउँछ ॥
अलि सिर्सिरी हलुका गरी ।
मृदु मञ्जरी ऊ रसाउँछ ॥
अनि मिर्मिरे-पनको टुना ।
सपना किनार सुहाउँछ ॥
पहिला चरा वन-नीडमा ।
सपना-पुछार कराउँछ ॥
क्षितिज प्रभा-पट पूर्वको ।
नव आशतुल्य रछाउँछ ॥
कुइरो बनी कण शीतको
तल टप्किँदै फुल लाउँछ ॥
अन कृष्णता पछि रूपले ।
रँग राग धेर समाउँछ ॥
मृदु तारका नभ-नीलिमा ।
मधुरो गरी मुसकाउँछ ॥
अलि सर्सरे वनका मुना ।
पहिलो प्रभा झलकाउँछ ॥

पशु शस्यमा असली छिटा
हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
बिपनातिरै सरिआउँछ ॥
बिचरो उठी नबुझी कुरा ।
अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कुनै ।
मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
दृग बन्द हुन्छ, निदाउँछ ॥
रवि-रश्मिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिँदो र किसानले ।
हरिनामले सुख पाउँछ ॥
गनगन्न भै तन बज्दछन्‌ ।
जलतीरमा सुन-मन्दिर ॥
(३९)

भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ ॥
यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो टुसे ।
र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
तब भन्दछिन्‌ वनकोपिला ॥
(४०)

"सपनाविषे वनमा पुगी-
कन नीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
मुरली मिठा प्रभुजी मिले ॥

तब एक शब्द त्यहाँ सिकें ।
जुन सम्भिँदा बिपना गले ॥
सपना समान सुकोमल ।
मृदु 'प्रेम' नाम छ कोपिले ॥
वनबाल हे ! तँ प्रवालका ।
मृदु मञ्जरीहरु पारखी ॥
अब भन्‌ बुझे यस शब्दमा ।
कति जादु यी हैँसिला बले ?
तँ पनी बुझी यस भावको ।
नव जादुकी मृदु चाखले ॥
कति 'रूँ' र मुस्मुस मुस्किऊँ ।
हुन गै यहाँ लहरा फुले ॥
न बताउँछन्‌ जनले यहाँ ।
मनमा त्यसै सपना हुने ॥
मृदु शब्द यी प्रभु ओठको ।
छ अभाषिताऽऽशय छाउने ॥
यस शब्दले तर एकलो ।
जग क्या भयो छविमा खुला !"
यति शब्दले मृगशावमा ।
उपदेशसाथ शकुन्तला ॥
प्रकृति-प्रभा अब भै खुला ।
त्यसलाइ हेर्ने भनीकन ॥
हलुका लिई कुसुमी गति ।
अब निस्किइन्‌ वनमालती ॥
(४१)

छवि मिर्मिरि अब रङ्गियो ।
पट पूर्वको गरि छिर्बिरे ॥
रँग उर्लियो सुन लालिमा ।
चिडिया बने अति चिर्बिरे ॥
रविका प्रजा पशु ब्यूँझिए ।
खग खोज्दछन्‌ रँगिँदा घन ॥

पर देखियो मुख दिव्यको ।
चिर प्यासको हँसिलोपन ॥
मुख एकले जगतै खुली ।
सृजनै खुली मनमोहन ॥
(४२)

अब स्वर्ण यो अरुण-प्रभा ।
अघि सर्र रङ्ग फिँजारिँदो ॥
सुन धप्कियो सुरदेशको ।
छवि लच्कियो हिउँमा छुँदो ॥
रवि गोलिए र छिचोलिए ।
घन रङ्गले मृदु ढङ्गले ॥
सुन देशमा सपना टिपी-
कन गाउँदो छ विहङ्गले ॥
सब चित्रियो सुख स्वर्गको ।
सुरको सुराहि झझल्कियो ॥
रँग बल्कियो खग पल्कियो ।
हिउँ टल्कियो सुन झल्कियो ॥
रँगको घडा सुर-व्योममा ।
छविदार झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
कति छिर्रबिर्र र छर्र भो ॥
हिम-टाकुराहरु पार्श्वका ।
अब लाल छन्‌ ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
फुल ब्यँझिए रँगका सफा ॥
मधुराऽऽकृति प्रकटीकृता ।
अति स्पष्ट भो वन-शैलमा ॥
अब झल्किए जलका कणा ।
मधुमालती मृदु पत्रमा ॥
अब दृश्य चित्र विभिन्नता-
सँग देखियो लिइ स्पष्टता ॥

रवि-बिम्बको तनु-रेखिता ।
अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन्‌ हँसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगिए उता ॥
मृदु सर्सरे नखरी बने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग बद्‌लिँदो छ मिही जहाँ ।
पतला बनेर विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)

तब भन्दछिन्‌ वनकी सुता ।
मृदु-भाषिणी मृगमा यता ॥
"अन देख्दछस्‌ सपना अहा !
कुन शब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शब्दको मुटु के बता ?"
(४४)

यति भै सबेर चरासँग ।
वन-धोबिनी स्वरले उठी ॥
अब आउँछन्‌ सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४५)

"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥

पलका हुँदा गर्‍हुँका पद ।
उरमा हुने अलि आपद ॥
पर मालिनी जल-वेलिमा ।
लहरा सुनौलिइ टल्पली ॥
कल कल्कली मधुराऽऽवलि ।
स्वर छाल भो पर छल्बली ॥
सपना फुल्यो अब व्योममा ।
बिपना फुल्यो नव-रोममा ॥
अब शील झल्झल झल्किए ।
कणदार भै कसुमोपरि ॥
अब स्वर्गको दरबारको ।
नमुना खुल्यो नयनाग्र भै ॥
अलि बेर ती मृदु मूक छन्‌ ।
पदले छुँदी जलको सिँढी ॥
मुख पूर्वको नभ-शंसिनी ।
मृदु चित्रतुल्य खडा बनी ॥
शिशु मिर्गको सह-भावको ।
लिइ पार्श्वमा वन-मोहिनी ॥
सुर-देशका रँग हेर्दछिन्‌ ।
नव रोजको नव चित्रमा ॥
अझ नै तिमी मृदु नीँदमा ।
निशिको पुछार सुशीतल ॥
मनमा लिने नखुले भला ।
मृदु प्रेममा सपना रची ॥
अझ मस्त छौ अलि सुस्तिई ।"
भनि भन्दथेँ मनमा म ता ॥
तर सूर्यको मुख झल्किँदै ।
कति शीघ्र छौ बिउँझी यता ॥
(४६)

यति बात भो सखि चारुले ।
सखिको लिई मृदु बाहुली ॥

तल चल्दछिन्‌ मृदु शानले ।
अनि सोद्धछिन्‌ "तल आउली ?
जब पूर्वका रविको यश ।
सपना हुँदोछ दिशा दश ॥"
(४७)

नखरे बनी अघि सर्दछिन्‌ ।
"भन आज सत्य शकुन्तला ॥
सपना कुनै मनको मिटी ।
छ प्रकाशिता नभ-मञ्जुला ?
म टुनाहरू पनि जान्दछु ।
यस रातमा बिउँझै बसी ॥
सपना कुनै प्रिय मारको ।
म पठाउँथें मनमा खुशी ॥
पुरुष प्रताप-मुहारको ।
सपना दिल्यो कि कुनै घुसी ?"
(४८)

सुन आलि एक कुरा, कतै ।
पहिली कुनै वन-कोयली ॥
कुन हो भनीकन एकली ।
अलि कुँज्दथी मृदु प्रश्नले ॥
(४९)

"किन लाजसाथ निरुत्तर ।
यसरी बन्यौ भन, उत्तर ॥
तर बोल्दिनौ कपटी भला !
भन साफ लौन शाकुन्तला ॥"
(५०)

तर लाजले अब खुम्चिँदी |
दृगकी उता अब छन्‌ तिनी ॥
पिक-बोलले दिल खोल्नमा ।
निहुरी दिँदी वनकामिनी ॥
(५१)

अब ती चले वन-मार्गमा ।
जलतीरतर्फ नुहाउन ॥
मधु-भाषिणी वनकी चरा-
हरु तीन ताप डुबाउन ॥
(५२)

सब मार्गमा पद सुस्तरी ।
हलुका गरीकन चाल्दछन्‌ ॥
तर मूक छन्‌ मृदु-कुन्तला ।
दिल रङ्गिँदी वन-कोपिला ॥
अरु बोल्दछन्‌ वनका चरा ।
जब प्रात शुभ्र बनी धरा ॥
रँगदार झल्मल शीत छ ।
(५३)

अलि बेलिँदी वन-नागिनी ।
जल-चञ्चला गिरिनिम्नगा ॥
सब रौप्य छन्‌ हिउँ रोगन ।
अति छल्बले छविमा खुला ॥
लहराउँदी र छचल्किँदी ।
जल झल्किने धवलीकृता ॥
(५४)

तर बानिले नडराउने ।
वनका सुताहरु वल्कल ॥
तटमा धरेर चले तल ।
(५५)

कसरी बताउनु पत्रमा ।
नलिई मिही बुरुसै कुनै ॥
कुन रङ्ग मिश्रण पाउनु ?
बरु श्रेय हो नबताउनै ॥
(५६)

तर रूपमा कसुमोपमा ।
रस-दिव्य-सुन्दर मोहनी ॥
प्रभुकै हुँदा म यहाँ छुँदा ।
नबनूँ कतै धमिलो पनि ॥
(५७]

जुन सत्य हो मन-मोहन ।
तल मोहनीसरि झर्दछ ॥
अनि लेखनीबीच प्राकृत !
रँग-रूपमा सब पर्दछ ॥
(५८)

अलि लाम्चिलोपन गोलिँदो ।
कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारि कोमल !
मुखरूप मानवमा थियो ॥
न कपोल छन्‌ अति गोल ती ।
लघु पुष्टता अनमोल ती ॥
त्यति मासु भै मृदु हाडमा ।
जतिले कडापन ढाक्दछ ॥
तल लच्किएर झिनी बनी ।
सुकुमारिता छ छुँदी कटी ॥
(५९)

अलि टिङ्गरेपन चारुमा ।
अलि पातली हलक्क छन्‌ ॥
र प्रियम्वदा अलि होचि भै ।
तर अङ्ग पुष्ट सलक्क छन्‌ ॥
दुइ छाडि ती तर रोजिने ।
उनिचाहिं चट्ट सलक्क छन्‌ ।
(६०)

अलि शीतलो जल झल्किने ।
हिमबिन्दु झैं किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छतछुल्लमा तब उठ्दछिन्‌ ॥
त्वरितोत्थिता अरुणीकृता ।
मृदु-केशकी जलझल्मले ॥

मुसकाउँछिन्‌ अनि कम्पिता ।
मृदु मोतिका छरिँदा लडी ॥
दुइ हातले जल-केशको ।
अब 'चारु' चारु निचोर्दछिन्‌ ॥
अनि केश चट्ट बहाउँदी ।
तटको सहाय दगुर्दछिन्‌ ॥
(६१)

तटमा खडा जल-नागिनी-
सरि तीन ती मृदु-पत्रले ॥
मृदुलाङ्गका जलका कणा-
हरु पुछ्दछन्‌ सखि प्रेमले ॥
अनि घामको कलिलोपना-
कन गालि कोमल दीकन ॥
सुरसुन्दरी सब चोर्दछन्‌ ।
सखि-केशका जल लुर्कन ॥
तब लाउँछन्‌ अलि खैरिँदो ।
पतला सफा वन-वल्कल ॥
मृदु लाजका गठिला शिखा ।
दुइ छोप्न छन्‌ कति खिल्खिला ॥
(६२)

सब फूलका रँग चुन्दछन्‌ ।
मृदु बाहुली वन-बैँसका ॥
सब नामका सब ढङ्गका ।
वनबागका स्मृति-सिर्जना ॥
(६३)

"भन विन्ति लौ न शकुन्तला ।
कुन रङ्गमा अलि प्यार छ ॥
हिम-पाटला सब फूलकी ।
महिषी बनी सुकुमार छ ॥
वनतारका हुन खोज्दछ्यौ
कि तिमी हने हिम-पाटल ?

भन विन्ति सुन्न म मर्दछु ।
निठुरी तिमी नहुने खुला ॥"
यति बातसाथ प्रियम्वदा ।
तब भन्दछिन्‌ रतिका कथा ॥
(६४)

"वन बस्दथिन्‌ किन अप्सरा ।
दुहिता यिनी सुर-देशकी ॥
नव-बैँसकी सुकुमारिता
अलकापुरी सुख ऐशकी ?
सुर-सौखमा सब राज्दछिन्‌ ।
किन बस्दथिन्‌ वनमा भुली !
मृदु रेशमी रँग रङ्गिला ।
वसनोज्ज्वला सब झल्मली ॥
धन बाँड्दछिन् धन-बाहुली ।
महिषी बनी यशले बली ॥
गजमा झुली डुली नन्दन ।
अब छन्‌ हुने कति झल्मली ॥
तर हामिलाइ सुसारमा ।
बगले विनीत बनाउलिन्‌ ॥
सुनमा जडीकन हीरक ।
जल ओठलाइ पिलाउलिन्‌ ॥
अनि शानमा नृपसिंहको ।
यस याललाइ झुकाउलिन्‌ ॥
अनि बातमा नित लोकको ।
सब कम्प हेर्न खुलाउलिन्‌ ॥"
(६५)

तर गौतमी अति चाउरी ।
छ चुनाउ जौ मुख-मण्डल ॥
जब देखिइन्‌ अनि यी कुरा ।
सब चूप भै दिलमै पसे ॥
सखि चञ्चला डरले यसो ।
घरमा सँभालिउँ झैं पसे ॥
(६६)

पञ्चदश सर्ग

विधुका कुलका शिरोमणि ।
नृप छन्‌ फेरि प्रभा समुज्ज्वला ॥
सबतर्फ छ व्योमका मनि ।
तिमिरै नाशिदिने महाकला ॥
(१)

अब हेर उनै विषादले ।
अति निस्तेज बनी पला पला ॥
मुखको छवि त्यो कहीं मिले ।
'कति हुन्थ्यो सुख' भन्दछन्‌ त्यहाँ ॥
(२)

जुन हात उदारतासँग ।
धन दिन्थ्यो सबमा यथेष्ट नै ॥
दिन दान सिपालु बाहुली !
अब भाग्दो छ उही निरन्तर ॥
(३)

जब चन्द्र सुचारु तारक ।
नभमा हास्य गरेर सुन्दर ॥
मृदु चम्चम ज्योति छर्दछन्‌ ।
छवि माग्छन्‌ नृपका दुवै कर ॥
(४)

जसनिम्ति वसुन्धरा सब ।
पतिको मान दिई सिँगारिने ॥
उसनिम्ति छ शून्य नै सब ।
नहुँदा आज शकुन्तला त्यहाँ ॥
(५)

जसको विजयी छटा थियो ।
अब आँखा जलले भिजाउँछन्‌ ॥
उरका सबका महारवि ।
अब ती बादल झैं रसाउँछन्‌ ॥
(६)

महलै पनि बिर्सिईकन ।
घर छोडेर विलास औ धन ॥
तपका वनमा बसी तिनी ।
अब भज्छन्‌ विरहानलाऽतप ॥
(७)

पृथिवीभरका अधीश्वर ।
जसका द्वार महेन्द्र आउँथे ॥
अब ती वनबीच एकला ।
दिन नै याचक झैं बिताउँथे ॥
सपनासरि द्रव्य सुन्दर ।
अब मागी वनकी शकुन्तला ॥
(८)

कि त लाख रहेछ माधुरी ?
वनकी ती दृहिताभरी त्यहाँ ?
सपयोधि सशस्य मेदिनी-
कन त्यागी किन हिँड्दथे तिनी ?
(९)

सब प्यास हटाउने नृप ।
जनको स्वर्गसमान भूमिमा ॥
अब प्यास लिई नमेटिने ।
किन दुःखी वनमा गई बने ?
(१०)

विधुको महिमा मनोहर-
कन देखेर चकोर टोह्लिई ॥
कुन लिन्छ अनन्तको तृषा ।
हिउँका ज्योति झरेर पीलिई ?
(११)

अति सुन्दरका मुहारमा ।
कुन टूना किन ईशले दिए ?
किन आँसु बनी मनोहर ।
दुइ धारा सब जिन्दगी गए ?
(१२)

कुन स्वर्ग छ रम्य रूपमा ?
मुखरेखा किन हुन्छ अङ्कित ?
पटमा मुटुको निरन्तर ।
रँग बढ्दो रसिलो तृषासित ॥
(१३)

प्रभु मोहनबाट मोहनी ।
मुटुमा बन्दछ धूप-दीप झैं ॥
प्रभु खोजिलिँदो जगत्‌ सब ।
त्यसमै जीवनसार पाउँछ ॥
(१४)

मन-मोहन पूर्ण चारुता ।
मृदुरेखा मुखकी बनीकन ॥
मुटुमा दिन दिव्य चुम्बन ।
कति टूनासरि छोप्तछे मन ॥
(१५)

विरहै पनि जिन्दगीकन ।
छ अनौठा सुखरूप व्यञ्जन ॥
जिउनै छ अतृप्त वाञ्छना ।
सब खोज्छौं विधिको कला यही ॥
(१६)

अनि सुन्दरमा त सत्य नै ।
नलिई दाग विरोधका कुनै ॥
झललल्ल झझल्किएसरि ।
हुन गै चित्‌ गहिरो रसाउँछ ॥
(१७)

दिलको कलिलो सुकेन्द्रमा ।
छवि झल्कीकन फूल जन्मिए ॥
वनका सपनाहरूसरि ।
अनि रोएर सुगन्ध जन्मिए ॥
(१८)

रुन आउँदछौं यहाँ सन ।
पृथिवीमा रुनकै विलास ली ॥
अनिवार्य अतृप्त कामना-
हरुका नाद अतृप्त आश ली ॥
(१९)

कुन चीज नपुग्दथ्यो अब ।
सब संसार अहो ! मनाउँथ्यो ॥
जगतै वन भै तिनी तर ।
अब छन्‌ दास भजेर सुन्दर ॥
(२०)

"कुन ठाउँ तिमी शकुन्तला ।
मुखले पुष्पहरू फुलाउँछ्यौ ?
अनि आँसु सिँगार पार्दछ्यौ ।
स्मृतिको दिव्य सुगन्ध दीकन ?
(२१)

वनकी दुहिता तिमी बनी ।
वनका पत्रहरू हरासँग ॥
छल गर्न सिकी प्रसून झैं ।
निकटै कुञ्जविषे हराउँछ्यौ ॥
(२२)

बिजुलीसरि झल्किने क्षण-
भर नै फेरि बिलाउँदी त्यसै ॥
विरहाऽनलबीच बादल ।
जलको जीवन झैं बनाउँछ्यौ ॥
(२३)

यदि आँसु कणा भए सब ।
छवि ताराहरुको झिलीमिली ॥
नभनिम्ति सिँगार पार्दथें ।
तिमिराच्छन्न वियोग नैशमा ॥
(२४)

तब पो गति यो वियोगको ।
दुइ आँखासरि झल्मलाउँथे ॥
निशिमा परबाट भावना-
हरु सेना स्मृति-तुल्य आउँथे ॥
(२५)

कुन रुन्छ भनी कतातिर ।
गह तिम्रा पनि क्यै रसाउँथे ॥
सब रातविषे सुधांशुको ।
मुख जस्ती अलि क्यै चियाउँथ्यौ ॥
(२६)

तर दूर तिमी कता कता ।
नजिकै भैकन हाय ! बेपता ॥
जल जीवन हुन्छु हा! म ता ।
विरहैबीच बनेर बेपता ॥
तर आँसु अनेक झल्किँदा ।
दिलले पाउँछ आफ्नु क्यै पता ॥
(२७)

कसरी अति कोमलाङ्गिनी ।
विधुकी खण्डसमान जन्मियौ ॥
सब दिव्य सुधा बनीकन ।
छवि छाई भुवनाभिमोहन ॥
(२८)

जसरी तटमा बसी कुनै ।
सब देख्छन्‌ विधु नै कणा कणा ॥
सब सैकतका भरी भरी ।
गहमा आँसु लिई चकोरले ॥
म छु हेर ! उसै गरी सदा ।
वनको छेउ हरा पयोधिमा ॥
कसुमादिहरू सबै तिमी-
सरि देख्ने विधु झैं शकुन्तला ॥
(२९)

सपनासरि चट्ट झल्किई ।
रसवाली मनको मुहारमा ॥
अब हाय कता रह्यौ तिमी ।
म तृषानिम्ति वियोगभारमा ॥
(३०)

क्षण नै गर्‍हुँका बनी गए ।
अति ढीला नरमाइला पला ॥
कति सुस्त विषाद हिँड्दछ ।
समयै बन्दछ क्रूर लङ्गडो ॥
(३१)

दिलले दिलसाध पोख्नको ।
रहरैमा जलभित्रभित्रको ॥
वन हेर ! खिजाउँदै थप्यो ।
नव शृङ्गार प्रसूनपत्रमा ॥
(३२)

रसिली कलिली प्रभामुखी ।
हँसिली वन्य कलि प्रवातमा ॥
खँदिली सपना सुशिल्पित ।
विधुकी खण्ड लुक्यौ कहाँ कहाँ ?
(३३)

विधुको सब सारले बनी ।
हिउँ पग्लेसरि पग्लियौं कतै ?
वनमा कि प्रसूनमा कुनै ।
मुटुमा चारु सुगन्ध नै बन्यौ ?
(३४)

म फिँजाउँछु वाञ्छनाहरू ।
वनमा छर्दछु बीज झैं नयाँ ॥
कुसुमाऽधरले तिनीहरू ।
सब फैली मनका कुरा भनून्‌ ॥
(३५)

मुटु चुम्बक बैंसकी नयाँ ।
कलिला पातहरू फुकाउँदी ॥
गठिली, रस चन्द्रको लिँदी ।
कलि राम्री कुन ठाउँमा लुक्यौ ?
(३६)

तडपिन्छ भनी 'तिमी-तिमी' ।
मुटु यी धड्कनले प्रतिक्षण ॥
विरहानल दिन्छ उष्णता ।
जल होस्‌ शुष्क त ज्यून के पता ॥
(३७)

नभमा जति तारका परी ।
वनलीलाकन छन्‌ सिँगार झैं ॥
सब स्वर्गजुहार झैं हुँदा ।
पनि तिम्रो महिमा छ चन्द्रिका ॥
(३८)

मनलाइ रुलाउने तिमी-
कन यादै नभई फुलाइ छ ॥
वनवायुहरू झुलाउँछन्‌ ।
तर आँखा रसिलो मलाइ छ
(३९)

यति आँसु झरे मनोहर ।
दृग मुक्तालव झैं बराबरी ॥
क्षणलाइ सिँगार सुन्दर ।
दिनु जस्तो रुनु भो सुखै तर ॥
(४०)

जुन भाव म प्रेम भन्दछु ।
उसको निम्ति छ स्वर्ग झल्मल ॥
न त आँसु समान तारका ।
किन बन्थे कण झैं सफा जल ॥
(४१)

गति थोर विषादले भरी ।
अनि जप्दै मनभित्र माधुरी ॥
रुनु सुन्दरता हुँदा यहाँ ।
सुर ओर्ले तल प्रेमले भरी ॥
(४२)

कि त आह अनेक कामना -
हरु झीना जनले नदेखिने ॥
म प्रभात बनाउँ सुन्दरी ।
तब छुन्थ्यौ कि तिमी वरीपरी ॥
(४३)

मृदु विस्मृति नै विचार नै ।
नगरी क्रूर कुटी बनाउँछ्यौ ॥
भ्रुकुटी दुइले म घायल ।
क्षणलाई महिमा सुनाउँदै ॥
खबरै नमिलेर घुम्दछु ।
वनमा कण्टकले बिझी रुँदै ॥
(४४)

जलतीरअगाडि बस्दछ्यौ ।
दिनको स्वर्णप्रभातमा तिमी ॥
कति आशचरा उडाउँदी ।
सुन झैं प्रेम दृगार्द्र कालमा ॥
(४५)

तर प्रेम सुगन्ध झैं मिही ।
बहुतै पत्र लिएर छोपिँदो ॥
तहमा कलिला फुकी फुकी ।
छ खुला बन्न असम्भवै हुँदो ॥
(४६)

भँवरा म बनेर आउँथे ।
यदि यो देह म पाउँ बद्लिन ॥
दुइ कानविषे सुनाउँथें ।
मधुरो प्रेम प्रशस्त भुन्भुन ॥
(४७)

जसको अघि मर्नु स्वर्ग छ ।
'न छु प्रेमी' सब कल्पको भनी ॥
उनलाइ न प्रेम याद छ ।
जगतैको जुन प्रेमको धनी ॥
(४८)

बनबादलबाट पुष्पको ।
मृदु शोभा बिजुली बने तिमी ॥
झललल्ल खुली मरुस्थल ।
म बनी चातक प्यूँदथें सुधा ॥
(४९)

सपनाहरुमा मिहीसँग ।
यदि यो भाव घुसे दिई रँग ॥
बिउँझी विरही दुखीकन ।
अलि दिन्थ्यौ स्मृतिको फिका धन !
(५०)

अलि गुञ्जनसाथ प्रेमको ।
लिन टूनाहरुको कुनै सही ॥
अलि त्यो शिरको हिलाइले ।
कुसुमी ढङ्ग लिँदी मनोहर ॥
महदार मुहारकी तिमी ।
यदि बोली नबनी सही सरि ॥
(५१)

मुसकान लिएर मोहन ।
मुखले 'हुन्छ बुझें' भनीकन ॥
म हजार वसन्तको रस ।
लिन बन्थें सुखले मदालस ॥
(५२)

तर यादबिना मनोहर ।
निठुरी रूपसमान छौ तिमी ॥
वनकी सुषमा, महाधन ।
म गरीबै जन नै छु यो दिन ॥"
(५३)

यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
गर्दा पुष्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
यौटै चित्र सिँगार्दथे हृदयको त्यो दिव्य शाकुन्तल ॥
(५४)

तृष्णा दर्शनको बनेर घन झैं सान्निध्यकी चन्द्रिका-
लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ झैं ॥
जो ज्योत्स्ना-निहिता थिइन्‌ स्मृतिपरी खुल्दी तिनैको छवि ।
मानो बादलखण्ड झैं हुन गयो दुःखार्त उल्लासले ॥
(५५)

जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी ।
ती आफैं अब छन्‌ शिकार वनमा राम्री कुरङ्गीतिर ॥
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले बिझ्यो ।
आगी जल्न तयार हुन्छ मनमा वर्षेर ती बच्दछन्‌ ॥
(५६)

मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि ।
झिल्‌ झिल्‌ पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥
बल्दा विश्व झलल्ल बन्छ शुरुमा धप्केर अल्प क्षण ।
निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥
(५७)

धेरै आँसु बफाउँदा जल बने स्वर्ण प्रभातैअघि ।
लाए शीत सिँगार पुष्पहरुले गर्दा पखेटा हिली ॥
प्रेमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्‌-व्योममा ॥
(५८)

खोलातुल्य बने अनन्त लहरी त्यो मालिनीतीरमा ।
ब्यूँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
मीठो गुन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
राम्रो रूप शकुन्तला युवतिको मानो उषा झैं हुँदा ॥
(५९)

आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कुनै झ्यालमा ॥
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
मीठो स्वप्न त्यजेर पङ्खहरुका गाना सुनी व्यूँझिँदी ॥
(६०)

बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
सुत्दीको महिमा अलौकिक यसो हेरूँ भनी मोहन ॥
त्यस्तै भै अब कल्पना किरणले कोही चियाऊँसरि ।
खोज्छे ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
(६१)

घुड्को एक घुटुक्क झैं भलकको आत्मा रसाईकन ।
मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
पाएनन्‌ तर क्यै कुरा र सँगको साथी ठट्यौलोकन ।
सोधे "एक उपाय क्यै भन सखे मिल्ने हरे ! दर्शन ॥
(६२)

ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
बास्नादार मिठास वन्य-रसकी, हावाहरूको सुख ॥
बोल्दी ती चिडिया हरा भुवनका, बास्ना घुसेकी दिल ।
ती पुष्टा मृदुकोपिला तहतहै स्वप्नाहरू फैलिँदी ॥
(६३)

लाली थोर गुलाबकी वदनमा श्रीतुल्य वासन्तिकी ।
लज्जादार प्रसून लज्जत लिने लालित्य झैं लोककी ॥
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना ।
ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?"
(६४)

कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा ।
त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥
अनेकौं छायाले भुइँकन दिँदा भूषणहरू ।
उनी सोध्थे "सुत्छ्यौ मकन नदिई नींद निठुरी ?"
(६५)

चराले बोल्दामा पिउ पिउ गरी पुष्पधनमा ।
"तँ बुझ्छस्‌ के मेरो मन अलिकति प्रेम-क्षणमा ॥"
भनी सोद्धै भन्छन्‌ रवहरु सुनेकी तर तिनी ।
सचेता बन्छिन्‌ ती नृपति छ विलौनामय भनी ॥
(६६)

बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ऊषा विहारी दृग ।
तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥
मीठो ढुक्ढुकले सुबोल नभको देखेर शोभा नव ।
जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥
(६७)

त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको ।
शोभाले छविको उडूँसरि हुँदो बोलेर मीठा कुरा ॥
त्यस्तो पङ्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा ।
देखी ती नृप भन्दछन्‌- "विपिनका शाकुन्तशोभा तँ जा ॥
(६८)

भन्दे दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ ।
प्रेमी आर्त प्रकाशभीरु जलले बोल्ने, भिजेको दृग ॥
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर ।
झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भर्दछ ॥
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
बास्ना मात्र सुँघेर त्यो बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
(६९)

राम्रा नव्य प्रवालका रँग मुना रेखा मिलेका मिही ।
चिल्ला चित्त खिँचीलिने चपलता चम्काउने चारुता ॥
बोलीतुल्य विकासशील मनमा लाग्ने मुनाका अघि ।
भन्थे "बोलन बोल हे अधरहो ! के भन्दछिन्‌ हृद्छवि ॥"
(७०)

देख्दा ती नृपको दशा विपिनमा सासैपिछे सम्झना ।
रोएकी मनमा मलीनपनले डेरा लिएकी दशा-
लाई आज भुलाउने छ बढिया भन्ने ठट्यौली सँगी ।
सोची धेर उपाय भर्तृहरिको दृष्टान्त पाईकन ॥
पोल्टाभित्र मकै लिईकन बुजा हाल्दो रुँदै बस्तछ ।
बूढो घुँक्क गरेर 'सुँक्क' सँगमा आँखा भिजाईकन ॥
(७१)

आएको नृप देख्छ त्यो निकटमा "बाबा मरें नी उहूँ !
छाती पोल्दछ बिझ्छ हाय ! मुटु नै बेथा कहाँ यो कहूँ ॥"
भन्दै विकृत चेहरासित बसी आँखा चुहाईकन ।
धाराले पनि नाटकीय नृपमा आफ्नो दशा-दर्शन ॥
देखाईकन भन्छ "लौन म मरें यो भित्रको कष्टले ।"
"के भो के ?" भनि सोद्धछन्‌ नृपतिले "के पिर्छ के दुष्टले ॥
(७२)

भो भो हाय नबोल दौँतरि ! तिमी पोल्यो नि पोल्यो मुटु ।
फूलै बन्दछ, गन्ध जल्छ, रँगले डस्छन्‌ हवा पोल्दछ ॥
जूनै अग्नी भयो मसी निशि भयो कालो वियोगी मसी ।
दुःखै हुन्छ समुद्र तैपनि कुनै देख्दैन मेरो दशा ॥"
(७३)

"त्यस्तो दुःख भएछ ए ! बहुत नै पीडा भएझैं गर्‍यौ ।
थोरै मात्र बताइदेउन सखे ! के वेदनामा पर्‍यौ ?"
भन्दै मुस्मुस हास्यसाथ नृपले सोद्धा उ भन्दो भयो ।
"दोटै अक्षर छन्‌ सुवर्ण रँगका छातीविषे सुन्दर ॥
जो देखें सब स्वर्गका विहग नै बोल्थे मिली सत्वर ।"
(७४)

"के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा 'उहूहू' गरी ।
बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥
"के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी ।
हा ! शोभा सब देशकी मृदुमुखी हा ! सुन्दरी कज्जला ॥
(७५)

भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।"
"कस्ती त्यो छ त" सोद्धछन्‌ नृपतिले "के अप्सरा हो भन ?"
"माटो झैं जिउ छन्‌ अरू युवतिका ! पाकी उज्याली सफा ।
लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन्‌ तिनी ॥
बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट झैं ।
अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥
लाई गाजल ती टलक्क मुख छन्‌ झल्की सिताराहरू ।
तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन्‌ ॥
दाना सुन्दर रौप्यका कुसुम झैं पत्रै सुनौला भुइँ ।
मीठा मग्मग बास-साथ उदरै लोभी बनाईदिने ॥
छन्‌ फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला ।
त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥
राम्रा फूल अनेक ती हृदयका खाना बनाईकन ।
रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥"
भन्दै घुँक्क गरेर, सुँक्कसँग त्यो आँखा भिजाईकन ।
"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥"
भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ हेरूँ" भनी ।
जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥
(७६)

खोर्‍याईकन धेर बेर नृपले सोद्धा बतायो तब ।
"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥
हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित ।
हाँ हाँडी हँसिली फुलेर रसिली हा कज्जला मोहिनी ॥
(७७)

'हाँडी' नाम मुसोमयी मृदुमुखी ती पुष्प-भण्डार हुन्‌ ।
हा ! हाँडी मृदुयौवनी कसुमकी भण्डार प्यारी तिमी ॥

रन्केकी अलि मारको ज्वर चढी फुल्दी नता बैंसकी ।
क्या मीठी मृदु कज्जला कति भला क्या पूर्ण पार्ने गला ॥
सारा चारु टुना तिमी भर खुला पाऊँ कहाँ कोपिला ?"
भन्दै रुन्छ र भूप मुस्मुस गरी हाँसेर सुन्छन्‌ करा ॥
"हा हाँडी किन बिर्सियौ" भनी रुँदै निक्कै हँसायो बरा ।
(७८)

"हा ! हाँडी कसरी म पाउँ नि हरे ! सारै वियोगी बनेँ ।
बुझ्दैनन्‌ अरु हाँस्दछन्‌ शिव हरे ! टाढा तिमी बन्दछ्यौ ॥
झन्‌ झन्‌ झल्किन जान्छ गाजल अहा ! यो माधुरी श्यामल ।
रूँ रूँ लाग्छ अनन्त ! हन्त कसरी मैले सहूँ यी पल ॥"
हूँ हूँ साथ रुँदो बडो चतुर त्यो बूढो बनाई कुरा ।
पेटैसम्म मिचाउँदै नृपतिको हाँसो बन्यो त्यो रुँदै ॥
(७९)

"धन्दा छैन मिलाइदिन्छु सहजै गाला रँगाईकन ।
गाला जोर्न लगाउनेछु दिलकी त्यस्ती उज्यालीसँग ॥
तिम्रो सर्व सिँगारले उनसँगै जोडी मिलाईकन ।
यो सारा वन वा सबै सहर नै द्यूँला घुमाई वरी ॥"
(८०)

यस्तो सुन्छ जवाफ कान दुइमा लाई दुवै अङ्गुली ।
"भो भो गर्दिनँ नी म गर्दिनँ बिहा भो जान्नँ सासूकहाँ ॥
जो प्रेमी म छु भन्छ त्यै पुरुषको होस्‌ त्यो बिहा जङ्गली ।
हा ! हाँडी" तब भन्छ "क्या नृपतिको आँखा छकायौ फुली ॥"
(८१)

प्रसन्नतासाथ क्षितीश हाँसे ।
भुलेर आफ्नो दुख थोर बेर ॥
तथापि आयो उनमा प्रवाह ।
परी झझल्का लहरी उठेर ॥
 (८२)

"कहाँ उज्याली सुरकी जुहार ।
शठोपमा यो छ कहाँ असार ॥
फुटेर आँखा यदि स्वर्ग जाऊ ।
परी छ हाँडीसरि भन्न आऊ ॥
(८३)

छ गोरु उस्तै अझ नेत्रहीन ।
यहाँ छ भैंसी अघि हेर बीन ॥
यहाँ छ हीरा कपिको अगाडि ।
मकै चरा भज्‌ अब मूर्ख हाँडी ॥
(८४)

सबै जगत्‌मा छ मपाइँ जैसी ।
जान्ने कहाँ हुन्छ दधालु भैंसी ॥
दिए तँलाई त्रिदिवेश ताज ।
बेच्ने थिइस्‌ भज्न तमाल गाँजा ॥
(८५)

हवाहरूले जसको सुगन्ध ।
भजी महासागर दीर्घ तर्छन्‌ ॥
उही छ बास्ना रँगरूप हेर ।
ती अङ्ग राम्रा उनका मिलेर ॥"
(८६)

"त्यसो भए ता म उपाय खोज्छु ।"
भनी कन्याईकन त्यो कपाल ॥
घोरिन्छ, देखी उसलाइ राजा ।
हाँसेर भन्छन्‌ "कति मूर्ख बन्छन्‌ ॥
(८७)

तिमी अगाडि प्रतिभाविपन्न ।
बनेछ तिम्रो शिर कृष्ण धन्य ॥
उ रौं चमत्कारसमान लामा ।
टुपी त श्रीपेच छ स्वाँगनामा ॥
(८८)

मुसुक्क हाँसी विधिले लिएर ।
'म उब्जनी गर्दछु एक मान्छे ॥'
भनेर, माटो तटको सुदूर ।
दुःखी नहुन्‌ क्वै जगमा भनेर ॥
सिर्जे तिमी नै तब चट्ट हेर ।"
(८९)

यति वचनसाथ ती नृप गए डुली क्यै पर ।
विचार मनमा यही चलिरह्यो तिमी मोहिनी ॥
सुवर्णकन वास छन्‌, झलक दिव्य हीराकन ।
प्रसून वनलाइ छन्‌, अनि कबेरकी छन्‌ धन ॥
(९०)

धरा पनि धनी बनिन्‌ यति शकुन्तलाले गरी ।
सबै शहर शून्य छन्‌ वन छ दिव्यताले भरी ॥
अहा ! मृदुल चाँदनीसरि अनन्त राम्री बनी ।
कतातिर म पाउँला दिनदिनै पला नै गनी ॥
(९१)

न लोभ न छ लालसामा विपिनको हरा राज्यमा ।
कुबेरनगरीसरी प्रथम सिर्जनाको पुरी ॥
महीरुह अनेकको शवल भ्रातृताले गरी ।
छ सुन्दर फुली वनै युग सुवर्णको माधुरी ॥
(९२)

प्रवाह गहना लिने, मधुर फुट्छ पन्ना जहाँ ।
हरा कर अनेकमा ऋतु वसन्तका केशमा ॥
छ नृत्य रँग तुष्टिले मधुरमा हरा जीवन ।
यि भावहरु छन्‌ यहाँ ऋषि रमाउने मोहन ॥
(९३)

सुवासहरुले यिनै सकल सभ्यता जन्मिए ।
परी कसुम नाच्दछन्‌ जुन कला बनी फैलिए ॥
हरा प्रकृति हाँस्दछिन्‌ मधुर छन्‌ सबैका दिल ।
मही मधुप पढ्दछन्‌ मधुर वेद क्या मञ्जुल ॥
(९४)

अनेक ऋतु आउँदै नव प्रभावले छाउँछन्‌ ।
चराहरु करा गरी खबर स्वर्गका ल्याउँछन्‌ ॥
धरा पनि प्रशस्त छन्‌ मित छ चाहना, शीतल ।
कुटीहरु भँडार छन्‌ सकल ज्ञानका मञ्जुल ॥
(९५)

छ स्वर्गसरि यो हरा तर समस्तकी श्री तिनी ।
सुधा-घटसमान छन्‌ मृदुलरेख झैं भावना ॥
अहा ! करुण फूलकी गुण जरा धरामा घुसी ।
समुच्च मृदु भावना कसुमिता अहा षोडशी ॥
(९६)

मिहीन र नबोलिने सरस चारु टूनाभरी ।
शकुन्तसँगिनी सुखी रँग लिई हँसीली बनी ॥
खुला पवनमा बढी मृदुलता लिई फुल्दछन्‌ ।
विचित्र रँग उड्दछन्‌ बिहग फुल्दछन्‌ बोल्दछन्‌ ॥
प्रसून-रसना लिई मधुर पातला शब्दका ।
छ वास उनमा अहा ! मधुर स्वर्गको रङ्गमा ॥
(९७)

अहो ! झलक घाउँ ता छिनभरी कतै यो तट ।
सुधा-तरल बन्दथ्यो सुख शान्तिले बाँधिने ॥
बनाउन म लाग्दथेँ झलक-निम्तिमा मन्दिर ।
कला हृदयको लिई किरणश्रद्ध झैं विष्णुको ॥
(९८)

प्रसून-प्रतिपालिनी रजत-वाहिनी मालिनी ।
अरण्य-घनशालिनी जलधिरत्न-सौदामिनी ॥
वसन्त-"ऋतुमा यिनी सुरभि-गामिनी घुम्दछिन्‌ ।
बनी मधुर पुष्पको तट छुँदी सफा मालिनी ॥
(९९)

परीहरु यहाँ कतै मधुर जूनमा आउलान्‌ ।
झरेर मृदुतालमा सलिलका हिली गाउलान्‌ ॥
लताहरु समाउलान्‌ हृदयका कणा ल्याउलान्‌ ।
प्रसूनहरु प्रातमा मधुर लोतिमा लाउलान्‌ ॥
(१००)

कतै हरित शैलका कुसुमदार थुम्काहरू ।
कतै छ सुखको गुफा हरित चारु झुम्काहरू ॥
हिलाउँदछ द्वार त्यो पवन-तालमा सुन्दर ।
बनेसरि परीगुफा अनि रमाइलो मन्दिर ॥
(१०१)

ककल्‌ कलकलाउँदी सलिलले झझल्‌ झल्‌ बनी ।
सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्‌छल ॥
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
सुकोमल निनादिनी लहरले घुमौरी बनी ॥
छचल्‌ मचल शैलकी त्वरितगामिनी सुन्दरी ।
कुरङ्गहरुकी तृषा वन-सिँगार बग्दी सुरा ॥
हरा पुलिनसुन्दरी कुसुमकी विलासी गति ।
छ गानपथमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
शिला छ मसिन्याउँदी चपल लोललाई कुँदी ।
सलक्क मृदु बाटुला सरस स्निग्ध पारीकन ॥
त्यहाँ सरस ठाउँमा कुसुमदार पत्रादिले ।
धनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
विहङ्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
गरेर मृदु मर्मरी कवि बनाउँदी छन्‌ चरा ॥
कुनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
सुशीतल हरा हवा मधुर चल्छ हर्‌हर्‌ गरी ॥
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
छ दीपरस भूपले ललित ठाउँमा एकलो ॥
(१०२)

वसन्त ऋतु बागमा प्रकृतिको सफा भागमा ।
विहङ्गम विहागमा नवमुना नयाँ रागमा ॥
हवा मृदु परागमा हृदय खोजको लागुमा !
वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
(१०३)

प्रभाकर प्रतापका मृदुल रश्मिका छन्‌ यहाँ ।
सुशीतला हवा हुँदा मधुर श्वास झैं पत्रको ॥
विचित्र वन चित्र छन्‌ पवनमा सजीवानन ।
छ कुड्मल फुकाउँदो उर सुगन्धको रञ्जन ॥

लमाइ अति लम्बिँदी नवल मञ्जरी छुन्मुना ।
सुस्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछे ॥
हवा छ लम्किँदो त्यहाँ सुरभिले प्रभा उष्णमा ।
कला छ कुसुमी जहाँ मधुर रङ्गको फुल्लता ॥
(१०४)

