Jump to content

Tarun tapasi/dwitiya bishram

From Nepali Proofreaders
द्वितीय विश्राम


बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी ।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्ति-माधुरी ॥


चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथेँ यो चोला जुन बखतमा लोकहितको ।
उसै वेलादेखी जुन जति सहेँ कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥


म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥


सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनी
मलाई को हेर्ने ? उस बखत माया-वश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥


कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी ।
म थर्कन्थेँ, भन्थेँ पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥


ठुला साना प्राणी चतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्य-विभव ।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणय-रसले देव-नगरी ॥


बढी, बाँचौँ, भोगौँ विषय-सुख राम्रोसित भनी
तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।
ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि
सबैलाई प्यारो विषय-सुखको यो जलनिधि ॥


अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
जगद्‌व्यापी एकै भुवनपतिको जीवन-कला ।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥


'दया' भन्ने एकै मधुरतम पीयूष-रसको
पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको ।
यता विश्वप्रेमी बन मतलबी भाव नधर
उतालाई सोझै अमर-पदवी हासिल गर ॥

१०
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
अहो ! एकैनासे परम चितिको दिव्य चकमा ।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?
विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥

११
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।
कलीलो यो मेरो वय छ, बटुवा हो ! जनि गर
चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥

१२
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी
म बोल्थेँ त्यो वेला विकल बिचरो न्याहुल सरी ।
कठै ! मेरो भाषा नबुझि सब चल्थे टमटम
हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥

१३
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा
भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा ।
म गन्थेँ बाटोमा निशिदिन कठै ! जीवन-घडी
मजा मानी बुन्थेँ मलिन मुखमा जाल मकडी ॥

१४
जसै बल्झे माखा, मसक बिचरा जाल-बिचमा
अनी कालो कालोपम शठ शिकारी नगिचमा ।
पुगी दाह्रा धस्थ्यो रगत सब चुस्थ्यो तननन
म आँखा चिम्लन्थेँ सहन नशकी त्यो शठपन ॥

१५
कठै! यस्तै यस्ता धरणितल नै नर्क गह्रुका
गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका ।
तमासाले गर्दा मन विकलतासाथ चिरियो
विधाताको लीलावश पयर विस्तार थिरियो ॥

१६
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
बहन्थ्यो छातीमा रस-बल उसैको भर गरी ।
उठेँ सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको ॥

१७
विजेताको मानू विकट विजयोन्माद-जनित-
प्रताप-ज्वालाले सदृश, किरण-श्रेणि-खचित ।
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥

१८
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
अँगेनू भैहाल्यो रवि-किरण बल्दा दनदनी ।
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
म त्यो वेला टिक्थेँ कसरि बलियो दैव नभये ?

१९
न ता मेरो काया प्रबल, न त छाया छ घनको
न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको ।
कठै ! त्यो वेलाको अति विकल सन्तप्त मनको
अवस्था नै अर्को, सहजसित शक्ने कहन को ?

२०
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
छुट्यो मानू नाडी-चलन, पदमा जीवन लुक्यो ।
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
म लिन्थेँ यो चोला बदलिकन अन्तैतिर जुनी ॥

२१
निशाले छर्थी जो अमृत-रस वा शीतलपन
उसैद्वारा गर्दै दिवसभरको दाह-शमन ।
जती चढ्थ्यो राती विकल मुटुमा जीवन-बल
उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल ॥

२२
सही चर्को ज्वाला नियति-गतिले बन्धन परी
रही त्यस्तो चालासित अधमरा जीवन धरी ।
बितायेँ त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो
मलाई त्यो भाग्योदय-विधि-विधाता गुरु भयो ॥

२३
बजाई चौतर्फी विजय-नगरा त्यो घननन
उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा
चढ्यो मेरो शोकाऽऽकुल मन खुशीको तखतमा ॥

२४
उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली
जती गर्थ्यो कालो घन-पटलमाथी झिलिमिली ।
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस
थियो मानू प्राणै उस घनघटाको परवश ॥

२५
विधाता पग्ल्यो वा जलद-घटदेखी जल चुह्यो
सुधा बर्स्यो यद्वा प्रकृति-जननीको दुध बह्यो ।
अहो ! जस्ले गर्दा लहलह भयो जीवन सब
निमेषैमा उर्ल्यो शत-शतगुणा वृद्धि-विभव ॥

२६
अकस्मात् मिल्नाले मधुरतम त्यो जीवन-सुधा
भयो मेरा लेखा अमर-नगरी तुल्य वसुधा ।
उदायेँ, मौलायेँ, जड पनि जमायेँ वरिपरि
पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥

२७
क्रमसित घटनाको चित्र सारा उतारी
विकसित मुख-शोभा शान्त गम्भीर पारी ।
किन किन मुनि फेरी बेसरी चक्कराये
मधुर अमृत बग्दो सूक्ति-धारा दबाये ॥