Jump to content

Page:Laxmi nibandhasangraha.pdf/165

From Nepali Proofreaders
This page has not been proofread

कालिदास आजसम्म पुरानो र थाङ्नो भएका छैनन् र नवीनयुगी प्रसिद्धि कामुकहरुले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न, त्यसै गरी हामी लेखनाथ बुद्धिमान्को विवेकमा पुरानो र थाङ्नो भएको कहिल्यै देखिन्नन् भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन । सचेत कारीगरीको अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं, तर त्यहाँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात देख्ने सङ्कुचित नजर हुन्छन् । आधुनिकता आजकलको पना हो भने हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौं । संस्कृतलाई नफरत गरेर हामी आढ्य हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरु जड्नु दोष होइन यदि तिनीहरु मधुर र प्राकृत हुन् । खालि आढ्य कल्पनाको सङ्केत मात्र तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तितोपनाको भक्त हुन सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनँ । कविता बोलचालको भाषामा हुनुपर्छ भन्ने कुरामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र आखिरी फैसला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे पनि कविका भावहरु बाटुला हुँदै, बन्दै, कुँदिदै निक्लनुमा उस्तो दोष देखिंदैन जतिको जङ्गलीपनको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन हुँदैन । सौन्दर्यका सूक्ष्म चेतहरुले सिर्जनालाई सोद्धै निकाल्दैनन् । भावको रोकावट हामी त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ । शब्दलालित्यको लोलुपताको विषयमा हाम्रो रायमा सुन्दर भावहरुले तद्विषयी तद्रेखी शब्दहरुसित झुकाव लिने हुनाले शायद भावकै दोष हो कि ? तब अवगुणहरु छैनन् भन्न बिलकुल हामी सक्तैनौं । न त हामी स्तुति मात्र लेखिरहेछौं । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी लेखनाथ पौड्याललाई नेपालका आधुनिक अद्वितीय महाकवि र महापुरुषका रुपमा देख्तछौं ।