कन्याइन करङ्गले कलि प्रशस्त त्यो कालमा ।
मजासहित मख्मली जमीनबीच लेटी लिने ॥
प्रकाशमय लोचनी सुखमयी करङ्गी त्यहाँ ।
वसन्तऋतु-राज्यको जय मनाउँछे सुन्दरी ॥
(१०५)

विहङ्गहरु उड्दछन्‌ गगनमाथि ली चक्कर ।
अनङ्ग पनि रङ्गका शरमिलिन्द-टङ्कारले ॥
फिँजाउँछ जतातता हृदयलाइ दी बेधन ।
अडे नृपति क्यै त्यहाँ उचितमा प्रशंसा दिन ॥
(१०६)

त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
सफा छ चुचुरो लिँदो किरणमा फुकूँ झैं गरी ॥
तथापि मृदु लाजको हरित पत्रको अञ्चल ।
फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
(१०७)

लता र तरुबीचको मृदु मुनाभरी सुन्दरी ।
झिनी छ सुकमारिता मधुर झाँग जाई जहाँ ॥
वहाँ कनक फुल्दछन्‌ सुरप्रदेश ढुङ्ग्रीहरू ।
दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
(१०८)

चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
भुवा छ आल खौरेने मृदु हरा फुटी कड्मल ।
बनेर टप चारु झैं अलि छ त्यो खँदीली तर ।
फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।
भएर डर भाग्दछन्‌ हृदय चर्किएला भनी ॥
(१०९)

सकुन्तल शकुन्तकी छ महिमा फुली सुन्तला ।
छ मग्मग सुवासले ऋतु वसन्तकी कुड्मल ॥
बराबर छ बर्बरी पवनमा फुलेको रज ।
जमीनकन छिर्बिरे अलि गराउँदै फेदमा ॥
सुवर्ण पिपिरे फुली अब फुली वसन्ती सर ।
विहङ्ग वन-बालिका छिरबिरे पँखेटा बनी ॥
छिरेर मृदु पत्रमा किरण छानिई आउँछ ।
उडी कुसुम पुत्तली मधुर न्यानु भोग्छे जहाँ ॥
गरी भ्रमर भुन्भुनी अमृत माग्दछन्‌ पुष्पका ।
जहाँ अधर मुस्किए अलि गरेर गानै त्यहाँ ॥
(११०)

बनेर नव सिर्जना विपिनका परीको घर ।
तथा वनसमान त्यो सुरभिकेन्द्र क्या सुन्दर ॥
किनारकन पुष्पको मृदु सिँगारले छाउने ।
थियो मधुर चित्र झैं कवि सुनी फुली आउने ॥
(१११)

त्यहाँ मधुर शब्दले युवतिका यसो छेकिई ।
बसे नृपति झाँगको सरस आडमा तर्किई ॥
थिए हरित घाँसमा वदन छिर्बिरे पत्रले ।
सुचारु नवयौवनीहरु जहाँ बसेका सुखी ॥
(११२)

चियाउन सुखी ननी हरित झाँग ठूलो मनि ।
त्यहाँ नृपति देख्दछन्‌ विपिन-वल्लरी कामिनी ॥
लिई ढलक बैंसको मधुरता खुलेको ढँग ।
कलासरि सजीव ती मधुर कञ्जका भूषण ॥
(११३)

सुरेख मृदु अङ्गका मदन-मोहिनी ढङ्गका ।
प्रियासरि कुरङ्गका, मृदुल केशका आढ्यता ॥
नितम्बतक झर्छ जो सरस-रेशमी रङ्गले ।
कपोल मृदु पुष्पको सरसता खुलाईकन ॥
(११४)

त्यहाँ अब शकुन्तला कर कपोलमा दीकन ।
कुना तल अडाउँदी मखमली हरा शस्यमा ॥
थुँगातरि कपोलको मृदुल भार थामीकन ।
झरेर मृदु केशका गहन कृष्ण शोभा तल ॥
छिपेसारे शशी यसो घनविषे उता फर्किंदी ।
बनी मधुर सूचना छविपछाडि नै छर्किदी ॥
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला ।
मनोहर नितम्बकी पयर खुम्चिँदी छन्‌ अलि ॥
(११५)

नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन्‌ |
दिईकन कटीविषे कर नितम्ब छोईकन ॥
झुकेर दृग लाउँदी विरहका मुनामा नयाँ ।
नवीन अन प्रेमको खुलिदिँदा कुनै सम्सम ॥
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना ।
झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥
तिनै नृपतिको थिए जुन त्यहाँ कुनामा हरा ।
(११६)

पहाडहरुमा चढी पथ शिलाहरुको लिई ।
निराशसँग कल्चिँदो विपिनबीच काँडाहरू-
झरीहरु खपी खपी प्रखर सूर्यका आतप ।
भजेर दिलको प्रभा त्रिपुरसुन्दरी दूरकी ॥
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै ।
सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥
झलक्कसित देखिँदा शिखरबाट ऊँचा कुनै ।
छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥
(११७)

पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी ।
अडेर सुखचूड भै अलि चिहाउँदा भूपति ॥
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन्‌ ।
अडेर अलि श्वास नै सकल शब्द रोकीकन ॥
(११८)

थिए दुई सजीवता चकित नेत्र नानी दुई ।
पुगेसरि पुरूरवा सुरपुरी-बगैंचातिर ॥
अडी अमर झाँगमा अमृतकी नदीनेर नै ।
परीहरु निहारिँदा पुरुषहीन स्वातन्त्र्यमा ॥
(११९)

न चोर्दछ कुनै अरू मधुरिमा यसोरी कतै ।
नृपेन्द्र सन चोरका नृपति छन्‌ लुकेका यहाँ ॥
छ ढुक्ढुक त्यसै मुटू प्रकृतिकी सुता हेर्न ती ।
अदृश्य अभिसारकै सदृश ती कुरङ्गीकहाँ ॥
कुटेर महिमा मिही प्रकृत चाल बेयादको ।
समुल्लसित नेत्र भै मधुर झल्कने कानमा ॥
(१२०)

नजीक नखरे ठिटी अति छिटी खडा चारु छ ।
"हरे मदन-बागकी किन तिमी कला-दुर्बला ॥
सिखारु लजिली बनी हृदय खोल्न कच्चा पनि ।
सँगीसँग नबोल्दछ्यौ यति भयो मलाई भनी ॥
(१२१)

छ को र पुरुषै यहाँ युवतिसाथ जूँघानिना ।
प्रकाश गर है सखी हृदयको खुलेको कुरा ॥
छिपी कमल-क्रोडमा मधुर बास लुक्ने कहाँ ।
छ दर्शक र को भनी अझ खुलस्त बन्छ्यौ यहाँ ॥
छिपाउँ जति भन्दछ्यौ उती खुलस्त झन्‌झन्‌ बनी ।
बसी भ्रमर चित्तमा भुनभुनी गरी बोल्दछ ॥
(१२२)

फुकेर उर वासको प्रकृतिका परी हाँस्दछन्‌ ।
सबै सुमन कोपिला भ्रमर आफू डाकीकन ॥
रँगीन मृदु मोहनी नव सिँगारका लज्जत ।
थपीकन मुहारमा पवनमा इशारासित ॥
(१२३)

सबै अधर बोल्दछन्‌ कुसुमका रसीला कुरा ।
फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥
सुवासहरु लादिने पवन आउँछन्‌ 'द्यौ' भनी ।
नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥
(१२४)

पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ ।
हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥
सिँगार सुखमा थपी मधुर नृत्य झैं बैँसको ।
बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥
(१२५)

जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी ।
पठाउनु रहस्यका नजर ओठ बोल्ने गरी ॥
अनेक दिलका कुरा अरु खुलस्त पार्ने ढँग ।
सबै युवति जान्दछन्‌ तर हरे ! तिमी मूक छौ ॥
(१२६)

छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा षोडशी ।
न भै चपलता त्यसै प्रिय करा कनै के बुझून् ॥
पयोधितिर प्रेयसी पयरमा दर्गुछन्‌ छिटा ।
वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥
(१२७)

उषा कनकप्रातमा रवि भजी सिँगारीकन ।
सबै विहगका गला स्वर बनाउँछिन्‌ रुन्झुन ॥
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर ।
सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥
(१२८)

सुमूर्ख शरमाउँदी कति सुधी र लाटी तिमी ।
न बोल्न पनि जान्दछ्यौ विरह मूक बन्नू भुनी ॥
छ खोज्नु भँवरा यहाँ मह दिएर लट्ठ्याउनु ।
सिँगार गुण गाउने कवि बनाउँदै ल्याउनु ॥
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं ।
मजा युवतिको यही यति नजान्नु मूर्खै सही ॥
(१२९)

तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ ।
त्यसै शरमले लुकी प्रकृतिबाट बाङ्गी बनी ॥
सुटुक्क भन कानमा वचन लौ, नसुन्ने गरी ।
उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥"
भनीकन झुकी तिनी अधरनेर ती सुन्दर ।
मिली चपत हातको मृदु कपोलमा पन्सिइन्‌ ॥
(१३०)

"दुख्यो निठुर हातले दिल कपोल मेरो त्यसै !
रिसैसित बसिन्‌ यिनी हृदय नै छिपाई त्यसै ॥
बताउन प्रियम्वदा, अब कसो गरूँ ? के गरूँ ?
बडी कपटकी यिनी दुख हटोस्‌ कसोरी मरूँ ?"
(१३१)

लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ ।
राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥
"को होला म त हैन क्यार ? कसरी हेरूँ म पर्दा झिकी ।"
जिज्ञासासित सोद्धछन्‌ नृपतिले आँखा तिखारी अति ॥
(१३२)

(शालिनी)
"राम्रो जाने बात निस्कन्छ प्यारो ।
हेरीरौली दिन्छु चाँडै उतारी ॥"
भन्दै साना शब्दमा चारुसाथ ।
गर्छिन्‌ मीठी बातकी मिष्ट बात ॥
(१३३)

"वसन्त अलि मारको नव प्रसादको तापले ।
सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस ।
जलेर रँगका शिखाहरु जले दिशामा दश ॥
(१३४)

बताउन सखी तिमी कुन तरङ्गको कारण ?
सुदीर्घ किन बन्दछन्‌ नजरतेज वैलेसरि ॥
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने ।
अरूसँग नबोलूँ झैं हृदय दुःखले नै छुने ॥
(१३५)

बिझी मदनबाण नै अति कृशाङ्गिनी मूक छन्‌ ।
तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन्‌ ॥
वसन्त वन रोग यो कसुमबाट हो उब्जिने ।
कनै हृदय मूक भै युवति मृत्यु झैं वैलिने ॥
(१३६)

बताउन शकुन्तले ! न त वसन्त उन्मादले ।
बनेर पगली तिमी अति तरङ्ग काटीकन ॥
सधैंभर रुने भई हृदयको विदीर्णा बनी ।
सुरुग्णसरि बन्दछ्यौ सब पला दुखी झैं बनी ॥
(१३७)

न खान छ मिठास नै न पिउने पनि स्वाद छ ।
कुराहरु नसम्झिने हृदय झन्‌ उदासै हुने ॥
तरङ्ग बहुलाउने प्रति निमेष रूँ रूँ हुने ।
गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥
बसी विजन ठाउँमा अधिक घोरिऊँ झैं हुने ।
(१३८)

समीरण जलाउने मुटु चसक्क जस्तो हने ।
घुँ घुँक्कसित रूँ हने अनि गला पुगी रोकिने ॥
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा ।
वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !"
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन्‌ 'यस्तरी' ।
"प्रकाश हुनु औषधि प्रकृत बोलि द्यौ सुस्तरी ॥
(१३९)

जवाकुसुम चर्किई गरम बोक्रि प्यारी सखी ।
हवा सुरभिले भरी हृदयलाई गर्माउँछ ॥
'उहू उहू' गरी गरी शर विदीर्ण ऊ कोइली ।
(१४०)

नबोल अब चारु है यति चिरिक्क चर्को गरी ।
कुरा नमरले त्यसै शरम हुन्छ है शीतल ॥
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला ।
नजीक रहनै भए अति खुलस्त शिक्षा किन ?
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ?
छिटा नजर देख्दछन्‌ किन बसेर खोर्‍याउनु ?
(१४१)

यहाँ छ स्तन चारुमा बुझन चारु ! गट्टा कुनै ।
छ ढुक्‌ ढुक थियो यहाँ कति छिटो बनी उत्सुक ॥
नबोल सखि है तिमी भ्रमर भित्र राखी रहू ।
उसैसँग करा गरी मधु तरङ्ग चाखी रहू ॥
(१४२)

झलक्क तर देखिए नजर यी लुकाऊँ कता !
यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
सँगीहरू अनाज हन्‌, हृदयनाथ चोर्छन्‌ भनी ?
लुकाउन तयार छौ कि त नबोल्न खोज्दी तिमी ?"
(१४३)

भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन्‌ ।
खुलूँसरि बनी दुवै अधर 'जाऊ' जस्तो गरी ॥
फरक्कसित फर्किइन्‌ हृदयभित्र शङ्का भई ।
कतै नृपति छन्‌ कि ती निकट कुञ्जमा झैं भर्ई ॥
(१४४)

सशङ्क अलि भूप छन्‌ अब मलाइ देख्छिन्‌ तिनी ।
भनी कुसुम झाँगको निविड आड लिन्छन्‌ तिनी ॥
शरीर अलि खुम्चिई दुइ कुना लगाईकन ।
अघिल्तिर बढूँ लुकूँ कि अब के गरूँ भैकन ॥
(१४५)

"सुनेर दिलका कुरा यदि हवा हवामा उनी ।
उडीकन तिमी भनी मिलुँ भनी नआऊन्‌ यहाँ ॥
शरीर यसरी गली अधर नै सुकाईकन ।
बसीरहनु एकली कुन छ बुद्धिमानी भन !
(१४६)

अनेक कति युक्ति छन्‌ भन, खुलस्त सिक्ने भए ।
तिमी कपटमूर्ति छौ सब कुरा दिलमा रहे ॥
तिमी सुकिदिँदा यसै बहुत लाग्छ माया कठै !
अलीकति बताइद्यौ कपट पाप लाग्ने छ नि ॥
(१४७)

यहाँ बसन काखमा शिर अडाइदेऊ तिमी ।
कि लाज यतिमै भयो ? उरु छ यो जनाना भनी ॥
यहाँ पुरुष छैन क्वै म ठुङ मार्छु मीठो गरी ।
गली कसुम बाहली शिरथुँगा अडाऊ यहाँ ॥"
भनी नरम काखमा मृदु शिरीषको माथ त्यो ।
बसीकन अडाउँछिन् "किन अतीव लज्जावती ॥
बन्यौ 'शिव हरे !' भनी करमकी अबोला गति ।
(१४८)

दुवै युवति हौं बुझ्यौ ? उर दुवै फुलेको यहाँ ।
उही प्रकृतिका दुवै छ कुन कृष्णजूँघा यहाँ ॥
कपोल न छ रौंभरी शरमलाइ खस्रो कनै ।
बताउन सखी हरे बहुत ! तुल्बुलायो मनै ॥"
(१४९)

अनेक ढँगका भई कठिनता तथा लज्जत ।
भरी मुख रँगाउँदी असजिलोपनाले गरी ॥
यसो सखि-मुहारमा नजर क्यै उचालीकन ।
नबोलिकन भन्दछन्‌ 'मकन हुन्छ बाधा' भनी ॥
(१५०)

"खुलस्त नहुने तिमी अब त नास्तिकै भैसक्यौ ।
समस्त दिलको कुरा प्रभु न बुझ्दछन्‌ क्वै वहाँ ?
छकाउनु जगत्‌ सबै प्रकृतिलाइ रोकीकन ।
बनेर गर्‍हुँगी बस्यौ अधर बन्द पारीकन ॥
(१५१)

खुलस्त जति बोल्दछ्यौ हृदय नै हलूका बनी |
छ रोग पर नै हुने न त अनिद्र बन्दै तिमी ॥
गनेर सब तारका गगनबीच झारी कणा |
प्रतिक्षण हिसाबकी चतुर बन्दछ्यौ रात्रिमा ॥
(१५२)

खराब कटु रोग यो अब कपाल दख्ला नि है !
सधैं उर समाउला अति तरङ्ग भर्ला नि है !
सुकी अधर रूप भै विकृतिमा कलेटी परी |
शिकार कटु कालको बहुत शीघ्र बन्ल्यौ नि है !"
(१५३)

"छ षोडश वसन्त यो कलुष यो छ पृथ्वीमहाँ ।
सबै युवति पर्दछन्‌ नि अनिवार्य यो रोगमा ॥
न औषधि उपाय वा हृदयलाइ लाग्छन्‌ कुनै ।
छ भीरु दिलको व्यथा कति त मर्दछन्‌ ग्रस्त भै ॥
(१५४)

भने भन तिमी सखी मन नभन्नको नै भए |
न भन्नु किन भन्नु है यति कुरा सुनाईदिएँ ॥
छ को र जुन यो बुझोस्‌ हृदय मर्न मूकै बनी ।
बढी अप्रकृता बन्यौ" सखि अगाडि भन्छिन्‌ तिनी ॥
(१५५)

"बताइदिनु यो कुरा हित बुझी बताएँ सखी ।
छ रोग पनि यो कडा सब म बुझ्छु यो लक्षण ॥"
भनीकन प्रियम्वदा नजर थोर कर्के गरी ।
मुहार मृदु हेर्दछिन्‌ श्रवण छन्‌ सुनूँ झैं गरी ॥
(१५६)

"थियो दिवस के सखी कसुमकालको सुन्दर ।
सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन ।
शिकार कुसुमी गरी मदन डुल्दथे कि ? वन ॥"
(१५७)

मुसुक्क दुइ ओठले शरमसाथ बोले करा ।
बढ्यो शरम लाल भै तर लुकाउँछिन्‌ ती बरा !
"बुझें अब बुझें" भनी रँग गुलाबका दीकन ।
कुरा कति प्रियम्वदा मधुर गर्दछिन्‌ तीसँग ॥
(१५८)

बनीकन न फुक्छ त्यो तर बुझिन्‌ सखीले भनी ।
प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन्‌ ॥
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि !
तिमी त चुपचाप नै बसिरह्यौ कि लाटी बनी ?"
(१५९)

रहस्य दुहुँदी तिनी अति मिठासका बातले ।
खिची नजर रीसका शरमका उज्याला बडा ॥
सुचारु ढकनी मनी, अति प्रसन्न मानीकन !
झुकेर अलि हेर्दथिन्‌ मन बुझूँ भनी तत्क्षण ॥
(१६०)

"हरे कठिनता बुझें किन त्यसै खुला बन्दथ्यो ।
भनूँसरे बने पनि शरम तान्छ बोलीकन ॥
चलूँसरि बने पनि अधर बन्दछन्‌ बन्द नै ।
म बुझ्छु कठिनाइ यो न अरू चारु बुझ्छिन्‌ यिनी ॥"
(१६१)

भनीकन छ दुःखको प्रथम यो कुनै अक्षर ।
कसो ? नजर भन्दछन्‌ नजर बन्दछन्‌ हैन झैं ॥
निषेध छ समर्थ नै हृदयका कुरामा भनी ।
"बुझें अब बुझें बुझें" अब प्रियम्वदाले भनिन्‌ ॥
(१६२)

चुँडी कमलको सफा धवल पात ल्याईकन ।
यहाँ हृदयको करा अलिकता तिमी लेखिद्यौ ॥
भनी निकटको कुनै कसुम शूलले दाडिमी ।
कनिष्ठ मृदु अङ्गगुली रगत काढ्न रोप्छिन्‌ तिनी ॥
(१६३)

मसी मसँग नै छ यो रुधिर लाक्षिका भो यहीं ।
भनी स्वकर घोप्दछिन्‌ मृटु चसक्क भो भूपको ॥
लिई कलम देख्दछिन् कमल पातमा ती अडी ।
अरू अघि सरे त्यहाँ नजर हेर्न "श्री" सन्दर ॥
(१६४)

"नहेर सखि लेख्न नै कलम चट्ट अड्कीकन ।
कुराहरु नआउने शरम लाग्छ भो लेख्तिनँ ॥"
भनीकन तिनी अडिन्‌ अरु सँगाति लागे पर ।
तिनी हृदय लेख्दछिन्‌ हरफ वक्रमा सुन्दर ॥
(१६५)

जसै शरमले गरी कमलपात च्यातूँसरि ।
बनिन्‌ मृदु शकन्तला त्वरित चारु सर्छिन्‌ अघि ॥
झपक्कसित छोप्दछिन्‌ कमलपात खोसीकन ।
दुवै नजर छोप्दछिन्‌ तब शकुन्तला शोभन ॥
(१६६)

पढीकन सुनाउँछिन्‌ मृदु रहस्यको लालिमा ।
'म जो भनिछु दुःखिनी निठुर हुन्छ सोही जन ॥
शिकार दिलको गरी विरहमा डुबाई गए ।
दुखी दिल व-सन्त झैं नृप प्रसूनको भज्दछ ॥'
(१६७)

"बुझें कति चलाक यी नृपति हेर दुष्यन्तको ।
सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन्‌ ॥"
भनीकन प्रियम्वदा "बुझ न छान्नको चातुरी ।
अहो भन शकुन्तले ! मदनले छ चोखी परी ॥"
(१६८)

अहो गजब भाग्य हो हुदयबीच राजा हुनु ।
त्रिलोकपति ताज झैं यति कुरा सुनी पाउँछु ॥
भनी, नृपति भन्दछन्‌ मनमनै लुकेका त्यहाँ ।
यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥
(१६९)

चखेवा जोडी झैं हरित सरिताका पुलिनमा ।
अलग्गै बस्थे ती गह विरहका पार्न रह झैं ॥
दिनेशै आए झैं अवनि-पतिको आगमनमा ।
मिले आँखाद्वारा दिल दिल दुवै गद्गद बनी ॥
(१७०)

चकितलोचनी मृदु शकुन्तला ।
'छल रहेछ यो सकलको' भनी ॥
शरमको गरी भाग्नको मन ।
हुन गई अडिन्‌ प्यूँन दर्शन ॥
(१७१)

"कुशल नै छ के वनपरीहरू ?
वन घुमी घुमी चट्ट भेट भो ॥
हृदयमा भयो अति प्रसन्नता ।
अति उराठमा पो थिएँ म ता ॥"
(१७२)

भाव चित्तका सब छिपाउँदी ।
नजर हेर्दछिन्‌ ती शकुन्तला ॥
चकितलोचनी विनत चारुता ।
कुसुम झाँगको आड खोज्दछिन्‌ ॥
(१७३)

दिल खुलेसरी स्वर्ण कान्तिले ।
प्रभु उदाउँदा विपिनबीचमा ॥
कलनिनादका नभ-चरीहरू ।
हृदयपङ्खले गर्न स्वागत ॥
(१७४)

"दिल हुँदा हुँदै शाब्द शून्यता ।
जलद बीचमा शीघ्र बेपता ॥
बन्दछौ प्रभा अमित रत्नका ।
विश्ववन्द्यका किरणसामुमा ॥"
यति भनी त्यहाँ मधु प्रियम्वदा ।
हृदय भूपको खुश गराउँदछिन्‌ ॥
(१७५)

चार चञ्चला अघि सरीकन ।
नृपतिसामुमा विन्ति गर्दछिन्‌ ॥
"सखि शकुन्तला खोज्दछिन्‌ यहाँ ।
विन्ति गर्न क्यै एकली बनी ॥
(१७६)

पर हिँडूँ सबै शर्म क्यै नली ।
हृदयको कुरा सखि, बताउनू ॥
समय मिल्छ यो सुनहला कहाँ ।
लौ त, हिँड्दछौं बस सखे ! यहाँ ॥"
(१७७)

यति भनी हिँडे सब सखीहरू ।
तब शकुन्तला हुन गइन्‌ त्यहाँ ॥
नृपतिसामुमा 'अब म के गरूँ ।'
यस छिनै भरी पालुवाहरू ॥
कर सरी गरी भन्दथ्यो तरु ।
(१७८)

नजर भूपका भेट्न लज्जिता ।
पयर हेर्दछिन्‌ प्रेमसाथ ती ॥
कुसुम लौन नी अब कसो गरूँ ।
तुल्य भावले कर्किईकन ॥
(१७९)

"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक ।
पृथ्वीमा छ कि स्वर्गमा छ भनिद्यौ केही नमानी धक ॥
इन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन ।
'तिम्रो दास' म भन्न पाउँछु कतै हे विश्व जित्ने धन ॥
(१८०)

सातै सागर वा डुबेर गहिरा ल्याऊँ र रत्नादिक ?
ल्याऊँ एक विमान वा गगनमा गर्ने विहारै भए ?
पाऊँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक ।
खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥"
(१८१)

बन्दी चारु गुलाफ झैं वदनमा या खुर्र भागूँ बसुँ ।
लालीलाइ लुकाउने मन गरी लालित्यले फर्किदी ॥
टिप्छिन्‌ फूल र च्यात्तछिन्‌ कुटुकुटू मानो 'त्यसोरी दिल ।
मेरो लिन्छ वियोग दुष्ट करले' भन्ने बुझाएसरि ॥
(१८२)

जति प्रश्न गर्‍यो उति कष्ट हुने ।
मन बोल्न भए पनि झन्‌ नहुने ॥
दगुरूँ दगुरूँ र बसूँ दुइटा ।
मृदु भाव मिलीकन ती रहँदी ॥

नबसूँ नबसूँसरि लाज हुँदा ।
तर 'भेट हुनेछ नि फेरि कता ?'
यति भाव लिई रहँदी मृदुता ।
जल-छालसरी अलमल्ल बनिन्‌ ॥
(१८३)

भागिन्‌ आखिर ती पुलुक्क मुखमा हेरी मुसुक्कै गरी ।
लज्जातुल्य सजीव ती कुसुमको लाली कहाँ अल्पिइन्‌ ॥
देवीतुल्य वसन्तकी मदनकी कोपी कुँदेकी तिनी ।
स्वप्नातुल्य कहाँ गइन्‌ विपिनमा भूस्वर्गकी चन्द्रिका ॥
(१८४)

षोडश सर्ग
शकुन्तला विवाह
(प्रहर्षिणी)

लज्जाका सित पहिले बनी अबोला ।
लाम्चा ती दृग छविला शिखारु काला ॥
बोल्नाको सरस सिकेर ढङ्ग थोर ।
हाँस्दा छन्‌ अलि अलि मन्द मुस्किएर ॥
(१)

जो भाषा छ अधरबीच बन्द बन्दी ।
आच्छन्ना सुमदिल भित्र झैं सुगन्धी ॥
बोलूँ झैं अधर सुचारुबाट बन्दी ।
चालैले मुखरित हेर ! चारुछन्दी ॥
(२)

ढीलो जो सुमकलिको छ बन्द चाल ।
खुम्चे झैं पवन चली सुमन्द ताल ॥
त्यो नौली छ किरणको फुलेर खुल्दी ।
बास्नाले मधुर छिटी छ चारु झुल्दी ॥
(३)

जो बाला सुमकलि झैं लिएर दाना ।
आँखामा सरस निशीथ बन्द पाना ॥
छातीका तह तहमा भएर नाना ।
रुन्थी त्यो मुदितमुखी छ मूक गाना ॥
(४)

लाली जो शरम छिटो थियो अगाडि ।
ऊषा झैं मृदु मुखबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
बानीले विजय हने स्वभावतुल्य ॥
(५)

जो रेखा किसलयका प्रवाल बन्द ।
मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परेको ।
छोप्ने ती अधर खुलेर मन्द चल्छन्‌ ॥
(६)

आँखाको चमक बनेर शब्द झर्थे ।
ती टिप्दा दृग ,नृपका गमक्क पर्थे ॥
ती भाषा गति-चपला सिँगारदार ।
झल्काले विवरणसाथ अर्थ लिन्छन्‌ ॥
(७)

बोल्नैको रहर छिटो छ भित्र भित्र ।
बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
लाई के प्रकृति अरू दिऊन्‌ र हाय !
(८)

दोटै छन्‌ लवज छ कोयलीसमान ।
आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
गर्दी ती मुखरित छन्‌ मिठासद्वारा ॥
(९)

थोरै नै समयपछाडि ती उज्याली ।
जो बोल्थिन्‌ मनको मिठास चारु हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
(१०)

फूलै झैं मधुर ऋतुकी मिठासवाली ।
प्याला झैं मधुमय बैंसकी उज्याली ॥
चाञ्चल्य प्रकृतपना सुचारु पारी ।
डाक्ने झैं मधुप भइन्‌ सिँगार पारी ॥
(११)

जान्थिन्‌ ती कहिले नदीतटतिरै ऐना जमेको जल-
मा हेरूँ मुखको मनोहर छटा लालित्य आफ्नो भनी ॥
सिक्थिन्‌ ती कन ठाउँमा छ जिउको शोभा तथा मोहनी ।
कस्तोले मन खैंचने नृपतिको भन्ने परीक्षा गरी ॥
(१२)

गरूँ वश पराइको मदन-मोहिनी भैकन ।
सिँगारहरुले खुली नजरनिम्ति टूना बनी ॥
अनेक मृदु चालका सरस झल्किँदा लज्जत ।
जपीकन हिंडाइमा जन-चकोर पारूँ भनी ॥
(१३)

जो सङ्कोच मुनासमान पहिले खुम्ची सधैं घुम्रियो ।
त्यो न्यानोपनले फुकेसरि भयो पाई उज्यालो अब ॥
आखाका भमरा दुवै वदनको गर्ने प्रशंसा भए ।
भित्री लज्जत क्यै खुला हुन गई झुल्थिन्‌ हवामा मृदु ॥
(१४)

तारासमान नभमा दुइ चार बीच ।
त्यो श्यामली वनविषे छविकी जुहार ॥
पर्दा लिई मधुर मिर्मिरकी लुकेको ।
हाँसी खुली अब त चम्चम भै उदाइन् ॥
(१५)

नङ्गा हरा मृदुल रेशमका वसन्ती ।
भावादिका हृदयका किरणेच्छु बन्दा ॥
ती सुस्त सुस्त हलुकासँग दी प्रहार !
खोज्छन्‌ महीपति महीरुह झैं, लता झैं ॥
(१६)

लज्जा लिई विधुमुखी घनबीच रानी ।
ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
चाँदी किनार पनि छन्‌ अलि छोपिएकी ।
लज्जासमेत मनमोहन झैं बनाई ॥
(१७)

बल्दा दिवाकरसमान प्रतापगाला ।
मध्याह्नबीच यसको अब चारु चाला ॥
पाई बनी चपल झैं मलयप्रवाह ।
धेरै मिठास गतिबीच फुलाइदिन्छिन्‌ ॥
(१८)

सानी बनी लहर झैं मृदु मालिनीकी ।
नाच्थिन्‌ तिनी छविमयी सुखसाथ चोखी ॥
झल्की घुमेर वनमा रविरश्मितुल्य ।
ती भूपको वदनको छविमा अमूल्य ॥
(१९)

नालासमान दुइ मिल्न लिएर इच्छा ।
मिल्थे हरा विपिनमा विधुका अगाडि ॥
पीयूषका किरणले जल जिन्दगीको ।
मीठो गराउन बराबर फूलनेर ॥
(२०)

बोल्थे कोकिलले वसन्त सपना जो फूल भै फुल्दछन्‌ ।
बैंसे मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन्‌ ॥
साना मञ्जु सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
गर्थ्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
(२१)

गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्थ्यो कथा ।
झर्थ्यो झर्झर फुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
मानो सौमन भाव झैं विपिनका ती मूर्ति छन्‌ मानव ।
मानो ती दुइको अभाषित कुरा बास्ना बनी चल्दथ्यो ॥
(२२)

बिहाघर बन्यो वनै तरुलता बने यज्ञ झैं ।
बने कलश फूल नै हरित शैल वेदीहरू ॥
बने रँग शिखासरि प्रकृति बीचका अग्नि झैं ।
ध्वजा बहुल झुम्किए पवनबीच भै फर्फर ॥
(२३)

पुरोहित वसन्तले लिखित रङ्ग-रेखाहरू-
सितै मधुर वाद्यका विहगकण्ठ बोल्थे जहाँ ॥
वितान पनि व्योमको मुदित भो अबीरे बनी ।
मुना शिशु मुसुक्क छन्‌ मृदुल रङ्ग नाना त्यहाँ ॥
(२४)

नवीन रँग वस्त्रका युवतिका थिए रेशमी ।
सुगन्ध अब प्रेमले महलमा बनेली छिट्यो ॥
चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन ।
मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥
रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू ।
बन्यो मदन नै यहाँ अब प्रबन्धकर्ता छिटो ॥
(२५)

केही रोज बितेर भो अनि कुरा गान्धर्व गर्ने बिहा ।
मञ्जूरी सबको भयो र त्यसको छोटो तयारी भयो ॥
त्यो राम्रो लहरा प्रसून जगमा त्यो भृङ्ग औ पुष्पको ।
जस्तो वन्य विवाह आफुखुशको भो चित्तको मेलन ॥
(२६)

त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो ।
भरी रङ्गीचङ्गी तरुवर त्यहाँ चीरहरुझैं ॥
परी हाँसे हाम्रो मधुमय वसन्ती वसनमा ।
घसेका छन्‌ फा ती मृदु वदनका रङ्ग-रँगमा ॥
(२७)

घडा पोली राम्रा सुरपुर-परीले तलतिर ।
अटालीमा बस्दा किरणपथले रङ्गहरु दी ॥
कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए ।
सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥
(२८)

उषाका झ्यालैमा दिनकर गई स्वर्ण करले ।
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
गवैया पङ्खीका हृदय पनि पारी छिरबिर ॥
(२९)

सुनौला भै जाई किसलयकलेजी परि मुना ।
हरीया भै नाच्छन्‌ धवल रँग चम्पा हुन गई ॥
जपा रातो, राम्री जुइ कमल सेतो कनकको ।
बने चम्पा राम्रा गगनरस इन्दीवर बन्यो ॥
(३०)

छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
चली जिस्की बस्ने युवति कुसुमी हेर नखरै ॥
यसो छल्दै बङ्गी मृदुमय तरङ्गी रँगरँग ।
बने चाला बैंसे सहृदय हिली चारु विनता ॥
(३१)

कुनै भो भो नाई अब रँग पुग्यो भन्न सरस ।
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन्‌ मृदु रस ॥
गठीला छातीमा मदन-रँगले छुन्छ छविला ।
चरा बाजा डोल्छन्‌ लहर रँगमा नाच्दछ खुला ॥
(३२)

छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
कुनै घुम्टो लिन्छन्‌ अलि अलि खुला छन्‌ अन कुनै ॥
कुनै लुक्छन्‌ झाडीतिर मुख दिई केसर रँग ।
प्रसन्ना भै लिन्छन्‌ प्रियतम खुशाऊँसरिसँग ॥
(३३)

यस्तो ढङ्ग भयो बिहा विपिनका राजा बने सूर्य झैं ।
मानो लाज बनेर बादल उषा जस्ती बनिन्‌ ती बधू ॥
छोटो रङ्ग गुलाबकी सरसरी आएर वैलीकन ।
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
(३४)

छीटो छाती उप्सिई ओर्लिएर ।
चाला जस्तो कोकिलाको लिएर ॥
पारावारै बैंसको उर्लिएर ।
छुन्थ्यो जान्थ्यो तुल्य त्यो छाल हेर !
(३५)

रङ्गी-चङ्गी फूलका भाव मीठा ।
चल्थे वल्की ती शिरामा नवीन ॥
झल्की-झल्की छाल झैं मालिनीका ।
स्वप्ना जान्थे हृद्जगत्‌मा झझल्की ॥
(३६)

सौन्दर्यैकी कोमला दिव्य रानी-
लाई मानो रश्मिले स्वर्गबाट ॥
रानी हाम्रो विश्वकी हो भनेर ।
मानो जान्थे पाउ राम्रा चुमेर ॥
(३७)

कोही कोही फूल छर्थे विवाह ।
रोई रोई हर्ष हीरा उज्यालो ॥
बत्ती बाल्थे फूलले दिव्य रङ्गी ।
धूपै जल्थे मग्मगाएर श्वास ॥
(३८)

पारावारै पार आई समीर ।
सन्देशार्थी केश छोएर जान्थ्यो ॥
राती हाम्रो दूरका द्वीपबाट ।
आयो खोली स्वागतार्थी कपाट ॥
(३९)

फुल्दा हाँगा भन्दछन्‌ चारु चारु ।
हाम्रा लावा बर्बराएर झारूँ ॥
उड्दा पन्छी भन्दछन्‌ स्वर्गसम्म ।
रङ्गी-चङ्गी हर्ष फर्फर्‌ फिँजारूँ ॥
(४०)

नाचूँ नाचूँ भन्दछन्‌ छाल छम्‌छम्‌ ।
झल्का झिल्का झल्झलाएर झल्झल्‌ ॥
धप्कूँ धप्कूँ भन्दछन्‌ शैलशृङ्ग ।
भन्छन्‌ खोला गाउँदै जाउँ कल्कल्‌ ॥
(४१)

ढुङ्ग्री लाई स्वर्गका जाइ हाँसी ।
लाली झुम्का लाउने चट्ट कल्की ॥
बेली बन्छे प्रेमको युग्म छाती ।
नाला राम्रा फुल्न लागे गिलाँस ॥
(४२)

जूँघा लाग्यो पुष्पले हेर जूँघे ।
ठट्टा गर्दै आजको यो बिहामा ॥
बोल्थे सारा जिन्दगी जिन्दगी नै ।
स्वप्ना पस्थी जिन्दगीको सँघार ॥
(४३)

फुल्दो बन्दो जिन्दगी आज खुल्दो ।
हावा बास्ना चित्तको भन्छ चोरूँ ॥
आधी छिप्ने आधि खुल्ने प्रभाव ।
लज्जा भारी बैंसको हो स्वभाव ॥
(४४)

गाला राम्रा फूलका हेर आज ।
लाली लाली छन्‌ कहीले सुनौला ॥
बोले गाभा मञ्जरी चारु नाचे ।
नीला राता शब्दले अङ्ग भाँचे ॥
(४५)

भित्री आशा बीच काँढा छिचोली ।
फुल्थी फुल्थी आज पाई प्रकाश ॥
इन्द्रेणीका रङ्ग वर्लेर छिर्बिर्‌ ।
बन्दा जस्तो हर्ष भो आज तिर्मिर्‌ ॥
(४६)

मुन्द्रा मुन्द्रा चित्तका चारु हाली ।
बल्ली हल्ली रूखको फेद तल्ली ॥
छन्थी उठ्दै प्रेमका आज हाँगा ।
मीठा मीठा फूलका दीप बाली ॥
(४७)

रङ्गीचङ्गी जिन्दगी आज सारा ।
कैले यौटै सूर्यमा हुन्छ धप्धप्‌ ॥
रङ्गीचङ्गी फुट्छ काहीं बनेर ।
झुप्पा टुप्पा झल्झलाएर झप्झप्‌ ॥
(४८)

आत्मा भन्थ्यो 'आज हे दिव्य दूना ।'
टूना भन्थी 'दिव्य हे पूर्ण ज्योति ॥'
आँखा भित्रीबाट जो बर्र मोती ।
झर्थे सज्थे फूलका चारु लोती ॥
(४९)

मेनका स्फटिकतुल्य मनोज्ञ ।
शैलशृङ्गहरुबाट उज्याला ॥
ध्यानका नजरले तल हेर्थिन्‌ ।
सुन्दरी शवलशैल रसामा ॥
(५०)

तारकासरि तिनी अति ऊँचा ।
स्वर्गशैल-चुचुराकन टेकी ॥
छन्‌ अदृश्य तर सूर्यप्रभाको ।
तेजिलो यवनिका रहनाले ॥
(५१)

देख्दछिन्‌ स्फटिकमण्डल चारु ।
वायुकी सब धराकन घेर्दो ॥
पारदर्शक हुँदा अलि सोही |
देखिने मधुर मोहन पृथ्वी ॥
(५२)

ध्यानले जब सुकेन्द्रित आँखा ।
कण्वको घरनजीक पुगेथे ॥
देखियो वन सुचारु झलक्क |
पुष्पदार महिमा हरियोमा ॥
(५३)

देख्दछिन्‌ तब तिनी दुहिता ती ।
काँधसम्म नृपको छ उचाइ ॥
चारु वस्त्र रवि भूषण लाई ।
पुष्पको सरस बैंससमान ॥
(५४)

चट्ट चारु ढँगले लहरा झैं ।
ढल्किईकन लिँदी वर आड ॥
हर्षकी रँग फुँलेसरि चारु ।
पत्रदार हरियो वनभित्र ॥
(५५)

दृश्य त्यो तर झलक्क भएर ।
अल्पियो तनु निमेष हुँदैन ॥
"पत्रदार गिरिमा जल जस्तो ।
एक शुभ्र कुइरो हुन आयो ॥
(५६)

के अलच्छिन भयो कइरो यो ।
के भविष्य तिनको बदलिन्छ ॥"
यो विचारसित चिन्तित चार ।
अप्सरा महलतर्फ सिधारिन्‌ ॥
(५७)

सप्तदश सर्ग
(मन्दाक्रान्ता)

धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन्‌ ।
सारा हाम्रा ऋतुहरुविषे अल्प लाग्ने वसन्त ॥
लाली राम्रो गगनपटमा बस्छ है थोर काल ।
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
(१)

साना झल्का बहल रसिलो पाउँदा छन्‌ निमेष ।
निभ्छन्‌ ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥
राम्रा मीठा मुख कुसुमका फुल्दछन्‌ थोर काल ।
प्रेमीलाई पर गिरिदिने छन्‌ यहाँ क्रूर जाल ॥
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य ।
दुःखी थोपासित जलद झैं पार्न कालो दिगन्त ॥
(२)

हेर्नेपर्ने भुवन-पतिले सत्यका ती विरोध । ।
गर्नेपर्ने समर रिपुका दुष्टतानिम्ति शोध ॥
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ !
डुब्ने आपद्‌ निकट छ" भनी दूतले भन्छ आई ॥
(३)

देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
भन्छन्‌ "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥
छुट्टिन्नौं है तर अब यहाँ एक आपद्‌ मलाई ।
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
(४)

टल्‌पल्‌ आँखा वदन नृपको हेर्दछन्‌ भै पुकारा ।
'छोडी जाने हृदय नहवोस्‌' भन्दछन्‌ 'आज प्यारा' ॥
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए ।
रोकी बोली क्षणभर रूँदो चित्तलाई अडाए ॥
(५)

भन्छन्‌ "हामी दुइ पर नभै साथमा नै रहूँला ।
तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहूँला ॥
हामी हौंला रवि विधु दुवै दूर यो अङ्कमाल ।
गर्दे प्यारो निशिभर भरी प्रेमको ज्योति-जाल ॥
(६)

कर्मै ठूलो समरधलमा हाजिरी माग्छ विश्व ।
तिम्रो टूना विजयहरुको बन्छ भित्री रहस्य ॥
लाग्छन्‌ वैरी अनृतदल झैं दुःख दी सत्यलाई ।
लड्नैपर्ने सकलसँगमा धर्मको दी रजाइँ ॥
(७)

चाँडै होला विजय रिपुको, छौ तिमी नै सहारा ।
तिम्रो टूना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥
सड्छन्‌ आत्मा समर नभजे सत्य राख्ने उपाय ।
तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥
(८)

छोडी जानै अब कर पर्‍यो युद्धको भूमि ताकी ।
चाँडै फिर्नेछु बुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥
लामो आँखा भरभर लिई वेदनादार बिन्दु ।
झन्‌ झन्‌ भर्छ्यौ हृदयभर यो शूल, सौन्दर्य सिन्धु ॥
(९)

मर्ने आत्मा न छ, अमर पो छैन हाम्रो वियोग ।
सत्‌ विश्वासीकन समर छन्‌ प्रेमका नै परीक्षा ॥
मिथ्यालाई विजय गरिने युद्धमा मृत्यु आए ।
प्रेमी नाता अमर लहराबीच झन्‌ फुल्न पाए ॥
(१०)

जो विश्वासी हृदय गहिरो त्रास त्यल्लाइ छैन ।
शङ्का गर्ने हृदय धृतिले दुःखमा लिन्न आश ॥
विश्वासी भै डर पर गरी सम्झना होस्‌ सजीव ।
तिम्रै छाती प्रचलित हुने ढुक्ढुकीमा म आई ॥
मीठो तालीसँग त रहुँला नित्य आत्मा समाई ।
(११)

बिर्से मेरा हृदय नरहोस्‌ खाक होस्‌ विश्व सारा ।
मेरो आत्मा नरकगत होस्‌ बिर्सिए यो मुहार ॥
साना पर्दा समयकन छन्‌ जिन्दगीका वियोग ।
खारी आत्मा विमल गरिने हो परीक्षा वियोग ॥"
(१२)

भन्दै प्यारी विपिनदुहितालाइ सम्झाउँदा ती ।
आँखा ठूला टलपल भई दुःखदाना झरेकी ॥
आफै रुन्छन्‌ मन मन त्यहाँ रोक्दछन्‌ किन्तु आँसु ।
"चाँडै फर्की लिन विपिनमा आउँला" है भनेर ॥
(१३)

सीधी आत्मा विरहहरुमा आशले रोज गन्थिन्‌ ।
औंठीको ती प्रतिदिन हने वर्णको रीस गर्दी ॥
सारा संसार तिमिर भरी दुःखको राज्य देख्थिन्‌ ।
आशा राख्थी हृदय जलले नत्र ता खाक बन्थिन्‌ ॥
(१४)

उड्दै आए निठुर नभमा क्रूर ती दीर्घ रोज ।
जल्दा ज्वालासदृश रविका ग्रीष्मको स्पर्श पाई ॥
यौटा दोटा अनि जब गयो रोज तेस्रो उडेर ।
रोइन् आँखा जल जल गरी वाक्य मिथ्या बुझेर ॥
(१५)

लामा लामा अझ हुन गए दुःख जस्ता निमेष ।
शङ्का बढ्थ्यो मनमन डरै जित्दथ्यो नित्य वेश ॥
दुब्ली दुःखी सँगिनिसँग नै सुस्तरी सुस्किएर ।
आँखा ठूला सजल रहँदी बस्दथिन्‌ घोरिएर ॥
(१६)

कोही भन्थे तब रणकथा हास्यका ढङ्गसाथ ।
सुन्थिन्‌ आधा तर विरहले झन्‌ तरङ्गी छ माथ ॥
कस्तो होला समर कसरी युद्ध गर्छन्‌ भनेर ।
सोच्थिन्‌ लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥
(१७)

बस्थिन्‌ सोची प्रथम सुखको दृश्यलाई जगाई ।
शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥
स्वर्गै जस्तो वरिपरि थियो दिव्य आनन्दभित्र ।
पन्छी बोल्ने सुखमय लता झुल्दथे क्या विचित्र ॥
(१८)

ज्यादा बढ्दा विरह मरु झैं शून्य संसार बन्दा ।
आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥
बिर्सू भन्थ्यो प्रकृतपनले दुःखको बाह्य दृश्य ।
आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्‌मा ॥
(१९)

जो पाइन्नन् निकट सुखका चीज सोन्दर्यवाला ।
फोस्रो बन्दा मरुसरि जगत्‌ झल्किँदा तापज्वाला ॥
सो सो पाऊन्‌ हृदयतिर नै यो दयाको विधान ।
जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥
(२०)

बन्दै आयो मन मन जगत्‌ सौख्यको रङ्गशाला ।
रानी देखिन्‌ महल रसिलोमा रहेकी उज्याली ॥
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे !
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥
(२१)

'आजै फिर्छन्‌ विजय सुखमा भूप' भन्थे मुसुक्क ।
हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥
ऐना हैरिन्‌ विजय महिमा चित्तमा झल्ल झल्क्यो ।
आँखा चम्के मुख अलि पुछिन्‌ लाल केही बनाई ॥
(२२)

त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला ।
भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
हाँसी आए अरु सब उठे, ती उठिन्‌ आँसुधार ॥
(२३)

'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे ।
स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन्‌ ॥
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
भिन्नै छिप्दा बहुत दिनका भाव झल्के विचित्र ॥
(२४)

"मेरो कस्तो विरह रहको मत्स्यको झैं दशा भो ।
भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन्‌ ॥
दुर्वासाले यस दिन कटी कण्वको सम्झिएर ।
देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
(२५)

धेरै पर्खे तर युवतिले देखिनन्‌, स्वप्नमग्ना ।
'कस्ती अन्धी' मन मन भने शब्द यौटा उठाए ॥
"सुन्छन्‌ कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
'हाम्रा कस्ता ऋषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झैं
के गर्छन्‌ यी ? ऋषिहरु कहाँ जन्म दिन्छन्‌ यिनैले ?
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन्‌ खियौटे ।
(२६)

कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
सुक्छन् तेरा रस, तनु सुकी बन्छ मूढो चिताको ॥
कर्म्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
कामी अन्धी त्रिभुवनविषे अन्धकारै छ छर्दी ॥
(२७)

कामै कालो कलुष मनको जातिको नाश गर्ने ।
कालो धुवाँ समरहरुको, शान्तिको भङ्ग गर्ने ॥
यै बाधा हो सकल ऋषिको, विश्वको प्राण हर्ने ।
कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥
(२८)

माया जस्ती तरुण मुखकी हेर ! सेती मकुण्डी ।
आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ ।
विश्वै डग्ला द्विजकुल सबै बिग्रिई जान्छ नर्क ॥
(२९)

"को छन्‌ ए यो घरतिर, कनै कान छैनन्‌ यहाँ के ?"
भन्दा ऊँचा स्वरसित, तिनी क्रोधले दन्दनाए ॥
बेपर्वाही युवति नसुनी नासिकातर्फ झुक्थिन्‌ ।
बायाँ फर्की कर शिर झुकिन्‌ भालले छुन्छ औंला ॥
(३०)

दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ ।
कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥
काली माया धवलमुखकी ! जाड्यकी अन्धकार !
देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥
(३१)

यस्तै मूढा यस विपिनमा पर्दछन्‌ जाड्य-मूर्छा ?
बोल्दा कोही द्विज ऋषि यहाँ छैन केही जवाफ ?
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन ।
फर्कन्छन्‌ के ऋषि, द्विज तथा साधु यस्तै गरेर ?
(३२)

यो बेहोशी क्षणभर लिए मारका मार खाई ।
नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥
देखिन्छे यो मदन सपने शिष्ट आचार त्यागी ।
ध्वाँसो बन्छे कलुषहरुकी कल्पना बन्छ दागी ॥
(३३)

मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई ।
सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई ।
बिर्सोस्‌ यस्तै प्रियतम पनि प्राण दुःखी गराई ॥"
(३४)

रन्की आँखा नयन दुइका बीच भौनेर रन्न ।
फन्की जाँदा ऋषिकन सुने झट्ट साथीहरूले ॥
ढुङ्गा बन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
आए आँखा टलपल गरी ती पुकारी दगुर्दै ॥
(३५)

जोडी भन्छन्‌ कर विनतिले "मूर्तिमान्‌ हे तपस्या !
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन्‌ ॥
बेचाराले झकभर न ली रातमा नीद ठण्डा ।
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
(३६)

ती छन्‌ पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
हुन्छन्‌ ठूला ऋषि हृदयका कोमल ज्ञानसिन्धु ।
राखी माया झुकिदिनुहओस्‌ शापको तीक्ष्ण शूल ॥
मर्नेछन्‌ ती नत नयन झैं भै जगत्‌ अन्धकार ।
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
(३७)

लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
पर्छौ पस्री चरण दुइमा हे कृपाका पयोधि !
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
फिर्ता बक्स्योस्‌ स्मृति वचनले बक्सियोस्‌ प्राणदान ॥"
(३८)

भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
भन्ने ठानी नजर दुइले रीसले चट्ट हेर्दा ॥
आधा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
दुर्वासा ती अलि पर अडे प्राणबाधा सुनेर ॥
(३९)

सोची भन्छन्‌ "अब पनि यसै गर्दछ्यौ के मुकुण्डो ?
कर्म्मै धर्म्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
कानै छैनन्‌ जुन घर पुकाराहरूमा तपस्वी ।
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि
(४०)

भैगो जो भो तर अब यहाँ फेरि यस्तो नगर्नू ।
यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस्‌ ॥
जाओ ! ग्वाङ्ग्रीहरु, अब गरे होशले कामकाज ।"
भन्दै हाँसी परतिर चले क्रोधका उग्रमूर्ति ॥
(४१)

सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त ।
व्यर्थै मानी विरह सखिको खालि बढ्ने हुनाले ॥
ब्यूँझेकी ती सरस सपनाबाट केही हँसाई ।
ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥
(४२)

यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय ।
फर्की आए धवल वयका श्मश्रुका मूर्ति कण्व ॥
छोरी-प्यासी कशल रहने तीर्थयात्रा घुमेर ।
आशीर्वादी वचनसँगमा ल्याउँछन्‌ जो प्रसाद ॥
(४३)

सोध्छन्‌ वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी ।
झुक्छिन्‌ मानो त्रिभुवनभरी दोष मेरै छ ठूलो ॥
कस्ती सीधी जनकमुखमा हेर्न खोज्दी सभीत ।
देख्छिन्‌ बाबा अघिसरि सफा बन्दछिन्‌ साहसी ती ॥
(४४)

सारा बन्दा तर पछि खुला गौतमीबाट बात ।
डाकी भन्छन्‌ विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥
"राम्रै वार्ता सुखसँग सुनैं" ती झुकिन्‌ लाज मानी ।
"त्यस्तै खोज्थें म पनि" यतिमा हर्षले चाख मानी ॥
(४५)

बित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर ।
हृद्‌व्योमी झैं जलकण सफा तारका झल्किएर ॥
यस्तै गर्दा पछिपछि भयो याद यौटा कुराको ।
बढ्दै आयो अरुचि उनको अन्नमा रोज रोज ॥
(४६)

हाँसी भन्छन्‌ सखिहरु "सखे ! गर्न आए शिकार ।
सारा हाम्रा हृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन्‌ कोही निकट रहने कन्दरामा अँध्यारो ।
राजा छैनन्‌ निकट त भने, भित्र छन्‌ गुप्त क्यार ?"
(४७)

हाँसी लज्जा सरस गतिले झट्ट ती फर्किजाँदी !
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुक्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।
राम्री सारै मृदुल महिमा काव्य राखून्‌ उचाली ॥
(४८)

अष्टादश सर्ग
(वसन्ततिलका)

आयो त्यहाँ खबर पङ्ख लिएर छीटो ।
एकान्त शान्त वनमा शरदीय मीठो ॥
"दृष्यन्तले समरमा विजयी बनेर ।
झण्डा लिए अमर कीर्ति हुने गरेर ॥
(१)

खोला असङ्ख्य रिपुको रणमा बहाई |
लाली भरे जलदमा सब कीर्ति छाई ॥
मानो नवोदित प्रभाकर झैं सुवर्ण ।
बन्दै फिरे गगनमा कवि पङ्ख लाई ॥"
(२)

सन्देश एक नृपबाट नपाउँदामा ।
आशा निराश हुन गै दिन धाउँदामा ॥
चिन्ता परेर ऋषिका मनमा अधीर ।
ठाने नृपेशकन क्यै दिलका कठोर ॥
(३)

भन्छन्‌ "अचम्म हुन गो अझसम्म केही ।
सन्देश छैन नृपबाट शकुन्तलामा ॥
हुन्छन्‌ सुकोमल सफा दिल शीघ्र स्नेही ।
धोकासमान म त बुझ्छु विलम्ब लामा ॥
(४)

ज्यादा बसेर पर– माइतिमा रहेर ।
बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लाग्ने अरूतरफ यो छ जगत्‌प्रणाली ॥
(५)

भुल्छन्‌ सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन्‌ सदा भ्रमररूप र रङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन्‌ ।
शृङ्गारदार रसका उपभोग राम्रा ॥
(६)

कन्या विवाह नहुँदातक माइतीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥
(७)

चाँडै तयार गर यी घरतर्फ जाऊन्‌ ।
बिर्सेर बस्न नृपले घरमा नपाऊन्‌ ॥
रानी बनून्‌ महलकी पतिसाथ पाऊन्‌ ।
चिन्ता समस्त मनका सहजै हटाऊन्‌ ॥"
(८)

यस्तो सुनी वचन ती ऋषिका तयारी ।
गर्दीभइन्‌ घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी बुहारी ॥
(९)

"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी बनाउँछ सधैं हलुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥
(१०)

ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू ।
आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥
छुट्टा रहेर झगडाहरुबाट बच्नू ।
बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥
(११)

झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
बाङ्गोपनासँग विकारहरू बढाई ।
झूटो नबन्नु, गर आदर आफुलाई ॥
(१२)

छोडेर मान नझुके न त गर्व राखे ।
सोझो र प्राकृत बने बनिँदैन पाखे ॥
राम्रा मिजासहरुले सब चित्त राखी ।
बन्नू विनम्र, न त रीस कदापि राखे ॥
(१३)

सौन्दर्यको छ अधिकांश विनीतता नै ।
शृङ्गार यो युवतिको छ अमूल्य जान ॥
बोली सिँगारसरि मध्यम जान नानी !
बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
(१४)

श्रीपेच हुन्छ दिलमा गुणशीलताको ।
फूल्‌ भन्नुपर्छ र कहाँ गुण है लताको ?
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
बेहोशका क्षण नहून्‌, सब हून्‌ सचेत ॥
(१५)

आफ्ना सबै कदम, चाल र हाव-भाव ।
तालीम गर्नु अनि बन्छ सफा स्वभाव ॥
जस्तो अनेक विधिले अलि सूक्ष्म ढङ्ग ।
पाइन्छ देवहरुको सब रूप रङ्ग ॥
(१६)

फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥
राम्रो दिएर यसको गर छाँट-काँट ।
फुल्नेछ यो सकल मग्मग दिव्य ठाँट ॥
(१७)

जो लोभ मोह मद छन्‌ तिनबाट वक्र ।
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल ।
जानेर चीजहरुको सब मोल तोल ॥
गर्नू सिँगार तर ठीक रिझाउनाको ।
ज्यादा नगर्नु नखरा नबनोस्‌ तमाशा ॥
(१८)

जो पाइँदैन सहजै, जसको प्रभाव ।
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥
सत्‌को प्रवृत्ति लिनु या सुखको बहाव ।
पाइन्छ, सुन्दर सबै बुझ सत्य भाव ॥
(१९)

भित्री कुराहरु रहे सब ठीक ठीक ।
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥
तारासमान मनमा सब भाव पारी ।
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥
(२०)

जो धूर्तता छ उसमा पनि सार छैन ।
सत्‌ नै कला छ प्रभुको त्यसमा छ छैन ॥
जो नीती हो उकन सत्य दिए अडान ।
सप्रिन्छ बन्छ सब जीवन नित्य जान ॥
(२१)

यौटै छ ईश्वर उ भो पतिदेव खास ।
शृङ्गारतुल्य दुनियाँ दुइको प्रकाश ॥
यौटा धिराज दिलको छ अनन्त आश ।
बन्नू प्रसन्न दिल अर्पिनको सुवास ॥
(२२)

आफैं दिए पति भनीकन मिल्छ आफू ।
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
केही नगर्नु पतिका सँगमा विरोध ।
सल्लाहसम्म दिनु, विकृति मात्र शोध ॥
(२३)

आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मा तथैव पति हुन्‌ गृहिणीहरूका ॥
बेलीसमान दृइ छन्‌ रस एक पाई ।
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
(२४)

जो बृद्धि झैं विकृतिभित्र रहेर बोल्छे ।
'यो ठीक यो उचित यो छ खराब' भन्दै ॥
क्रोधाग्निमा जल दिने, पर सार्न मोह !
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
(२५)

नारी गृहस्थिहरुकी मुटुतुल्य जान ।
हुन्छन्‌ अडेर रहने उसबीच प्राण ॥
त्यो दूषिता हुन गए सन गड्बडिन्छ ।
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हुन्छ ॥
(२६)

आचारभित्र रहनू रति फेरि मासा ।
सद्भावभित्र व्यवहार लिएर खासा ॥
धर्मैबिना घर चिता शव हुन्‌ निवासी ।
कर्मैबिना मरुसमान छ शून्य गेह ॥
(२७)

जो सभ्यता छ जगमा सब गेहबाट ।
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
आचारबाट लहराहरु बासदार ।
फुल्छन्‌ प्रसूनजगमा सब सभ्य सार ॥
(२८)

यो रत्नको जलधि हो गृहनाम ठूलो ।
ती रत्न हुन्‌ गुणहरू गहिराइभित्र ॥
झल्किन्छ पानि तिनको जब देश काल ।
माग्छन्‌ खुला किरणमा, रणमा त्रिकाल ॥
(२९)

दृष्टान्त बन्नु सबका अघि चालद्वारा ।
बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥
बत्ती बनेर घरकी सब अन्धकार ।
छोडी, दिनू किरण उज्ज्वल हुन्‌ मुहार ॥
(३०)

स्वादिष्ट पार्नु दिलले सबनिम्ति खाना ।
प्रेमै सुधासरि छ, शीलहरू खजाना ॥
मीठो गरी वचन प्रेम मिसी दिएको ।
स्वादिष्ट बन्छ रस दिव्य विचित्रले त्यो ॥
(३१)

खामोस खानु नरिसाउनु झट्ट नानी !
तौली मिजासकन ठीक गरी बयानी ॥
राखेर होश गतिमा रसिलो सचेत ।
आत्मा खुशाउनु अरूहरुको समेत ॥
(३२)

रानी समान घरकी बुझ सत्य नारी ।
हो शील ताज अनि ऐन छ धर्म भारी ॥
हो राजनीति उसको घरको मिलाप ।
छन्‌ शत्रु द्वेष, झगडा, मद, मोह, ताप ॥
(३३)

त्यो राज्यमा छ गणको गहिरो खजाना ।
अध्यक्ष आत्मबल जो दलको छ स्वामी ॥
सेनाहरू प्रकृति छन्‌ अनि शस्त्र सत्य ।
सीमा बढाइरहने छ सहानूभूति ॥
(३४)

प्रैमै छ आसन सुवर्णसमान खासा ।
साहित्य दैनिक मिठास बढालु भाषा ॥
छन्‌ देवदूत शिशु नै, सपना जहाज ।
आनन्द उन्नति क्रिया सब कामकाज ॥"
(३५)

यस्ता कुरा मधुरले उपदेश गर्दै ।
झुक्दी मुहारकन सुन्दर गौतमी ती ॥
गर्छिन्‌ तयार घरतर्फ पठाउनाको ।
जोरी समस्त सरजाम अनेक भाँती ॥
(३६)

बिर्से कि आजतक भूपतिले मलाई ?
या सम्भिएर तर फुर्सद नै नपाई ॥
सन्देश एक पनि छैन न ह्वैन मेरी ।
भन्छन्‌ कि ? के हुन गयो र भुले कसोरी ॥
(३७)

भन्दै विचारसित लोचन नासिकाका ।
टुप्पा दिँदी, अधरमाथि कनिष्ठिका दी ॥
राखी कपोल कर-पृष्ठ कुना अड्याई ।
रम्भोरु छन्‌ मधुर चित्रण कल्पनाकी ॥
(३८)

आए सँगी हँसमुखी मृदुचाल लच्की ।
गर्दै प्रसन्न नखरा र कुरा रसीला ॥
गाला मुसार्न दुइ हात दिँदी कनै ती ।
"रानी अहा जगतकी" भनी चट्ट चम्के ॥
(३९)

यौटी पछाडितिरबाट सुटुक्क आई ।
मारेर चाल मुखलाइ यसो लुकाई ॥
छोपेर लोचन दुवै मुख खिल्खिलाई ।
सोध्छिन्‌ अरू वदनबाट "चिन्यौ मलाई ?"
(४०)

जोडी दिएर कर सुन्दर पाखुरामा ।
अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥
फर्काइँदी वदन सुन्दर ती पछाडि ।
आँखा जुझी मधुर छन्‌ स्मित चारुपाथ ॥
(४१)

"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ?
रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
यो एक रोज नगरूँ किन हास्य नाना ?"
भन्छिन्‌ गरेर मुटु चुम्बन ती गलामा ।
लागेर कुत्कुति हँसाउन ओठ लामा ॥
(४२)

जिस्की बसे मधुरता जन मर्मवाली ।
लागी भइन्‌ अनि उठिन्‌ तन भाग्नलाई ॥
पक्रेर ल्याउन उठे सखि चार चारु ।
"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥
झर्केर फर्किन गइन्‌ रिससाथ भारी ।
(४३)

त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन्‌ ।
आधा खूला पलकमै सपरा उघारी ॥
याथार्थको यवनिका हलुका उचाली ।
पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥
(४४)

आनन्दमा सकल होश खिचेर भर्दो ।
अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
बेहोश सत्यसँग सुन्दर नाटकीय ॥
(४५)

बाधा जिती, समय, स्थान र दूरताका ।
देख्दी दिलै नजिकका सब दृश्य खोली ॥
भर्थिन्‌ वियोगकन आश-मिठास सत्य ।
सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥

आत्मा लगेर परदेश प्रकाशभित्र ।
ती देख्दछिन्‌ प्रिय सजीव गरेर राजा ॥
(४६)

देखिन्‌ बडो महल, बाग विचित्र झल्ल ।
कारीगरी मधुर मन्दिर देवका झैं ॥
जोडेर मन्दिर अनेक बने समान ।
बुट्टा अनेक रँग-शिल्पित, स्वर्णचूड ॥
(४७)

शूगा रटेर पिँजरा सुनका खुलेका ।
बत्ती सुवाससित झल्मल झैं बनेका ॥
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
गद्दी रहेछ अनि बल्न दुवै तयार ॥
(४८)

माला धरी विजयको तरवारसाथ ।
श्रीपेच धप्धप मनोहर बीच माथ ॥
राजा प्रसन्न-मुख सुस्त नजीक आई ।
भन्छन्‌ 'अहो ! बहुत काम भई मलाई ॥
(४९)

बिर्सेछु धेर दिनसम्म नमान दिक्क ।'
रूँ रूँ भएछ तब घुँक्क गरेर सम्झी ॥
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
फर्किन्‌ फरक्क दृग अञ्चलले पुछेर ॥
(५०)

आफ्नो दशा हृदयको त्यसरी बताई ।
'के के भयो त्यस जगत्‌तिर' झैं भनेर ॥
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
आँखा जलैजल बनीकन झर्र झर्दिन्‌ ॥
(५१)

ती भूपले 'अन नमानन दुःख प्यारी !
माफी दिए मकन क्रूर भएछु भारी ॥

भन्दै दुवै विजयका करबीच पारी ।
कैदीसमान परिरम्भणले सिँगारे ॥
(५२)

के के भनूँसरि भयो तर शब्द खोजिन्‌ ।
केही मिलेन, अनि मूक-मिठास बन्दी ॥
आनन्दका नजरमा प्रिय साथ पाई ।
ती राखिइन्‌ कनक-आसनमा सजाई ॥
(५३)

रानी भयौ अब भनीकन साथ बस्दा ।
बाजा बजे मधुर गद्‌गद भो बतास ॥
त्यो शब्दसाथ तर नेत्र झल्याँस्स खुल्दा ।
सुन्छिन्‌ घनन्न पहिलो वनभित्र घण्टा ॥
जो प्रातको मधुर श्वास लिएर बज्छन्‌ !
(५४)

एकोनविंशतितम सर्ग

खुल्यो उज्यालो दिन आउँदामा ।
धप्की सुनौला सुखका शिलामा ॥
गोला बनी, सुन्दर स्वर्गबाट ।
सिँगार्न ऊँचा गिरिका ललाट ॥
(१)

तारा निभिन्‌ अन्तिम हीरकाभा ।
सिँगार ठण्डा मृदु मिर्मिरेकी ॥
सन्देश जस्ती दिनकी बलेकी ।
प्यारी उषाकी सँगिनी खुलेकी ॥
(२)

वेदी सफा शीत कणाहरूकी ।
प्रबोधिनी प्रात हवाहरूकी ॥
ती लुक्दथिन्‌, चट्ट खुली कपाट ।
गुलाफ-बारीतिर स्वर्गभित्र ॥
(३)

आनन्द ओर्ल्यो रवि-रश्मिसाथ ।
धप्काउँदै पर्वतका ललाट ॥
प्रभात भन्थ्यो लिपिमा सुनौला ।
छ प्रेम मिल्दो अब प्रेमसाथ ॥
(४)

उदास पत्ती अब भर्न थाले ।
वसन्त आशा-तरुमा फुलेर ॥
रूँ रूँ गरेको अवरूद्ध बल्ली ।
झल्की सफा शीत झिझिल्ल हल्ली ॥
(५)

आशा छ बोल्दी वनका चरामा ।
आशा छ खुल्दी सुन-टाकरामा ॥
आशा रूँदी जो दिलभित्र बस्थी ।
झल्केर चम्की जलका कणामा ॥
(६)

प्रताप धप्क्यो विजयी बनेर ।
अँधेरमा वाणहरू छरेर ॥
लाली बहायो सुनमा खुलेर ।
जोडी चखेवा खुश छन्‌ मिलेर ॥
(७)

झर्ली पहेँली मुखहीन पत्ती ।
बल्ली उज्याली अब प्रात बत्ती ॥
खुल्ला कही सुन्दरको कपाट ।
जस्ता भए भाव अनेक ठाँट ॥
(८)

चिसै थिई तैपनि सम्झना ता ।
तुषारकी निष्ठुर एक नाता ॥
तथापि दाना अब बन्न लागी ।
प्रकाशको चुम्बन दिव्य मागी ॥
(९)

मानो कही सुन्दर स्वर्ण झल्ल ।
प्रसाद भज्दी धनले अमूल्य ॥
नदी बहन्थिन्‌ परदेशतर्फ ।
लिएर स्वप्ना उरमा उज्यालो ॥
शकुन्तला ती तटतर्फ आई ।
हिरण्यका दिव्य प्रतापलाई ॥

मुद्रा[1] बनाएर प्रसन्न हेर्दी ।
देख्थिन्‌ त्यहाँ प्रेमसरूप ज्योति ॥
संसारका सुन्दर टाकुरामा ।
(१०)

आए उज्याला सखि हेर्न फेरि ।
नुहाउनाको अब फैसला भो ॥
सिङ्गार गर्ने तर फैसलामा ।
"लौ जाउ भन्छन्‌ नगरेर देरी ॥"
(११)

समीर ठण्डा जल मालिनीको ।
छोएर चल्दो अब मन्द मन्द ॥
"नुहाउने काम खराब" भन्छ ।
ती पातका आँग सिरिङ्ग पारी ॥
(१२)

झर्की "म ता जान्नँ नि मालिनीमा ।"
भनेर फर्केर फरक्क घुम्छिन्‌ ॥
पत्तीहरूमा छ सहानुभूति ।
अनिश्चिता ती मृदुलाङ्गिनीमा ॥
(१३)

मुसुक्क मुस्के दुइ लाल रेखा ।
मिले दुवै हात मुसारिएर ॥
सिरिङ्ग गर्दा दुइ काँध बन्छन्‌ ।
छाती उचालेर गला तनक्क ॥
तानिन्छ खोली कटुता हवाको ।
(१४)

प्रियम्वदाका दृग शीघ्र जानी ।
बुझेर भन्छन्‌ "सुनझैं छ पानी ॥
चाँदी बनी झल्ल हुँदा प्रकाश ।
कठोरताको नरमिन्छ त्रास ॥

अहो ! चिसो चौपट ! यो बतास-
मात्रै छ, क्या स्नानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
ढाक्छिन्‌ गला सुन्दर आधि खाली ॥
(१५)

झन्‌ सम्झनाले मन हुन्छ चीसो ।
झन्‌ अङ्ग सम्झी परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छन् ।
"आगो बनाऊँ ? सखि" चारु भन्छिन्‌ ॥
(१६)

झींझा बटुल्दा कर लाल लाल ।
पुगे सलीला अब मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुइ लाइ चट्ट ।
रुओ फुकी चारु सुचारु बन्छिन्‌ ॥
फुलेर गाला अलि यत्नवाला ।
(१७)

तताउँदा आँग र चारु गाला ।
लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेंला अनि लाल सामु ।
लाग्छन्‌ उषा सुन्दर झैं मलाई ॥
(१८)

"को हुन्छ हामीहरुमा' पहीला ?
लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कुद्‌छिन्‌ ।
उठाउँदी ती सब चारु साथी ॥
(१९)

छिटो चनाखा क्षण एक दिव्य ।
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो शैशिर त्यो सुनौला ।
पङ्खी भई चट्ट उडेछ स्वर्ग ॥
(२०)

सुशीघ्र फर्के सखि चार चारु ।
काँपर कुद्दै वनका किनारा ॥
सानो वसन्ती कुसुमाङ्ग चार ।
चढ्दा दशा शैशिरको किनार ॥
(२१)

ती देख्न पाए अब कामदेव ।
वनैभरी वाण रँगीन भर्थे ॥
ती चित्र आए मृदु लेखनीमा ।
नाङ्गै भई सुन्दरता विचर्थी ॥
(२२)

न ढङ्ग वा रङ्ग हुने हुनाले ।
छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥
जो चित्रकारी मृदु-कल्पनाले ।
भित्रै छ राख्ने रँग भर्न प्यारा ॥
(२३)

यी नग्नतामा तर सत्य आफैं ।
सौन्दर्यको रूप बनेर फुल्छ ॥
रेखा त्यहाँका विधिले बनाए ।
वेला सुनौला लिइ सिर्जनाको ॥
(२४)

ती फूल नाङ्गाहरु हुन्‌ उज्याला ।
रेखा सफा पेशल रङ्गदार ॥
पूजाहरू लायक कल्पनामा ।
छन्‌ सिर्जनाका वनका सिँगार ॥
(२५)

म चित्र लेखूँ रँग हुन्छ लाटो ।
देखिन्न आत्मा रँगिने छ माटो ॥
बनेर आनन्द अनन्त ज्वाला ।
धप्की रहेको न त खुल्छ चाला ॥
(२६)

बत्तीहरू हुन्‌ सब रूपवाली ।
धप्की रहेका मृदु सत्य बाली ॥
धूवाँ त्यहाँ सुन्दर छन्‌ कपाल ।
सुवास नै बैंस, सजीव चाल ॥
(२७)

तताइए हात भएर लाल ।
सुक्दै गए थुर्थुर अङ्ग राम्रा ॥
रम्भोरुले वल्कल सेक्न लागे ।
दिनेश डाहा ततिएर जागे ॥
(२८)

हाँसी प्रसन्ना सुख-वल्कला ती ।
फुली उज्याला मुखमा गुलाफ ॥
सुवास वार्तासित कण्ठ-डाँठ ।
हिलेर चल्छन्‌ वनका हवामा ॥
(२९)

सिँगार पार्ने अब भो तयारी ।
ऐना बनाई जल-पत्र भारी ॥
कोरे त्यहाँ रेशमतुल्य केश ।
लौ काइँयाले अब हेर बेस ॥
(३०)

फेटेर पानीसित तेललाई ।
टलक्क पारीकन केशलाई ॥
चिल्ला दुवै हात सरक्क पारी ।
प्रियम्वदा छन्‌ रहँदी मुसारी ॥
(३१)

ती केश लामा त्यसरी छुँदामा ।
छन्‌ भृङ्ग चिल्ला रँग टल्किँदामा ॥
नितम्ब हुन्छन्‌ लहरे र लामा ।
न तौल लिन्छन्‌ हलुका हुँदामा ॥
(३२)

'हेला गरे धेर हरे मलाई ।
कालो भनी रङ्ग न भेउ पाई ॥'
भनेर आई शिरमा बसेर ।
राम्रो बनेको रँग कृष्ण हेर !
(३३)

फर्की रहेकी उसतर्फ खालि ।
पृथ्वीभरी केश अँधेर फाली ॥
शाशी-परी झैं सुरकी उज्याली ।
अमा यता छन्‌ तर स्वर्ग बाली ॥
(३४)

ठट्टा चले केश नृसिंहपाश ।
बनाउँदी रेशमतुल्य खास ॥
प्रासादमा दिव्य बनी शिकारी ।
हाँस्छ्यौ तिमी भ्रूशर चन्द्रमा झैं ॥
(३५)

लुकाउँदी चन्द्रमुखी मुहार ।
ती केशका आश्रय पार्श्व पाई ॥
झन्‌ चन्द्रमा झैं घनबीच आधा ।
छिपेर हाँस्छिन्‌ कवि-दृष्टिलाई ॥
(३६)

कला सिकाईकन बैंस बस्थ्यो ।
अबोल शिक्षा दिन मोहनीका ॥
जो अङ्गमा ती घन झैं वसन्ती ।
फुल्दै थिए भित्र मिठास बाँकी ॥
अर्कै छ धेरै, छ विकास बाँकी ।
सुवास, रेखा रँगमा भने झैं ॥
(३७)

सिँगार गर्छन्‌ अब सुन्दरीले ।
वसन्तका अग्र हवाहरू झैं ॥
कोरी बटारी मृदु पल्लवीय ।
बैसालु ती वर्द्धन, शंसनीय ॥
(३८)

लगाउँछन्‌ फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढङ्ग ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)

प्रसूनको लाल धुलो कुटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन्‌ फूल झैं शैशिर काललाई ॥
(४०)

सलक्क राम्री सुकुमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन्‌ कि झैं छन्‌ घर जानलाई ॥
(४१)

खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
'आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अब छन्‌ चम्किँदी भूषणादि ॥
(४२)

बढ्दै आयो दिन जति उती बन्दछिन्‌ झन्‌ मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन्‌ झन्‌ चीसा दृग युगल छन्‌ मेघ आएर छोपी ।
झन्‌ झन्‌ नीलो गगन अब भो नेत्र भो नीलिमा झैं ॥
(४३)

औंठी लाइन्‌ जब त सखिले चट्ट तानेर औंला ।
राम्रो बान्की सरल खुकुलो चट्ट भै लिन्छ स्थान ॥
मीठो टूना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर्‌ गर्दै पुलक हुन गै हर्छ ती नेत्रलाई ॥
(४४)

देखिन्‌ आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका ।
देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥
धेरै हेरे सखिहरु खिसी गर्दछन्‌ भन्छ होश ।
बेहोशैमा अधर दुइकी पालुवामा लगाइन्‌ ॥
(४५)

"बिर्सन्छ्यौ है सखि महलमा जङ्गली यो सँगाति ।
औंठी आफ्नो प्रियतम बुझी सुम्पिँदी ओठलाई ॥
'को हो को हो !' सित पिक जसै बागमा कुँज्छ आई ।
को हो को हो ? भनिकन तिमी निर्सिनेछ्यौ मलाई ॥" ।
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट ।
'त्यस्ती हूँला निठुर' सरिको झल्कियो क्या रिसानी ॥
देखी भन्छिन्‌ "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !"
(४६)

"ऊँ" झैं केही मधुर नहुने पक्षको भाव हाली ।
'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥
हेर्दी नाराज मृगनयनी 'लाज मारे' भने झैं ।
आफैं लज्जासित तल झुकिन्‌ मुस्कुराएर सङ्गी ॥
(४७)

"भो भो बिर्सिन्न" यति नभने पुग्छ दुर्भाग्य लाई ।
आँखा चीसासित स्मृति बसी एकली होस्‌ रुलाई ॥
हामी सम्झी वचन यति नै तीन यी शब्द प्यारा ।
सम्झेकी छन्‌ भनि हृदयमा आश पाऊँ सहारा ॥"
भन्दी राम्री मधुर मुखकी शब्द गर्दी प्रतीक्षा ।
देख्छिन्‌ "त्यस्ती बुझिनु निठुरी हाय मेरो परीक्षा ॥"
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र ।
(४८)

दाढीवाला ऋषि धवलतातुल्य ज्ञानै फुलेका ।
आई भन्छन्‌ "सुखसित गए प्रेमका साथ सम्झे ॥
स्वामी माने दुख सुघ सबै बीचमा देवता झैं ।
धर्म्मै माने, हृदय रहने घाम जस्तो हुरीमा ॥
(४९)


नारीको हो धन विनय नै, एक सौन्दर्य खासा ।
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
बत्ती बन्नू तिमिर नहुनू छर्नु आनन्द ज्योति ।
दुःखैमा नै मधुर मुखकी धैर्यकी दीप बन्नू ॥
(५०)

काँढा हुन्छन्‌ कुसुमहरुमा एक नारी प्रसून ।
सच्चा जो हो मधुर मुखकी शूलले भै विहीन ॥
ज्योत्स्ता जस्ती महल घरमा दिव्य बास्ना फिँजेर ।
दुःखैलाई पनि सुख गरी बस्दछे झन्‌ उ हेर !
(५१)

बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
काँढा बिझ्छन्‌ हृदयहरुमा पर्दछन्‌ नित्य उल्का ॥
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
क्रोधी निभ्छन्‌ नरमपनले लाज मान्छे रिसानी ॥
(५२)

चर्चा ज्यादा अटपट कुरामा नगर्नू चिहाई ।
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
आनन्दैको धन बटुलिने गेहको ज्ञान सारा ॥
(५३)

नारीको हो सुख गृह, कला सूक्ष्ममा सूक्ष्म जान ।
आनन्दै नै हँसमुख सदा फैलिने भै प्रधान ॥
हाँगा हाली सुखहरु फुली वल्लरीतुल्य नाता ।
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
(५४)

यस्ता सुन्दा वचन गहिरा नेत्र कद्थे सुनेर ।
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्थ्यो ॥
"पाए ठूलो पद कुशल होस्‌ लाख सेवा मिलेर ।
रानी होऊ त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
भन्दा केही रँग वदनमा छिप्न खोजी प्रकाश ।
पाई उठ्दो कुसुमहरुमा झैं भयो लास-भास ॥
(५५)

चाँडै अल्प्यो तर मृदुमुखी सम्झनाले मलीन ।
बन्छिन्‌ "जाने समय अब ता भो नजीकै" भनेर ॥
आँखा दोटा अलि अलि गरी सुस्त आए रसाई ।
'बाबा !' भन्थिन्‌ "अब पर हुँदा सम्झिनोस्‌ है मलाई ॥"
बोली छैनन्‌ स्फुट अधरमा भावले भन्छ खालि ।
"धन्दा सुर्ता नलिनु" ऋषिले बुझ्दछन्‌ दी जवाफ ॥
(५६)

'बाबा' बोलिन्‌ "सखि पनि गए साथमा के हुँदैन ?
एक्ली बस्दा मरुकुसुम झैं चित्तमा हुन्न चैन ॥
के गर्ने त्यो परघर गई ? एक आत्मीय छैन ।
रूँ रूँ जस्ता क्षणहरु हुने साथ कोही हुँदैन ॥"
"अर्कै हुन्छन्‌ परघर कतै यी सँगी ता विभिन्न ।
तिम्रा साथी हुन समयले आजको रोज दिन्न ॥
आफ्ना आफ्ना घरकन बुझी भाग्यको एक विश्व ।
नारी बन्छन्‌ सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
(५७)

भन्ने सुन्दा सजलनयनी हेर्दछिन्‌ दुःखसाथ ।
दुःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नैपर्ने परवश हरे ! हाय ! लाचार कर्म ।"
जस्ता मीठा विरहहरुको बुझ्दछिन्‌ चारु मर्म ॥
(५८)

"सम्झी राखे सखि ! पर हुँदा" भन्दछिन्‌ चट्ट चारु ।
सेता दाढी प्रवर तपका भित्र पस्दा कुटीमा ॥
"पूजा गर्छौँ सखिहरु मिली पुष्पले कामलाई ।
आई भन्ला पवन ऋतुको केश तिम्रो समाई ॥
इच्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
(५९)

सुन्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
पर्दा जस्तो चदर पतलाको कुनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन्‌ निमेष-
सम्मन्‌ प्यारा युवतिहरुका ओठ मुस्काउनाले ॥
(६०)

जान्छिन्‌ ओर्ली उपवन भजी सम्झनाले मिहीन ।
देख्छिन्‌ यौटा मृदुल बिरुवा वैलिएको मलीन ॥
"दुःखी प्यारी सखि पर हने त्रासले आज दीन ।
कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥"
भन्दै आँखा टलपल हँदा कोमला हातबाट ।
दिन्छिन्‌ आशा "हृदयसँगमै छौं" भनी प्रेमसाथ ॥
(६१)

हाँस्छन्‌ भन्थे अघि तरु लता आज छन्‌ क्या उदास ।
चीसो चीसो छ अब वनमा घाममा नै बतास ॥
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली ।
स्वर्गै देख्थें कुसुमित यहाँ स्वप्नको भै विकास ॥
(६२)

"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना ।
खेल्थें डुल्थें यिनसँग कुरा गर्दथें साथ बढ्थें ॥
पढ्थें पाना कुसुमहरुमा, सुन्दथें मिष्ट गाना ।
दाना दाना हृदय चुहुँदै हुन्छु आजै रवाना ॥
(६३)

मेरो क्रीडावन समयले दूर राख्ला मबाट ।
सग्लै बन्ला हृदयपटमा चित्र यो प्रेमसाथ ॥
सम्झी सम्झी मनमन सदा कल्पिंदी प्रेमकुञ्ज ।
डुल्दै डुल्दै गहभर हुँदै छर्कुला रोज रोज ॥
(६४)

वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान्‌ रँगीन ।
हल्ली हल्ली मलयतरुमा नृत्य गर्लान्‌ नवीन ॥
चिल्ली खुल्ली मधुर मुखकी मञ्जरी मञ्जु फेरि ।
वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥
(६५)

चीसो बन्दै हृदय तर हा ! आँसुले सम्झिनेछु ।
न्यानो पाई स्फुट-अधरमा कोपिला फैलिनेछ ॥
खुम्ची खुम्ची हुदय तर यो शीतदाना लिनेछ ।
आशा फुल्ली वनभर यहाँ दुःख मेरो हुनेछ ॥
(६६)

मेरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा !
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाँडी मेरा सुख-दुख भरी भाव, सम्झे मलाई ।
तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु मैले बिदाइ ॥
(६७)

"बिर्सिन्छ्यौ के भनन पर भै कामिनी-कञ्ज शोभा ?
तिम्रो फुल्ला समय सुखले गन्ध शृङ्गार पाई ॥
मस्ती मीठो पिककन हुँदा शब्दमा मस्त बन्दी ।
रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥"
(६८)

"बढ्दै जाला रस रँग यहाँ बागमा घाम पाई ।
चढ्दै जाला तर शिशिरको श्वास मात्रै मलाई ॥
उड्दै जाला विहग सरका बासमा मस्त बोली ।
आजैसम्मन्‌ सुख नजरमा, दुःखको हुन्छ भोलि ॥
(६९)

बोली मीठा हृदय भरिने पङ्खले चारु गर्छन्‌ ।
आशा जस्ता कुसुम ऋतुका शब्द झैं भै विचर्छन्‌ ॥
न्यानो होला स्वर रँग घुसी बास पाई नवीन ।
यौटी दुःखी परतिर बसी खालि रौली मलीन ॥
(७०)

यस्तो प्यारो उपवन हरा एक यो स्वर्ग मेरो ।
क्रीडाभूमि प्रकृति-सुखको दौलती दिव्य फेरि ॥
मेरो आफ्नो तनुसँग सदा वृद्धि पाईरहेको ।
बोल्दा चल्दा सुखमय सबै पर्ण पन्छी भएको ॥
(७१)

यो पन्नाका जगत, सुखको रत्न, सौगन्ध हीरा ।
यो गानाको उपवन हरा, गुञ्जिने पुष्पवाणी ॥
मीठो शोभा बहुल रँगका, वायुको यो हवेली ।
यो छाया यो छवि पर हुँदा दुःख झैं हुन्छ भोलि ॥
(७२)

छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
(७३)

'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
बिर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन्‌ अरुहरु यहाँ आँसुको बन्छ दाना ।
सम्झी रूँ रूँ छिन छिन भई दुःख पग्लिन्छ नाना ॥"
(७४)

"वन यो पर हुन्न क्यै गरी ।
पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
दिलमा अङ्कित भित्र भित्र यो ॥
(७५)

यदि चट्ट चिरी कतै उर ।
छ त्यहाँ के सब बीच सुन्दर ?
रँगदार सजीवता भनी-
कन हेरे छ यही सधैंभर ॥
(७६)

भन चारु सखे प्रियम्वदा !
म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
पर लैजान्छ हरे ! कता कता !
(७७)

कसरी सहुँला वियोग यो !
पर नौलो घरबीचमा अहो !
मरुतुल्य हुनेछ शून्यता ।
पिँजरामा म रुँदा कता कता ॥
(७८)

म त जान्नँ म बस्छु विन्ति छ ।
घरमा के छ र हेर मोहनी ?
सखितुल्य लता र भाइ झैं ।
तर छोडी मरुकी चरा बनी ॥"
(७९)

मृदुलताकन कष्ट हार्दिक ।
गह भर्दै रसले कुनातक ॥
जलबिन्दु बनेर झर्दछ ।
बिरुवामा अलि म्लान पर्दछ ॥
(८०)

"प्रियका सँग काखमा बसी ।
सुख आनन्द अनेकनै घुसी ॥
परिरम्भणमा फुली झुली ।
रहने सुन्दरता बनी बली ॥
जब जीवन-रङ्ग पाउली ।
वन-वल्लीसरि पुष्पकालमा ॥
तब मात्र नबिर्सिए सखे !
अहिले मात्र दुःखी भएर के ?"
यति 'चारु' थपेर फूलले ।
रसिली सुन्दरता सिँगार्दछिन्‌ ॥
(८१)

तर आँसु पुखी प्रियम्वदा ।
मसिनो रेशमको किनारले ॥
"रुनु ता अबला हुनू न हो ।
कलिलो बन्नु न घाउ पार्नु हो ॥
तर धीर हुनू सही लिनू ।
यसकै नाम छ जिन्दगी भनूँ ॥
यति मिष्ट कुराहरू सित ।
जल पुछ्‌छिन्‌ हलुकापनासित ॥
(८२)

"पछि फेरि बिदा बराबर ।
लिन पाइन्छ" भनी "यतातिर ॥
सँगिनी जननी पिताकन ।
वनमा भेट्न खुशी हुँदा दिन ॥"
मित भाषणकी सँगी त्यहाँ ।
उनमा साहससम्म भर्दछिन्‌ ॥
(८३)

"जननी सँगमै हुने हुँदा ।
तर यात्रा सजिलो छ हे सखी !
दुइ ब्राह्मण साथ छन्‌ दिने ।
छ कुरा के अब हेर रोकिने ?"
यति साथ सहाय-सम्पदा ।
मुसकाइन्‌ मधुर प्रियम्वदा ॥
(८४)

अब जान तयार गौतमी ।
स्वर दिन्छिन्‌ परबाट वृद्धको ॥
"म तयार भएँ शकुन्तला !
तर के गर्न गयौ कहाँ तिमी ॥"
(८५)

अलि आज गर्‍हूँ भई पद ।
हलुका सुस्त हिंडाइ ली तिनी ॥
सखिसाथ मलीन माधुरी ।
अघि बढ्छिन्‌ "म यही मुमा !" भनी ॥
(८६)

पहिले शिशुकाल सुन्दर ।
महिमा दिव्य पवित्र पाउँछ ॥
नव खोज लिएर मोहनी ।
प्रभु लीला हुनलाई आउँछ ॥
प्रकृति-प्रभ पोष पाउँदै ।
अभिप्राय प्रभुको बुझाउँछ ॥
अनि एक कुनै सँगी सधैं ।

प्रिय आत्मा त्यसले समाउँछ ॥
र बुनिन्छ अनेक तिर्सना ।
सुख दुःखादिक पाठ पाउँछ ॥
नव जीवनले विशालता-
तिर यात्रा घरको गराउँछ ॥
महती कठिनाइले तर ।
पथको चित्त विषाद पाउँछ ॥
अनि कण्टक पुष्पमा हुने ।
मृदुदाना दिलको बनाउँछ ॥
अघिको शिशु-दृश्य सम्झिंदा ।
सुखले दुःख बुझी रसाउँछ ॥
घर जानु सधैँ त्यसो हुँदा ।
द्इ आँखा दुखले भिजाउँछ ॥
तर सुन्दरता करैसँग ।
प्रभुको त्यो घरमा पठाउँछ ॥
छ उचाल्नु र राह लाउनु ।
प्रिय आत्मा जुन स्वर्ग धाउँछ ॥
अब बाहिर बन्दछिन्‌ तिनी ।
त्यस आनन्द निवासको हरा ॥
दुनियाँ छ विशाल भन्दछ ।
पथ अज्ञान सदा कठैबरा !
(८७)

"म कतातिर जान्छु के गरी ।
जब आधार कहाँ म पाउँला ?
अघि दुःख र वेदना कति ।
अब नौलो दिनले पठाउला ॥
न पिता, न सँगी, न माइती ।
जननी वा शिशुकालका सुख ॥
नव सिर्जनमा कसो गरी ।
मनले शान्ति र चैन पाउँला ?"

घर जानु पराइएको परी ।
मुख नौलो ढँगमा थरी थरी ॥
स्मृतिले अब झन्‌ रुवाउला ।
"म त्यहाँ के अब आड पाउँला ?
नव सागरको जहाज झैं ।
म हवा भेलविषे कहाँ हुँला ?"
डर धेर यही प्रकारका ।
नव यात्रासँग भित्र आउने ॥
(८८)

उनका मनमा पसीकन ।
मन भन्थ्यो "अब के म पाउँला ॥
न त स्वीकृतिसाथ सुन्दर ।
महिषी शासन गर्न मन्दिर ॥
न त विस्मृतिले गरी छल ।
म हुँला बाहिर नै रुँदी जल ॥
तर हैन ! दयालु सुन्दर ।
निठुरी क्रुरपना विना हुँदा ॥
सब सत्यसमान सुन्दर ।
कसरी हैन भनी पठाउलान्‌ ?
रविले वनलाइ यो बरु ।
सब बिर्सी दिन नै नआउलान्‌ ॥
यसरी मनमा तरङ्गीँदी ।
रसिली सुन्दरता मलीन ती ॥"
गुँडबाहिरकी चरीसरि ।
सब हेर्छिन्‌ वन त्यो अडी घुमी ॥
दृग दीर्घ सप्रेम लाउँदी ।
पिउँदै त्यो वनचारु सम्झना ॥
सखिबाट त्यहाँ बुझाइनन्‌ ।
"मनमा दुःख नल्यौ" भनीकन ॥
अब शावक चारु आउँछ ।
पदमा लुट्पुट भै कराउँछ ॥

म सँगै अब जान पाउँ झैं ।
दुगुरी फुर्फुरिँदै रमाउँछ ॥
उसलाइ चपक्क च्याप्नमा ।
सुख पाई करले मुसारदी ॥
"यसलाइ म साथ लीकन ।
भुलुँला दुःख सबै" भनीकन ॥
सखिका मुख जाँच गर्दछिन्‌ ।
सुख न्यानो त्यति बेर पाउँदी ॥
उसलाई "नछोडुँ" झैं गरी ।
वन च्यापेसरि ती समाउँछिन्‌ ॥
(८९)

अब माल्य लगाउँछन्‌ सखि ।
जलका नेत्र बनी प्रशंसक ॥
अनि दु:ख सबै झरी खस्यो ।
पर जाने दिन अङ्गमालमा ॥
(९०)

दुइ पूर्ण घडा सिँगारिई ।
कुसुमाऽभूषित द्वारमा थिए ॥
दिलकी जलकी घडा तिनी ।
तिनका बीच भएर आउँछिन्‌ ॥
(९१)

डोली दोटा राहमा छन्‌ तयार ।
पस्छिन्‌ यौटा दुःख पार्दी सिँगार ॥
अर्को वृद्धा गौतमीलाइ यान ।
यात्राको भो खालि बाँकी बयान ॥
(९२)

विंशतितम सर्ग

शीघ्र शीघ्र चल्छ यान ।
राज-धामतर्फ जान ॥
वन्य दृश्य छुट्छ दूर ।
मालिनी-सुचारु-तीर ॥
(१)

दीर्घ मार्ग लम्बिएर ।
घुम्छ उच्च निम्न हेर ॥
दूर दूर साङ्ग्रिएर ।
शस्यदार छेउ लेर ॥
(२)

शुभ्र झैँ फिता बनेर ।
जो हरा किनारदार ॥
क्षेत्र शैलको सिँगार ।
लग्छ तान्छ दूर, पार ॥
(३)

मोहनी सिँगारदार ।
तुल्य डाक्नु मञ्जु भार ॥
भन्छ "हे शकुन्तले म ।
लेर जान्छु दृक्‌ उघार ॥
(४)

सोचदार सम्झना र ।
सूक्ष्म त्रास दूर लार ॥
स्वर्ग छैन दूर धेर ।
खालि थोर शैलपार ॥
(५)

खालि नील त्यै किनार ।
वारिवाह वेश्मसार ॥
झल्ल झिल्ल कान्तिदार ।
एक रोज पङ्ख पार ॥
(६)

ती कुरङ्ग-नेत्रदार ।
मार-प्रेयसी मुहार ॥
पक्ष्म-जाल क्यै उचाल्न ।
आश प्रेरित-प्रकार ॥
(७)

दीर्घ-कोणदार दृष्टि-
मा प्रसन्नता थपेर ॥
पक्ष्म-जाल क्यै उचाल्न ।
छन्‌ प्रयत्नशील हेर ॥
(८)

कामदार छन्‌ किसान ।
खेतबीच अन्न खान ॥
अन्नका पितासमान ।
ली खनित्र चित्रमान ॥
अल्प चाहले प्रसन्न ।
स्मेर शान्तितुल्य धन्य ॥
मृत्तिका-सिँगार-जन्य ।
कर्म-वीर कीर्ति-गण्य ॥
मेदिनी-प्रतोष-पुत्र ।
स्वेददार सच्चरित्र ॥

ग्राम्य गानले पवित्र ।
ओठसाथ शुद्ध भित्र ॥
पर्ण-नाकसत्य-पाक ।
शाककोष द्रुपताक ॥
प्रात चञ्चुले प्रबुद्ध ।
साँझ लाल कर्मशुद्ध ॥
सौख्यपूर्ण बाल वृद्ध ।
इन्द्र-वृष्टिले समृद्ध ॥
(९)

स्वर्ग अल्पमा रहेर ।
ती वसुन्धरा दुहेर ॥
रूप रङ्ग हेर फेर ।
गर्दछन्‌ मनोज्ञ हेर !
दीन देह दीन वस्त्र ।
हातमा अहिंस शस्त्र ॥
दूर दूर कालबाट ।
गान हृद्‌-प्रकोष लेर ॥
वारि-वृष्टि गीततुल्य ।
जोड्दछन् खुशी बनेर ॥
मच्चिँदै कतै कहीं त ।
मेघतर्फ दृष्टि देर ॥
(१०)

हेर हेर सूक्ष्म सर्र!
लाल हैम रङ्ग चढ्छ ॥
अस्त शैलको किनार ।
लम्बिए मेघ अड्छ ॥
खुड्किला बनेर कान्ति ।
स्वर्ग हर्म्यतर्फ चढ्छ ॥
जो तला तला बनेर ।
झल्ल झिल्ल बन्छ जल्छ ॥
(११)

त्यो गुलाफको स्वदेश ।
त्यो सुगन्धदार बाग ॥
त्यो सुवर्णको निवास ।
त्यो विलासको पराग ॥
त्यो तला तला तहाल ।
क्या झिलिल्ल झल्ल झल्ल ॥
भास्कर-प्रताप-सार ।
दिव्य नव्य देशतुल्य ॥
छन्‌ त्यहाँ परी अनेक ।
गान नृत्यका विवेक ॥
एक एक ठाँट काँट ।
वस्त्रमा बडा अमूल्य ॥
फोहरा-नजीक चट्ट ।
कुञ्जमा हरा बिछट्ट ॥
हातमा लिएर बीन ।
तान छेड्दछन्‌ नवीन ॥
ती कला-प्रवीण चारु ।
अप्सरा उडान-हीन ॥
माझमा बसेर देव ।
भाष्कर प्रताप-पूर्ण ॥
सुन्दछन्‌ उ झन्न झन्न |
पार्नलाइ नव्य पर्ण ॥
स्वर्ण स्वर्ण रत्नदार ।
हर्म्यबीच स्वादु कर्ण ॥
मुग्ध मुग्ध स्निग्ध स्निग्ध ।
स्वादु नादसाथ वात ॥
गन्धदार मन्द मन्द ।
शीघ्र पाइ मिष्ट छन्द ॥
स्वप्नतुल्यको छ धन्य ।
चित्र हेर त्यो सक्षम ॥
फुल्छ पुष्प लाल लाल ।
झुल्छ दिव्य कल्पवृक्ष ॥

क्या शकुन्तलाअगाडि ।
जिन्दगी छ स्वर्ण लक्ष्य ॥
स्वप्न स्वप्न फुल्छ बल्छ ।
जल्छ हिल्छ गल्छ मिल्छ ॥
आश फुल्छ आश फल्छ ।
स्वर्गद्वार खुल्छ, ढल्छ ॥
एक देव कीर्तिबाट ।
मोहनी छ त्यो कपाट ॥
रङ्ग चढ्छ विश्वमाथि ।
सर्र सर्र भाँति भाँति ॥
घप्प घप्प हुन्छ लाज ।
माथमाथि हेर आज ॥
यो समस्त विश्व भर्न ।
छन्‌ प्रसन्न स्वर्णवर्ण ॥
सूर्य एक कीर्तिदार ।
व्योमबीच ती धिराज ॥
सुस्त सुस्त चल्छ यान ।
शैलमाधि चल्छ, सार ॥
बढ्छ बल्छ देखिनेछ ।
देश दिव्य शैल-पार ॥
(१२)

सुस्त सुस्त चल्छ यान ।
शैलमाथि सुस्त, जान ॥
बुन्छ कल्पना अगाडि ।
दिव्य कान्ति रुक्म तान ॥
'आज आज' भन्छ नाद ।
लिन्छ स्वप्न हैम ताज ॥
फुर्छ रोम, हेम-पङ्ख ।
आज जान्छ दिव्य धाम ॥
आज लाल हुन्छ साँझ ।
देव धेर कान्तिमाझ ॥

बस्न छन्‌ तयार हेर ।
पङ्खदार गान लेर ॥
खुट्किलाहरू चढेर ।
स्वर्गतर्फ सूर्यनेर ॥
(१३)

एक पङ्ख बोल्छ मिष्ट ।
चारु आरुमाथि इष्ट ।
बोल्छ मञ्जरी टिपेर ।
, आधि पुष्पले छिपेर ॥
श्वेत लाल पुष्पभित्र ।
बासदार बातसाथ ॥
"हो कि हो वसन्तको कि ।
काल ? हो कि स्वर्गद्वार ?
हो कि हो कि ? हुन्छ साँझ ।
हो पुगिन्छ आज आज !"
(१४)

सुस्त सुस्त चल्छ यान ।
पुग्छ शैल-शृङ्गमाथि ॥
अड्छ यान वायु भन्छ ।
"दृश्य क्या अगाडि जाति ॥
अस्त-काल कान्तिबाट ।
झल्मलाउँदो विचित्र ॥
राज-धाम दूरको छ ।
क्या मनोज्ञ प्रस्ट चित्र ॥"
(१५)

खोज्दछन्‌ सुचारु नेत्र ।
दूर झल्ल पौर चित्र ॥
"थाम थाम" शब्दसाथ ।
गौतमी उठेर भित्र ॥

छन्‌ समुत्सुका, नजीक ।
आइपुग्दछन्‌ नजीक ॥
अड्दछन्‌ पुगेर शिष्य ।
हातको विशाल आड ॥
उठ्दछिन्‌ तिनी विरेख ।
रूपदार काँससार ॥
चाउरी भरी मुहार ।
हेर्न पौर दृश्य पार ॥
पार पूर्व दख्खिना उ !
स्वर्णचूड उच्च-शैल ॥
तुल्य झल्ल के त्यही छ ।
राज-धाम स्वर्गमूल्य ॥
वृद्ध-नेत्र पुग्नलाई ।
दुर यत्न साथलाई ॥
भन्दछिन् कि "आज रात ।
लग्दछौ त्यहाँ मलाई ?"
(१६)

ती शकुन्तला उठेर ।
नेत्रकी प्रसन्न हेर ॥
लाल वस्त्रको किनारा ।
केश पाश गुच्छदार ॥
सान्ध्य कान्तितुल्य चारु ।
शैलमाथि पुष्पसार ॥
झल्किएर सुस्त हेर्न ।
पौर दृश्य छन्‌ तयार ॥
ओठमाथि अङ्‌गुली छ ।
दीर्घकोण लम्बिएर ॥
हेर्छ चल्छ बार बार ।
पार्श्वतर्फ फेरि नेत्र ॥
खोज्दखन्‌ अगाडि दृश्य ।
स्वप्नको समान चित्र ॥
(१७)

दूर हुन्छ झल्ल झल्ल ।
स्वर्ण-चूड स्वर्गतुल्य ॥
राज-धाम, अस्तकाल ।
शिल्पभित्र त्यो विशाल ॥
फ्याँक्छ ज्योति दूरसम्म ।
तीनतर्फ श्यामलो छ ॥
दीर्घ बाग, पोखरी छ ।
पार्श्वमा छ अल्प दूर ॥
रम्यपौर ! कान्त गेह ।
चारु-चूड पुष्प-चुस-
को निवासतुल्य टम्म ।
देव-वेश्म रम्य-चूड ॥
चारु-चित्रवत्‌ त्रिकोण ।
मोहडाहरू हरा छ ॥
खेत खेत आलि आलि ।
छन्‌ कुला अनेक चिर्छ ॥
शैल वारी शुभ्र-रेख ।
नाग-वेली-क्षेत्र-वक्ष ॥
निम्नगा बनेर दीर्घ ।
दक्षिणी दिशा लिएर ॥
वृक्ष-पङ्क्ति ठाउँ ठाउँ ।
छोप्छ फेरि दूर दूर ॥
नील रङ्ग लिन्छ दृश्य ।
पग्लिएर चारु हेर ॥
छन्‌ त्यहाँ सुदूर शैल ।
पूर्वतर्फ क्या हरा छ
(१८)

शान्त त्यो प्रशस्त बन्छ ।
पूर्ण क्षेत्र फैलिएर ॥

रङ्ग लिन्छ बीच बीच ।
शैल-जन्म वारि-स्रोत ॥
टिप्दछन्‌ प्रशस्त चारु ।
उब्जनी गरेर साधु ॥
रङ्ग रङ्ग खण्ड खण्ड-
त्यो लशून त्यो गहूँ कि ?
पीतमा हरा सुचारु ।
के र त्यो अगाडि आलु ॥
बुर्बुरे छ मुन्द्रिएर ।
क्या प्रसाधिताङ्ग क्षेत्र ॥
अन्नदार कीर्तिकान्त ।
मेदिनी प्रसन्न हेर ॥
देवराज-राज्य-कीर्ति-
को हरा सिँगारतुल्य ॥
(१९)

लालिमालसत्‌ छ व्योम ।
स्वर्ग रङ्ग वैलिएर ॥
झल्किँदो सुवर्ण चूड ।
राजधाम शन्तिसाथ ॥
श्रान्त हुन्छ, झल्किँदैन !
मौनकीर्ति शैलतुल्य ॥
शिल्पचारु बन्छ शान्त ।
बाटिका फिका भएर ॥
पङ्ख डाक्दछन्‌ दिनेश ।
फिर्दछन्‌ स्वहर्म्यतर्फ ॥
(२०)

छन्‌ फिका पुरी विशाल ।
शान्तिकी स्वराज्यतुल्य ॥
मिर्मिरि बनेर जान्छ ।
दृश्य मेघ वैलिएर ॥
आउँछन्‌ सुवर्णभस्म ।
गौतमी सफेदकेश ॥
(२१)

यानभित्र पस्दछिन्‌ र ।
"दूर छैन भो बढूँ त !
दूर छैन ! दिव्य ध्येय ।
नन्दनैसमान दृश्य ॥
देखियो त एक बार !
राजधाम त्यो अपार ॥
राज्य यो बडो उदार ।
यो हरा भरा प्रकाश ॥
बीच सान्ध्य कान्ति खास ।
तुल्य राज्य गर्न पाऊ ।
आउ पुत्रि ! आउ आऊ ॥"
(२२)

शीघ्र शीघ्र चल्छ यान ।
राजधामतर्फ जान ॥
मिर्मिरि बनेर दृश्य ।
हेर्दछन्‌ सबै वितान ॥
शान्त मौन मिर्मिरे छ ।
एक तारका अगाडि ॥
व्योम हुन्छ फेरि श्याम ।
वारिवाह वैलिजान्छ ॥
सुस्त सुस्त भै विलीन ।
मार्ग बन्छ क्यै मलीन ॥
(२३)

"आज छैन सम्झना कि" भन्छ भित्र कल्पना ।
स्वप्नततुल्य वैलिजान्छ मेघमाथि सम्झना ॥
ती बिदाइ स्वर्गतर्फ ती दिनेश जो गए ।
दूर अन्य दृश्यभित्र के मलाई बिर्सिए ?
(२४)

शैलवासिनी समान साँझका झलकमा ।
शीत शीत पक्ष्ममाथि ली वियोगिनी थिएँ ॥
फुस्रिएर अन्धकार छाउँथ्यो दिशा दश ।
एक अंश नै मिलेन अन्धकारको वश ॥
एक पुष्प नै खिलेन दुःखले निसास्सिएँ ।
(२५)

आज छैन सम्झना कि को तिमी म चिन्दिनँ ?
भन्दछन्‌ कि ? या चिनेर भन्दछन्‌ कि भेटिनँ ?
ह्वैन ह्वैन छैन चित्त हाय ! क्रुर निर्दयी ।
कामकाज भीडबाट फुर्सदी नभै रही ॥
सम्झिएर सम्झिएन ! क्या तरङ्गिणी भई ।
शोच गर्छु यी अनिष्ट चिन्तनाहरू लिई ॥
(२६)

मिरमिर भो अब साँझ झमक्क ।
तिमिर भो तम भो ढकमक्क ॥
पिलपिल छन्‌ उडु पङ्ख सुषुप्त ।
विधु नभमा तर स्वर्गृह गुप्त ॥
(२७)

हर हर चल्दछ तीर प्रवात ।
सुरभित, शीतल, चाल्दछ पात ॥
नगर नजीक छ पर्दछ रात ।
तर पथ शून्य छ मिर्मिर खालि ॥
डर पनि लाग्छ थकाइ छ साथ ।
(२८)

निकट छ एक सरोवर हेर ?
टलपल वक्ष छ छन्‌ उडु थोर ॥
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
"हरि हरि" बोल्छ नजीक छ मैना ॥
तटतरु झर्दछ उल्टिन कालो ।
निकट किसानकटी छ उज्यालो ॥
पिलपिल झ्याल ! अरू घर छैन ।
अब पर बढ्नु त व्यर्थ हुँदैन ?
(२९)

अघिअघि ब्राह्मण तीन गए ।
घचघच द्वार गरे र उठेर ॥

थकित किसान त्यजीकन खाट ।
अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
पवनप्रवाह हटाउनलाई ॥
"किन किन को ?" सित प्रश्न गरेर ।
वसन कटीतक छोप्न धरेर ॥
(३०)

"किन ? को" भनी किसानले ।
द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सब ।
खुशसाथ गर्छ स्वागत ॥
(३१)

तब भित्र पस्न गौतमी ।
दइ हात आड पाउँछिन्‌ ॥
द्विजसाथ ती शकुन्तला ।
तिनको पछाडि आउँछिन्‌ ॥
(३२)

तब खाटमा बसाउँछ ।
द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
अनि बाल्छ अग्नि दन्दन ॥
(३३)

अब उष्णता प्रकाशले ।
छ त न्यानुले, मिठासले ॥
कृषिसत्कृता मुसूमुसु ।
दुइ बन्दछन्‌ सुभाषले ॥
(३४)

अरुण प्रभा छ दन्दन ।
मुखलाल छन्‌ शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
छ सवाल क्या भला भला ॥
(३५)

"कहिले बिहा भयो ?" भनी ।
जब सोद्धछे उनी पनि ॥
"अविवाहिता म ता" भनी ।
मुसकाउँछिन्‌ सुयौवनी ॥
(३६)

उ छ खिल्ल "ए ! त्यसो भए ।
भवँराविना फुलेछ ए ॥
मधुमालती त्यहाँ अहो !"
मृदु भन्दछे "कहो कहो ॥"
(३७)

स्मित गौतमीमुहारमा !
सब चाउरी बढी फुले ॥
दृग चम्किई शकुन्तला ।
मुख छोप्दछिन्‌ सुमञ्जुला ॥
(३८)

जब खोल्दछिन्‌ मुहार ती ।
सुरबागका जुहार ती ॥
मृदु छन्‌ गुलाफ भारती ।
मुकुमारिता अपार ती ॥
(३९)

जान्छ किसान दुही लिन गाई ।
हात लिई गबुवा पयलाई ॥
"यो निशि के दुहुनाकन जान्छौ ?"
भन्दछ एक त्यहाँ उसलाई ॥
(४०)

अड्दछ सत्वर बोल्दछ चारु ।
"आठ त याम छ गाइ दुधारु ।"
"कष्ट उठाउनु पो किन पर्छ ?"
"के छ र कष्ट र ? यै छिन भर्छ ॥"
(४१)

छिनभरपछि घ्वारर्घ्वाघ्वार्गरी ।
कृषक त घट भर्छ छ्‌वाछ्‌र्वार्गरी ॥
घटभर पय हुन्छ ह्‍‍र्वाह्‍‍र्वागरी ।
ज्वलित अनल बोल्छ यस्तै गरी ॥
(४२)

आउँछ दोधक शान्त किसान ।
स्मेर मुखाकृति गबुवासाथ ॥
उष्णपयस्क सफेन सफेद ।
दूध दुहीकन आर्द्र छ हात ॥
(४३)

ल्याउँछ सुन्दर मृत्तिकप्याला ।
दूध खन्याउँछ सुन्दर चाला ॥
बग्छ प्रसन्न मनोहर धारा ।
फींज उठेर रिझाउँछ सारा ॥
(४४)

जोड्दछ हात गर्दछ बिन्ती ।
"क्षुद्र किसान म, क्षुद्र छ गिन्ती ॥
छैन दरिद्रसँगै अरु खाना ।
स्वीकृति होस्‌ यति जलपान ॥"
(४५)

प्याउँछ बन्छ प्रसन्नमुहार ।
सत्कृति गर्न सदैव तयार ॥
दीप्त छ लोचन स्नेह रसाई ।
जोड्दछ हात खडा सबलाई ॥
(४६)

कृष्ण मुहार छ माथ छ फेटा ।
धेर नशामय हात छ दोटा ॥
त्यो कृशकाय किसान अजान ।
बाल्दछ नेत्रविषे सब ज्ञान ॥
(४७)

भुट्न मकै तब तत्पर श्यामा ।
पार्श्व दिंदी मृदु कोष छ लामा ॥
क्या स्मितिसुन्दरलोचनचारु ।
षोडशवर्षप्रविष्ट फुलारु ॥
(४८)

छम्छम छम्छम चल्दछ चूरी ।
पट्पट पट्पट बोल्दछ हाँडी ॥
भर्भर भर्भर गर्दछ आगो ।
चम्चम चम्चम नाच्दछ आँखा ॥
बात बनाउन बन्न चनाखा ।
चाख छ चल्दछ फुर्फुर धागो ॥
चञ्चल चञ्चल लोचन चारु ।
मोहन मौक्तिक हास्य फुलारु ॥
बात हुँदै मृदु बैंस-बयानी ।
फुल्दछ चारु मकै मनमानी ॥
हेम फुलेर बनेसरि चाँदी ।
मोहन हास्य मनोहर दाना ।
कोमल कोमल सत्‌कृषि खाना ।
बादल पात्र छ रूक्मखजाना ॥
(४९)

स्नेह जुटाउँछ स्नेह छ खाँदो ।
स्नेह छ गद्‌गद् स्नेह छ आँखा ॥
बात मनोहर भाव सिपालु ।
चञ्चल चञ्चल नेत्र छ श्यामा ॥
(५०)

आउँछ सुन्दर कोमल पाठो ।
बोल्दछ सुन्दर कोमल "म्याँ म्याँ" ॥
स्मेरमुखाकृति- गद्‌गद श्यामा ।
हेर ! सखीसित लोचन लामा ॥
शब्दित शान्त शकुन्तप्रियामा ।
बोल्दछ हेरन, बालक– 'आमा' ॥
(५१)

हाँस्दछ लोचन सुन्दरता ली ।
लाल मृखाकृति गर्भ-उज्याली ॥
छल्न फरक्क गरीकन फर्की ।
छन्‌ कति सुन्दर लोचन तर्की ॥
(५२)

ब्राह्मण एक थकाइ हुँदामा ।
दीर्घ शिखान्वित आड लिंँदामा ॥
उड्न बराबर रुङ्‌रुङ थाले ।
शान गरीकन दीर्घ शिखाले ॥
(५३)

खुरुखुरु आउँछ हेर मूषिक ।
तल तल झर्छ कि झैं बराबर ॥
तर जब देख्दछ धेर मानिस ।
खुरुरुरु भाग्दछ बन्छ कातर ॥
यति मृदु बात गरेर सुन्दरी ।
हँसमुख चारु बनी वरीपरि ॥
अब सबलाई हँसाउँछे त्यहाँ ।
तब बिउँझे द्विज झस्किई वहाँ ॥
(५४)

अब सबलाई तयार बिस्तरा ।
थकित भई बहुतै उड्दी बरा !
"किन रहने अब सुत्ने पाल्नुहोस्‌"
नरम बनी मृदुशब्द सुन्दरी ॥
(५५)

त्यो किसान द्विजको अब रजनी-
बीच दाप्छ पद यी अतिथि ॥
सुत्दछ थकिन ती मृदु सपना ।
देख्न, दाप्छ क्रमले सरलमना ॥
(५६)

आधिराततक त्यो बिउँझिरह्यो ।
भक्ततुल्य प्रभुको चरण लियो ॥
त्यो समुत्थितमना तब सुखमा ।
प्रातकालतक, सुत्दछ पिँडिमा ॥
सूर्य उदय भै तब बिउँझी ।
त्यो दुहुन्छ पय श्रीचरण भजी ॥
(५७)

थकाइ रातमा मरी ।
प्रभातमा उठीवरी ॥
शकुन्तला र गौतमी ।
गए तडागमा घुमी ॥
(५८)

प्रभातको प्रवातले ।
प्रबुद्ध वृक्षपातले ॥
"नजीक आउ" भन्दथे ।
सुभाष शब्द बन्दथे ॥
(५९)

दिनेश दूरवृत्तमा ।
सुवर्ण लट्किएसरि ॥
धपक्क छन्‌ समक्षमा ।
सुवर्णपोखरी भरि ॥
(६०)

अनेक मत्स्य छन्‌ जल ।
झझल्ल रम्य शीतल ॥
अनेक रङ्ग मीन ती ।
टिपेर खान चामल ॥
(६१)

पुलुत्त आउँछन्‌ पर ।
चलाउँदै मनोहर ॥
सुचारु तेजिला पर ।
निमेषहीन सुन्दर ॥
(६२)

त्यहाँ नुहाउँछन्‌ दुई ।
प्रणाम गर्दछन्‌ नुही ॥
जसै सफेद ली छवि ।
धपक्क बल्दछन्‌ रवि ॥
(६३)

फिरेर झोपडीतिर ।
लिएर अन्नपात ती ॥
बिहान जान तत्पर ।
भए समुत्सुका गति ॥
(६४)

किसान जोड्दथ्यो कर ।
जलदृशी बनी तर ॥
छ श्यामला विलोकिता ।
दुखी शकुन्तलातिर ॥
(६५)

"नबिर्स फेरि फेरि है ?
यहाँ फिरेर आउन ॥
दिदीसमान लाग्दछ ।
न स्नेह यो छुटाउन ॥"
(६६)

भनेर आर्द्र श्यामला ।
रुवाउँछिन्‌ शकुन्तला ॥
अतीव स्नेहको दिल ।
बनाउँदा सुकोमल ॥
(६७)

झट्ट त्यहाँ स्निग्ध पशु ।
बालक त्यो मञ्जु शिशु ॥
शब्द गरी स्नेहमय ।
कोमलता दुग्धमय ॥
(६८)

फुर्फर भै नाचिवरी ।
पुच्छर त्यो डोल सरी ॥
कान उँचा निम्न शिर ।
लुट्पुट भै हुन्छ वर ॥
(६९)

तान्दछ त्यो वस्त्रकन ।
शस्यमुना तान्नकन ॥
सिक्न सरेतुल्य अघि ।
छुन्मुन झैं शीर्ष गरी ॥
(७०)

फर्की हेर्दा एक पाठो कलीलो ।
तान्दो सारी फुर्फुरे भै खुशीले ॥
देखी बोकिन्‌ स्निग्ध त्यो चारु भार ।
छातीलाई म्वाइँ दी गर्न प्यार ॥
(७१)

"छानो बाबाः छिः हिछी क्या अपाल ।
'आमा' भन्द्यौ म्याँ गली एकबाल ॥"
भन्दै चिल्लो आँगमा हात लाई ।
च्यापी लिन्छिन्‌ प्यारले सुम्सुम्याई ॥
(७२)

एकविंशतितम सर्ग

आयो ठूलो उज्यालो नगर अति उँचा पीन पर्खालवाला ।
निक्कै कालो भएको जल जलद खपी दुर्ग जस्तो शतायु ॥
खाल्डोले घेरिएको रिपुदलहरुको आँसुको पोखरी झैँ ।
चौडा लामो, गहीरो, रँग पनि छहरा नील जस्तो गभीर ॥
(१)

खम्बा राखी अडेको पुल पनि उसमा काठको हेर चौडा ।
बुट्टा काटेर राम्रो दुइतिर त्यसमा नागबेली किनारा ॥
निक्कै ऊँचा उठेको तलतिर भुइँमा ताछिएका फल्याक ।
सामुन्ने एक ढोका दश गज सहजै पस्न सक्ने फराक ॥
(२)

चोसा तीखा परेका दुइतरफ त्यहाँ छन्‌ खुला ती कपाट ।
ढोका ठूला फलामे रिपुदल लहरी उर्लिंदा रोक्न सक्ने ॥
हात्ती फर्काउनेछन्‌ भयसँग चुचुरा ती फलामे सुतीक्षण ।
दोटै राम्रै खुला छन्‌ दुइतिर पहरा लिन्छ भाला खडा भै ॥
(३)

कालीको मूर्ति नीलो, अरुण रुधिरको पानले लालजिह्वा ।
देखिन्थ्यो दीर्घकेशी रिपुकर छ कटी मेखमा झुन्डिएको ॥
कुल्चेकी छन्‌ पिनाकी अवनितल लडेका त्यहाँ शान्त मूर्ति ।
यौटा खुट्टा उचाली असिकर, भयकी उग्रचण्डी उठेकी ॥
(४)

"राजा दुष्यन्तको होस्‌ जय जय जय" यो लेखिएको सुनौला ।
स्पष्टै देखिन्छ, जुँघे अरिमठ पहरा भै खडा लिन्छ भाला ॥
जाँची जाँची सबैका घर वतन तथा साथमा मालताल ।
छोडिदिन्छन्‌ सिपाही जतिजति त्यसमा गर्न खोज्छन्‌ प्रवेश ॥
(५)

जाँच्दा ती कण्वजीका अनुचर बुझिई गौतमी कण्वपत्नी ।
आएका छन्‌ भनेको खबर पनि सुनी साथ छोरी लिएर ॥
यौटा लाग्यो अगाडि प्रबलयश महान्‌ भूपप्रासादसम्म ।
राम्रा ठूला उज्याला घर लहर लिने मार्गले स्निग्ध चौडा ॥
(६)

बाटामा देख्दछन्‌ ती घरलहर सफा बान्किला एकनास ।
काहीं काहीं उठेका अरु उपर उँचा आढ्यका दीर्घवास ॥
गर्वी कल्की लगाई अरु जनहरुका बीचमा शानदार ।
लम्बा चौडा नवाफी पुरुषसरि खडा वक्ष ऊँचा गराई ॥
(७)

राम्रा सौन्दर्यवाला युवति, मृगदृशी झ्यालमा टाँसिएका ।
सौखी छन्‌ माल्यका ती कुसुमहरु धरी केशमा जूटदार ॥
सारी रङ्गी बिरङ्गी पहिरनहरुका चारु शोभा सुहाइ ।
आँखा काला घुमाई, सडकतिर दिने दृष्टि आनन्ददायी ॥
(८)

बाटामा छन्‌ बसेका लहर पसलका देख्न राम्रा उज्याला ।
रङ्गी चङ्गी कुराले खजित बहुथरी लीभका चीजवाला ॥
काहीं छन्‌ फूल मात्रै बहुरस रँगका क्या बडा चारु डाली ।
माला राम्रा उनेका तप तप चुहुने गुच्छ झुप्पा र जाली ॥
(९)

मग्‌ मग्‌ मग्‌ मग्‌ छ चल्दो परिमल रसिलो भृङ्ग मौरी झुलाई ।
ती राम्रा पुष्प झुल्छन्‌ मलय पवनमा झैं चलेका सजीव ॥
सानो मीठो बगैंचा पसल हुन गई नक्कली बोट पारी ।
मीठा सौन्दर्यका छन्‌ पहिरन कहँदा 'ल्यौ मलाई मलाई ॥'
(१०)

काहीं छन्‌ वस्त्र रङ्गी पहिरन हलुका छन्‌ परी वस्त्र-तुल्य ।
राम्रा बुट्टा लिएका थरि थरि रँगका कोमलाङ्गी मिठास ॥
कात्छन्‌ कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन्‌ ।
राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥
(११)

लामा लामा फलामे गज लिइ करमा नाप्दछन्‌ वस्त्र बेच्ने ।
आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥
काहीं छन्‌ चित्र राम्रा नरम र जिउँदा रूप झैं तेजवाला ।
धेरै श्रीकृष्णका नै शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥
(१२)

राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ ।
गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥
काहीं सीता उज्याली दशरथसुतका साथ सिंहासनैमा ।
काहीं छन्‌ शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥
(१३)

धेरै छन्‌ देवताका पटहरु रँगिला अर्थमा गूढ गूढ ।
काहीं ब्रह्माण्ड ॐ मा रँग रँगहरुको मेलको चित्रकारी ॥
बारा राम्रा सुनौला अतिशय छ मिही कामको क्या किनारा ।
बुट्टा छन्‌ काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥
(१४)

काहीं छन्‌ शाक मात्रै परतिर फल छन्‌ मौसमी क्या विकाल ।
पूजासामा कहीं छन्‌ रँग रँग त्यसमा धूप औ चन्दनादि ॥
माला राता र सेता बहुविध थलिया धूप औ कङ्‌कुमादि ।
राम्रा द्यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥
(१५)

काहीं छन्‌ पानवाली जलभर थलियामा नुहाएर पान ।
राम्रा भ्रूचञ्चला ती मुसुमुसु मुखका बातका छन्‌ बिछट्ट ॥
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई ।
लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥
(१६)

छन्‌ ठूला पोखरी नै टलपल जलका वृक्षका पङ्क्तिदार ।
केही चैते हवाले चलमल गरिऊँ झैं हुनाका तयार ॥
ऐना छन्‌ किन्तु राम्रा अझतक घर छन्‌ स्पष्ट उल्टा सचित्र ।
देखिन्छन्‌ कामिनी नै तरुनिकट कुनै पानिझ्याले परी झैं ॥
(१७)

राम्रा छन्‌ बाग चौडा थरि थरि तिनका छेउमा पुष्पदार ।
शोभा छन्‌ झल्किएका लहर कसुमका नाच्दछन्‌ वारपार ॥
तालीमे भै कलाका तरुहरु कुसुमी पङ्खले चारु छन्द ।
नाचेका छन्‌ रँगीला लहलह पिकको देशको वायु पाई ॥
(१८)

"को को हो" बोल्छ पन्छी भ्रमरहरु त्यहाँ रूपका छन्‌ प्रशंसा ।
मग्मग्‌ चल्दो छ बास्ना लहर पवनको गद्‌‌गदाएर मन्द ॥
वासन्ती रङ्ग पाई किशलय कलिका नाच्दछन्‌ छुन्मुनाई ।
मानो फुल्दो मजाको उपवन छ त्यहाँ बैंस गर्दो रजाइँ ॥
(१९)

राजप्रासादको नै निकट अन पुगे पौर यात्रा गरेर ।
झल्क्यो छाना उज्यालो सुनसुन चहकी भै लिई सूर्यराशि ॥
मानो आनन्दको झैं भवन विपुल त्यो द्वार चौडा लिएर ।
झण्डा गर्थ्यो यशस्वी फरफर सबका सामु ऊँचा गरेर ॥
(२०)

खम्बा राम्रा उज्याला स्फटिक चहकिला शुभ्र बुट्टा भरेका ।
खम्बा खम्बा भएका नजर खिचिलिने देखिएथ्यो दलान ॥
रङ्गीचङ्गी छ भित्ता थरिथरि त्यसमा मख्मली रङ्गसम्म ।
देखेका आज यात्री छिनभर अडिँदै मान्दथे ती अचम्म ॥
(२१)

ढोका सानो त्यहाँको अलिपरतिरको दख्खिना द्वार नाम ।
लच्केको लाइ मालाहरु थरि थरिका बागको तर्फ जान ॥
स्त्रीको पस्ने छ बाटो त्यसतिर अब ती स्त्री दुवै मार्ग लिन्छन्‌ ।
(२२)

बाटो मीठो छ ठण्डा दुइ लहर फुली वृक्ष राम्रा मिलेर ।
वल्लीले बेह्रिएको कुसुमहरु भरी द्वार भित्री छ रम्य ॥
लच्केकी बाटुली भै मगमग महिला हल्लिँदो मन्द मन्द ।
बोल्छन्‌ मीठा करा भैं विहग वनविषे त्यो नजीकै बसेर ॥
(२३)

पस्दा देखे फुलेको सुरपुरवर झैं त्यो हरा पुष्पविश्व ।
ठण्डा हाँगाहरूमा किशलय हलुका नृत्य गर्दा हवामा ॥
बास्ता झैं मग्मगायो प्रथम श्रवणमा पङ्खले चुल्बुलायो ।
आँखाले रङ्ग पायो अनि जिउभरमा सौख्य नै सर्सरायो ॥
(२४)

बन्थे चङ्गी र रङ्गी अनि धवल सबै ढङ्गका ती मयूर ।
लामो त्यो लत्रिएको पहिरन प्रकृत स्वादु लच्काउँदा ती ॥
'काँ काँ केकाँ' कराई वरपर चिडियाका उडे झैं धिराज ।
ऊँचा हाँगाहरूमा ढलिमलि कहिले गर्दथे वृक्षमाझ ॥
(२५)

चीभे, फिस्टो, मुनीया, परभृति प्रभृति प्रेमका पङ्खनाना ।
सारौं, घोबी, भँगेरा थरि थरि रँगका स्वर्गपक्षी उज्याला ॥
शूगा, मैना, परेवा, पटु, शिखिकटुवा, गौँथली औ जुरेली ।
बोल्थे नाच्थे र झुल्थे कुसुमनिकरको हर्म्यमा खेल खेली ॥
(२६)

आरू, लाली लिएका धवल कुसुमकी नासपाती, अनार ।
राती, काँढा छिपेकी, जुइहरु सुन झैं जाइ बेली बहार ॥
चम्पा, गाभा, गुराँसे गुनकसि कमली कामिनी काइँयो र ।
सुन्पाते, नीलपाते, कुसुमहरु त्यहाँ क्या मिसिन्थे अपार ॥
(२७)

फुर्फुर्गदी छ पक्षीसदृश उ पुतली फूल जस्ती रँगीन ।
मानो फूलै उडे झैं कुसुमरस लिने वन्य सानो परी झैं ॥
बुट्टा छिर्का परेकी सुरधनुषभरीका मिही रङ्गबाट ।
ठाँटेकी झैँ हलूका कुसुम ऋतुहरूकी तपस्यासमान ॥
(२८)

छन्‌ राम्रा ठाउँठाऊँ जल निकट त्यहाँ बस्नका चारु बान्की ।
सेता गद्दी बनेका मृदु मरमरका फूल झर्ने छहारी ॥
बाटो नै स्वर्गको झैं जति अघि बढियो उत्ति आनन्ददायी ।
भिन्नै भिन्नै बनेका किसिमहरु त्यहाँ फूलका वृक्षको नै ॥
(२९)

आयो राम्रो मजाको महल जलविषे दोहरो भै खुलेको ।
सानो बान्की छरीतो कुसुमलहरले शोभिएको मिलेको ॥
पाटा राम्रा छओटा छ ऋतुहरु जहाँ गर्दछन्‌ नृत्य पालो ।
ठण्डा आनन्द जस्तो लहलह तरुकी पङ्ख उड्डीयमान ॥
(३०)

राम्रा राम्रा सजेका कुसुमित गमला रङ्ग छानेर चारु ।
वल्ली हल्ली मजाको वरपर सुखमा मग्मगाएर बास्ना ॥
रङ्गे धानी हरीयो छ तपनि हरियो पुष्पको चित्र चारु ।
क्रीडा गर्थे जहाँ ती नृपति युवतिका नृत्य हेरी उज्याला ॥
(३१)

ढोकामा एक पुड्के असिकर बहुतै गर्ववाला सिपाही ।
घुम्थ्यो आएर सोध्यो अलिकति बुभिँदा भन्छ "बेला खराव ॥
आयौ, पाइन्न क्यारे कठिन छ बहतै दर्शनै आजलाई ।
फर्की जाओ नआओ करकर नगरे, ठोक्दछन्‌ है मलाई ॥"
(३२)

वार्ता राम्रो बुझाई जब ऋषिसँगिनीले बताइन्‌ समस्त ।
"रानी हाम्री यिनै हुन्‌" यतिसित डरले चाखले हेर्न थाल्यो ॥
शोची शोची कनै हो युवति परतिरै पन्सिएकी अवश्य ।
भन्ने ठानी छ हेर्दो मुखतिर लजिली गर्भिणीको रहस्य ॥
(३३)

"केही आज्ञा नपाई अब म त कसरी हाजिरी नै पुर्‍याउँँ ?
हिँड्छन्‌ रानी र कैले यसरि त ! बहुतै खेद भो के बताऊँ ?
को रे को कण्व भन्ने ? किन यस रितले पाल्नुभो प्रातयामै ।
कोही पाउन्न पस्नै हुकमविनु यहाँ फर्किनोस्‌ आज आमै ॥"
(३४)

"उल्लू रैछस्‌ फटाहा मकन त कुटुनीतुल्य पो आज ठानिस्‌ ?
के जानिस्‌ कण्वपत्नी ? समझसँग त बोल्‌ भस्म पार्नेछु जानिस्‌ ?
जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस्‌ घमण्डी ।
यी हुन्‌ छोरी तँ बुझ्छस्‌ समभविनु त्यसै बोल्दछस्‌ हैन रण्डी ॥"
(३५)

काँप्यो पुड्के डरायो कर दुइ अब ता जोड्छ सातो गएर ।
"माफी पाऊँ नबुझ्दा यति हुन गइगो जान्छु माता !" नुहेर ॥
भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ झ्यालमा भूप आए ।
देखी को को रहेछन्‌ तलतिर यतिले एक नै दृष्टि लाए ॥
(३६)

झल्का पाई मुदितहृदय स्वर्ग देखेसमान ।
ढुक्‌ ढुक्‌ गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥
आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली ।
भोग्छिन्‌ रोमाञ्च मृदुल नयाँ त्यो वसन्ती हवामा ॥
(३७)

बोल्लान्‌ बोल्लान्‌ कि अब पहिला शब्द त्यो झ्यालबाट ।
शायद्‌ नामैसित त मकन ती गर्दछन्‌ के पुकारा ?
"आयौ केले कुन रित कसो के गरी ?" सम्म केही ।
भन्ने आशा धुकचुक भयो प्रश्न केही नसुन्दा ॥
(३८)

"को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग ।
हेर्छिन्‌ लामा नयन रसले झ्यालसम्मन्‌ उठाई ॥
देखेनन्‌ लौ कि त नयनले खालि देखे झलक्क ।
सम्झे होलान्‌ तर किन त्यसै बिर्सिएलान्‌ मिलिक्क ॥
(३९)

भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क ।
आधा आशा अलिकति कतै के कसो भो भने झैं ॥
चढ्दो लाली शारम ललिता शोचले रोकिएकी ।
मुस्कूँ जस्ता अधर पहिलो भाव ओर्ली नुहेकी ॥
(४०)

पैह्लो रोमाञ्च मुटुतिरको केन्द्रको भै सिरिङ्ग ।
आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥
आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई ।
बोली बिर्सी डरसित भनिन्‌ "बिर्सिए की मलाई ॥"
(४१)

केही काँपी अधर अरुले थाह केही नपाई ।
चीसो गाँठो मुटु छ गठिलो शब्द केही नपाई ॥
फर्की छीटा शरम दृगको रोक्न केही सँभाली ।
पर्खिन्छिन्‌ ती भ्रमरतिर नै कुञ्चित भ्रू लगाई ॥
(४२)

आयो पुड्के असिकर त्यहाँ गर्छ आई इशारा ।
चम्की आए दृग उछलियो आसको बैँस छाती ॥
राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले ।
वास्ना जस्तो लहर वनकी जिन्दगी चुम्छ प्यारो ॥
(४३)

फूलै फूलेसरि पयरले चारु चाला चलेर ।
कुल्ची राम्रा मखमल त्यहाँ पाउले ती प्रसन्न ॥
श्री झैं फुल्दी कुसुम ऋतुकी मारकी मोहिनी झैं ।
ऊँचा बन्छिन्‌ मृदुल वदनी चम्किँदी नेत्रज्योति ॥
(४४)

जालिन्‌ जस्ती अघि त कहिले गौतमीकी अगाडि ।
रोकिन्छिन्‌ ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥
स्वर्गै उक्लेसरि युवति छन्‌ खालि थूँगासमान ।
सोपानै भै कुसुम पथ त्यो कल्पना नै विमान ॥
(४५)

बोल्ने चाला नहोला उपरतिर बसी काइदा हैन होला ।
हाँसी भन्लान्‌ मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥"
के चिन्दैनन्‌ र काला भमरहरू पनि प्रेमका पुष्पलाई ।
बिर्सन्थे हाः कसोरी प्रियतम मुटुका ज्योति आफैं मलाई ॥
(४६)

गम्भीरा गौतमी छन्‌ वचनहरु गमी बोल्न खोज्दी अगाडि ।
सानी छन्‌ छाउरी झैं कसुमनिकरकी ती उज्याली पछाडि ॥
रङ्गीलो दिव्य राम्रा मगमग कुसुमी कोठरीका वसन्ती ।
नाघी सङ्घार आधा चकित हृदय ती देख्दछिन्‌ वैजयन्ती ॥
(४७)

केटी छन्‌ अप्सरा झैं सुमधुरवसना ठाँटिएकी कुरङ्गी ।
प्याला रङ्गीन राम्रा मृदुल कर धनी सुस्त बोल्ने विहङ्गी ।
रङ्गी चङ्गी छ भित्ता कुसुमित लहरा हिल्दछन्‌ झैं उज्याला ।
राजा छन्‌ शोच गर्दा मलिनमुख त्यहाँ बिर्सिएतुल्य केही ॥
(४८)

मुस्केलान्‌ झैं अधर मृदु छन्‌ नेत्र सन्देशवाला ।
होलिन्‌ जस्ती मधुरवदनी प्राकृत प्रेमसाथ ॥
चम्केलान्‌ ती विपुल दृगले सौख्य पाएर हेरी ।
भन्दी आशा हरित अडिँदी द्वारमा छन्‌ खडा ती ॥
(४९)

"को हौ के हो कहाँका कुन खबर लिई आउँछ्यौ भन्नु के छ ?"
भन्ने आज्ञा सुनेकी अझ अपरिचिता छक्क भै हेर्न थालिन्‌ ॥
राजाको चेहरामा अलिकति गहिरो देख्दछिन्‌ ती विषाद ।
शोचैमा छन्‌ डुबेका अझ नृपति भनी मेट्दछिन्‌ क्यै फसाद ॥
(५०)

केही सर्दी अगाडि प्रबलयश महाभूपका नेत्रलाई ।
आश्चर्यैले म ल्यूँला चकित झलकमा चट्ट पारी चिनाई ॥
"ओहो " भन्लान्‌ मलाई किन यति मनमा चट्ट राखी विचार ।
सामुन्नेतुल्य सोझो वदन दिन रहिन्‌ नेत्र तीखा लगाई ॥
(५१)

"को हुन्‌ यी सुन्दरी नि" नृपमणि अब ती सोद्धछन्‌ गौतमीमा ।
दोटै बोल्नै नसक्ने अपरिचित कुनै मूर्ति जस्ता बनाई ॥
छायो चाँडै अँध्यारो हृदय डर पस्यो मञ्जुलाको समस्त ।
स्वप्ना मीठो गुमे झैं तर अचल रहिन्‌ फेरि खामोससाथ ॥
(५२)

धक्का दिन्थ्यो बजाई मुटुतिर डरले चौडिए नेत्र लामा ।
बोलिन्‌ ती गौतमीले "म हुँ प्रभु वनकी कण्वपत्नी वयस्क ॥
ती हुन्‌ छोरी अगाडि प्रभु निकट यिनै पाउमा राख माथ ।"
भन्दा आशा उठेकी नृपपयर छुँदी उठ्दछिन्‌ प्रेमसाथ ॥
(५३)

"हाः हाः कन्या उज्याली द्विजकलदुहिता के गरेको" भनेर ।
उठ्दा राजा जुरुक्कै चकित दुइ बने 'के भएको' भनेर ॥
"पत्नी आफ्नी नचिन्ने नृपवर किन हो आज यस्तो बहाना ?"
भन्दा आश्चर्य मानी टुलुदुलु नृपले हेर्न थाले दुवैमा ॥
(५४)

"को यिनीहरु ? यहाँ किन आए !
कण्वले किन मलाई छकाए ॥
सम्झना न छ ममा यिनसाध ।
भेटसम्म न त सम्झुँ न बात ॥
(५५)

एक रात न बसेँ सँग काहीँ ।
गर्भिणी युवति छन्‌ अघि याहीं ॥
के भयो नि ! जगदीश ! फसाद ।
हुन्न हाय ! यिनको रति याद ॥
(५६)

पाप लाग्छ गहिरो पछिसम्म ।
बिर्सिए यति ! म बन्छु अचम्म ॥
देखिएन यिनलाइ अगाडि ।
के गरी ग्रहण गर्नु पछाडि ॥
(५७)

ह्वैन ह्वैन तर ह्वैन जरूर ।
सम्झने पनि नभै यति बेर ॥
हेर्छ सुन्दर मुहार न चिन्छु ।
यो छकावट भनी बुझिलिन्छु ॥
(५८)

क्या असम्भव कुरा ! हुन सक्छ ?
गर्भिणी युवति छन्‌ मन छक्‌ छ ॥
ह्वैन ह्वैन दुइ कान छकाई ।
भ्रान्ति दिन्छ किन आज मलाई ?
(५९)

स्वप्न हो कि बिपनासरि हुन्छ ।
'यो थकावट' भनी दिल भन्छ ॥
सोध्छु तैपनि खुलस्त बताऊन्‌ ।
यी कुराहरु खुलून्‌ अबलाई ।"
(६०)

शोच पार्छ भ्रुकुटीकन गाँठो ।
तीक्ष्ण दृष्टिसँग यो छल बाटो ॥
के रहेछ त भनेर निहारी ।
भन्दछन्‌ "सब खुलस्त बताऊ ॥
यो रहस्य, स्मृति दुर्बल भारी ।
भो म सक्दिनँ यिनीकन चिन्न ॥
सम्झना रति मसाथ रहन्न ।"
(६१)

क्रोधसाथ निठुरी अति लाल ।
फुल्दछन्‌ कि त कपाल गुलाफ ॥
झैं तिनी मनमनै अब रत्न ।
क्रूर मूर्तिसित छन्‌ अप्रसन्न ॥
(६२)

गैतमी नृपतिको मुख हेरी ।
निर्दयी कपटतुल्य विचारी ॥
भन्दछिन्‌ "प्रभु अहो ! यहि चाला ।
गर्दछन्‌ नृपतिले यशवाला
(६३)

सम्झना पनि लुकेर छिपाई ।
छैन याद कसरी प्रभूलाई ?
ठीक हुन्न अबलाइ बहाना ।
निष्कलङ्क यशदार खजाना ॥
(६४)

आज के शरमले प्रभुबाट ।
दाग लाउनु पवित्र ललाट ॥
गर्नु छैन छलछाम बुझेर ।
पाप लाग्छ यसबाट अघोर ॥
(६५)

हात हाल्न अघि सर्न हुँदैन ।
स्त्रीहरूकन त्यसै यशवाला ॥
गर्भिणीकन म चिन्दिनँ फेरि ।
भन्नु नीच जनको बुझ चाला ॥
(६६)

सम्झ सत्य नृप विस्मृति ह्वैन ।
यो महाकपट ठीक हुँदैन ॥
चुम्छ भृङ्ग अघि पुष्प समाती ।
बिर्सिनेछ 'कलि' दुष्ट नजाती ॥
(६७)

यी सुचारु दुहिता ऋषिबाट ।
त्यक्त देखिन गए प्रभुबाट ॥
दुष्टता हृदयको अनि पाप-
लाइ मिल्दछ जरूर शराप ॥
(६८)

सत्य बोल्नु नृपको महिमा हो ।
न्याय नै नृपतिको सुषमा हो ।
त्रासले शरमले प्रभु गल्नु ।
धर्म छाड्नु कमजोरपना हो ॥
(६९)

चन्द्रवंश किन लिन्छ कलङ्क ?
लाग्छ बादल हरे ! किन आज ॥
सत्यको त्रुटि हुँदा दिन ज्यान ।
जो तयार अघि खै अब लाज ?
(७०)

सम्झ सम्झ नृपते ! कमजोर ।
क्षुद्रको छ महिमा कमजोरी ॥
भन्छु यत्ति, जति लाज छ मान ।
धर्मको त्रुटिविषे लिन जान ॥
(७१)

नत्र गिर्दछ तलैतल आत्मा ।
सोध भित्र दिलसाथ गुनेर ॥
भन्न सक्दिनँ म दुष्ट दुरात्मा ।
कीर्तिको यति निनाद सुनेर ॥
(७२)

देह जान्छ पछि हुन्छ खरानी ।
यो अनित्य भवमा तब के छ ?
एकसार सुखको जुन सत्य ।
धर्म हो, यति नत्याग्नु रहेछ ॥
(७३)

मेटिँदैन बुझ दाग खराब ।
एक बार यदि नाम गुमाए ॥
आँसुले पछि अनन्त अगाडि ।
पर्छ त्यो प्रलयसम्म पखाल्न ॥
(७४)

सत्यका प्रतिनिधि प्रभुबाट ।
सत्य छोड्नु बहुतै छ खराब ॥
सत्यले मुकुटको मणि दिव्य ।
घाउ लाग्छ यसमा तल झर्दा ॥
(७५)

भूप हुन्‌ सुकृतिका अवतार ।
दिव्य ऐश प्रतिमा पृथिवीमा ॥
सत्यशून्य नृप खालि हुँडार-
तुल्य हुन्‌ अनृत वेश लिएका ॥
(७६)

राज्यका स्थिति विकार बढेर ।
बिग्रिनेछ यदि सत्य हटाए ॥
चित्त नास्तिकसमान खसेको ।
खल्बलाउन गईकन आफैं ॥
(७७)

सत्य नीति रहँदातक व्योम ।
तारकाहरु अडाउँछ झल्ल ॥
गिर्छ त्यो पनि बनीकन आँधि ।
सत्यको यदि नहोस्‌ त समाधि ॥
(७८)

सत्यशृङ्खल बनेर समस्त ।
विश्व अड्दछ परस्पर मेल ॥
वस्तुमा न त विरोध उठेर ।
गिर्दथे गिरिजरा नअडेर ॥
(७९)

कीर्ति भूपहरुको रविको झैं ।
दिव्य चालसँग उज्ज्वल नै छ ॥
ऐश ऐन त्रुटिले त्रुटिजाँदा ।
फेरि सूर्य कसरी बलिजाने ?
(८०)

सूर्यबाट जसरी तम-रेखा ।
निस्किँदैन सब मानिस लेखा ॥
आश गर्दछ सदा मन नाथ !
हुन्न झूट कहिल्यै प्रभुबाट ॥
(८१)

जानु फेरि र कहाँ छ सहारा ?
सत्य नै नृपतिबाट गुमेका ॥
सूर्यबाट यदि वर्षण हुन्छ ।
अन्धकार तब सृष्ट रहन्छ ?
(८२)

जानु फेरि र कहाँ छ सहारा ?
सूर्यका अघि सदैव उज्याला ॥
भूप सत्य दृढ सुन्दर रूप ।
सत्य सम्झनुहओस्‌ दिलभित्र ॥
(८३)

वीरको हृदयमा रहँदैन ।
एक दाग डर, झूट खराबी ॥
मिल्दछन्‌ अणु बजाउँछ नृत्य ।
तार तारहरुमा दृढ सत्य ॥
(८४)

वीरता हृदयको दृढता हो ।
कीर्ति सत्य झलमल्ल बलेको ॥
न्याय सत्यकन आँटसमान ।
सत्य नै अवनिको सब त्राण ॥
(८५)

सत्य नै छ ऋषिलाइ तपस्या ।
सत्यबाट च्युत गिर्छ तपस्वी ॥
घोर नर्कहरुमा सब उल्टी ।
भित्रबाट न त उठ्दछ सुल्टी ॥
(८६)

सत्य नित्य छ अनित्य असत्य ।
सत्यमा छ प्रभुको सुन गादी ॥
सत्य मात्र छ प्रकाश सुनौला ।
स्वर्ग सत्य सबतर्फ असत्य ॥
(८७)

सत्य हो हृदयमा बहुमूल्य ।
जिन्दगीकन विभूषण हीरा ॥
सत्यबाट झलमल्ल खुलेर ।
फुल्छ जीवन रँगीन बनेर ॥
(८८)

सत्य खोज्छ भवमा सब जीव ।
सत्यले रहित हुन्छ अभागी ॥
सत्य चल्छ सजिलो, झरिहाल्छ ।
शीतको लवसमान हवामा ॥
(८९)

जो असत्य छ उ चल्दछ बाङ्गो ।
लाख लाख जुनि 'जेल' बनेर ॥
रङ्‌मगाउँछ जहाँ सब जीव ।
अन्धकारमय गह्वरभित्र ॥
(९०)

वक्रतासित सधैंभर गुम्सी ।
पोल्छ बन्छ विष बन्दछ खाल्टो ॥
छन्‌ अचिन्त्य सुइरा, अनि आरा ।
नर्क, कण्डल त्यहीं सबलाई ॥
(९१)

यो बुझाउनु नपर्दछ नाथ !
ज्ञान दिव्य छ सदा प्रभुसाथ ॥
भ्रान्तिले विकल चित्त भएर ।
पोल्छ यो कपट क्रूर तथापि ॥
(९२)

सत्य दीर्घ छ अनन्तसमान ।
छोपिँदैन न त उड्दछ प्राण ॥
विश्वशासकअगाडि कसोरी ।
ज्ञानशील जन बोल्छ असत्य ?
(९३)

सत्यलाइ थिचिए पृथिवीले ।
काँप्दछिन्‌ अवनि उठ्दछ ज्वाला ॥
सत्यले सकल काल समाए ।
विश्व खाक सब नाशिइजाला ॥
(९४)

ताज यो हृदयको प्रभु ज्योति ।
भूपको प्रकृति दिव्य विभूति ॥
यो प्रकाश महिमा प्रभुबाट ।
त्याग्न हुन्न नुहुनेछ ललाट ॥
(९५)

वीरको हृदयमा सब हामी ।
क्षुद्र मानिस सदा लिन आश ॥
हेर्दछौं प्रकृत सत्य नडग्ने ।
त्यो समुज्ज्वल सफा ध्रुव जस्तो ॥
कम्पहीन हँसिलो छविबाट ।
मृत्यु खान्छ मुखमा दृढ लात ॥
एक ईश्वर र सत्य छ नित्य ।
साहसी अमर दिव्य इशारा ॥
त्यो नभै न जग जीवनलाई ।
पाइँदो छ स्थिरता युगलाई ॥
वीरको हृदय आड लिएर ।
सत्यको नित छ कर्म प्रसिद्ध ॥
क्षुद्र अल्पबलका सब हामी ।
आश यत्ति मनभित्र हुँदामा ॥
'सत्य जित्छ र असत्य छ गिर्ने ।'
छौं सजीव सब प्राण अडेर ॥
सत्यशून्य सब विश्व बुझेमा ।
प्राण अड्छ जनको, सब जीव ॥
बन्दछन्‌ शवसमान नपाई ।
न्यायभित्र करुणा दिललाई ॥
मानिसै अमरताकन त्यागी ।
मर्त्य बन्दछ असत्य लिएर ॥
सत्य हो अमरको रविज्वाला ।
जो प्रकाशित बनाउँछ विश्व ॥
(९६)

तौल तौल रति काँठ मिलाई ।
ईशबाट रचना सब अड्छ ॥
एक नै पल भुले मृदु सत्य ।
मोक्ष गुम्छ मन यो तल गड्छ ॥
(९७)

सत्य नीति जसको छ धरामा ।
वीरका शिखर झैं यति दिव्य ॥
हुन्न ती नृपतिमा डर त्रास ।
सत्य बोल्न यति गर्दछु आश ॥
(९८)

बाहिरी सब बनावटबाट ।
बिग्रिँदो छ दुनियाँ दिनरात ॥
सत्य भज्छ तर अन्तर आत्मा ।
बोक्रिँदो छ नित झूट बढाई ॥
(९९)

हाय ! कृत्रिम छकावट साना ।
हाय ! लाज हलुकापन नाना ॥
हाय गर्व ! सब इज्जत टेढो ।
पार्छ सत्य विधुवा दुनियाँमा ॥
(१००)

त्रास लौकिक छ कृत्रिम बाह्य ।
लुक्छ लाजसित अन्तर आत्मा ॥
काटिँदो छ यसरी दुख फ्याँक ।
बन्नलाइ दुनियाँ सब हाँक ॥
(१०१)

यी समस्त प्रभुका कमजोरी ।
छाडिबक्सनुपर्‍यो करजोरी ॥
गर्छु विन्ति गहले, अब नाथ !
सत्य स्वीकृति हओस्‌ सुखसाथ ॥"
(१०२)

सुन्दा यस्ता वचन नृपले गौडको चेहरामा ।
केही क्रोधी रँग लिउँ लिई ढङ्ग देखाउँदा छन्‌ ॥
सोच्छन्‌ मेरो यश विमलमा आज बट्टा लगाई ।
उल्टो शिक्षा दिन अब यिनी आउँछिन्‌ बक्बकाई ॥
(१०३)

धेरै रोज भएर विस्मृति परी त्यो चित्तमा बादल ।
होशै गुम्न गई अनन्त सुखको त्यो प्रेमलीला भुली ॥
स्वर्गैबाट विचित्रता तल झरी बिर्सेर वैकुण्ठका ।
राम्रो चीज र श्री थिए नृपति ती आँखा अँध्यारा हुँदा ॥
नौली क्यै परबाट आउन त्यसै हाँसेर पस्दी उषा ।
नाता जोड्न तयार तैपनि त्यसै केही डराईवरी ॥
लालीसाथ र शीतसाथ लजिली फुस्रेर जाँदी अनि ।
त्यो स्वप्ना कुन हो न याद मनमा मिल्थ्यो हुँदा विस्मृति ॥
आँखा हेर्दछ, सम्झिंदैन दिलले, उठ्दैन रोमाञ्च नै ।
चीसो रक्त नशा बहाउँछ न ता नानी दुवै चम्किए ॥
(१०४)

टूना शून्य भई भएछ नभमा सारा खरानीसरि ।
सोही स्वर्ग जहाँ थियो झिलिमिलीका बीच राख्दो परी ॥
त्यो दुःखी नबुझेर दुःख दिलको बस्दो छ अन्धो दिन ।
सारा हेर्दछ मोहिनीरहित छन्‌ संसारका चीज नै ॥
के के झैं जब लाग्छ चिन्तन बढी भै च्याँठ सारा कुरा ।
बिर्सी प्रेम झिंझिन्छ झोक्रिन गई खाकै बनी सम्झना ॥
त्यस्तै आज भए क्षितीश दृगका साम्ने खडा ती रुँदा ।
"को हुन्‌ यी किन आउँछन् कति झिँझो" भन्दै हुँदा दिक्क ती ॥
(१०५)

"को होलान्‌" मन प्रश्नमा छ 'म कहाँ जाँदा भयो भेट र ?
देखेतुल्य मलाइ लाग्छ स्मृतिमा, भेटिन्न केही तर ॥
यो हो के तर भो छकावट सबै कोही महाजाल हो ।
षड्‌यन्त्री हुन सक्दछन्‌ कपटका स्वीरूप के चाल हो ?'
(१०६)

यस्तै तर्क-वितर्कसाथ नृपति टोह्लाउँदा झन्‌ भए ।
झन्‌ झन्‌ क्रोध उठ्यो म 'चिन्दिनँ' भनी मुन्टो हिलाईदिए ॥
झन्‌ झन्‌ त्रास बढेर आश नहुँदी त्यक्ता तिनी कामिनी ।
झन्‌ झन्‌ क्रोध उठेर निष्करुण भै हेर्छिन्‌ अगाभी बनी ॥
(१०७)

के के चित्र-विचित्रभित्र मनको काहीं गुमे झैं गुफा ।
लाटामा गहिरा भई, नृपतिको खोज्दी थिई कल्पना ॥
झाँक्रो मात्र फिँजाउँदी गहभरी खोजी निराशा लिँदी ।
च्याँठै मात्र बढाउँदी विकलतामा ल्याउँदी इन्द्रिय ॥
(१०८)

रित्तो भै स्मृति फुस्रिई भुवनकी मीठो मिहीं मोहनी ।
केही सार नपाउँदो दिन भयो पाएर निर्मोहनी ॥
खोपीचित्रसमानका युवति ती शोभा लिँदा सुन्दर ।
फुस्रा भै सब पग्लिंदो रस भयो च्याँठै बढी सत्वर ॥
(१०९)

आदर्शच्युत साधु झैं विषयको रङ्गीन आनन्दमा ।
फस्दा भित्र व्यथा कता हुदयको गर्दा क्रिया गन्धमा ॥
बारम्बार उठी विषाद गहिरो झोक्राउँदो भै मन ।
बस्थे जो नृप आज क्रोधवश भै सोच्छन्‌ त्यहाँ यो क्षण ॥
(११०)

हाम्रो जीवन नै छ चालु स्मृतिमा गुम्छन्‌ बुढा सम्झना ।
चोला फेर्नुसमान हुन्छ अघिका स्वप्नाहरू अल्पिई ॥
यौटा चीज सुदिव्यले अवनिको शृङ्गार टूना बनी ।
अल्पेमा सब फुस्रिजान्छ महिमा दुःखी बनी जीवनी ॥
(१११)

आफ्नै नेत्रअगाडि छन्‌ सुख तिनी लागी मिहीँ बादल ।
देख्दैनन्‌ विधि खेलले जुन थिइन्‌ संसारकी मोहिनी ॥
आत्मा झैं विषयादि आवरणले ढाकेर अन्धा हुँदा ।
आफ्नो दौलतबाट वञ्चित बने टूना बनी निर्दयी ॥
(११२)

आफ्नै खोजसमक्ष भै नबुझिने, सौन्दर्य बुझ्ने सब ।
निस्सारै सब देखिने, सब कुरा फुस्रा हुने वैभव ॥
आँखा देख्छ तथापि दृष्टि नभई साराशमा शून्य छ ।
हा ! उल्टो विधिको प्रपञ्चकटुता लीला अहो धन्य छ ॥
(११३)

ती दोटा दिलका चकोर र शशी प्रेमी चखेवा दुई ।
ती वल्ली तरु, ती अनङ्ग रति झैं ती अङ्ग न्याना रुई ॥
ती नानी ढकनी, कपोल बुकुवा ती रेवती चन्द्रमा ।
ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन्‌ यहाँ ॥
(११४)

आश्चर्यान्वित गौतमी-नयन छन्‌ केही नभै उत्तर ।
खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥
खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर ।
लाटो भै गहिराइबीच तमकी छन्‌ नेत्र मौनी तर ॥
(११५)

गाँठो आउँछ भुक्भुकेर मुटुको पट्टै फुटे झैं गरी ।
घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥
"हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन्‌ पनि ।
गर्दैनन्‌ शिव हाय ! क्रूर मनका कल्ले बनायो" भनी ॥
(११६)

बारम्बार मुहारमा नजरका छड्के परीक्षा गरी ।
झोक्रिन्छन्‌ अनि सोच्दछन्‌ मनमनै बिर्से भने झैं गरी ॥
यो हो नाटक वा अघोर कपटी या घोर हो विस्मृति ।
भन्दै छक्क परिन्‌ र बर्बर गिरे गालाभरी दुःख ती ॥
(११७)

फर्किन्‌ पुछ्‌न फरक्क त्यो वदनको शोभा घुमाईकन ।
लिन्छिन्‌ चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥
छोप्छिन्‌ फर्किनुले फुक्यो अझ अरू दाना सफा मौक्तिक ।
पुच्छिन्‌ फेरि र घुँक्क हुन्छ बिचरी रोक्छिन्‌ परी क्यै धक ॥
(११८)

हा ! प्रेमी मधुमालती कुसुमकी सोन्दर्यकी बैंसकी ।
आशा-पल्लवदार मञ्जु सपना जस्ता लिई कोपिला ॥
आनन्दी सुनकी उषा महल झैं त्यो भेट पर्खी बस्यौ ।
आई दुःख प्रवात फ्याँक्दछ त्यसै त्यो वृक्ष आफ्नो हुने ॥
(११९)

तिम्रा सुन्दर पुष्पका मृदुशिरा जस्ता मिही कामना ।
मीठा आश रँगीन ती पुलक झैं त्यो सूर्यको वासना ॥
वास्ता झैं परबाट तत्पर सधैँ इच्छाप्रकम्पी नयाँ ।
सारा दुःखित छन्‌ तिमी सजल छौ हा ! दैव हेर्छस्‌ कहाँ ॥
(१२०)

कल्ले बुझ्दछ वेदना हृदयको जो प्रेममा तीव्र छ ।
जो चिर्दै मुटु तीक्ष्ण धारहरुले तत्काल नै झर्दछ ॥
यौटा सुन्दर जिन्दगी सुनहला सारा खरानी भई ।
उग्ले झैं जुन भाव हुन्छ दिलमा त्यो कालभन्दा मिहीँ ॥
(१२१)

आफ्ना हार्दिक देवता पर हुँदा मानो पराई बनी ।
जो भोग्छे मृदु भावकी युवतिले टाढा बनी ती पनि ॥
जो द्यौता मृदु श्वास-श्वासहरुका गन्धादिले पूजिए ।
आँखाले पद धोइए र जसले हृत्‌केन्द्र गद्दी लिए ॥
(१२२)

आफ्ना सूर्यसमान रोजहरुका आशाहरूका घर ।
आफ्नो जीवन रत्नभित्र दिलका जो रोशनी सुन्दर ॥
जो सम्झी गह बन्छ नित्य रसिलो जो देख्न रातोदिन ।
कल्पन्थ्यो दिल तारकाअघि त्यसै आँखा भरेका दिन ॥
(१२३)

जो टाढा हुन गै थियो हृदयमा रूँ रूँ अँध्यारो सधैँ ।
जो सम्झी सपना जुरुक्क बिउँझी खोज्थी तकीया रुँदै ॥
प्यारो स्पर्श सरर्र जो दगुरिने हृत्केन्द्रसम्मन्‌ थियो ।
सोही आज हरे ! म चिन्दिनँ भनी क्या क्रुरतामा गयो !
(१२४)

के होला अब जिन्दगी शिव हरे ! संसारमा यत्तिकै !
घुम्छन्‌ फन्फन दुःखले कि हुन गो सारा कुरा विश्वमा ॥
आँखाले तर चेहरा अलि यसो गर्दी परीक्षा तिनी ।
आशाले अझ बाँधिएर रहँदी केही समाल्छिन्‌ मन ॥
(१२५)

रोक्केकी मृदुयौवनी कमलिनी पर्दा अँध्यारो परी ।
खुल्ला व्योम भनेर प्रात-समयी हावा उठी सर्सरी ॥
रुन्छिन्‌ झन्‌ अब मेघले सब चिसो पारेर ढाकीकन ।
भै आशा अति तीव्र त्यो कुडिइँदा क्या रुन्छ हाम्रो मन ॥
(१२६)

यी यात्री मृदुदेशकी सुन-सुनै फल्ने जगत्‌की त्यहाँ ।
देख्छिन्‌ कण्टक मात्र हाय ! हँसिली बन्दी रसीली यहाँ ॥
त्यो फुक्दो र उचालिँदो उछलिँदो त्यो स्मेर सानन्दता ।
धीमा भो, अब लाटियो मृटु बन्यो चीसो बढ्यो मन्दता ॥
(१२७)

आँखा-पानि त्यसै बनेर रहने पानी बनी आउँछन्‌ ।
बोल्लान्‌ स्वीकृतिको अझै वचन ती भन्ने तरफ् धाउँछन्‌ ॥
"हे आत्मा ! प्रभ्‌ प्राणनाथ किन हो ! के पाप मेरो भयो ।
भन्छन्‌ नेत्र नसम्झिने मकन नै आश्चर्य कस्तो अहो !"
(१२८)

बोली शून्य भएर तैपनि त्यहाँ गोली त्यसै बज्रिने ।
छातीमा तिनको दशा हुन गयो बज्रै त्यसै पग्लिने ॥
रूँ रूँ लाग्छ शकुन्तला मनमनै देखेर तिम्रो दशा ।
कल्ले बुझ्दछ हाय ! जो बुझिलिने शोभा निशाका दिशा ॥
(१२९)

जो रुग्छन्‌ निशि-अन्त्यमा कुसुमले ती आँसु तिम्रा भए ।
मेघाच्छन्न भए दिशा रँग रही आशा त्यहाँ झुन्डिई ॥
बन्दी त्यो पतला छ जो सुनहला लाली भई सत्वर ।
मानो अन्त्य छ शोणिताक्त दिलको आशा त्यहाँ नीरव ॥
(१३०)

क्या मालिन्य प्रकाशकी हुन गयौ राम्री घनाच्छादिता ।
प्रत्यूषै सम शीत झैं विरहकी पुष्पादिकी चारुता ॥
तिम्रो भित्र जहाँ दुखीकन बिझ्यो त्यो ठाउँको वेदना ।
त्यो काँढातिर दृष्टि नै दिनु अहो ! क्या क्लेशको सामना ॥
(१३१)

राम्रा कोमल ती सुगन्धतनुका आशावती कामिनी !
जो भोग्थे पृथिवीभरी युगयुगै प्रेमी सती झैं बनी ॥
ती सारा दुख घाउमा अब धपी यो नूनमा चूक यो ।
ज्यूँदो राख्नु छ क्रुर कर्म विधिको संसार कस्तो अहो !
(१३२)

स्त्रीका छन्‌ मृदु भावना कुसुम झैं धूलो परे आत्तिने ।
सारा जीवन प्रेमको मृदुलता देखे शिला खुम्चिने ॥
त्यो तिम्रो मुटु केन्द्रको ननिभने जो शब्द ठाडै उठी ।
गादीमा प्रभुको छ चक्कर लिँदो तीखो लिई क्रन्दन ॥
को सुन्छन्‌ तर यो धराभवनमा मेरै सिवा लौ भन ?
(१३३)

आयो बादल झुम्मिँदै गगनमा कालो भई खात नै ।
स्वर्गै आज चुहाउने छ जल जो लिन्छन्‌ रुँदै पात नै ।
काँपी आज लता रुनेछ वनमा गर्जिन्छ अन्याय यो ।
यस्ता कीर्ति प्रतापका नृपतिको यो क्रुरता न्याय हो ?
(१३४)

थाहा छैन हरे तिमीकन त्यहाँ केले बताऊँ हरे !
यौटा शापविषे क्रिया छ विधिको खुल्ने छ सारा हरे !
बर्बर्‌ आँसु झर्‍यो चल्यो हलचली त्यो बागमा कातर ।
काँपे हेर ! लता नरोउ अबले ! के बुझ्दछ्यौ हा ! तर ॥
(१३५)

बुझ्नेछन्‌ न त भूप आज सहजै त्यो आँसु झर्ला पछि ।
यो हो निर्दयता र ? ह्वैन विधिले खेल्दो छ माया रची ॥
आँखाका ढकनी निराशपनले आधा गर्‍हुँङ्गा गरी ।
ओराली भुइँ हेर्दछ्यौ अब हरे ! के भो भनी यस्तरी !
(१३६)

आशा फेरि उचाल्दछे पलक ती हेर्छ्यौ यसो चेहरा ।
झन्‌झन्‌ भ्रू अब खुम्चिई नृपति ती छन्‌ वृष्टिका झैं चरा ॥
आफ्नो बादल पार दूर नगरी हेर्दो कुनै पर्वते ।
देख्दो झैं कुहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते !
(१३७)

यस्तो चाल छ कालको र विधिको भन्ने बुझे यै क्षण ।
पानी मात्र बनी परी पयरमा माग्थ्यौ क्षमा सज्जन !
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अब ।
लागी घाउ छ लाल लाल सब त्यो चीरा परी नीरव ॥
(१३८)

देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी ।
रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कुहिरो झर्थ्यो वहाँ बर्बरी ॥
हे कारुण्यप्रशस्त सुन्दरमना आँखा हुने प्रेमले ।
अन्धो आज दशा लिई निठुर छौ हा ! सम्झ ती आँसु छन्‌ ॥
(१३९)

मानो जीवनको महाशिखरमा देखी सुनौला यश ।
ढिली छक्क बनेसमान घनले छल्दा बिलाई रँग ॥
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ?
स्वर्गैको सब ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥
भन्दै शोच विचारमा अति दुखी झुक्दी बगी निर्जल ।
चीसा वातहरूविषे हुन गइन्‌ ती षोडशी अद्भुत ॥
बल्लीले ऋतुका सिँगार रँगका राम्रा गरी बेसरी ।
पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥
लुक्दा भित्र चिसो हुँदा खबर नै बन्दा अँध्यारो दिन ।
रोएकी नफुलेर बर्बर गरी जस्तो भयो त्यो मन ॥
(१४०)

चखेवी प्याराको विरहरहमा रात सकिई ।
अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई ।
"भयो के यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥
(१४१)

"म ब्यूँझै नै बस्थें निशिभर उठीदेउन प्रिय !"
भनी बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥
यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै ।
नबुझ्ने के ठुँग्थे त्यसकन दशादुष्ट विहग ॥
(१४२)

हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु जब ।
शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥
फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि ।
लिपेका स्वप्ना झैं मलिन जगतै देख्दछ कवि ॥
(१४३)

सधैं रूँ रूँ लाग्थ्यो निकट नहुँदा प्रेम प्रभुको ।
हजारौं इच्छाका मृदुल लहरी श्वासहरुको ॥
तिमी छोडी रुन्थ्यौ खबर दिलका पत्रविनुका ।
बढाई हावामा तर अब उनैमा यवनिका ॥
(१४४)

रहे ! साना साना मृदुल जलदानाहरु बनी ।
उठे मीठा नाना हृदय रहने भाव नभनी ॥
भनूँला जो भन्थ्यो कति कति कुरा छेड रसिला ।
बिलाए, झस्केका विहगसरि पर्दा शिर शिला ॥
(१४५)

"त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी ।
भनूँला झैं लाग्थ्यो रिससित उचाली गह पनि ॥
"हरे त्यस्तो ढुङ्गो हुनु ? दिल रुवाई यति दिन ।"
भनूँला झैं लाग्थ्यो कति सब कुरा पाइ मिलन ॥
अडी छाती रूँला रस विरहको दीर्घ वनको ।
तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥
यही भेटी मेरी भनिकन चढाएँ, छ बदला ।
भनी ल्यूँला मीठो वचन कर लाईकन गला ॥
भनी सोच्थ्यो जो जो गृहसरसता चाख मधुर ।
बनी रानी सानी उपवन चहारेर रहर ॥
पुर्‍याई आनन्दी हुदयसँग खेलाइ प्रहर ।
रहूँला भन्ने ती मृदुलपन हुन्छन्‌ थरहर ॥
(१४६)

कुनै भत्केकी झैं मृदुल सपना आज बिचरी ।
अझै आशा गर्छिन्‌ हृदय जप गर्दी प्रभु हरि ॥
हरे ! सम्झईद्यौ न त अब म मर्नेछु सहज ।
दया राखी जाओस्‌ प्रभु विरहितामा शिखिध्वज ॥
(१४७)

उठे आँखा लामा अलि अलि गरी माथितिर नै ।
घुसिन्‌ भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥
हरे ! के लीला यो निठुर मनले भन्दछ त्यहाँ ।
कहाँ गो प्याराको हृदय कलिलो पुष्प वनको ?
(१४८)

वनबाट विहङ्गबालिका ।
नव आशासँग पङ्ख ली उडिन्‌ ॥
मृदु शब्द गरी खुसाउँदै ।
तरुमा फुल्न सुगन्धमा चढिन्‌ ॥
(१४९)

तर वृष्टि भएर बादल ।
अब रुक्दो मृदु पङ्ख खुम्चिँदी ॥
दुखको तरुमा रूँदी रहिन्‌ ।
अघिको सौख्य र याम सम्झिँदी ॥
(१५०)

कठै लाग्यो होला मनमन निठूरी जगत नै ।
कठै सम्भीहोलिन्‌ वन, सखि बिहाको पनि दिनै ॥
कठै उघ्रेको त्यो दिवस हँसिलो आज यसरी ।
रुँदै बद्ली जाँदा सकल बदली झैं हुन गई ॥
कठै लाग्यो होला भव विपिन यो कण्टकमय ।
कठै ! रोईहोलिन्‌ मनमन उठी त्रास र भय ॥
दुख्यो होला सारै हृदय मृदुलाको कति बरा !
कठै लाग्यो होला शर हृदयमा हा वनचरा !
(१५१)

छकाएको होला मकन कि भनी उज्ज्वल बनिन्‌ ।
अझै आशा गर्दी जलद अलि उघ्रेसरि फिका ॥
चियाइन्‌ राजाको मुखतिर उनी, क्रुद्ध सहसा ।
उनी भन्छन्‌ "यो के छल ? नबुझिसक्ने छ बहस ॥
(१५२)

कहाँ मैले देखें यिनकन कहाँको वनतिर ?
यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
न जानें नामै नै न त कुल न पाएँ परिचय ।
कहाँ बस्थिन्‌ पैले कुन घरविषे कौन जनको ॥"
(१५३)

शारङ्गवत्‌ अघि सरे अब भूपलाई ।
राम्रो गरीकन कुरा सब भन्नलाई ॥
"सर्कारको हुन गयो वनमा सवारी ।
राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
(१५४)

बेला थियो मधुर पुष्प र मञ्जरीको ।
खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
ज्यादा थियो शरम अग्र भएर आई ।
'त्यो हो कुटी-मृग' भनीकन विन्ति लाई ॥
रोकेर आश्रमविषे प्रभुको सवारी ।
भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
टाढा भएर ऋषि कण्व यिनीहरूले ।
सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
सेना त्यसै समयमा प्रभुतर्फ आयो ।
'बस्छू' भनेर वनमा प्रभुबाट आज्ञा ॥
पाएर ती सब गए प्रभु राजधानी ।
केही बसेर दिन त्यो वनमा बिहा भो ॥
यी सुन्दरीसँग, यिनी ऋषिकी सुता हुन्‌ ।
गान्धर्व जो जब विवाह परेर काम ॥
सङ्ग्रामको प्रभु सवारि भयो स्वधाम ।
यी गर्भिणी हुन गइन्‌ यिनको छ नाम ॥

पन्छीहरू सखि बनेर 'शकुन्तला' जो ।
जाहेर नै छ प्रभुमा अब सम्झिपाऊँ ॥
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाऊँ ।"
(१५५)

सुन्दा यस्ता वचन ऋषिका शिष्यका, भूप फेरि ।
बिर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥
"यो के ठूलो छल सब मिली गर्दछन्‌ रे मलाई ।"
भन्दै क्रोधी वचन नबुझी भन्दछन्‌ च्याँठ आई ॥
(१५६)

"बिक्री गर्ने मन यदि भए आज जाऊ बजार ।
यस्तो झूटो विषय ठगले किन्न यो के अपार ॥
कस्ता उल्का समय बिनुका बात गर्छौ विचित्र ।
झूटो सारा छल अब बुझें क्या अनौठा चरित्र ॥
(१५७)

आफ्नो कोखो अब गर खुला गर्भिणी सुन्दरी छ्यौ ।
मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥
भेटै हाम्रो त्रिभुवनभरी हेर ! काहीं भएन ।
को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥
(१५८)

मैले तिम्रो न त श्रवणले नामसम्मन्‌ सुनेथें ।
भेटी काहीं न त्रिभुवनमा एक बातै भनेथें ॥
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ?
को भन्ठान्यौ मकन जसले इन्द्र तुच्छै गनेथें ॥
(१५९)

आमै ! छोरीकन लग त यी ह्वैन यो गर्भ मेरो ।
झूटो वार्ता नगर अब लौ काट्दछ्यौ राज्य-फेरो ?
कस्तो होला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला ।
जाऊ जाऊ शहरतिर यी सुन्दरी एक किन्ला ॥
(१६०)

नाकै काटी मअघि यसरी आउनै लाज छैन ?
मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥
को हो को हो कुन पुरुष हो के लिई नाम मेरो ।
धौका पार्‍यो युवति यसरी त्यो ठगीले चमेरो ॥"
(१६१)

आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली ।
भन्छन्‌ गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥
"यो हो के धर्म पुरुषहरू सत्य सारा अफाली ।
जाली बन्दै युवतिकन के फ्याँक्दछन्‌ दूर नाली ॥
(१६२)

टाली झुत्रो यश जगतको त्रासले मर्म फाली ।
हाली यौटीकन जलधिमा दुःखको अग्नि डाली ॥
जाली बन्ने 'नृपति म' भनी धर्म औ नाम फाली ।
यस्ताको कीर्ति त्रिभुवनमा बन्दछे दीर्घ काली ॥
(१६३)

भो भो नानी सरस प्रभुको सम्झना आउनेछ ।
टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥
आफैं केही विषयहरुमा देउ छोडी प्रकाश ।
झोंझै बन्दा सकल भुलिने हुन्छ है राजकाज ॥"
(१६४)

बोलिन्‌ सरेर अघि सुन्दर मिष्ट वाणी ।
दुष्यन्तका नजरसाथ शकुन्तलाले ॥
केही प्रयत्नसित भाषण पाउँदी ती ।
वर्षाउँदी दृग मनोहर चारुताले ॥
(१६५)

के के भनूँसरि भयो अघिबाट फेरि ।
चाँडै समालिन गइन् अझ आश गर्दी ॥
हेरेर नेत्र दुइमा नृपको पुकारा ।
गर्दी भइन्‌ मृदुल-शब्द-सुभाष-धारा ॥
(१६६)

"कसोरी बिर्सेको मकन प्रभुले कोमल-मना ।
रुँदै मर्जी हुन्थ्यो गहभर लिई सुन्दर कणा ॥
तिमी मेरी ज्योत्स्ना हृदयविधुरानी कुसुमकी ।
तिमी बास्ना मीठी कुसुम-ऋतुकी चारु सपना ॥
(१६७)

तिमी आमा मेरी ललितवदनी पूर्व-गगनी ।
उदाएकी स्वर्ग प्रचुर घनकी ज्योति-नयनी ॥
चराको भाषाले हृदयवन गुँज्ने नव-जगत्‌ ।
उघार्ने शोभा छौ, दिन शुरु हुने जीवन भनी ॥"
(१६८)

यहाँ लाली चढ्दी मृदुल महिमा दिव्य सुखकी ।
अडी भन्छिन्‌ केही "रविसरि म भन्थें प्रभु पनि ॥
अँगालो हालेका छविकन उषाको शिखरमा ।
सुनौला स्वर्गैको जगभर उडाएर महिमा ॥"
(१६९)

यहाँ लज्जा मानी परतिर यसो हेर्न छविली ।
बनिन्‌ लाली लाली द्विजवर र माता मुख मिली ॥
अहो ! छीटो स्त्रीको हृदय कति यो भावुकपना ।
सबै बिर्सी बोल्छिन्‌ दुख हृदयको फेरि मधुरी ॥
(१७०)

फुल्यो लाली राम्रो कसुमसरि चैते विपिनमा ।
समाल्छिन्‌ झुक्दी ती अनि पछि उदासी नजरले ॥
"कसोरी बिर्सेको मकन प्रभुले कोमल-मना ।"
भनी भर्छिन्‌ आँखा "सब हन गयो एक सपना ॥"
(१७१)

"कसोरी बिर्सेको झलझल छ मेरो नजरमा ।
बिहाको त्यो वल्ली कुसुमित मुनाको रहरमा ॥
'बन्यौ मेरी' भन्दै मुसुमुसु गरी चारु नयन ।
सिँदूरे रेखाले अरुण गरिबक्सेर मकन ॥
(१७२)

चिरेको स्यूँदोमा दिनकर प्रभा झैं परिगयो ।
अहा धर्के शोभा जलदबिच कालो ललित यो ॥
भनी हाँसी मेरो हुदयघनमा छाप अरुण ।
सही तिम्रो पारे अन त कसरी उम्कनु भन !
भनी मर्जी हुन्थ्यो, त्रिभुवन छ बिर्ता तिमीकन ।
मलाई, हे स्वामी मृदु अधरले केवल भन ॥
भनी च्यूँडो मेरो मृदुल करले सुस्तरि लिई ।
उचालीबक्सेथ्यो अरुण म भएँ फर्किन गई ॥
तिमी फर्की बन्छ्यौ निशिसरि अहा केश घनले ।
म जून्कीरी बन्छू धपधप बली मुग्ध मनले ॥
भनी मजी हन्थ्यो छ र सब कुरा भुल्न सकिने ।
त्यसै बिर्सी बस्ने प्रभु, झलल सम्झन्छु म भने ॥
(१७३)

चरी बोली मीठो किसलयविषे प्रश्न सुरिलो ।
तिमी कस्ती लज्जारहित वनमा लुक्न चतुरी ॥
कता टिप्दै बोल्छ्यौ किसलयहरूमा नवनव ।
तिमी को को भन्दै मकन गरि सम्बोधन अब ॥
भनी मर्जी हुन्थ्यो हृदय पनि लज्जासित सुनी ।
'कहाँ को हो को हो' पिकरव म सुन्थें त्यस ध्वनि ॥
कसोरी बिर्सेको श्रवण अझ गुँज्दो छ मनको ।
कहाँ छन्‌ ती वाणी कुन हृदयमा के सुमनको ?
(१७४)

मलाई प्यारो त्यो मृग-शिशु अनौठा सुखसँग ।
गरी आयो फुर्फुर् छुनुमुनु गरी पुच्छरकन ॥
हुँदा गर्मी झिक्थ्यो मृदुल रसना त्यो मृग पनि ।
दिईबक्सेथ्यो क्या मृदु कमल पत्तीबिच जल ॥
(१७५)

कसोरी बिर्सेको प्रभु विपिनको सुन्दर कथा ।
प्रभाका प्रेमीका मकन दिलको सुन्दर ज्यथा ॥
वसन्ती बारीमा मदनधनु-टङ्कार मृदुल ।
सुनी मूर्छा बन्दी छुन कमलको सुन्दर दल ॥
ढिपी छर्की पानी जब मृदुलता ब्यूँझिन गइन्‌ ।

बनिन्‌ प्रेमी मीठी चकित दृगकी भास्करसँग ॥
पिताले मानेनन्‌ तर विरहमा आसुहरुको ।
सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥
बने बेली दोटै हृदय करुणाले प्रभुजिका ।
अझै फुल्छन्‌ बास्ना मधुरसँग हाँसेर हलुका ॥
छिपाई यौटाको हृदयकन अर्को हृदयमा ।
चरा सिर्जे मीठा सुमधुर प्रशंसा उदयमा ॥
जगत्‌का कर्ताले दुइ दिल बनी जून हँसिला ।
सुधा प्युँदै बस्छन्‌ विधुकिरणका गन्ध रसिला ॥
भनी मर्जी हुन्थ्यो, अब दुइ गरौं साथ जपना ।
सधैं बन्ने त्यस्तै- भुलनु कसरी ? हाय ! सपना ॥
(१७६)

मलाई दी औंठी समर-थलामा शत्रुदमन ।
जसै फर्कीबक्स्यो हृदय तब रन्थ्यो दिन दिन ॥
बनाई घण्टी झैं मुटु, जलदृशीपूजन गरी ।
सधैं बाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥
बनाई दुःखैको भवन दिलमा मन्दिरसरि ।
म बस्थें पूजामा गहभर हवा चामर गरी ॥
त्यही बाली ज्वाला प्रणय-दिलको कोमल मुना ।
चढाई आशाका निशिसरि उषा भक्ति-नमुना ॥
हरे बिर्सीबक्स्यो ! क्षण क्षण रुँदी हाय ! जपना ।
यसो होला भन्ने मकन न थियो बीच सपना ॥
(१७७)

भयो चीरा-फाटा मुटु धरधरी छाति चिरियो ।
थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा ।
रुझेकी पन्छी झैं मरणनजिकै पुग्छु अब ता ॥"
(१७८)

भनी झारी बर्‌बर्‌ नभनिसकिने जीवनकथा ।
अरू बाँकी रुन्छिन्‌ "शिव अब गयो जीवन ज्यथा ॥
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ?
हरे ! यस्तो क्रूर प्रकृति प्रभु के कारण हुने ?
(१७९)

छकाएको होला मकन प्रभुले, त्यो स्मृति त्यसै ।
कहाँ लुक्दी होली मृदुल दिल यस्तो निठुर भै ॥
भएको के यस्तो अवनि तिमिराच्छन्न बदली ।
बनाई रोएकी प्रकृतिकन दी बज्र नगली ॥
(१८०)

हरे हुन्छन्‌ सारा पुरुष भँवरा कृष्ण रँगका ।
भनी जाने देखी किन कुसुम सुम्पी हृदयका ॥
सबै बास्ना मीठा मधुरस सबै सुन्दर शिरा ।
तिनैमा अर्पन्थे युवतिहरुले हाय बिचरा !
(१८१)

मलाई दी औंठी समर-धलमा शत्रुदमन ।
. जसै फर्कीबक्स्यो स्मृति पनि हराई उस क्षण ॥
बहाना झूटो वा ? मकन कि परीक्षा हुन गयो ।
भनी लाटी सोझी सरलहृदया रुन्छु नि रुझी ॥
(१८२)

कतै खोजीबक्स्यो हृदयतिर कूना तिमिरमा ।
मलाई सानो क्वै रुन दिनदिनै बास वनमा ॥
चरी जस्ती सानी गुँड अब लगाएर त्यसमा ।
म रूँला दीना भै यदि अरु चढून्‌ भित्र मनमा ॥
(१८३)

नपाए यो पन्छी अब अवनिमा हुन्न मरिगै ।
पर्‍यो धोका ठूलो अब त ठहरै आज परिगै ॥
दया राखी जाओस्‌ न त म बिचरी यो त्रिभुवन ।
अँध्यारो पाएको मरु अब मरें घोर गहन ॥"
(१८४)

पुकारा गर्दी ती सजलनयनी दुःखित हुँदी ।
उठी, घुँक्का खान्छिन्‌ अब वचनमै दुःख नबनी ॥
कठै केले छोप्यो हृदय नृपको आज गहन ?
न ता सक्थे त्यस्तो विरह उनको क्रुर सहन ॥
(१८५)

दया केही लाग्यो तर हृदयले यो छल भन्यो ।
बने आँखा ठूला नरम तर धोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रूर कपट ।
परे जस्ती छन्‌ हा विकट दुःख अन्यायनिकट ॥
(१८६)

विधाताको लीला तर अब म के गर्न सकुँला ?
न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै ?
यिनी रुन्छिन्‌ धर्‌धर्‌ तर जगत नै आँसु छ सदा ।
दिई पैसा केही यिनकन गरूँ क्यार कि बिदा ॥'
(१८७)

भनी सोची भन्छन्‌ "छल हुन गयो घोर वनमा ।
कुनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो धोका पर जब भयो क्रूरहृदय ।
तिमी सोझी ठान्थ्यौ मकन पति झैं बीच विरह ॥
(१८८)

छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
म तिम्रो स्वामी हूँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हूँ नृपति तर झूटो नृप गयो ।
बिचारी सीधीको विरह र विजोगै हुन गयो ॥
(१८९)

तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
सधैं सम्झी स्वामी शिखिमुकुट श्रीकृष्ण उकन ॥
बसे पूजाआजासित अब गई मन्दिरतिर ।
दिएँ धोका मैले ? तर अब नरोईकन भन ॥"
(१९०)

भनेको सुन्दा ती विरह रह झैं टल्पल गरी ।
पुकारा गर्छिन्‌ "हा ! धन-पयरको पांशु छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभुवनी ।
गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
रुँदै झुल्किन्‌ मोतीहरु नयनका बर्बर गरी ।
धनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
(१९१)

रिसाए राजा झन्‌ "शरमनबिनुकी दुष्ट गठरी ।
यहाँ केको नाता मसित अब जोड्छ्यौ मनपरी ॥
तिमी वेश्या हौ ता झिलिमिलि छ आनन्द लहरी ।
हजारौं गुण्डा छन्‌ तिनकन फकाऊ छल गरी ॥
(१९२)

म के लाटो हूँ क्वै ? छलसित त्यसै ठग्न सकिने ?
तिमी रानी बन्ने मतलब लिई गर्भ तुहुने ॥
मलाई भारी झैं शिरउपर राखेर महिषी ।
विलासी हूँ भन्छ्यौ, पर सर धपाएर भइँसी ॥"
(१९३)

सुनी, क्रोधी बोले द्विजवर बने झन्‌ नजरका ।
फिलिङ्गा झै राता कटु वचन बोल्छन्‌ अब उनी ॥
"तिमी राजा भन्दै सब जन थिची न्यायरहित ।
गरौंला राज्यै के बुझ अब छ गुम्ने सुखसित ॥
(१९४)

बडा अन्यायी यी सजलनयनीसामु वचन ।
गरी राख्छौ दर्जा कपट छलले विश्व निलन ॥
उसै होला तिम्रो कपट जगको राज्य बलियो ?
नभन्‌ आत्मा दोषी भुवन सहजै बल्छ छलियो ॥
(१९५)

रुनूपर्ला राजा ! नजर दुखियाका सरि बनी ।
सबै शेखी झर्ला यश सब उठी बुङ्ग अवनी ॥
बनी छोरो आई विकट हरि अन्याय गढमा ।
त्यस ठूला बन्छौ छलसँग नजान्ने अपढमा ॥
(१९६)

यही गद्दी काँपी थर थर गरी आश्रयविना ।
असत्‌ले घर्केला कपट, बदला रुन्छ पतन ॥
त्यहाँसम्मन्‌ राजा जबतक रह्यो न्यायसहित ।
हुँडारै हौ अन्धा द्विज अघि बने न्यायरहित ॥
(१९७)

तिमी के इन्साफी हृदय यदि कालो लिइरहे ।
तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
परे नर्कै राजा कपट छलले दूषित रहे ॥
(१९८)

अनेकौँ राजाले मुकुटमणि फ्याँकीकन गए ।
प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
यशस्वी ती हुन्‌ जो विमल-दिलका सुन्दर थिए ।
कलङ्की शोभा नै शठ नृपतिका भूषण भए ॥
(१९९)

छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
लुकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
दुखायौ यो आत्मा हृदय कलिली वेधन गरी ।
कहाँ जान्छौ आत्मा ! अब रुन तिमी हाय नि मरी ॥
(२००)

फुटुन्‌ किल्ला काला अनृतपथमा ठक्कर मिलोस्‌ ।
करौंतीलै खाऊन्‌ हृदय छलका दन्तहरुले ॥
धरा काँपून्‌ सारा गडगड गरी डग्मग भई ।
लडून्‌ शेखी तिम्रो घररर लडोस्‌ यो छल-पुरी ॥
(२०१)

लिँदैनौ यि तिम्री, नियम ऋषिको रोक्दछ अब ।
बनिन्‌ वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सब ॥
यही छोडी जान्छौं जननि ! अब हिंड्नोस्‌ घरतिर ।
लुछून्‌ काटून् खाऊन्‌ यिनकन र जाऊन्‌ यमपुर ॥"
(२०२)

घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
नरोइन्‌ ती फेरि प्रकृति पनि तर्सेर बिचरी ॥
थियो झर्‌झर्‌ भर्दो तलतिर दुखी गर्जन झरी ।
तिनैका आँखाका जललव भरेझैं वनभरि ॥
(२०३)

बनिन्‌ मानो कोही सुरयुवति जस्ती तल झरी ।
रुझेकी लाटी झैं गहन वनमा के गरूँसरि ॥
धरामा झर्ने जो त्रुटि सुरपुरीको महलका ।
सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥
(२०४)

कठै ! कस्ती दुःखी कठिन जगको जाल नबुझी !
त्यसै फुल्दै हिल्दै सरलहृदया स्वर्गृह रची ॥
सुनौला स्वप्नाका सुखसित फिरिन्‌ हाय बबुरी ।
यहाँ बज्रै चड्केसरि हुन गइन्‌ कोमल परी ॥
(२०५)

"चिनो के रे तिम्रो ?"" नृपति तब बोले उनतिर ।
"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥
दुवै दायाँ औंला चकित अब पारी गजब छन्‌ ।
"कहाँ गो औंठी त्यो ?"" भनिकन पुकारा नजरकी ॥
(२०६)

"नबस्ने हामी ता कपटदिलका यी निकटमा ।
हिंडौं आमा ! हामी अब लुछिरहून्‌ मासु यिनको ॥
अमीलो बास्नाले सुख हुदयमा हुन्छ नृपते !
उसिन्दै खाए है, मृदुलवदनीलाइ सुखले ॥"
(२०७)

भनी तर्दै आँखा रिससित चले बाहिरतिर ।
बसे ढोकामा ती "जननि हिंड" भन्दै कर गरी ॥
"कहाँ गो औंठी त्यो ?" वरपर छ सोद्धा नि नजर ।
"हरे ! खै त्यो आमा ! न त विधि भयो चोर प्रखर ॥
(२०८)

अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा ।
उडूँ झैं हुन्छिन्‌ ती तर अब निराशा छ गतिमा ॥
"हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो ।
जरूरै चीसो त्यो सरतिर निठूरी हरि ! हरि !"
(२०९)

बने आँखा वृद्धाकन सजल छोरीतिर दशा ।
निहारी आँखाका हृदयतिर रूँ रूँपन हुँदा ॥
"अभागी रैछौ नि प्रकृतिदुहिता मोहनपरी ।
तिमी रानी ह्वौली सब जगत भन्थ्यो वरिपरि ॥"
(२१०)

भनी हेर्छिन्‌ वृद्धा, द्विज दुइ बसी द्वारनिकट ।
"हिंडूँ ! आमै" भन्दै करकर गरी क्रोधविकट ॥
"न जाऊँ छोडेरै, न त अब अडी विन्ति गरुँ नि !"
भनी दोधारे छन्‌ "बस नत्यज-अड्डी लिउ" भनी ॥
"बुझाई यो आफ्नो हक र घर सम्झी अब बस ।
बरू नोकर्नी झैं पनि हुन गई सत्यविवश ॥"
(२११)

त्यहाँ बोले राजा "अबुझ नकटीहो ! पर सर ।
कहाँकी टाँसो यो ? यसकन लगीद्यौ जनि गर ॥
शरापी के गर्छौ छल कपटका मूर्तिहरुको ।
मलाई थाहा नै नभइ कसरी गर्भ हुन गो ?
(२१२)

शरापे झूटाले मकन डर क्यै छैन शठहो !
सराप्छन्‌ गुण्डाले शहरभर मर्नेहरु पनि ॥
सफा न्यायी राजा खुद समरमा चल्दछ घुमी ।
खराबी गर्नेका वचन सब काटी कटकटी ॥
(२१३)

तिमी जाऊ आमै ! ऋषिकन सुनाऊ सब यही ।
यिनी ह्वैनन्‌ मेरी छल-कपटको गर्भ बिचरी ॥"
नबोल्दै यौटा ती कटु वचन बोल्छन्‌ द्विजवर ।
"अरे !' टोकिदे त्यो हृदयकपटी हे विषधर !"
(२१४)

सुनी रन्की ताती वदन अब रातो हुन गई ।
भए आँखा ठूला "नबक बढता बाहुनचरी ।
म सच्चा बोल्दो छु प्रकृतपनको न्यायसहित ।
तिमी झूटो सम्झी वचन किन छौ बुद्धिरहित ?"
(२१५)

"हिंडूँ आमै !" भन्छन्‌ द्विजवर नसुन्दा रिससित ।
"कसोरी छोडूँ नि ! स्वहृदय यहाँको जनसित ?
बनी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
अभागी हा बाबा ! निठुर विधिले छौ नि पथरा ॥"
(२१६)

"हिंडूँ आमै" भन्छन्‌ रिससित अझै ती द्विजवर ।
"वहाँ बन्ने आमा शहर कुटुनी के छ रहर ?
शिला पग्लेला है तर हृदय जो दृष्ट छ तहाँ ।
कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
(२१७)

न मानैको तिम्रो डर न भरपर्दा वचन छन्‌ ।
यहाँ राजा छैनन्‌ अब मरिसके दूर पर छन्‌ ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरुँसरि ।
यसो हेर्थिन्‌ आँखा भरिभरि बनाई वरिपरि ॥
(२१८)

हिंडिन्‌ वृद्धा ढीली सजलनयनी त्यक्तदुहिता ।
उचाली आँखाका जल नृपतिको आकृतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि बनिन्‌ ।
"भलो होला राजा" यतिसित घुमी ती पनि हिंडिन्‌ ॥
(२१९)

सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिंडिन्‌ फन्‌फन्‌ क्रोधी युवति अब ती अप्सर-सुता ।
पुगिन्‌ ढोकासम्मन्‌ मरुबिच रुझे झैं अब यता ॥
(२२०)

कठै ! जस्तो सारा महल वनको राज रहने ।
हुनूपर्थ्यो जस्को हुकुम शिरमा गर्व नहुने ॥
लिई गद्दी बस्ने जुन महलमा जून हँसिली ।
उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
(२२१)

पुगिन्‌ क्रोधले फन्फनाई विचेत ।
तिनी एकली ध्येय उद्देश्यहीना ॥
पुगिन्‌ पोखरीको नजीकै किनारा ।
त्यहाँ हाय ! लोटिन्‌ हरे ! ती बिचारा ॥
(२२२)

थियो चढ्नु जो स्वर्गको नै अटाली ।
जगत्‌की बनी एकली दिव्य रानी ॥
तिनी भारले दुःखकी झन्‌ विचेत ।
झरेको छ झर्‌ झर् जहाँ आज पानी ॥
(२२३)

दुवै नेत्र फर्की गरे झैं पुकारा ।
थिए नानिमा दुःख एकोहरा भै ॥
हिलोमा झरेकी तिनी फूल राम्री ।
हरे ! आँसु भर्छिन्‌ सफा चित्र हाम्रा ॥
(२२४)

कठै ! एकली हेर । बग्दो हिलामा ।
बरा ! कर्मले वैलिएकी तिनी छन्‌ ॥
हिलामा परेको छ सारा सिँगार ।
थियो आशको जो नयाँ रूपदार ॥
(२२५)

झरे केशका स्वर्गका सुक्त दाना ।
झझल्‌झल्‌ गरी बाहुमा गुड्नलाई ॥
हुँदा दुःख ज्याला दया भो बिहोश ।
सबै चीज रुन्छन्‌ रुलाई मलाई ॥
(२२६)

परीकी तिनी फूल झैं दिव्य छोरी ।
हरे ! विश्वकी मोहिनी आजलाई ॥
धरामा पछारी दिने क्रुर कर्म्म ।
कहाँ लाग्छ माया निठूरी तँलाई ?
(२२७)

"हरे ! मृत्यु मीठो तँ आ आजलाई ।
लगीदे फुटेकी अभागी मलाई ॥"
भनी प्राणको प्रार्थनामाथि जाँदा ।
गिर्‍यो बज्र चड्की चिरी मेघ आधा ॥
(२२८)

हरे ! सक्दथे स्वर्गका देवताले ।
कहाँ खप्न यो दुःख चिम्लेर आँखा ॥
गिरेकी कलिली अभागी प्रसून ।
जसै लोटिहालिन्‌ हुँदा दुःख ज्यादा ॥
(२२९)

झल्‌झल्‌ झिल्ल चट्याङ्ग घर्घर गरी चीरा परी बादल ।
चड्क्यो बज्र अतासिइन्‌ प्रकृति नै थर्थर्‌ भयो भूतल ॥
देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका ।
आइन्‌ चट्ट लिई गइन्‌ पर कता प्यारी गिरेकी सुता ॥
(२३०)

द्वाविंशतितम सर्ग

खुल्यो फेरि आकाश नीलो उज्यालो ।
सफा धोइएको कलीलो बनेर ॥
तुवाँलो पखाली मुनामञ्जरीमा ।
हरा रङ्ग ताजा रसीलो गरेर ॥
(१)

हट्यो दूर फट्कारिई मेघमाला ।
सफा घामलाई कलीलो गरेर ॥
हवा शीतलो बन्छ अल्छी विलासी ।
'कसो भो ?' भनी पालुवामा चुमेर ॥
(२)

कुनै धोइएको सफा चित्रतुल्य ।
भयो दृश्य त्यो रूप टड्कारिएर ॥
थिए शैल नाला सफा दूर-देखा ।
थिए सूर्य बित्ता उँचा साँझनेर ॥
(३)

कतै झल्किएका थिए बूँद झर्झर्‌ ।
हरा पात हिल्दा फुटी रङ्ग धेर ॥
मुना बालजस्ता नुहाएर नाच्थे ।
थिए ती कलीला हरा रङ्गले'र ॥
(४)

गयो सानु पाठो त्यसै फुर्फुरे भै ।
बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥
खुल्यो दोहरो रङ्गको दिव्य लच्का ।
टुटेको त्यहाँ पूर्वको कोणनेर ॥
(५)

"नजा मिट्‌ठु ! आ-आ हिलोमा गएर ।
कहाँकी हरे ! चञ्चले मैलिएर ॥
नठोकी तँलाई त पख् मिट्‌ठु कस्ती ।
नमान्ने अजीरा त्यसै मात्तिएर ॥"
(६)

भनी कुद्दछिन् हेर ! श्यामा पछाडि ।
छलूँ भन्छ ऊ फूर्तिले बाङ्गिएर ॥
परैसम्म झन्‌ झन्‌ लग्यो खान गाली ।
हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥
(७)

कराएर म्याँ म्याँ कलीलो सुकण्ठी ।
झिकी पात झैं पातलो लाल जिभ्रो ॥
हुँदा दूर केही नजीकै पुगेमा ।
त्यसै फुर्फुरे भै घुमी उफ्रिएर ॥
(८)

लग्यो हेर श्यामा कुदाएर टाढा ।
किनारा पुगिन्‌ पोखरीको कुदेर ॥
जहाँ सिल्मिलाएर पानी हरीयो ।
न लिन्थ्यो कुनै चित्र छाया परेर ॥
(९)

लग्यो स्नानको भूमिमा हेर श्यामा ।
कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥
पुगी टक्क अडक्यो त्यही ठाउँनेर ।
जहाँ गौतमी स्नान गर्थिन्‌ सबेर ॥
(१०)

गरी मिष्ट गाली लिएकी उचाली ।
त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥
यसो हेर्दछिन्‌ देख्दछिन्‌ झल्किएको ।
कुनै चीज ती बैंसवाली उज्याली ॥
(११)

नुही त्यो टिपी देख्दछिन्‌ एक औंठी ।
पछी हेर्दछिन्‌ हेम झल्झल्‌ उज्यालो ॥
थिए काटिएका त्यहाँ तीन दाना ।
सफा चारु रेखा लिई चारु बान्की ॥
(१२)

खुशी भै त्यही म्वाइँ खाएर चट्ट ।
तिनी भन्दछिन्‌ "गर्नु गाली त झट्ट ॥
खराबै छ मिट्‌ठू नबुझ्दा तँलाई ।
म हप्काऊँदथें के मिलाइस्‌ मलाई !!"
(१३)

दुवै झोपडी फर्किए शान्त पाठो ।
मिली पुष्ट छाती परीगो लुटुक्क ॥
त्यहाँ देख्छ औंठीविषे त्यो किसान ।
सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥
(१४)

"अहो ! यो त औंठी महाराजको हो ।
म लैजान्छु यो आज नै राजधाम ॥"
भनी त्यो सफा वस्त्र आफ्ना लगाई ।
तयारी भयो राजप्रासाद जान ॥
(१५)

"औंठी ले'र किसान आउँछ कुनै औंठी महाराजको ।
जो पाएँ तटमा सुचारु सरको यै साँझमा आजको ॥
भन्ने गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन ।
किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥"
(१६)

भन्ने विन्ति परी "ल ले त" नृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकुन्तलाकथनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निठुरता छाती छिया झैं बनी ॥
(१७)

"केले विस्मृति भो मलाइ यसरी केको पर्‍यो बादल ?
केले हा ! कलिलो मुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दो पुकाराकन ।
पाषाणैसरि क्रूर भै नजर यो बिर्सें कसोरी भन !
(१८)

हा ! हा ! दैव बनाउँछस्‌ तँ सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँधरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृदुलाङ्गिनी जब थिइन्‌ सौन्दर्य आँखाभरि ॥
(१९)

धिक्‌ ! आँखा चिनिनस्‌ तँ कान बहिरो धिक्धिक् तँलाई पनि ।
धिक्‌ ! मेरो दिल त्यो पुकार सुनिनस्‌ आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुझी सारा उदासी थिए ।
त्यो दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेइमानी भए ॥
(२०)

चड्क्यो बज्र चट्याङ्ग हाय शिर यो मेरो थियो झन्‌ कडा ।
पोख्थे स्वर्गपरी धरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा रूँ रूँ गरी हुन्हुनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
(२१)

माया-मोह महान्‌ भुलाउँछ हरे ! मूर्खै बनाईकन ।
बेची राज्य म किन्दथें जुन परी ढुङ्गो बनें त्यागन ॥
अज्ञानी मन जङ्गली हुन गयो हीरा त्यसै फ्याँकिइन्‌ ।
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन्‌ ॥
(२२)

मीठा कोमल शाब्दले नजरले बोल्दा भिजेका बडा ।
काँपेका दिलले चरीसरि कुनै वर्षा बिजूली अघि ॥
रुन्थिन्‌ लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो ।
पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माधुरी ॥
(२३)

यौटा आँसु गडेर गोल लव झैं गाला छुँदो लर्बरी ।
टप्कूँ टप्कूँ गरेर त्यो अडिरह्यो दुःखै थियो माधुरी ॥
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन्‌ तिनी ओठले ।
मीठा बात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥
(२४)

त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले रूँदा ।
यस्तो घोर भएर विप्लव त्यसै स्वर्गै वहाँ वर्षिंदा ॥
केही सम्झिनँ ! सम्झना ! किन थिइस्‌ मूर्छा बनी शून्यता ?
हा प्यारी ! बिचरी चरी झरझरी रुन्थिन्‌ गइन्‌ ती कता ॥
(२५)

हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल ।
आशाले विरही थियो हृदय क्या भाषा लिँदो मञ्जुल ॥
को होलिन्‌ ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी ।
कालो बादलमा विलीन अब छन्‌ विश्वै अँध्यारो बनी ॥
(२६)

तारा आँसु भएर आज निशिमा नीलो बनाई मुख ।
चम्के ती जलबिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥
कोही छैन ? कहाँ गइन् खबर क्यै ल्याईदिने सत्वर ।
पानी झील बनेर थाप्छु उरमा ती आँसु रात्रीभर ॥
(२७)

भेटेदेखि बताइदेऊ जन हो ! दुष्यन्त राजाकन ।
साह्रै दुःख छ नींदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥
हा ! हा ! दिव्य शकुन्तले ! नजर भो झल्का मिले एक नै ।
मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥
(२८)

बिर्स्यो शाप परेर एक मुनिको ठूलो कसूरी थियो ।
माया निठ्ठुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥
टोह्लाई मनबीच बादलहरूमा झल्किई मोहन ।
तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधैं रोदन ॥
(२९)

त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत ।
खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन्‌ पथ ।
त्यो रोई नित हिंड्छ वक्रपथमा छन्‌ ती कहाँ हा ! सित ॥
(३०)

ब्यूँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू ।
रून्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मरु ॥
उम्रेला कि भनी मुहार हँसिलो सौन्दर्य शाकुन्तल ।
उम्रे फूल र पात त्यो झलकमा अल्पिन्‌ तिनी मञ्जुल ॥
(३१)

श्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यश ।
ती तस्वीर हराभरा भुवनकी श्री विश्व झैं षोडशी ॥
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी ।
ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥
(३२)

भन्द्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याऊ अब ।
भाग्ला नत्र चरो उडेर विचरी आत्मा उता खोजमा ॥
ती रोलिन्‌ वन शून्यमा जलदृशी मौनी लिई वेदना ।
काँप्लिन्‌ ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥
(३३)

कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा ।
कोही त्यो वन जानु कण्वऋषिको, कोही हिंडे पश्चिम ॥
ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन्‌ की कतै ?
कोही बादल देशमा त गइनन्‌ इन्द्रेनि वर्षासितै ?
(३४)

ए ए ! डाक किसान त्यो गइसक्यो ? ए खेतको गोप तँ ?
बस्‌ बस्‌ भन्न मलाइ ती किन त्यहाँ आइन्‌ त राम्रोसित ॥
के भन्थिन्‌ अनि चेहरा कुन थियो ? कस्ता थिए नेत्र ती ?
रुन्थिन्‌ वा खुश मान्दथिन्‌ कि त त्यहाँ रुन्थिन्‌ कि सोच्थिन्‌ अनि ?
(३५)

के लामा दुइ कोस ध्यानगहिरा छड्के रसीला थिए ?
खे खाइन्‌ अनि के भनिन्‌ ? अनि त्यहाँ वार्ताहरू के भए ?
थोरै अन्न लिएर कुञ्चितदृशी साङ्ग्रो गराई गह ।
खान्थिन्‌ थोर कि ? हाँस्दथिन्‌ कि कसरी बस्थिन्‌ कि रुन्थिन्‌ सब ॥
(३६)

चाँडो आज बता न ! ती अनि कहाँ जाने कुरा गर्दथिन्‌ ?
रोएतुल्य बिहान कोण दृगको के मैलिएको थियो ?"
यस्तै प्रश्न अनेक उत्तर दिँदो त्यो खेतिवालाकन ।
आए आँसु विचित्र देख्न विधिको छर्लङ्ग बीत्यो दिन ॥
(३७)

पाई धेर इनाम त्यो घर गयो खोजेर ल्याए तिनी ।
मिल्ने हुन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गर्‍यो ।
रानी बन्न सुहाउनेकन त्यसै बाहेक पारी मर्‍यो ॥
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।"
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फिर्‍यो ॥
(३८)

भौलीपल्ट बिहान नींद नलिई कालो उज्यालो भयो ।
मेघाच्छन्न, खुलेन व्योम कुइरो उड्थ्यो अकाशे झिनो ॥
लाग्यो घर्घर गर्न बर्बर भए आँखा प्रतापी पनि ।
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥
(३९)

"प्यूँला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु ।
मेरो यो गुँडमा वियोग शरले हान्दो छ छातीतिर ॥
प्यारीलाइ लिई गयो गुम भयो रित्तो र पानीभरी ।
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥
(४०)

आत्मालाइ अतीव त्यै वश न हो जो प्रेमको पीर हो ।
त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥
बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन ।
त्यो आशा पनि मर्नु चोट कसरी पाई गयो त्यो मन ॥
(४१)

होलिन् आज रुँदी कतै वनकुना प्यारी कठै सुन्दरी ।
बाणैलाइ छिपाइ पङ्ख दुइले लोट्दा अबोला चरी ॥
जोडा ढुक्कुरले करुर्र गरिँदा ब्यूँझेर झन्‌ सम्झना ।
होलिन्‌ बादल झैं लिँदो चुहिनको व्यापी अँध्यारोपना ॥
(४२)

वर्षाकी बहिनी बनेर वनमा सारा रुलाई मुना ।
बर्‌बर्‌बर्‌ दुखिनी तिनी प्रकृतिमा होलिन्‌ रुँदी सम्झना ॥
चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान्‌ बरा ।
काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥
(४३)

त्यस्तो चोट परेन आँधिहरुमा त्यस्ता कडा भाषण ।
एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥
सावित्री पनि मूर्छिता हुन गइन्‌ यो चोट केमा पर्‍यो ?
हा ! हा ! ती मृदुलाङ्गिनी वनपरी भै बज्र चड्की गयो ॥
(४४)

बाटो चट्ट बिराउँदी वनविषे सानी कुनै बालिका ।
मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले गर्जिंदा ॥
यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी ढुक्ढुकी ।
भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥
(४५)

कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर ।
भन्ने भाव गरी बुझी कुसुम नै काँढाहरूमा घर ॥
गेरू भस्म लगाउँदी हुन गइन्‌ या सुन्दरी योगिनी ।
ठूलो चोट परी घृणा हुन गइन्‌ या दिव्य ती मोहिनी ॥"
(४६)

यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन ।
गड् गड् गड्‌ घनघोष भो गहिरियो छाया भयो वर्षण ॥
झिल्की झल्ल झिलिल्ल शीघ्र बिजुली कम्ती उज्यालो हुँदा ।
द्यौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥
(४७)

झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर ।
पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर !
मानो चीलसमान पङ्ख दुइटा पार्दो घुमी फर्फर ।
कालो छैन तथापि झल्ल झिलझिल्‌ चम्किन्छ ओर्लीकन ॥
(४८)

"आए इन्द्र कि आज ! ती युवति हुन्‌ के मेनकाकी सुता ।
गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ?
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर ।
मिल्ला आज अवश्य ती युवतिको होलिन्‌ कतै ती पर !"
(४९)

भन्दै मातलि आउँछन्‌ अवनिमा छाया नझारीकन ।
छायाले पकाडिन्छ मर्त्य पृथिवीमा हुन्छ द्यौताकन ॥
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि ।
छप्के झैं अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥
(५०)

जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर ।
बल्दो दिव्य ललाट, लोचन बडा राम्रा मिलेका तनु ॥
बोले झैं मृदुतारले सुर मिली त्यो वीन शारीरिक ।
बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥
(५१)

"राजा भूभार हर्ने अवनिपति प्रभो ! इन्द्रका दिव्य स्वामी ।
आकाशैसम्म चढ्ने हुकुम नजरको राज्यमा दुःख छैन ॥
जो ओर्ली सत्‌ असत्‌को विवरणसँगमा न्यायदाता बनेर ।
राखीबक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥
(५२)

के अर्कै सत्य होला ? सुरपुर जितिने यो छ शङ्का बढेको ।
दोधारै बन्न लागे सुरहरु अब ता दैत्य देख्दा चढेको ॥
स्वामीको काँप्न थाल्यो कवच प्रभु भए सर्वसन्देश तोडी ।
स्वर्गै हुन्थ्यो उज्यालो असुरहरु निभी सत्य सामर्थ्य पाई ॥
(५३)

सत्को समर्थननिमित्त मलाइ भेजी ।
बोलाइले हुकुम भो प्रभुबाट रोजी ॥
स्वर्गेशाले समरका विजयी बनेर ।
पृथ्वी प्रकाशित बनून्‌ प्रभुले गरेर ॥"
(५४)

"आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर ।
एकै मात्र घडी ! तयार म बनूँ शस्त्रादिले सुन्दर ॥"
यो आज्ञासित भूपती तब गए राखेर ती मातली ।
आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥
(५५)

यो वेला तर ती शकुन्तसँगिनी टाढा पुगेकि थिइन्‌ ।
टाढा कश्यपका कुटीतिर कतै सानन्द नैर्जन्यमा ॥
ठूला पर्वतका नजीक छहरा गुँज्दा हरा गह्वर ।
वेदै पाठसमान प्राकृत हुने चोखो कना सुन्दर ॥
(५६)

त्रयोविंशतितम सर्ग

पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट ।
पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरङ्गी विमान ॥
फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गद्दी र छाना ।
हावा पार्छन्‌ सुगन्धी अमर कुसुमका पत्र राम्रा बिछाई ।
(१)

आभाले दिव्य झल्झल्‌ रँगहरु हुन गै शान्त देदीप्यमान ।
शोभा भर्दो बगैंचाभर नृपवरको पङ्ख फुल्दोसमान ॥
अर्कै सौगन्ध ल्याई कुसुमहरु त्यसै लट्ठ पारी सुताई ।
दिन्थ्यो स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥
(२)

'को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ ।
आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥
देखी त्यो हप्प गर्दै निकटतरु लिई चूप लाग्यो सिहारी ।
आए योद्धा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥
(३)

लाएका ताज तेजी झलमल, जलका जन्मका चारुमोती ।
पन्ना राम्रा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥
कल्की स्वर्गे चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क ।
फर्केको स्वादु लच्कासँग नरमपना झल्किए झैं सलक्क ॥
(४)

ठोक्रो ली लोहवाला मुखतिर सुनले पींध त्यस्तै जडेको ।
प्वाँखे छन्‌ चाप तीखा थरिथरि रँगका नोक नीचा परेको ॥
लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ ।
कापेली बींड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥
(५)

छातीका ब्यूढ ऊँचा रिपुभवनविषे दिव्य झैं अंशुमाली ।
बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥
फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त ।
सेता धप्धप्‌ बलेका वदनसरि थिए वीर झैं ज्योतियुक्त ॥
(६)

दोटै बस्छन्‌ उज्याला छविमय-रथमा दिव्य आकाश जाने ।
राजा केही पछाडि प्रखरयश महातेजका वीरमूर्ति ॥
हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि ।
सारा हेर्छन्‌, उज्यालो जलदतिर चिरा चम्किएको झलक्क ॥
(७)

यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति ।
ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥
हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन्‌ पखेटा फिँजारी ।
राखेका यानमा त्यो स्तुतिपछि उडिगो यान ती धप्प बल्दा ॥
(८)

पैह्ले फट्फट् पखेटा गगनपथ लिँदो चील जस्तो सजीव ।
फर्फर्‌ गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥
फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी ।
चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥
(९)

बस्ने अट्टालिकामा युवतिहरु परीतुल्य पारेर ठाँट ।
कोरेका केश स्यूँदा अरुणनयनका तेजिला बैंस शोभा ॥
फर्केका चारु आँखा हँसमुख चकिता वस्त्र राम्रा रँगीन ।
कोही औला ठड्याई गगनतिर अरूलाइ देखाउँदा छन्‌ ॥
(१०)

ती हुन्छन्‌ फूलजस्ता रँग रँग मधुरा दूर साना सफेद ।
बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥
सानो राम्रो सिँगारे घरसरि पुतलीको सफा चारु चट्ट ।
मिर्मीरे स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥
(११)

हेर्छन्‌ दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती ।
काला काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥
सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका ।
छाना छाना उठेका गजुरहरु तिखा सानु टुप्पा सियाका ॥
(१२)

नीलो नीलो हुँदै गो रँग परपर भै रूप सारा गुमेर ।
नीलो नीलो फिका क्यै सुमधुर कुइरो पातलो बेर्‍हिए झैं ॥
आयो चाँडै तहालू जलद अब बनी पातलो हुस्सुतुल्य ।
भेट्थ्यो त्यो यान ऊँचा अब घनतलका पातला जाल चल्दा ॥
(१३)

चीसो निक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान ।
देखी हाँसेर भन्छन्‌ नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥
हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन्‌ उष्ण भाव ।
ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥
(१४)

बोले यी मिष्ठवाणी जब सुरपतिका यानका हाँकले ती ।
राजाले अस्त्र आफ्नो 'हृदनल'[2] महिमासाथ गर्छन्‌ प्रयोग ॥
झिल्क्यो आगो भिभिल्‌भिल्‌ झलललल घुम्यो, यानको चारतर्फ ।
साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥
(१५)

गर्मी चढ्दै गयो झन्‌ क्षणभर सुर ती रापले ताप पारी ।
गर्माएका हुँदामा हँसमुख अब छन्‌ भूप दुष्यन्त भारी ॥
"मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो बिजूली ।
मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥"
(१६)

"निक्कै चर्को हुनाले शिर अलि गर्‍हुँगो बन्न लाग्यो मलाई ।
केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥"
भन्दा हाँसेर भन्छन्‌ "जससँग पहिले गर्वले हुन्छ बात ।
त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हुन्छ जात ॥"
(१७)

"जो जो छन्‌ शत्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाथ ।
तापी हुन्छन्‌ प्रयोगी 'हृदनल' जब यो हुन्छ आग्नेय जान ॥
आफैंलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले ।
यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥"
(१८)

भन्दा झुक्छन्‌ बुझेका सुरवर शिरले "शस्त्र ! माग्छु क्षमा म ।"
भन्दै जोडेर दोटै कर नरम बनी "भूपको हूँ म भक्त ॥"
ठण्डा भो ताप भाग्यो रमरम मनको माफिकै मस्त पारी ।
'प्यारा मेरा सुहृद्‌ हौ' सरि 'हृदनल' ले दिन्छ सन्देश भारी ॥
(१९)

चढ्दै चढ्दै गयो त्यो सुरपुरपथमा उच्च भै शीघ्र यान ।
पैह्ले हुस्सू छिचोली जललवहरुको जाल झैं शीघ्र शीघ्र ॥
बाटो केही बिलायो छिनभर परको व्योम बन्दा अदृश्य ।
डफ्फा डफ्फा चलेका हरहर, कुइरा बीचमा खात खात ॥
(२०)

चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपर्दासमान ।
सेतो इन्द्रेनि पर्दो तहतह कइरोमाथि उक्लेर यान ॥
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु ।
बाक्लो छोडेर माया तहतह ढकनी छेड्न बन्दो सिपालु ॥
(२१)

घप्धप्धप्‌ घप्कँदा छन्‌ रविगगन सफा नीरमा झन्‌ उज्याला ।
मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥
मानो आफ्ना उज्याला किरणहरु बजाएर तन्त्री झनन्न ।
बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥
(२२)

चीसो झन्‌ बढ्न लाग्यो 'हृदनल' खिचिँदा सूर्यका तेज आई ।
देख्दा सारा उज्यालो तर गगन थियो उष्णताहीनतुल्य ॥
हावा भै पातलो झैं अलि कठिन हुँदा खास ती भूपबाट ।
अर्को अस्त्र-प्रयुक्तै हुन गइ बढिगो भै बलीयो प्रवात ॥
(२३)

"खै क्यै देखिन्न याहाँ गगन सब निलो शून्य देखिन्छ सारा ।
रित्तो ठूलो उज्यालो ! रवि पनि उसमा स्वावलम्बी-समान ॥
बाटो देखिन्न केही न छ वरपर क्यै दिव्य सङ्केत मानो ।
स्वर्गै होला नहोलासरि सब नभको शून्यताले गिज्यायो ॥"
(२४)

हाँसेका याननेता मुसुमुसु नृपमा विन्ति यो गर्न लागे ।
"यस्तै शङ्का लिनाले युगयुग जनले मार्ग नै देखिएन ॥
सस्तो बाटो गराए सब सुरपुरमा पुग्दछन्‌ रे भनेर ।
यस्तो आच्छन्न जस्तो नजरअघि भयो स्वर्ग संसारको रे !
(२५)

चाहन्छौं देव शान्ति प्रथम सब कुरा त्याग गर्ने बनेर ।
स्पर्धाको त्यो सुनौला गजुर ऋषिहरू मात्र बुझ्छन्‌ गुनेर ॥
छोटाले भेटिएका गडबड हुन गै बिग्रिएला अशान्त ।
भन्ने सम्झी छ ऊँचा नजरपर सबै दिव्य सर्वस्वतुल्य ॥
(२६)

बाटो देखिन्न केही जुन हृदयविषे भावना छैन दिव्य ।
त्यस्ताको यत्न लामो शिखरतिर पुगी हुन्न त्यो स्वर्ग लभ्य ॥
विश्वासैमा अडेको सुविमल दिलले खोज गर्ला अवश्य ।
चुत्थो ठानी जगत्‌ जो त्यसपछि रहला चारु खुल्दै रहस्य ॥
(२७)

भन्ने सम्झी यसैले अमर नियतिले मार्ग मेटेर रेखा-
सम्मन्‌ सारा नराखी हुदयबिच हुने भित्रको गन्ध चेत-
बाटै फेला परोस्‌ यो प्रकृति सब जिती यो गरेको विचार ।
श्री स्वामीले बनाए सुरपुर दृगको दूर झैं शून्यतामा ॥
(२८)

हेर्छन्‌ विज्ञानवाला ग्रह, उडु, सरिता, स्वर्गको रश्मि चाल ।
यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥
भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी ।
भन्नेछन्‌ छैन केही यति हृदय लिई शान्तिको वास जन्म्यो ॥
(२९)

धेरै धेरै यहाँ छन्‌ तहतह गहिरा शून्यका काँचुली झैं ।
सातै छन्‌ भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥
पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक ।
सातै छन्‌ लोक मोटा तवरसँग लिए स्वर्गको मार्गबीच ॥
(३०)

पृथ्वी मोटो खँदिलो रँग रँगहरुको रूपले भै सचित्र ।
मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ्र रेखा ॥
धेरै फुस्रो र धुस्रो अलिकति रसले सत्यको भिज्न जाँदा ।
सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन्‌ अल्प वक्र ॥
(३१)

तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको ।
मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥
साङ्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला ।
हामीले घीन मान्ने थलहरु बहुतै थोर मात्रै उज्याला ॥
(३२)

आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव ।
छोला छोला गरे झैं क्षणसहित बनी बिर्सिने दिव्य ज्योति ।
फैली जाँदा उज्यालो अतिशय करुणाको रूँदो दीन पात्र ।
त्यो पृथ्वीलोकमा छन्‌ मरण दुख तथा आँसुले आर्द्र गात्र ॥
(३३)

हामी हेर्छौँ धरा ती सुरपुर रहने देख्दछौं दूर-दूर ।
मिर्मिर्‌ मिर्मिर्‌ गरेको विधुसरि निशिमा घोर काली अमाको ॥
झिल्झिल्‌झिल्झिल्‌ कडा भै थलथल छविमा काठजस्ता उज्याला ।
झल्किन्छन्‌ दिव्य झल्का हृदय घुसिलिँदा मर्त्यको धप्प बेला ॥
(३४)

हाम्रा राम्रा परीले कुसुमहरु त्यहाँ फ्याँकिदिन्छन्‌ सुगन्धी ।
पाऊन्‌ सङ्केत सत्‌को मिरमिर जगमा अल्पदर्शीहरूले ॥
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
आत्मा उक्लूँ भने झैं विमल हुन गई धप्किँदा कर्मभित्र ॥
(३५)

थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
दोटै मैना उज्याला किसलय कुसुमी पार्दछौं रश्मिभित्र ॥
मीठा सन्देश भेजी रस, मधु हँसिला भाव-सङ्गीत साना ।
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्‌, पल्लविन्छन्‌ ॥
(३६)

त्यो पृथ्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
हेरीबक्स्योस्‌ उज्यालो रँगबिरँग हुँदो बाफका वेश्मभित्र ॥
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्गिचङ्गी बनेर ।
जो इन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
(३७)

हुन्छन्‌ बारी रँगीला कुसुमहरु हुने लाल सेना सुनौला ।
टिप्छन्‌ हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
चाँडै नै रङ्ग उद्छन्‌ तर अनि दिलमा बस्छ निर्मोहनीको ।
कालो नीलोपना झैं मनमन तिनको लाग्छ रूँ रूँ नफुट्ने ॥
(३८)

खोज्छन्‌ ती नित्य केही नवनव विषयी वासना झैं मिहीन ।
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
योगैको सिर्जनाले वरपर सृजनासाथ गर्दा पुकारा ।
माग्छन्‌ ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
(३९)

हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार ।
यौटा निक्कै अँध्यारो रवि-किरण हुने मन्द आनन्द धीमा ॥
काला ठूला गुफा छन्‌ यसभर गहिरा आँखिका गुप्तवास !
छीटा छन्‌ वेग घुम्छन्‌ तरल पवनका वर्लिजाने बिलौना ॥
(४०)

यो देख्छौं जो उज्यालो सुरपुरतिर यो बन्छ प्रांशुप्रकाश ।
सामीप्यैमा हुँदामा सुरकन पनि यो क्यै उज्यालो छ भास ॥
झर्दै आएर पृथ्वीतिर जब सुरले टेक्दछन्‌ अन्धकार ।
जस्तो देखिन्छ पृथ्वी मिरमिर जनका झल्किएका जुहार ॥"
(४१)

भन्दाभन्दै हुरीको घनघनसरिको जोडले शाब्ददार ।
अड्ने जस्तो हुँदामा रथ कुशल तिनी मोहडा थोर फेरी ॥
हाँसी भन्छन्‌ हुरीमा "जतिजति बलले गर्छ दाबा अँध्यारो ।
जान्नेले राहबीचै त्यसकन सजिलो साथ स्वश्रेय पार्छन्‌ ॥"
(४२)

फन्के जस्तो फनक्कै फनफन भवरी चक्कराएसमान ।
लप्का दप्का र झप्का घचघच घुइरो क्यै कराएसमान ॥
विक्षिप्तप्राय हावा हनुनुनु करुणा-क्रन्दनीचालसाथ ।
दिन्थ्यो धक्का र मुक्का घडडड कहिले यान आएसमान ॥
(४३)

टाढा भै सूर्य दब्दा अब तलतिर छन्‌ दक्षिणी त्यो किनार ।
सानो तारा बनेका पदतिर कविका जूनकीरीसमान ॥
माथीमाथी उज्यालो त अनि चहकिलो सूर्य अर्को सुदिव्य ।
नीलो गोला उज्यालो वरपर छ हवा घन्किँदो घन्न घन्न ॥
(४४)

काला काला र ध्वाँसे घडघड डरका मूर्तिरेखा कराल ।
दार्‍हा लामा किटेका कटकट कहिले बाहु लामा विशाल ॥
लामा झाँक्रा फिँजेका रिससित चुरिई गर्जिई आउनाले ।
सम्झन्छन्‌ याननेता सुर-नृप रिपुका फौज काला तुवाँले ॥
(४५)

यो हो देवासुरादि प्रतियुग रहने द्वन्द्वमा ठाउँ एक ।
धेरै योद्धाहरूको मरणथल यही दैत्यको गर्व टेक ॥
याही हुन्छन्‌ समस्या हल अति गहिरा दैत्य औ देवबीच ।
थर्कन्छन्‌ स्वर्गवासीहरु पनि कहिले त्रास बढ्दा नगीच ॥
(४६)

ऊ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी !
बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥
ठोक्रा बोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ ।
वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥
(४७)

ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन्‌ नबुझ्दा ।
तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥
देख्छन्‌ ती उक्लँदामा तर तनु नरको व्योममा पर्छ छाया ।
देखी सारा दर्गुछन्‌ उसतिर भ्रमका रूप झैं साधुभित्र ॥
(४८)

सारा आईरहेछन्‌ घन निविड बनी गर्जिई घोर घोर ।
थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल ।
डफ्फा जस्ता असत्‌का घनघनन बढे मेघ संसारतुल्य ॥
(४९)

हेरीबक्स्योस्‌ उता ती गगनपथ झरे देवतासैन्य सारा ।
तेजी राम्रा उज्याला हरहर हरि झैं देवका रश्मि-धारा ॥
गर्छन्‌ सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर ।
बज्री नै भो सवारी अब नृपवरको स्वागतार्थी बनेर ॥
(५०)

झरे बज्री तेजी कुलिशकर श्रीपेच छविला ।
बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥
लगाएका माला सुर-युवतिका चारु करका ।
रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥
(५१)

छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो ।
बहादुरीको झैं रिपुदमन सङ्केतसरिको ॥
छ लाएको यौटा नव सुन सुती रत्नजडित ।
झझल्‌ झल्‌ झल्केको वसन तनुमा कल्करहित ॥
(५२)

छ उड्ने पङ्खी त्यो लसित कठपाउ स्वपदमा ।
उडी आए सारा अघी सुरहरूका दलअघि ॥
प्रसन्नाकारी छन्‌ नृपवर त्यहाँ देख्न रथमा ।
समाई भन्छन्‌ ती रथ स्वकरले व्योमपथमा ॥
(५३)

"खुशी लाग्यो सार्‍है हृदय अति गद्‌गद् हुन गयो ।
सवारी होलामै समरजय यो निर्भर थियो ॥
समस्या यो हाम्रो अमरपुरमा एक विकट ।
छ 'श्रद्धा वा सत्य प्रबल कुनचाहीं अकपट ?'
(५४)

यहाँ काला काला असुर बलिया अर्मठजुँघे ।
भए हाम्रा त्रास सुरपुरनजीकै पनि पुगे ॥
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी ।
महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥
(५५)

सबै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना ।
लिई ताना भन्छन्‌ असुरहरुमा आज सपना ॥
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै ।
जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥
(५६)

म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा ।
तपस्या गर्नेछू प्रकृतिकन जित्ने सहजमा ॥
जगत्‌का स्वामीले असुरहरुको विन्ति सुनिने ।
त्यसै छल्लान्‌ काहाँ नियमहरुको विश्व छ भने ॥"
(५७)

भनी यस्ता वाणी असुरगुरु लागे तलतिर ।
गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥
यता विज्ञानी ती असुरहरु लाखौं थरिथरि ।
बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन्‌ घरि घरि ॥
(५८)

तपस्वीले यस्ता नव नव कुरामा यदि अब ।
थपेदेखी आध्यात्मिक बल बढे युद्धविभव ॥
डरै लाग्दा हुन्छन्‌ अनि असुरले जित्छ कि भनी ।
डराएका द्यौता खलबल थिए के गरुँ भनी ॥
(५९)

यसैमा सल्लाहा नृपसँग लिए बेस छ भनी ।
बताए मन्त्रीले, सुरविमल भै राज्य अवनि ॥
सिपालु स्वाध्यायी अवनितलमा क्वै अझ पनि ।
नछन्‌ प्यारा मेरा नृपवर सखा झैं कुन भनी ॥
(६०)

"यता विज्ञानी भै उसतिर भई ज्ञानसहित ।
दुवैतर्फी तेजी प्रबल नृप झैं कल्करहित ॥
अरू कोही छैनन्‌ मकन पनि थाहा यति थियो ।
सवारी भो राजा अब सकल चिन्ता पनि गयो ॥"
(६१)

भनी बज्री थप्छन्‌ "असुरगुरु झैं एक मनको ।
तपस्वी क्वै छैनन्‌ त्रिभुवनभरी देवगणको ॥
उनैले जित्नेछन्‌ सकल सुरलाई सहजले ।
भनी कोही भन्छन्‌ डर मकन भो ती लवजले ॥
(६२)

कसो गर्ने भन्दा नृपवर सवारी हुन गयो ।
छ सल्लाहा-प्रार्थी सुरपति यहाँ आज नृपको ॥"
भनी बोली बज्री अब रथ पसे पार्श्व नृपको ।
बसे राजा साह्रै खुश हुन गए साथ उनको ॥
(६३)

भयो यो सल्लाहा असुरहरु हार्छन्‌ पछि पछि ।
पहीले ता निक्कै गडगड हुनन्‌ आँधिहरु झैं ॥
घमण्डी फूर्तिला घननन सबै शन्दमय ती ।
जरूरै हार्नेछन्‌ पछि तर, नटिक्छन्‌ सुरपते ॥
(६४)

तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा ।
तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने ।
तपस्या हो ठूलो तर मुटु कुरा सुन्दर चिने ॥
(६५)

महाध्येयी जित्छन्‌ समय अवकाशैकन दुवै ।
दिई सर्वश्वै नै थरहर गराईकन तप ॥
जगत्‌का मूलै नै थरहर गराईकन तप ।
गरी जित्छन्‌ झारी प्रभुकन करैसाथ निकट ॥
(६६)

महाध्येयीका छन्‌ अणुअणु मिली एक तरफ ।
नडग्छन्‌ ती थोरै त्रिभुवन डगे तापनि सब ॥
जिती कालैलाई अमरपदमा ती स्थिर भई ।
हुरी भैंचालो नै यश लिन उ सक्छन्‌ सहज नै ॥
(६७)

सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप ।
खिँची हृद्‌व्योमैमा प्रकटित गराई जपतप ॥
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने ।
महाध्येयी जित्छन्‌ त्रिभुवन जितूँ नै यदि भने ॥
(६८)

महाध्येयी जित्छन्‌ तर प्रकृतिमा एक नियम ।
छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥
यही कुञ्जी यौटा जगभर महाशक्तिहरुको ।
छ सत्‌मा जो चल्ने उसकन अनन्त प्रबलता ॥
(६९)

अनन्त-शक्तिमान्‌ आत्मा, हुन्छ सत्‌को पिछा लिँदो ।
प्रभुको दिव्यता लिन्छ एकत्व पनि सर्वदा ॥
(७०)

सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ ।
विश्वेशको सत्‌स्वरूप लयले मात्र गम्य छ ॥
(७१)

स्वर्गको हो बनोटै नै सच्चिदानन्दको गुण ।
सत्याधारित सद्‌रूप अनश्वर अभञ्जन ॥
(७२)

स्वर्गको एक जादू नै 'सत्य' मन्त्र मनौहर ।
सत्यमा शुद्ध झल्किन्छ पूर्णनिम्ब महेश्वर ॥
(७३)

सबैभन्दा उचा ब्रह्म ब्रह्मको पछि स्वर्ग छ ।
ब्रह्म छन्‌ त्रिगुणातीत, ब्रह्मै सदपवर्ग छ ॥
(७४)

सत्यको पछि आत्माले प्रकाशतिर धाउँछ ।
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥
(७५)

स्वर्गको भित्र आशाले जगत्‌ सारा चराचर ।
सुख मात्र भजी बस्छ दुःखमा नै निरन्तर ॥
(७६)

तर अज्ञानले गर्दा सुखको सत्यमूलता ।
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥
(७७)

असुरादिहरु आफ्नो अज्ञान नबुझीकन ।
सुखको ध्येयमा चल्छन्‌ असत्यपथ निर्धन ॥
(७८)

सत्य हुन्छ अनन्तै नै आशातीत अगम्यता ।
छोटो साङ्ग्रो लिई ताक हाँक्छन्‌ असुर देवता ॥
(७९)

पहिले गड्गडाएर विश्व थर्काउँछन्‌ सब ।
पछि धराप भै शेखी गिर्छ टुक्रा भई तब ॥
(८०)

महाध्येयीहरू हुन्छन्‌ हुन ता दैत्यका पनि ।
तर साङ्ग्रो लिई ताक गिर्छन्‌ उल्टा बनी बनी ॥
(८१)

खालि शक्ति त्यसै हुन्न सत्यको नलिई भर ।
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥
(८२)

एकाग्रताध्येयनिम्ति सर्वाणुस्वविकम्पित ।
सिद्ध बन्दछ जेता नै अनि हुन्छ सुनिश्चित ॥
(८३)

तर एकाग्राताबाट सिद्ध जो फल फल्दछ ।
सत्यान्तर्गत त्यो छैन भने ता हार बन्दछ ॥
(८४)

हिल्छ माथि पुगी काहीं सत्य वक्र भए रति
तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ अधोगति ॥
(८५)

अरू डग्छन्‌ अरू हिल्छन्‌ ध्येय सत्य-पराङ्‌मुख ।
बनेका ती महाध्येयी गिर्नलाई अधोमुख ॥
(८६)

तपस्वी शुक्र छन्‌ ठूला जितेका आफुलाइ ती ।
तर त्यस्ता महाध्येयी गिरेका छन्‌ यहाँ कति ॥
(८७)

तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ ।
विश्वमा शक्ति देवेश ! मूलाभिप्राय सार छ ॥
(८८)

शुक्रले दैत्यका निम्ति गरे तप अघोर यो
त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत्‌ छ पो ॥
(८९)

अनन्यभक्ति जेमा छ श्रद्धा श्रीपेचतुल्य छ ।
भक्ति श्रद्धा दुवैलाई जित्ने सत्य अमूल्य छ ॥
(९०)

सत्य-स्वरूप छन्‌ ईश सत्यसाथ असत्यको ।
भाग गर्दा गिरी लान्छ ध्येय बन्छ अनित्यको ॥
(९१)

तस्मात्‌ त्रास यहाँ छैन केही बेर लडीकन
थाक्नेछ दैत्य चाँडै नै आत्मा गल्छ गिरीकन ॥
(९२)

कुरा गर्दा गर्दै असुरहरु आए घननन ।
झरे तारा जस्ता झरझर गरी दैत्यदमन ॥
बडो बाजा धूँ धूँ ढमढम बजे ढोलकहरू ।
यता बज्छन्‌ घण्टा घननन गरी शङ्ख डमरु ॥
(९३)

कोलाहल भयो ठूलो समरध्वनि दैत्यको ।
उठे प्रत्युत्तर दिँदा देवता युद्धशब्दले ॥
(९४)

"महाध्येय ! महाध्येय !" दैत्यले गर्जना गरे ।
"महासत्य, महासत्य" देवले गर्जना गरे ॥
(९५)

दैत्यले गर्जना गर्दा कालो तूफान मच्चियो ।
देवले गर्जना गर्दा बिजुली झिल्ल चम्कियो ॥
(९६)

दैत्यराजहरू ठूलो शानका रथमा चढे ।
ठूला ठूला पङ्खवाला हयका गतिले बढे ॥
(९७)

दैत्यका शस्त्र थर्काई दिन्थे घन्न नभस्तल ।
देवका अस्त्र चम्कन्थे शान्त, सुन्दर, उज्ज्वल ॥
(९८)

वाणवर्षा भयो ढाकी आकाश घनले सरि ।
रणस्थल अँध्यारो भो वर्षियो रक्तको झरी ॥
(९९)

चम्किए देवका शस्त्र अस्त्र, झल्ल प्रकाश दी ।
आँखा हेरी देव हान्थे दैत्य दृक्‌ बन्द भैवरी ॥
(१००)

चुरिए महाक्रोधी महातेजी पराक्रमी ।
हुरी झैं दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥
(१०१)

इन्द्र गर्छन्‌ एक बज्र प्रयोग असुरोपरि ।
अन्धकार यसो फारी बिजूलीले क्षणैभरि ॥
(१०२)

हाहाकार पर्‍यो थोरै बेर त्यो फौजबीचमा ।
छ्यान्नब्यान्न भए दैत्य बज्रको त्यो प्रहारमा ॥
(१०३)

तर फेरि उठी आए फौज बाँधी हजारन ।
बज्रावरोधिवसन सुरारिहरु घन्घन ॥
(१०४)

इन्द्रको बज्र करको काँप्यो देखेर ती दल ।
भयङ्कर उठी बढ्दा रन्न पारी नभस्तल ॥
(१०५)

फर्के दुष्यन्तका तर्फ के गरूँ झैं गरीकन ।
देवादिका फर्किएको देखेर शरवर्षण ॥
(१०६)

हाने ती दैत्यले वाण काला नीला कडोरन ।
आए सलह झैं काला देवमा गर्न वेधन ॥
(१०७)

तीखा टुप्पा पङ्ख हुने लिएका वेग वेधको ।
विषालु शरले विद्ध देव व्याकुल छन्‌ अहो !
(१०८)

"के गर्ने अब यो बज्र दैत्यको काल लख्खन ।
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस्‌ शत्रुसूदन !'
(१०९)

भने झैं इन्द्रले हेरे दुष्यन्ततिर नेत्रले ।
उपाय पाइयो होला कि भनीकन मित्रले ॥
(११०)

दुष्यन्तले गरे झट्ट सङ्गीतास्त्र प्रयोग र ।
लाग्यो आकाश नै सारा गाना गर्न मनोहर ॥
(१११)

जिज्ञासा दैत्यको जन्म्यो नयाँ अज्ञानप्रेरित ।
सन्तोष नभई पूरा दैत्यको हृदयङ्गत ॥
(११२)

"को होला त्यो ?" प्रश्न उठ्यो, त्रास अज्ञानको उठ्यो ।
अडे टक्क बनी छक्क खोजी चर्चा त्यहाँ बढ्यो ॥
(११३)

न आउने हो ओर्लेर खान त्यो दैत्यको कल ।
न त्यो सलहको गाना न वा माया न वा छल ॥
(११४)

प्रश्न लाखौं उठे भित्र विचित्रसँग त्यो क्षण ।
लाखौं भाव नयाँ जन्मे विश्लेषण लिनाकन ॥
(११५)

जिज्ञासा कान ठाडा नै आफूबाहिरका कण ।
काँपीरहेका सुन्ने भै रङ्‌मगाई घनाघन ॥
(११६)

कल्पना पङ्ख हालेर उड्छे बाहिर निस्किई ।
स्थिरता क्यै नपाएर रूप रङ्ग नयाँ भई ॥
(११७)

रङ्गीचङ्गी बनी राम्रा पातला भाव नाच्दछन्‌ ।
लदिन्छन्‌ क्षणमै फेरि क्षणमै आफु जाँच्दछन्‌ ॥
(११८)

अनेक रङ्गका भाव विषाक्त मधु-मोहन ।
नाच्न लागे घुसी भित्र दैत्यका दलमा घन ॥
(११९)

आशा जस्ता कतै, भाषा जस्ता मीठा विदेशका ।
त्रास जस्ता कतै मीठा सबका दिलका फिका ॥
(१२०)

कतै झल्काहरू जस्ता नव आदर्शका पनि ।
झिल्किने तर चाँडै नै निभ्ने के के कुरा बली ॥
(१२१)

नदेखेका नजानेका नसुनेका कुराहरू ।
भविष्यबाट झल्के झैं झिल्काए झै अतीतले ॥
(१२२)

जिज्ञासा प्राकृतप्रायः उत्तेजित गराउँदै ।
झल्के, निभे, फेरि झल्के कल्पना नै घुमाउँदै ॥
(१२३)

भयो भर्ना झरे जस्तो सरको मधुराधर ।
पात पातहरूमाथि गाए जस्तो मनोहर ॥
(१२४)

गानाले आँसुका बूँद अनेकौं युगका लिई ।
मीठो बनाउँधी झल्का भावकी सम्झना भई ॥
(१२५)

जीत, हार, खुशी आँसु सबै भै मधुराकृति ।
शब्दमा झर्भराए झैं हुन्थ्यो हृदयको स्थिति ॥
(१२६)

त्यसै बेला देव मिली मुग्ध त्यो दैत्यको दल-
लाई हाने उज्यालोले, नानी खुम्चिन गो तल ॥
(१२७)

सूर्यका रश्मिशरले हानिएका महादल ।
निधारबीचमा चोट परी सारा लडे तल ॥
(१२८)

त्यो देखेर अरू भागी सैन्य-विध्वंसदारुण ।
दुष्यन्त विजयी नेता गन्दछन्‌ देवका गण ॥
(१२९)

फूल अम्लान वर्षेर परीका कर कोमल-
बाट दुष्यन्तको शोभा बढ्यो पारी समुज्ज्वल ॥
(१३०)

इन्द्र हाँसी त्यहाँ भन्छन्‌ "धन्य हो ! नृपचातुरी ।
कत्रो अक्किल सूझेको नृपमा कष्टको घडी ॥
(१३१)

धन्य हो, प्रतिभाशाली वीर हे ! शात्रुसूदन ।
पृथिवी दुःखमा हुन्नन्‌ यस्ता राजा हुने दिन ॥"
(१३२)

देवको हुलले ठूलो गर्‍यो स्वागतवादन ।
विमानमा दुवै लागे स्वर्गमा अब उक्लन ॥
(१३३)

रजोदेश किनारामा प्रकाश अलि क्यै बढ्यो ।
फिका लाली छिर्बिराई जब त्यो यान झन्‌ चढ्यो ॥
(१३४)

बराबर त्यहाँ रङ्ग फेरिन्थ्यो परिवर्तित ।
गराई रूप औ रेखा वस्तुका शीघ्रतासित ॥
(१३५)

कहीं बाक्लो उज्यालो छ कहीं छ मधुरप्रभा ।
कहीं मिर्मिर कल्सेदोपना, फेरि कहीं सफा ॥
(१३६)

फिका लाल कतै ताम्र अस्तकाल पहाडमा ।
नेपालमा परे जस्तो नाङ्गा ढुङ्गाविषे प्रभा ॥
(१३७)

देखिन्थे त्यसमा वास गर्ने सुन्दर आकृति ।
हुने जीवहरू हेर्दा उँभो त्यो यानको गति ॥
(१३८)

लाल तारा सूर्य थिए पृथ्वीमा पनि देखिने ।
सानो झिल्का लाल जस्तो रातकापख व्योममा ॥
(१३९)

देबालयहरू राम्रा बगैंचाहरु सुन्दर ।
बडा महल देखिन्थे त्यो लोकैमा सबैतिर ॥
(१४०)

त्यहाँबाट उड्यो यान अझ ऊचा बनीकन ।
रजोमण्डल नाघेर सानो द्वार घुसीकन ॥
(१४१)

तब सुन्दर आलोक समुज्ज्वनल मनोहर ।
शुभ्र शान्त र सानन्द देखियो शचिको घर ॥
(१४२)

सङ्घर्षण विना स्वच्छ उज्यालो छ नभस्तल ।
पीयूषको रङ्ग त्यहाँ झल्किए झैं छ झल्झल ॥
(१४३)

वसन्तका शशी जस्ता नातिशीतोष्ण ली कर ।
ईशको दिव्य मुस्कानतुल्य छन्‌ दीप सुन्दर ॥
(१४४)

नवीन मृदु भावादि गर्छन्‌ सञ्चार रश्मिले ।
मौनको शान्तिमय त्यो मधुपूर्ण प्रतापले ॥
(१४५)

रङ्ग देखिन्न क्यै अर्को तर नेत्रप्रसादक ।
दिन्छ शीतलता मीठो रश्मिले शान्तिदायक ॥
(१४६)

आफैं तृप्त भई आत्मा पान पाउँछ शीतल ।
नखाँदा पनि खाए झैं नप्यूँदा झैं पिए जल ॥
(१४७)

स्वयं संवर्द्धन लिने प्रकाशतिर स्वर्गको ।
भावना स्वविकासी छन्‌ फुक्दा आनन्दले निको ॥
(१४८)

व्योमका अणुमा मानो दिव्य इच्छा सजीवता-
साथमै लहरी झीनो झन्न गर्छ कता कता ॥
(१४९)

उक्लिने प्रेरणा हुन्छ पङ्खमा अभिलाषको ।
सफा सानन्द चिडियाहरूमा झैं प्रभातमा ॥
(१५०)

विशाल त्यो लोक थियो उज्यालो सत्वमण्डल ।
देखिन्थे देव त्यसमा भर्दा गगनमण्डल ॥
(१५१)

ग्रह-गोलाहरु धेरै थिए त्यो लोकमा सफा ।
काँच गोलाहरू जस्ता अथवा स्फटिकप्रभा ॥
(१५२)

प्रतिबिम्बित आभाले आभासित मनोहर ।
सात चन्द्र थिए साथै मुस्किएका सुधाकर ॥
(१५३)

ताराका बदला सारा देवता ज्योतिरूपका ।
साकार शान्त देखिन्थे पङ्खवाला यताउता ॥
(१५४)

कोही अचल देखिन्थे कोही चल्थे मनोहर ।
पङ्ख चालेर सङ्गीत सुरमा ताल सुन्दर ॥
(१५५)

देखिए ऋषिका मूर्ति तपमा ध्याननिश्चल ।
स्वर्गङ्गातीरमा बस्दा, काँसकेशी समुज्ज्वल ॥
(१५६)

बालुवाका कणा जस्ता ताराले लहरीमय ।
गङ्गा बग्छिन्‌ पवित्रै ती व्योममा कवितामय ॥
(१५७)

त्यहाँका लहरी बोल्थे विश्वसङ्गीतका स्वर ।
जो हुन्छन्‌ मर्त्य-आँखामा ज्योति झैं तल मिर्मिर ॥
(१५८)

चम्किला ती जूनमा छन्‌ फुल्दा द्रुमलताहरू ।
सिँगारिएका शोभा झैं कामिनीका सुकोमल ॥
(१५९)

अमृताऽऽलोक बास्ताले हँसिलो स्वप्न सुन्दर ।
चकोर नेत्रमा पर्छन्‌ प्रेमले क्यै मदाऽऽलस ॥
रोमाञ्च बल्किँदा गात्र सुगन्धानिल स्पर्शमा ।
ढल्किन्छन्‌ सुस्त ती बैंसे सोर्‍हशृङ्गारले भरि ॥

मुस्मुसे सम्झना बस्छे पल्लवाधरमा मिही ।
कपोलै पुष्ट हँसिलो ज्योत्स्नासित प्रसन्न छ ॥
रत्न-झल्मल चाञ्चल्य शीतका कणले दिए ।
हल्लियो सर्सराएर हरा पोशाक रेशमी ॥
दिँदा चपत हावाले फूल-गालाविषे अलि ।
लाल वर्ण भई लज्जा मस्त हुन्थी त्यहाँ खुली ॥
साफल्य बैंसको भर्दो मीठो स्पन्दित आकृति ।
अली अली चले जस्तो भावले उछ्‌लिँदा उर ॥
मीठो कुत्कुति लागेर, पन्सिइन्थे बराबर ।
दुराक्रमण हावाको बेशर्मी भै बढीकन ॥
पन्सिएर यसो केही अर्को ढलक सुन्दर ।
लिन्थे 'नाइँ' भने जस्तो मुस्कुरे ओठले त्यहाँ ॥
मीठो लज्जत झल्किन्छ सुख जस्तो निषेधको ।
त्यस्ता बैंसे थिए वल्ली मस्त हल्ली मनोहर ॥
प्रेमका दिलको इच्छा सिँगार अब षोडश ।
साथ पूर्ण गरूँ भन्ने कामना झैं लजाउँथे ॥
नटी झैं ती प्रतीक्षाले सिँगारी मुख उज्ज्वल ।
मानो ढल्केर खोज्दा छन्‌ जूनमा कामदेव नै ॥
मृदुकेशी रागवेशी चिन्तालेशी तिनीहरू ।
मन्द चाञ्चल्यले चारु बनी वल्ली तथा तरु ॥
त्यहाँ रहे झैं देखिन्थे बागमा सूरवर्गका ।
तपस्वीहरु देखिन्थे त्यहाँ पनि समुज्ज्वल ॥
जूनभित्र शिलातुल्य ध्यानी कोमलभावका ।
रत्नदार शिलामाथि बसेको मेरुदण्डका ।
सोझा ब्रह्मा विचारेर, स्वर्गका परको कुरा ॥
(१६०)

सोधे दुष्यन्तले इन्द्रसाथ "यी ऋषिवर्गले ।
तपस्या किन गर्दा छन्‌ पुगेन अझ स्वर्गले ?"
(१६१)

इन्द्र भन्छन्‌ "स्वर्गलाई पनि राख्ने कुनै कुरा ।
अनन्त अमृतानन्द भण्डार र अनन्तता ॥

अझ माथि रहेकै छ जहाँबाट लिई कर ।
हामी फुल्छौं र फल्दा छौं पाउँछौं दिव्य स्‌न्दर ॥
पूर्णता अझ पाइन्न स्वर्गमा पनि सुन्दर ।
ब्रह्माको वासना एक बाँकी नै छ अगोचर ॥
हजाराँ चन्द्रमा निस्की हाँसेको छ नभस्तल ।
सपना झैं बनाएर प्रेमको स्वर्ग मञ्जुल ॥
तर ती चन्द्रमा यौटै ब्रह्मा-भास्कर-रश्मिले ।
प्रतिभासित छन्‌ सारा स्वर्ग राम्रो तुल्याउन ॥"
(१६२)

हेरे दुष्यन्तले माथि विष्णुका मुसकान झैं ।
सुधा-रश्मि हजाराँमा पुष्पको दिव्य बाग झैं ॥
विचित्र व्योमको बल्दो सपनामय आकृति ।
झझल्ल झल्ल झल्केका चन्द्रमाहरुका गति ॥
शान्त आनन्दका ज्योति मुस्कुराहट मौन झैं ।
जीवनी-शक्ति पीयूष छर्दथे शीत रश्मिले ॥
व्योमको तर्फ फर्केर इच्छा गर्दा मनोहर ।
अनुसारी झरी ज्योति, फुल्ने फल्ने सबैतिर ॥
(१६३)

शान्तिको सूचना दिव्य जस्तो त्यो वायुमण्डल ।
पियो जत्ति हुने उति तृप्त-आनन्द शीतल ॥
आत्माले दिव्य आनन्द यही हो भन्दथ्यो त्यहाँ ।
सत्यचेती होश पनि बन्थ्यो गद्‌गद नै जहाँ ॥
नसामा चल्दथे नाला कल्कलाई मिही ध्वनि ।
शिरा शिराभरि 'राम' अभिराम जगाउँदै ॥
प्रशंसातुल्य आनन्द, आनन्दरसरि तारिफ ।
तारीफ झैं भजनको प्राकृतध्वनि मञ्जुल ॥
सङ्गीतमय भै चल्दा बीन झैं दिव्य जीवनी ।
हर्षोत्फुल्न बनी यूँथ्यो सच्चिदानन्दको ध्वनि ॥
निर्मलाएर आए झैं हृद्‌व्योमी शारदीयता ।
बन्थ्यो प्रभा-पटलले गोल आनन्द झैं सफा ॥
पृथिवी नफिरूँ जस्तो, नसम्झू झैं अरू करा ।

आँखा चकोर झैं बन्थे हृद्‌घण्टीको निनादमा ॥
आफैं सद्भावना खोजी आफैं हेरी डुलीरहूँ ।
झुलीरहूँ कि डोलेर श्वास चामर सुन्दर ॥
भने झैं भावना उड्थे जो छन्‌ अमर पुष्पमा ।
बास्नाबाट गरी पूजा आँखाका दिव्य ज्योतिमै ॥
दीप बालेर सौन्दर्यमय भाव चढाउँदै ।
फूलका रूपमा नाची गतिमा दिव्य देहको ॥
परमेश्वरको तर्फ कूजनामृतभावना-
को नै जीवन पाएर त्यही पारी उपासना ॥
हरेक कर्मले मीठो हरेक क्षण सुन्दर ।
पारूँ झैं लाग्दथ्यो भित्र स्वर्गबीच पुगेपछि ॥
भित्रबाहिर सत्‌तेजी, सदानन्दी सुदीक्षित ।
वृक्षमा, बोटमा, त्यस्तै वल्लीमा, शैलमा पनि ॥
जे भावना छ आनन्द उसैमा पाइ जीवनी ।
ऐक्य दिव्य लिई फुल्दो जिन्दगी झैं फुलूँ भनी ॥
परमेश्वरका अङ्ग बन्ने इच्छा पलाउँथे ।
स्वतन्त्रता उज्यालो झैं स्थितिमा दिव्य सुन्दर ।
केन्द्रीय ध्येय मिल्नाले राज्य गर्थ्यो सधैंभर ॥
(१६४)

बिजुली झैं बनी झिल्ल नव रूप उदाउँदा ।
वियोग नै नदेखिन्थे साना क्षणिक झिल्किदा ॥
(१६५)

आँसु बन्थे कला खालि वेदना, दुःख नाटक ।
सत्योद्‌घटनाको सार देखाई अमृतोज्ज्वल ॥
तर लाग्दैनथ्यो चोट पीयूष पिउँदा त्यहाँ ।
(१६६)

वृत्रहाले लगे भित्र नन्दनैवनको पथ ।
विभिन्न दृश्यका कोण कलात्मक जहाँ थिए ॥
(१६७)

जमीन अलि ओर्लिन्छ उक्लिन्छ जुन बागमा ।
परिश्रम नपारेर पदको नृत्य झैं बनी ॥

साना छन्‌ रत्नका दाना बालुवा-पथमा जहाँ ।
जूनमा झल्ल झल्केका रङ्गीचङ्गी मनोहर ॥
घाँसभित्र कला दिव्य रङ्ग लेख्दछ सुन्दर ।
सजीवता थपी रम्य, मेलको बन्न चातुरी ॥
वल्लीमा फल्दछन्‌ रत्न कलाका चारू पत्रका ।
हवामा छुन्मुनाएर रङ्गीचङ्गी बनी निका ॥
वृक्ष छन्‌ जूनमा बढ्ने कैमुदीको सुगन्ध ली ।
दिव्य कोमलता नै छ विशेष गुण ती भरी ॥
बाङ्गाटिङ्गा कतै छैनन्‌ असुन्दर मुखाकति ।
कलीलो दिव्यता नै छ स्वर्गको मञ्जु पद्धति ॥
बास्ना त्यहाँ इन्द्रियमा घुसी आत्मा समाउँछ ।
वसन्त नित्य भै छैन लाग्दो चिच्याट चित्तमा ॥
हरिया नित्य छन्‌ पात श्वास वास समन्वित ।
सौन्दर्य नै पिई बन्ने राम्रा बान्की कलायुत ॥
मीठो शीतलतासाथ गानको मृदु गौरव ।
दिलै गद्‌गद पारेर पक्षी लिन्छ झुलीकन ॥
लहरा हाँगिएका छन्‌ नटी झैं चारु-भूषण ।
हरेक चाल आनन्द नाचे झैं पत्र भैकन ॥
पुष्पदार हरा हाँगा पन्ना कोमल पल्लव ।
हजार इन्दुका रश्मि पार्दछन्‌ राम-वैभव ॥
छैन बादल स्वर्गैमा पृथिवीको सिँगार त्यो ।
जल दिन्छ हवा खालि ज्योतिले शीतरश्मिको ॥
वृक्षले सिर्जना गर्छन्‌ ऋतुदार नयाँ रँग ।
विभिन्नता राख्नलाई दृश्यमा चारुतासँग ॥
कालै न छ जिते जस्तो छैन झैं परिवर्तन ।
खालि काल छ राखेको राख्न ताल र नर्तन ॥
जता हेर्‍यो उतै सुख्ख जुनेली बन्छ झल्मल ।
छैन ताप कतै चिन्ता आत्मा बल्दछ शीतल ॥
तर यस्तो शीतलता पृथिवीमा छ बाहिरी ।
दिलमा भित्र आत्मामा घुम्छ यो तर माधुरी ॥
(१६८)

बनी मीठा बान्की सरस कलिला भै लहलह ।
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनेली आभामा अलि अलि दिने चारु झलक ।
रसीला राम्रा छन्‌ मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृदु अनिलले लोल ललित ।
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
छिटो ज्यूँदो मीठो सरसपनका कोमल मुना ।
कतै झुप्पा झुप्पापसित चलिरहेछन्‌ छुनुमुना ॥
(१६९)

त्यहाँका चाला नै रसमय उज्याला मृदुकला ।
त्यहाँ छैनन्‌ केही विरह-गर्‍हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत्‌ झैं पुलकमय रङ्गीन हलुका ।
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला ॥
(१७०)

लिपिन्छिन्‌ बास्नाले सरस छविले भूमि सिहँली ।
फुलेका छन्‌ ढुङ्गा पनि कुसुम झैं कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
थुँगा झैं ढुङ्गामा विधुकर झझल्किन्छ मधुर ॥
(१७१)

कतै ता बोल्ने छन्‌ तरु पनि मुनामा स्वर भरी ।
झरेका अर्नाका निकट रजत-स्वादु लहरी ॥
छ छं छं छं छं छे सलिल स्वरमा गानतरल ।
सधै नाची बोल्छन्‌ मुखरित हुँदा वृक्ष मृदुल ॥
(१७२)

कुँदेका जस्ता छन्‌ दलहरु हरा बोटहरुका ।
त्यहाँ ज्यादा देख्थे नृपति सुख चैतन्य तरुका ॥
नदेख्ने भै आँसु प्रखर दुखका पार्थिवकण ।
सुधाले पोषेका तरुवर फुलेका सुखसँग ॥
(१७३)

जहाँ जन्मै छैनन् मरणहरुको अन्त पनि नै ।
जहाँ दुःखै छैनन्, कटु वचन काँढा पनि न छ ॥

जहाँ सौन्दर्यैको मृदुलपन नै जीवन थियो ।
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥
(१७४)

टिपेका हाँगामा कुसुम कलिला हातहरुले ।
न देखिन्थे चोटै मृदुलदल ज्यादै लघु भई ॥
त्यहाँ लागीहाल्थे त्वरित रसिला कुड्मलहरू ।
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥
(१७५)

कतै बास्नाका छन्‌ लहर रँगमा रम्‌रम हुने ।
कतै ज्वाला बल्छन्‌ झिलमिल बनी फूल रँगिने ॥
यता यारिन्‌ फुल्छन्‌ सुरयुवतिका बोटहरुमा ।
उता बोली फुल्छन्‌ मृदु कुसुमका ओठहरुमा ॥
(१७६)

त्यहाँ चिल्ला चिल्ला सतह हरिया पुष्प तरुका ।
हरा हाँगामा छन्‌ विविध चिडिया पुष्पसरिका ॥
भुवा राम्रा रङ्गी कलकल गरी कुञ्ज महिमा ।
सदा गाई बस्ने मधुर स्वरका नृत्यहरुमा ॥
(१७७)

उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको ।
भुवाका देखाई नजर लिइ राम्रा टलकका । ॥
बनाई चूँचूँले पवनकन आह्लादित सब ।
उडेका फूलै झैं विहगहरुू बोल्थे नव नव ॥
(१७८)

त्यहाँका पन्छीको गरिसकिनु के वर्णन छ र ?
उज्याला स्वप्ना झैं चिरबिर गरी आठ प्रहर ॥
सबै छन्‌ जूनेली स्वर मुख लिई चन्द्रसँगमा ।
कुरा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥
(१७९)

भए बेला सुत्ने कुसुमहरुका पत्रहरुले ।
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥
सुतेका हन्छन्‌ ती मधुर सपनामा कुसुम झैं ।
स्वतन्त्रानन्दी भै निशि पनि नभै स्वर्गतिर ता ॥
(१८०)

त्यहाँ आँखामा छन्‌ चमक हँसिला दिव्य सुखका ।
जहाँ व्याधा छैनन्‌, शरहरु न पुग्छन्‌ निठुरका ॥
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला ।
त्यहाँ बोल्छन्‌ पन्छी मृदु किरणले प्रेरित भला ॥
(१८१)

कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा ।
गरी फर्फर्‌ राम्रो सुरभित चलाई मृदु हवा ॥
यसो तानी घाँटी लघु ढलक ली दृक्‌ चमकका ।
हँसीला वाणीले हृदयकन छुन्छन्‌ कति निका ॥
(१८२)

सफा ऊँचा मीठो विधुलसित आनन्द हलुका ।
सूगन्धी ज्यूनाको रसमधुरता लीकन निको ॥
बने झैं हृद्‌वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि ।
सुखै झैं ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥
(१८३)

यहाँका हावामा अमृत-रसको गन्ध हलुका ।
यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥
यहाँका शब्दैमा दुखरहितताको मृदुपना ।
छ झल्केकी बागै कलकल सुखाऽस्वादन घना ॥
(१८४)

नयाँ बोली मीठा अवनितलमा नै नसुनिने ।
नयाँ झल्का राम्रा उदधि पृथिवीबीच नहुने ॥
मसीना तृष्णाका सकलपन झैं शोभन मिही ।
त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥
(१८५)

त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता ।
नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥
छिनाले ब्रह्माको कनकमय मानो कुँदिइँदा ।
बने झैं रेखा छन्‌ हृदयकन सन्तोष रहने ॥
(१८६)

त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा ।
छ यौटा नै बाँकी अब लघुसिँढी पूर्णतिरमा ॥

भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हुन गै ।
रहोस्‌ अद्लीबद्ली विकसित रहून् रूपहरु झैं ॥
(१८७)

"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी ।
त्यहाँ सोद्धा भन्छन्‌ सुरपति "हजारौं अझ पनि ॥
बनेका छन्‌ राम्रा प्रभृहृदयका दिव्य महिमा ।
म जस्ता राजा छन्‌ कति कति महान्‌ विश्वभरमा ॥"
(१८८)

कुनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च' ।
कुनै 'कुर्‌ कुर्' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल' ।
कनै 'चीँ चीँ कल्‌बुल्‌ चिरिरि चुइँ चूँ चूँ" प्रतिपल ॥
(१८९)

कतै 'काफल्‌ काफल्‌' 'लहलह' कतै ता "चहचह' ।
"झझिल्‌ झिल्‌' क्वै बोल्छन्‌ 'रुनुझुनु' कतै ता 'छुनुमुनु' ॥
कतै 'पासल्‌ पोसल्‌' 'पलपल कुकुल्‌ कुल्‌ मुनुमुनु ।'
(१९०)

कतै झुल्दा पन्छी किसलय नयाँमा तह तह ।
त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
"फफर्‌ फर्‌ फर' गर्छन्‌ विहग सब उड्दा वरिपरि ।
त्यसै झारी धूलो सुरभित मजामा झरझरी ॥
(१९१)

चरो इन्द्रेणीले नृपतिकन देखी चमकले ।
'छ छं छं छं' बोल्यो जिउकन हिलाई भडकले ॥
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली ।
उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्झल बली ॥
(१९२)

त्यहाँ छन्‌ बाटूला मखमल मुनाको तट लिने ।
गरा जस्ता राम्रा मरमर किनारा मृदुकने ॥
जडेका ढुङ्गा झैं झलझल जहाँ सैकत कणा ।
सितारा झैं झल्झल्‌ लसित छ उज्यालो छविसँग ॥

उज्याला बत्ती झैं लहर मणिका रङ्ग विविध ।
झझल्‌ झल झल्‌ गर्छन्‌ विधुकर खुलाई बहुविध ॥
(१९३)

कतै माला राम्रो जललल बनी झ्यालउपर ।
शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥
जहाँ झल्की शोभा मृदुवचनका रङ्गहरुमा ।
परी हाँसी हेर्छन् तलतिर बनी दिव्य सपना ॥
(१९४)

त्यहाँ खम्बा खम्बा छविमय अहा ! रत्नजडित ।
सिँगारी राखिन्छन्‌ सुरकुसुमले सुन्दरसित ॥
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव-
हरू झल्कीमल्की लघुतवर झर्छन्‌ झलमल ॥
(१९५)

त्यहाँका भै नै छन्‌ मृदुल मणिका सम्म सतह ।
बिछाएका राम्रा मखमलहरू छन्‌ तह तह ॥
कतै बाटूला छत्‌ मरमर जडेका तर कहीं ।
अनेकौं श्रेणी छन्‌ नृपकन दिने आसनहरू ॥
(१९६)

त्यहाँ छन्‌ झल्केका कनकमय चौकोस हँसिला ।
उठाएका बुट्टा झलमल बनेका मणि जडी ॥
उज्यालो गर्ने छन्‌ मणिहरु बडा झाडहरुमा ।
त्यसै धप्‌धप्‌ गर्ने द्युतियुत कतै रङ्गहरुमा ॥
(१९७)

थियो यौटा हीरा धपधप बलेको त्यस थल ।
उज्यालो बत्ती झैं छविमय बनाई झलझल ॥
म त्यो हीरा पाऊँ यदि अवनिमा भूप सबको ।
महासम्राटको नै मुकुटमणि बन्थें सहजमा ॥
(१९८)

पुगे घुम्दै घुम्दै सुरपति र दुष्यन्त सँगमा ।
उज्यालो नाचेको घरतिर बडो काँचमहल ॥
जुनेली शोभाको भुइँ झलकले निर्मल सफा ।
घरै नै झल्केको स्फटिकभर हाँसीकन प्रभा ॥
(१९९)

त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई ।
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥
लतामा लच्केको विविध मणिको झल्ल झलक ।
मिलाई बस्नेछन्‌ सुरयुवति लुक्दै दिन टक ॥
(२००)

भयो खेल त्यहाँ यौटा दुष्यन्तअघि अद्‌भुत ।
लम-कोसे मिही भौंका परीका नखरासित ॥
(२०१)

अँध्यारो भो सारा महल पहिले शून्य हुन गो ।
विनारूमै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥
त्यहाँ झिल्झिल्‌ झिल्क्यो अनुपम उज्यालो मधुमय ।
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥
(२०२)

थियो गाना मीठो मधुमय 'न हूँ हूँ बहुत म ।'
भने झैं ढीलो भै किरण लहरी झैं रम रम ॥
अँध्यारो फाटे झैं मिरिमिरि भयो ठाउँहरुमा ।
झिलिल्‌झिल्‌झिल्‌ झल्क्यो छवि विधुविना आकृतिविना ॥
(२०३)

त्यहीं बन्दै आयो सरस मृदुरेखा र वदन ।
'अहं' जस्तो मीठो लहरहरूमा झन्न झनन ॥
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू ।
बनेको लाएको वसन सुन झैं झल्मल हुने ॥
(२०४)

बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झैं ।
उदाएका देख्थे नृपवर महाविष्णु रवि झैं ॥
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर-
हरूमा जागे झैं स्वरहरु उठे स्वादप्रहर ॥
(२०५)

परी-पन्छी उड्छन्‌ मधुर रसनाका रवहरू ।
प्रशंसा झैं गाई जलद-वसन-व्योम निकट ॥

झिझिल्‌ झिल्झिल्‌ गर्दै अब सुरहरू जन्मन गए ।
सबै जोडी भन्छन्‌ कर 'जय स्वयम्भो जय ! जय !'
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे ।
गिर्‍यो पर्दा लामो जलदसरिको श्यामलपट ॥
(२०६)

झर्‍यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित ।
फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई ।
उठिन्‌ लक्ष्मी ब्यूँझी हँसमुख प्रभा झैं विभवकी ॥
(२०७)

तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका ।
इशारा फैलाई तब निकट देखेर कमला ॥
"तिमी मेरी माया मसँग बस" भन्छन्‌ र कमला ।
झुकी आँखा बन्छिन्‌ ललितवदनी लज्जतसँग ॥
(२०८)

विष्णुले तब ती लक्ष्मीसाथ सोधे, 'तिमीकन ।
के के चाहिन्छ त्यो चाँडै पुर्‍याउँछु तिमी भन !"
(२०९)

भन्दा ती कमला भन्छिन्‌ 'सिँगारहरु सुन्दर ।
प्रभुको प्रेमका निम्ति पाऊँ सज्न मनोहर ॥"
(२१०)

त्यति भन्दा तब नभमा, झझल्ल झिल्किए तारा ।
रँग झल्के अवनि उठिन्‌ रम्य बने जगत्‌ तारा ॥
(२११)

व्योमविहारी ग्रह उडुका स्वरूप देखिए झल्ल ।
प्राकृत ढङ्ग लिएका गतिमान्‌ रत्न भरी झलमल्ल ॥
(२१२)

आँखाबाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा ।
श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हृत्‌केन्द्रमा ॥
नालाको टक भो नशा शिर भयो आकाशको गुम्मज ।
बन्छन्‌ रोम अनेक शस्य कलिला गाला बने अम्बुज ॥
(२१३)

यस्ता ज्योति अनेक रङ्गहरुका झल्की उडी बन्दछन्‌ ।
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन्‌ ॥
पृथ्वीमा, प्रतिबिम्बि ती तर त्यसै व्यर्थै भए बन्दछन्‌ ।
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन्‌ ॥
(२१४)

यस्तो सिर्जन-दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
स्वर्वेश्याहरु फेरि त्यो महलमा झीना नचाई कटी ॥
कोही छंछम निर्झरी बनिगए कोही बने निम्नगा ।
वल्लीतुल्य अरू, कुनै कुसुम झैं कोही शशी-वृत्तगा ॥
(२१५)

यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हुने वर्णन ।
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
यौटी दिव्य ठिटी कुरङ्गनयनी छड्के गरी दर्शन ।
दुष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
(२१६)

सम्झी झट्ट शकुन्तला नयनले "को हो" भनी सत्त्वर ।
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
के जित्थे सुरदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
बिर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
(२१७)

प्रशंसा गरी नृत्यका बात धेर ।
गरी फर्किए भूप हाम्रा नुहेर ॥
बिदा भैगए आइहाल्यो विमान ।
झर्‍यो त्यो धरातर्फ गाएर गान ॥
(२१८)

परीले सबै गान गाएर हेरे !
झरे फूल माला त्यहाँ धेर बेर ॥
इशाराहरू गर्दथे देववर्ग ।
बिदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
(२१९)

महाराज दुष्यन्तका कीर्ति सारा ।
सुनाएर त्यों सात संसारलाई ॥
बडा पङ्ख राम्रा उचालेर हाँकी ।
झर्‍यो यान सङ्गीत मीठो बनेर ॥
(२२०)

यता ओर्लिंदा भूप दुष्यन्तलाई ।
धरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥
त्यहाँ एक टूना उज्यालो हुनाले ।
बन्यो स्वर्ग झैं सम्झनाले छुनाले ॥
(२२१)

जसै मेघका भाँग छोडेर ओर्ले ।
फुलेका उज्यालो प्रभाले छुनाले ॥
कहाँ दिव्य लावण्यकी मूर्ति होलिन्‌ ।
भनी सोच्न लाग्दी भई कल्पनाले ॥
(२२२)

भुलेका थिए स्वर्गमा त्यो वियोग ।
फिर्‍यो दैन्य पृथ्वी नजीकै हुनाले ॥
नयाँ एक आशा मिलेको विषाद ।
भने आँसु झल्का रँगी झल्कनाले ॥
(२२३)

हजारौं थिए शैलका मञ्नु कृञ्ज ।
उडी आउँछु स्वागती सम्झनाले ॥
हुनैपर्छ ती क्रूरताकी शिकार ।
त्यहाँ प्रेमको तुल्य टूना हुनाले ॥
(२२४)

जसै देखियो एक सौन्दर्य कुञ्ज ।
नदीले चिरेको हरा दृश्य ताल ॥
सफा फेन रेखा झरेको घुमेर ।
भयो नाग जस्तो दिशा उत्तरीय ॥
(२२५)

बिहानी चराका पखेटा उज्याला ।
कुनै स्वर्गको गुह्य चोरूँ भनेर ॥
लिई शीतथोपा उडेका नजीक ।
बनी भान दिन्थे पुकारा गरेर ॥
(२२६)

त्यही हो भनी सम्भिँदा हेमकूट ।
जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥
अनेकौं अरू शृङ्गको बीच साथी ।
सुनौला चुचूराहरू बीच माथि ॥
(२२७)

त्यहीं ओर्लिने आशयी भै विमान ।
चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥
जहाँ नीरका शिल्पकारीसमान ।
थिए शैल चूडा सुनौला बिहान ॥
(२२८)

कुटी एक आनन्दको चारु देखे ।
पराले छ छाना झरी रङ्गिएको ॥
दुवै झ्यालवाला जहाँ देवदारु ।
सियाका बनी चारु टुप्पा रहन्छन्‌ ॥
(२२९)

सफा मर्मरे ठाउँमा स्निग्ध भूमि ।
छ सम्म्याइएकी लगाएर बोट ॥
जहाँ फुल्छ झुप्पा बनी रम्य रङ्ग ।
सफा पारिलो नेत्रले चुम्बिएर ॥
(२३०)

हरा कोखमा बाष्पजाली उठेको ।
पछ्यौराहरू लर्किए झैं झरेर ॥
पहाडी प्रसूनादि शृङ्गारवाली ।
छ त्यो शैल शोभा बढी चारु हेर ॥
(२३१)

त्यहाँ शुभ्र सोताहरू खान पानी ।
झरे झैं सफा बाग झैं देखिनाले ॥
जटाजूटका दिव्य ती कण्ठभूषा ।
सुगन्धी फुली केश झैं धूर्जटीका ।
झरेतुल्य नाला थिए क्षेत्रमाथि ॥
(२३२)

ओर्ल्यो दिव्य विमान शैल-शिरमा फाटेर हुस्सू अब ।
देखिन्थ्यो तल दृश्य चार महिमा चीरा परी गौरव ॥
साना छन्‌ कुइरा यताउति अझै देखिन्छ नाला पनि ।
झीनो बाफ उठेर मिर्मिर हुने क्यै वक्ररेखा बनी ॥
(२३३)

किरण सूर्यका प्रथम कोमल ।
समर गर्दथे बाफका तल ॥
विविध रङ्गमा जुट्न गैकन ।
ठाउँ ठाउँमा हृदयरञ्जन ॥
(२३४)

अरुण कान्तिले वरुण-स्वप्नमा ।
थोर बेरको मृदु विलास ली ॥
शुभ्रता लिँदा बिउँझिँदो जगत्‌-
तुल्य दृश्य त्यो ललित देखियो ॥
(२३५)

सलिलसुन्दरी त्वरित निम्नगा ।
झलल भल्किइन् धवल रश्मिमा ॥
(२३६)

कोरिई सफा लहलहाउँदा ।
हरित खेतका कोण सुन्दर ॥
स्पष्ट बन्दछन्‌ प्रबलता लिँदो ।
गगन दीपका धवल रश्मिमा ॥
(२३७)

स्मृतिपटप्रभाभित्र छेकिने ।
यवनिका बनी वाष्पजालिनी ॥
दिल अचेतमा किरण मिर्मिर ।
हटिसकी त्यहाँ स्पष्टता थियो ॥
(२३८)

शीत बिन्दुका सार झल्मल ।
अवनि बन्दछिन्‌ त्यो बिहानमा ॥
नयनबिन्दुका रङ्ग झल्कनै ।
अवनिको थियो मधुरता त्यहाँ ॥
(२३९)

रुनु पनि प्रियाका वियोगमा ।
दिव्य माधुरीपूर्ण देखिने ॥
नेत्रमा लिई मधुर झल्झल ।
सम्झना, रहे नृपति एकला ॥
(२४०)

चतुर्विंशतितम सर्ग

न्यानो कोमलता लिएर रविले फारेर हुस्सूहरू ।
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थे कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
शीत श्वासित वाससाथ मनमा ब्यूँझाउँथ्यो कल्पना ॥
(१)

डुल्दै शीतल कुञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
ओर्ले कश्यपका कुटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झैं सुशीतल सफा त्यो शान्तिको शासन ।
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
(२)

ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
पातै मग्मग वासका बहु थिए हाँगा नयाँ आशमा ॥
पुछ्रे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
(३)

हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्‌का सरि ।
नौला ढङ्ग मिठासले तरुभरी बन्थे रँगी छिर्बिरी ॥
मानो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
(४)

"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
मेरो वन्य बिहा भयो कुसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
बोल्थ्यो प्रेम बनी जगत्‌ मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
(५)

'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
जिभ्रा झैं कलकण्ठका मृदुलता मागी नयाँ कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसाईकन ॥
(६)

"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
मुस्कन्थे अलि लालरङ्ग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन्‌ वन झैं चरामय कुरा, मीठा सुराका कणा ।
मानो बैंस वसन्तमा र वनमा बास्ना बने झैं घना ॥
(७)

आयो क्रूर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
मेरो श्वास बनेर स्याँठ हिउँदे छाती चिर्‍यो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
वैलिन्‌ हाय ! कतै कतैतिर तिनी होलिन्‌ रुँदी मौनमा ॥
(८)

छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन्‌ रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई धक्का परी निष्ठुर ।
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
(९)

के ठानिन्‌ शिव हाय हाय तिनले वल्ली बनी आउँथिन्‌ ।
मुद्राले नव आशका विरहका दाना बिसाऊँ भनी ॥
मेरो क्रूरपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
राखिस्‌ दैव कहाँ ? बता अब ममा खोज्नेछु रोईकन ॥
(१०)

ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा ।
स्वर्गै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥
ती आँखा दुइमा जगत्‌ कुसुमको मिल्थ्यो कणामा कणा ।
बास्नातुल्य कुरा गरेर मनमा बन्थ्यो रुँदी सम्झना ॥"
(११)

यस्तै तर्क गरेर कश्यपसितै सोधी बुझूँला भनी ।
आँखा कोमल ओर्लिए नृप जहाँ बाक्लो थियो जङ्गल ॥
देखे एक कुमार सुन्दर त्यहाँ जो बोट झैं फूलको ।
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥
(१२)

राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना ।
जस्तो शिल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥
ठूलो भाल, सुपुष्ट ताज जगको बन्ला कि झैं प्राकृत ।
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥
(१३)

फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झैं वीरता ।
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥
मानो बाल छ दिव्य देह हँसिलो मानो कुनै अप्सरा-
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥
(१४)

राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला बनी ।
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥
चम्केका दुइ बाल लोचन, लिई गन्दै थियो वेधक ।
लामा दंष्ट्रकराल तीक्ष्ण वनको ली सिंहको शावक ॥
(१५)

'हेल्‌ छ्याने ! कति लेछ दाँत यछको कछ्‌तो छ तीखो हकि ?'
भन्दा ङ्यार्र गर्‍यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥
कुत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई ।
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥
(१६)

'को होला ? कुन भूपपुत्र ? कसको यो रत्न तेजी यहाँ ?'
भन्दै तर्क गरेर दर्शक बने गर्दै प्रशांसा त्यहाँ ॥
'यस्तो बालक रत्न सुन्दर महातेजी हँसीलोकन ।
पाऊँ राख्न म काख चुम्बन लिँदै स्वर्गै थियो जीवन ॥
(१७)

लोभै लाग्दछ देख्नलाइ शिशु यो क्या तेजको सुन्दर ।
यौटा दोष नदेखिने, कति छिटो, क्या फर्तिलो क्या सफा ॥
तोते फुट्न तयार शब्द रसिलो टूना बनी कानमा ।
गद्‌गद्‌ बन्दछ चित्त चारु सपना झैं दिव्य उद्यानमा ॥
(१८)

को होला ? यसको मुहार अलि क्यै थोरै चिने झैं कता ।
कोही मानिसको कि देवहरुको झैं लाग्छ मिर्मिर्‌ यता ॥
के मैले सपनातिरै दिन कुनै देखें ? झझल्कोसरि ।
को होला ? कुन भूपको शिशु यहाँ या देव आए झरी ?
(१९)

स्वप्ना सुन्दर आशका हृदयका फुल्दो हुँदा यौवन ।
देखिन्छन्‌ यसरी कतै कि रसिला आँखा लिई सम्झिन ?
अर्कै ठाउँ झरेर स्वर्गतिरका यी बाल-स्वप्नाहरू ।
हाँसी चित्त रुलाउँछन्‌ कि यसरी दुःखी बनाई मरूँ ॥
(२०)

यस्तै एक थियो सुचारु सपना त्यो कोपिलैमा पर ।
मेरो लात लिई गयो विधि हुँदा उल्टो कडा निष्ठुर ॥
त्यो बाबाकन रुग्ण दीन थलमा झुत्रो लगाई रुँदी ।
होलिन्‌ काख लिँदी सुदीनवदनी तप्तप्‌ झरी झैं हुँदी ॥
(२१)

यो को हो ? अब सोध्छु' यो मन लिई दुष्यन्त सर्छन्‌ अघि ।
"एनानी ! भन को तिमी ? घर कहाँ ? के नाम तिम्रो भन ?"
भन्दा भन्दछ बाल त्यो हँसमुखा हेरेर माथी तल ।
"मेलो किछ्‌न बुबा विछाल थल यो" फैलाउँदो बाहुली ॥
"आत्मा नाम छ काम यो छब जगत्‌ जित्ने उज्यालो गली ।
बाबा कछ्यपको कुटी घल" भनी तोते बनी माधुरी ॥
(२२)

"साच्चै कृष्णकि झैं मुहार हँसिलो जस्तो छ तिम्रो पनि ।
जित्छौ यो जगतै समस्त सहजै मीठो उज्यालो बनी ॥
आत्मा नाम कसो गरी हुन गयो हे देहका देवता ?"
भन्दा बोल्दछ "के म हूँ ल प्लिथिवी ? माटो त्यछै बेपता ॥"
भन्दै खिल्‌खिल्‌ हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी ।
मानो जिस्किन खेल्न कुद्न सुखको पानी सिँगार्ने छवि ॥
(२३)

"यी हुन्‌ राजकमार चन्द्रकुलका यी तेजिला बालक ।
हाम्रा राजकुमार ती भरत हुन्‌ यी दीनका पालक ॥
सम्राट्‌ देश समस्तका पछि हुने जानेर हाम्रा ऋषि ।
बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥"
(२४)

'यो चन्द्रवंशी कुन राजपुत्र ?'
भनेर सोची मनमा विचित्र ॥
ठानेर भन्छन्‌ "कुन कृष्ण नाम ?
राजा कहाँ छन्‌ कुन देश धाम ?"
(२५)

यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु ।
टिप्छन्‌ दुष्पन्त छीटो, तर निकट हुने गर्दछन्‌ "हुन्न हा हा ॥"
भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन्‌ ती मनुष्य ।
"हाम्रा यी शाहज्यादा प्रभु पनि यिनका" अड्कियो त्यो रहस्य ॥
(२६)

जोडी हात खडा भएर जनले भन्छन्‌ "प्रभो मन्त्रले ।
बाँधेका यस बाजुलाइ अरुले टिप्दा डसीदिन्छ यो ॥
सर्पै बन्दछ मर्छ मानिस पनी, हा हा त्यसैले गर्‍यौं !
हाम्रा राजकुमारका प्रभु पिता जानी खुशीमा पर्‍यौं ॥"
(२७)

नृपको मनमा जवाफले ।
अझ आश्चर्य बढ्यो, 'कसो गरी ?
म पिता यिनको भनीकन ।
सब भन्छन्‌ म त कत्ति बुझ्दिनँ ॥'
(२८)

"हात बाबुको मात्र निर्भय-
साथ टिप्न त्यो बाजु सक्दथ्यो ॥
नत्र सर्प भै मृत्यु डस्दथ्यो ।
चकित बन्नुको यो रहस्य हो ॥"
(२९)

यस्तै हुँदा खबर शीघ्र उडेर आयो ।
टिप्थिन्‌ जहाँ मृदुमुखी वनका कुनामा ॥
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
आँखा भरी सरसतासित सम्झनाले ॥
(३०)

त्यो क्रूरता हृदयमा पहिले गर्‍हुङ्गो ।
छाती किचेर दिनरात उदास पार्ने ॥
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
लागेर ईश्वरतिरै दिलबाट धारा ॥
(३१)

सौन्दर्यमा मृदुलता रसिला थपेकी ।
मानो प्रसून मुरझाउनदेखि बच्ची ॥
आँखा भई करुण आँसु अनेक झारी ।
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
(३२)

श्रीकृष्णको स्मरणले दुखबाट काँढा ।
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
रुन्थिन्‌ तथापि मनको मनमै हमेशा ।
'हे कृष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
(३३)

आशा समान पृथिवीकन प्राणदायी ।
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥
ती प्राण दुःखमय सुन्दरता रुँदी ती ।
छन्‌ मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥
(३४)

खुल्छन्‌ कुनै वसनमा सब रङ्गका नै ।
छन्‌ चन्द्रलाइ महिमा धन कृष्णरङ्ग ॥
ती दुःखलाइ पनि चारु सिँगार पारी ।
भज्थिन्‌ टिपी कुसुम बिर्सिदिने मुरारि ॥
(३५)

चाञ्चल्य-शून्य अघिको छरितोपना नै ।
नाला बनी अब नदी गहिरीपनाले ॥
ती नृत्य भाव तटमा अब चट्ट बाँधी ।
लिन्थ्यो गभीर गति स्वर्ग लिने रँगाई ॥
(३६)

जानेर दुःख-सुख केवल हो परीक्षा ।
भन्ने, लिएर ऋषिको अति दिव्य शिक्षा ॥
श्रीकृष्णको भजनमा मन पूर्ण लाई ।
स्वामी उनैकन बुझी रहँदी यहाँ यी ॥
(३७)

त्यो चोट भित्र दिलको कहिले उठेर ।
बिझ्थ्यो चसक्क दिल सत्वर पग्लिएर ॥
रुन्थ्यो वसन्त वनमा, जब कोइलीले ।
'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो ॥
(३८)

ती आज पुष्पवनमा नहुँदी विषाद ।
यौटा झलक्क मनमा परबाट याद ॥
चम्केर, चारु वनको हरियो विवाह ।
आँखा रसाउन तयार थिइन्‌ अथाह ॥
(३९)

बेला यही सखि कुनै दगुरेर आई ।
"दुष्यन्तको अब सवारि भयो, मलाई ॥
के के दिने ? अब कबूल नबिर्स नानी !
बन्दा समस्त पृथिवीकन एक रानी ॥"
(४०)

भन्दा झसङ्ग "कसरी" सित चारु आँखा ।
आश्चर्यले विपुल, लाउनकी चनाखा ॥
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन्‌ ।
"कस्तो गिज्याउनु" भनी तर शीघ्र रुन्छिन्‌ ॥
(४१)

वृत्तान्त त्यो विपिनको नृपको सुनेर ।
पुछ्‌दी नुही ढलकले दुइ दीर्घ कोस ॥
गम्भीर भाव रसिली मृदु शीघ्र रोकी ।
भन्छिन्‌ कथा "सकल झूट बनोट हो कि ?"
(४२)

विश्वास फेरि सखिले दिलमा दिनाले ।
आकाशतर्फ दिइ दृष्टि कृतज्ञताले ॥
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त ।
गम्भीर चालसँग ती सखिसाथ लागिन्‌ ॥
(४३)

छोटो थिएन तर पाउ खुशी छरीतो ।
ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥
सन्देशको गतिसँगै गहिरो विषाद !
लाई सिँगारसरि दर्शन गर्न आइन्‌ ॥
(४४)

ती गेरुकी मृदुमुखी रसिलो प्रसून ।
वैलेर आधि जिउँदी जलबाट जस्ती ।
नौली बनेर सुकुमारपना गभीर ।
आइन्‌ सुकोमल-दृशी गहिरी भएर ।
(४५)

हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता ।
छन्‌ शिल्पको करुणभाव उज्यालिएर ।
झुक्दी यता मृदुमुखी रसिली बनेर ।
हेर्दा उता विरहका पछुताउ हेर
(४६)

आँखा रसाउन गई अब टल्पलाए ।
ती गेरुदार मुखमा गहिरी अगाडि ॥
हा प्रेयसी ! तब तिमी अब जोगिनीको ।
यो वेशमा रुँदिथियौ ग्रहका अगाडि ॥
(४७)

वैराग्यको कटुपना, सब दु:खभन्दा ।
छाती चरक्क चिरिने, गहिरो गराई ॥
मानो विषाद गहका सब आँसुभन्दा ।
झल्केर दिन्छ सचराचर नै रुलाई ॥
(४८)

क्या क्रूरता मकन भन्दछ गेरु तिम्रो ।
गाली समान गहिरो दिलमा सुनाई ।
यो रङ्गले जलधि आँसु बनेर मौन ।
टल्पल्‌ हुँदो छ गहमा अहिले मलाई ॥
(४९)

क्या शान्त सुन्दर मिठी गहिरी उज्याली ।
गम्भीरता विरहको सरि मूर्तिवाली ॥
नाघेर दुःखहरुका सब साँधलाई ।
छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
(५०)

आँखा बनी सजल भन्छ अहो ! मलाई ।
बिर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
माफी गरे विधि-शिकार म भक्तलाई ॥"
(५१)

जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
रुझ्दो गला अघि परे नृप-पाउमा ती ॥
दोटा झरे विमल विन्दु र छाँद हाली ।
भन्छन्‌ "नत्याग अब भक्त दुखी मलाई ॥"
(५२)

रोई तिनी पनि थचक्क बसेर घूँ घूँ ।
रोइन्, बने उर खसेर उचालिँदा ती ॥
रोए त्यहाँ सकल मानव वेदनामा ।
टल्पल्‌ गरेर जलमा दुइ देखिनाले ॥
(५३)

दोटै गला अब मिलेर भिजेर रुन्छन्‌ ।
आत्मा छ बर्बर दुवै रसिला कणामा ?
सिद्धिन्छु झैं दुख दगुर्दछ शीघ्र चारु ।
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥
(५४)

मानो छ आँसु यति भाव प्रकाश गर्दो ।
"हा नाथ, के गरि बिते निठुरी हुनाले ॥
हा प्राण, के गरि जिएँ पछि सम्झिनाले ।
यो प्राण आतुर उडेन कडा हुनाले ॥"
(५५)

"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी ।
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥
त्यो क्रूरता यदि सचेत भए म जल्थें ।
मूर्छा भएर म बचें विधिको टुनाले ॥
(५६)

यादै भएन तर विस्मृति ढाकिनाले ।
कालो बनेर घन आँसु तिमी रुलायो ॥
झिल्केन एक बिजुली पनि आँधि आयो ।
यो दुष्ट हो छल भनी मनले लिनाले ।
(५७)

सम्झेर आँसुहरुले दिनरात रोएँ ।
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥
यो इन्द्रजाल गहिरो विधिको मलाई ।
छोप्थ्यो तिमीकन रुलाउन हाइ ! हाइ !!
(५८)

छाती चिरेर यदि दर्द सबै सुनाऊँ ।
रोला जगत्‌ सब सदैव लिएर आँसु ॥
छु प्रेमको हृदयको गहिरो पिपासु ।
यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥"
(५९)

यस्तै गरेर दुइ साथ रुँदै बसेका ।
देखेर दर्शक सबै दृगमा रुझेका ॥
केही उज्यालिन गए सब भै प्रसन्न ।
ती भेटघाटहरुले, दुइ देख्न धन्य ॥
(६०)

गर्छन्‌ दुवै हृदयको गहिरो सह्रानी ।
सारा लिएर गहमा सुखसाथ पानी ॥
गद्‌गद् बनेर दिल क्यै अब सुँक्क सुँक्क ।
रुन्छन्‌ त्यहाँ प्रणयको गतिले छुनाले ॥
(६१)

जो प्रेमको गति विचित्र छ सो बुझेर ।
छाया मिलेर दिल मानवमा अनौठा ॥
रुन्छन्‌ सबै प्रकृत रोदनले खुशीको ।
ती दिव्य दिव्य क्षणका छवि झल्किनाले ॥
(६२)

दोटै उठे अब पुछीकन आँसुधारा ।
ती साथ साथ अब कश्यपका कुटीमा ॥
लाग्छन्‌ पछाडि अनि राजकुमारचाहिं ।
आश्चर्यसाथ जननी -मुखतर्फ हेर्छन्‌ ॥
(६३)

ऋषि अगाडि गईकन ती दुई ।
प्रणत छन्‌ करजोरी खडा भई ॥
खुइलिईकन केश मुहारका ।
धवलश्मश्रु थिए अतितेजिला ॥
(६४)

अतिवयस्क तपोबल उज्ज्वल ।
नयन युग्म थिए तिमिरावृत ॥
कर छ दक्षिण सूर्य समर्पित ।
कुसुम एक लिई हलुकासित ।
(६५)

विपुल चन्दनदार निधारमा ।
निगम-आगमका सब सारमा ॥
त्रिशत आयु लिईकन शान्तिको ।
सुख कुटीरविषे रहँदा त्यहाँ ।
(६६)

गहन ध्यानविषे अहिले थिए ।
पलक बन्द गरीकन ती ऋषि ॥
नयनले मनको तर देख्दथे ।
सय कुरा र भने "बस" हातले ॥
(६७)

दुइ बसे अब सुस्त नजीकमा ।
नृपकुमार लिएर शकुन्तला ॥
मृदुमुना शिरका करले मृदु ।
मधुर स्नेह गरेर मुसार्दथिन्‌ ।
(६८)

पलक बन्द गरेर त्यहाँ ऋषि ।
नजरले मनको सब देख्दछन्‌ ॥
तब त्यहाँ उपदेश गरूँ भनी ।
वचन मिष्ट सुधासरि बोल्दछन्‌ ॥
(६९)

"राजा ! यो विश्व साराकन नियमको एक छन्‌ दिव्य शास्ता ।
सम्झी राज्‌ गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य ।
सेवाको भाव राख्नू जनहित नृपको ताज भन्ने बुझेर ॥
(७०)

यो यौटा राजनीति प्रबल बुझ तिमी सत्यको भित्र सारा ।
राज्यैको आयु होला जबतक त्यसमा ईश-सन्तोष होला ॥
घेरा चौडा गराए हृदयकन दिए सत्य चौडा विशाल ।
ज्यूनेछन्‌ राज्य लामा कुसुम-निकर झैं स्वस्थ सौगन्ध चाल ॥
(७१)

प्रेमै हो सिर्जनाको प्रथम विधि यही विश्व-आधार जान ।
प्रेमै हो दिव्यताको मधुमय करुणा प्रेम हो विश्व-प्राण ॥
प्रेमैले मिल्छ तारा, यसकन सबको धर्मको तत्त्व जान ।
हेलाँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान ॥
(७२)

आत्मा जस्ता तिमी हौ, मधुमय सुषमा साथकी स्त्री यिनी हुन्‌ ।
जाने सौन्दर्य तत्त्व-प्रचुर तप यहीं हुन्छ देखिन्छ सत्य ॥
सत्यैको मोहनी हो प्रकृतिबीच सबै माधुरी मोहनी यो ।
आत्मा बोलाउने भै वरिपरि छरिई डाक्दथे प्रेमद्वारा ॥
(७३)

आत्मा देखेर आफ्नो प्रभुकृत सुषमा मोहनीका चकोर ।
बन्छन् प्रेमी, हजारौं दुखसुखहरुका ली परीक्षा अघोर ॥
हामी रुछौं रुलाई तर हृदय सबै सोधिने यो क्रिया हो ।
यस्तो आनन्ददायी मिलन भइदिनू ईशको नै दया हो ॥
(७४)

स्वर्गैमा हुन्न शोभा हृदयकन नभै मेल यो शान्तिद्वारा ।
बिर्सन्छौ मोह पर्दा प्रकृतिकन भनी दिव्य सौन्दर्य सारा ॥
बिर्सेथ्यौ प्रेयसीको दिलकन जसरी शापले क्रोधमूर्ति ।
दुर्वासाको अगाडि प्रबल विधि त्यसै गर्दछन्‌ विश्वभित्र ॥
(७५)

फर्की आएर हाम्रो स्मृति जब अघिको गर्दछे सत्‌ प्रभाव ।
आत्मा यो रुन्छ दाँजी प्रकृतिपन लिई पापको क्रूर ताप ॥
छुट्दै जाँदा जगत्‌को सुरपुर विजया दिव्य आत्मा उज्यालो ।
भेट्छन्‌ आखीर आफ्ना प्रियतम सुखले आँसु यस्तै बहाई ॥
(७६)

छोरा झैं मोहनीले मधुमय सुखको सम्झना यो सुषार ।
राखीछोड्छ्‌ र भन्छे अलिकति गहिरी रूप वैराग्य-सारा ॥
पायौ जो मोहनी यि यिनकन गहिरी भावनाले बुझेर ।
बढ्नेछौ स्वर्ग राजा ! पछि सब सुरका वीर श्रेष्ठै बनेर ॥
(७७)

यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य साम्राज्य लेला ।
बन्ला नामै जगत्‌मा अमर भरतको भारतै दिव्य पारी ॥
प्रेमैकी दिव्य नीति प्रबल नृपहरू वीरता ताँति-ताँति ।
तिम्रा सन्तान लेलान्‌, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
(७८)

जाऊ राज गर्न जाऊ बहुत दिन अझै देख्छु हे भूप ! बाँकी ।
हौला बूढा तपस्वी पछि पछि वनमा मालिनीतीर सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद्‌ पवित्र ॥"
(७९)

यस्ता वाणी सुनेका मिलन-सुखविषे गद्‌गदाएर दोटै ।
जान्छन्‌ विश्राम सिद्धी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुइ हृदय मिली राज्यमा कृष्ण-राधा-
जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
(८०)

कुनिकुथीकन काव्य मिलाइयो ।
शठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदथ्यो, सब निष्फल ।
हुन गए सरि लाग्दछ दुर्बल ॥
(८१)

म त रँगाउँदथें करुणा भए ।
सकल चित्र मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
नजरलाइ कसिङ्गर भो हरि ॥
(८२)

गुण भए मधुलिट्‌हरुको रस ।
विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँसु सुखी पला ।
सुखसँगै रहने छ शकुन्तला ॥
(८३)

॥ इति ॥

साझा प्रकाशनका केही कविता/काव्य
अतिरिक्त अभिलेख दिनेश अधिकारी
अराजक अक्षरहरू विजय सुब्बा
असमर्थ श्लोक राजव
अस्वीकृत उपेन्द्र श्रेष्ठ
आदर्श राघव (महाकाव्य) पं. सोमनाथ सिग्द्याल
एउटा गन्तव्यको खोजीमा विश्वविमोहन श्रेष्ठ
एक्लो एकान्त अशेष मल्ल
काँडाका फूलहरू मनु ब्राजाकी
केही गीत केही गजल कालीप्रसाद रिजाल
चिसो चूह्लो बालकृष्ण सम
छुटेका यादहरू वियोगी बुढाथोकी
जीवनको लय श्रवण मुकारुङ
तरुण तपसी लेखनाथ पौडचाल
दाजै ! कविता गाउँमै छ भूपाल राई
दोभान (महाकाव्य) भरतराज पन्त
नफुलेका फूलहरू क्षेत्रप्रताप अधिकारी
नरमेध खुमनारायण पौडेल
पञ्चदशिका अनु. भरतराज पन्त
पृथ्वीराज चौहान (महाकाव्य) लक्ष्मीप्रसाद देवकोटा
मृत्यु-कविता मञ्जुल
वीरकालीन कविता सं. दयाराम श्रेष्ठ
समसामयिक साझा कविता सं. डा. तारानाथ शर्मा
साझा कविता सं. चूडामणि बन्धु
सूर्यस्नान कृष्ण प्रधान
सृष्टिकर्ता मित्रलाल पंज्ञानी
हाडमासुको पहाड शिव अधिकारी

मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन ५५२१०२३, फ्याक्स ५५४४२३६

  1. सूर्य हेर्ने हातको मुद्रा।
  2. काल्पनिक अग्न्यस्त्र ।