Tarun tapasi/bhumika
शैशवावस्थादेखि नै मलाई नित्य कविताको रसपान गर्ने अवसर मिलेको थियो; मलाई सह्यार्ने दुई जना धाईआमाहरूमा एउटी होमनाथको कृष्णचरित्र र अर्की भानुभक्तको रामायण गाएर पाठ गर्दथिन् । रामायण गाउने चाहिँ सङ्गीतज्ञा थिइन्, त्यसैले म रामायणतिर विशेष आकर्षित हुन्थेँ, उसमा पनि जब रामचन्द्रको बिदा हुने बेला आउँथ्यो, त्यो पनि जब शिखरिणी छन्दमा आउँथ्यो– 'गयो खान्या बेला मकन त मिल्यो राज्य बनको'– मलाई कविता लाग्दथ्यो । प्रायः पहिलेका नेपाली कविता शार्दूलविक्रीडित छन्दमा लेखिएका छन्, सो छन्दलाई जातीय छन्द भन्न सकिन्छ तापनि हिमालयनिकट शैलशिखरमा बस्ने नेपाली हृदयको प्रतिध्वनि विशेष शिखरिणी छन्दमा भएको देखिन्छ; मुख्यतः जब कवितालाई रुवाउनुपर्यो अनि उनीहरू यही छन्दको प्रयोग गर्दछन्– भानुभक्तले भक्तमाला यही छन्दमा लेखे– 'जगत्मा खुब् धायाँ न त सुफल पायाँ कहिँ रति', सत्यहरिश्चन्द्रवर्णनमा जब राजारानीको वियोग भयो, बडाकाजी मरीचिमानसिंहले यही छन्द प्रयोग गरे- 'जसै देख्ता देख्तै दुइ जनकनै ब्राह्मणजिले । लग्या ठोक्ते ठोक्तै.....' परन्तु यस छन्दमा अक्षरविन्यास अप्ठ्यारो भएकोले यो धेरै बेरसम्म जान सक्तैनथ्यो तापनि हाम्रा अद्वितीय सिद्धहस्त कविशिरोमणि लेखनाथले सम्पूर्ण काव्य यही छन्दमा रचिदिए । शैलीको विषयमा मलाई यसो भन्नु छ कि 'तरुण तपसी' मा यस्तो एक श्लोक छैन जुन नेपाली भाषाको औँठीमा छाँट पारेर नकुँदी जडिएको होस् । आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तम रोज्दा–
अब यहाँनेर प्रथम भूमिकामा भूमिकम्प हुन्छ: मैले 'तरुण तपसी', देखेको त रहेछु, तर त्यसलाई अझ राम्ररी हेरेको रहेनछु, हो पढेको रहेछु तर राम्ररी गुनेको रहेनछु। आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तर, सर्वोत्तम भनेर प्रथम भूमिकामा यस श्लोकलाई रोजेको रहेछु–
'म खाऊँ मै लाऊँ ..........................
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी'
अवश्य यो उत्तम छ तर यसलाई सर्वोत्तम भन्दा 'तरुण तपसी' का कैयौँ उत्तमोत्तम कविताप्रति अन्याय तथा अनुचित व्यवहार हुन जान्छ ।
दृष्टान्तमा–'खडेरीले पोल्दा तन सब शुक्यो ............... '
'विधाताको लीला-वश पयर विस्तार थिरियो '
'जसै बल्झे माखा ....................... '
'म जन्मेको मात्रै तन शिथिल ................. '
'कहाँ मेरो त्यस्तो तप-नियमको सिद्धि-सपना'
'कतै छाला लत्क्यो ...........................'
'कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन'
'गुणी ज्ञानी ध्यानी ऋषिमुनिहरूसम्म सकल'
'थिये खाली दोटा करङ बिचराका ........... '
'म रुन्थेँ साथैमा दिन पनि अँध्यारो मुख गरी,
सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ।'
'लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको'
'म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी'
'पखेटाको हम्को,स्वर-मधुरिमा कण्ठतटको'
'व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमा'
'चरीको त्यो 'चीँ चीँ-मय' रुदन वा क्रन्दन कडा'
'निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा'
'शिकारीको झम्टा ........................'
'कुनै वेला तिम्रो गृह र फुलबारी वरिपरि'
'न शक्छौ यो आँशू टप टप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चँड्यौ व्यर्थै मेरो मनुज ! तिमिले जीवन किन ?'
'हवामा पौडन्थेँ................................'
'कदाचित् त्यो मेरी प्रणय-पुतली ............... '
'सिला खोजी चर्ने .....................'
'दया हो पृथ्वीको अति चहकिलो पारसमणि'
'म गर्ने हूँ मर्छू तर तिमि नराम्रोसित चुक्यौ',
'चुचो साह्रै सानू ..............................'
'कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्'
'चराको झैँ तिम्रो गगनतलमा सर्र उडने'
'चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा'
'विधाता माताको स्तनयुगलमा स्तन्य रसको'
'सबैकी साजा छन् धरणि जननी ............. '
'अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला'
'जती शक्छस् कालो गगनपथ आलोकित गरा'
'कुनै द्यौता जस्ता सुघर सुकिला बाहिर भने'
'जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका'
'थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली'
'म सम्झ्यो मै मात्रै, गुरुचरण सम्झ्यो गुरु गुरु'
'जटा मासू छाला सहित हितको जीवन पनि'
यसरी उद्धृत गर्न थालेको पक्षमा प्रायः 'तरुण तपसी' का जम्मै श्लोक उद्धरणमा आउँछन् किनभने लेखनाथीय कविताको प्रकृति नै यस्तो छ, विशेष गरेर 'तरुण तपसी' मा लेखनाथको पूर्ण प्रकाश छ ।
(१) हामी जब प्रत्येक श्लोक छुन्छौँ अनि कुनै सुर लागेको तारमा हात परेजस्तो हुन्छ, त्यो बज्दछ । लेखनाथका पदपद सङ्गीतमय छन् । उनीभन्दा अगाडिका नेपाली भाषामा लेख्ने कविहरूमा भानुभक्तको शैली सरल र मीठो छ, तर लेखनाथको स्पर्शले नेपाली कवितामा युगपरिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो । लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो । उनीभन्दा पछाडिका कविहरू पनि अवश्य उनीबाट प्रभावित भएका छन्, परन्तु जुन विशिष्ट गुण छ त्यो उनैसित सुरक्षित छ जुन कसैले राम्ररी हात पार्न सकेका छैनन् ।
अहिले अरू कुरालाई पन्छाएर केवल शैलीलाई लिँदा पनि जब हामी एक एक श्लोक एक एक पाउ पढ्दै जान्छौँ हामीलाई कुनै दिव्य सिँढी उक्लँदै गएको अनुभव हुन्छ– कत्रो गाम्भीर्य ! कत्रो गुरुता ! पदपदमा कस्तो चमत्कृति ! लेखनाथ 'तरुण तपसी' मा स्पष्ट रूपले अद्वितीय छन्, कति धनी लेखनी !
(२) रूखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन्, कसैकसैले अद्भुत कल्पना पनि गरेका छन् परन्तु रूखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन् त्यो संसारको काव्यजगत्लाई नै एक सृष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधना तथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर 'तरुण तपसी' जस्तो सर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । त्यसमा हामी त्यतिसम्म एकाकार पाउँछौँ कि कैयौँ ठाउँमा लेखनाथ बोलेको र रूख बोलेको हामीलाई एकात्मक लाग्दछ । जस्तै–
'जमायेँ लाचारीसित जमिनमा आसन कडा
बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा ।
जती जस्तो आओस् नियतिवश शीताऽऽतप-हुरी
भयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ॥'
यो कसले बोलेको ? रूखले ? हो, तर के यो उही 'पिँजराको सुगा' लेख्ने कविको
असी वर्षको अनुभवी आत्मकहानी होइन ? हो, हो–
'सब सहन शक्ने ननिहुरी'
कविको कत्रो आत्मसम्मान, आत्मविश्वास? यस्तै यो कहिल्यै ननिभ्ने ज्योतिले आफ्ना समकालीन अरू प्रायः सबै कविहरूको प्रतिष्ठानमाथि लेखनाथ तरुण भएर बलिरहेका छन्; नेपाली भाषाको दशा (दियोको बत्ती) सित सदैव बलिरहनेछन्, यसमा सन्देह छैन ।
अगिल्लो भूमिकामा मैले 'तरुण तपसी' लाई प्रसिद्ध 'मेघदूत' र ग्रेको 'एलिजि' सित दाँज्न पुगेको छु । कुनै अवयवमा, आकारमा तथा शैलीमा यिनीहरूको दँजाई उत्तिको अनुचित छैन; अवश्य आश्य कालिदासले मीठा वर्णन गरेका छन्, बादललाई गरेको सम्बोधनमा प्रतिभा झल्केको छ, उच्च कल्पनाहरू छन्, ग्रेको एलिजि पनि सुन्दर छ; परन्तु एकदेशीय छन् । 'तरुण तपसी'- ले एउटा वृक्षको रुदनलाई मात्र बुझेको छैन उसले समस्त मानवजातिका आस्था, अहङ्कार, भावना, प्रेम र दौर्बल्य, उच्चता र नीचतालाई समातेर दर्शन गराएको छ, यति मात्र होइन भविष्यलाई समेत औँल्याएर आधुनिक उच्छृङ्खलतालाई सावधान हुने सन्देश दिएको छ, त्यो पनि कति सुन्दर कलाले–
'मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥'
नेपाली रुचि र परम्पराअनुसार 'तरुण तपसी'-मा तरुको कल्पना प्रतीकवादी भएको छ, त्यसो हुँदाहुँदै पनि कविता दोबरिए पनि त्यो पातलो रेशम अथवा नाइलनले छापेजस्तो स्पष्ट देखिने भएको छ।
(३) कविशिरोमणि लेखनाथको कलमले ढुङ्गा, मूढा, रूख, पात, डोको, नाम्लो जेलाई छोए पनि त्यो सुन्दर कवितामय हुन्छ, 'सत्यकलि संवाद' को–
'काढी तरक्क पसिना दिनरात डोको
बोके पनि उदरगर्त रहन्छ भोको'
यो जस्तै यसमा पनि–
'कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी
निचोर्दै छू तेरो समझ अथवा ज्ञान-गठरी'
यस्ता अनेकौँ उदाहरण उत्रन सक्तछन् । अझ जब लेखनाथ चरालाई छुन्छन् तब उनी यथार्थमा द्विज बन्दछन्– लाग्दछ, उनी चराको भाषा बुझ्दछन् । मन उठ्तछ 'षष्ठ विश्राम' यहाँ फेरि जम्मै उतारूँ, तर अहिले म चारैतिरबाट सोहोरी भूमिकालाई छोट्याउने प्रयत्न गरिरहेको छु । तैपनि यी दुई पङ्क्ति
उद्धृत गर्दछु- यसमा ध्वनि अनन्तसम्म प्रतिध्वनि भएझैँ मलाई लाग्दछ–
'चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा
सुनेथेँ त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ।'
अनि 'करुणमय त्यो कथा' प्रारम्भ हुन्छ : 'शिकारीको झम्टा' ले मानिसको हृदयको कठालो समातेर कवि हामीलाई आदर्श कवितामा हाम्रो अनुहार देखाइदिन्छन्, हामी लाज पचाउन सक्तछौँ तर चिन्तन नगरी सुख छैन, अनि हामी आफूलाई रुँदै मासु खान लागेको पाउँछौँ । 'शिकारीको झम्टा' ले भन्दा लेखनाथको एक एक कविताले हामीलाई झम्टन्छ, झम्टा दिन्छ । महाकवि देवकोटाको 'हुरीको गीत' लाई म यहाँनेर सम्झन्छु, त्यो आँधीबेहरी लेखनाथमा छैन, उनमा त मन्द मधुर सुगन्ध शीतल कस्तूरीको सुवास आउने हिमालयमारुतको गति छ, तर कति ओजस्वी गौरवपूर्ण पाउ, एक एक चरणले हृदयको द्वार घचघच्याउँछ । अनि सप्तम विश्राममा गएर करुणरसले यसरी विश्राम लिन्छ–
'चरीले छादेको फगत दुइ थोपा रगतमा'
हुन ता लेखनाथले कवितालाई सदैव सदुपयोग गरेका छन्, उसमाथि पनि उनका कविता सधैँ अनेक वाद र सङ्कुचित साम्प्रदायिकताभन्दा माथि केवल मानवतामा आधारित छन् तथापि यी सब गुणलाई एकातिर राखेर पनि कविता निरपेक्ष सुन्दर हुन सक्छ भन्ने उदाहरणको निमित्त त लेखनाथ सर्वश्रेष्ठ छन्, यो उनको प्रतिभालाई तपस्याले दिएको आशीर्वादको परिणाम हो ।
यसरी 'तरुण तपसी'-का उन्नाईस विश्राम लगाएर उनले रूखलाई जिउँदो महात्मा बनाए, आफू पनि कविऋषि बने । रूखमन्तिर बास; रूखको बाल्यकाल; पशुहरूको र रूखको सम्बन्ध; विभिन्न ऋतुमा रूख; रूखमा चरा; चरीको चीँ चीँ; रूखको शान्ति; धनी र गरीब; भोको अतिथि; धनसञ्चय; क्रयविक्रय; जूनकीरी; पसीनाको खिँचातानी; अन्धविश्वास; धर्म र विज्ञान, समाधि; निष्काम कर्म; हाँसो; अनि रूखको रूखै; यस किसिमले उन्नाईस दृष्टिकोणबाट रूखलाई हेर्दै र रूख चढेर मात्र होइन त्यसभित्र पसेर संसारलाई हेर्दै कविले यस काव्यलाई सगरमाथाको राष्ट्रसुहाउँदो बनाए ।
स्वास्थकर प्रतिस्पर्धा साहित्यको उत्थान गर्ने प्रवृत्ति हो । लेखनाथपछिका कविहरू र अत्याधुनिक कविहरूले कविताशैली अथवा कवितात्मक सौन्दर्यचेतनापट्टि लेखनाथसित हार खाए । क्रमशः त्यतापट्टिको साधनामा ह्रास हुँदै गयो । सौन्दर्यचेतना होइन विशुद्ध चेतनापट्टि कविहरूले प्रगति गर्दै गए । लेखनाथपछि नै बाहिरी संसारका साहित्यको प्रभावले नेपाली साहित्यजगत् प्रभावित भयो, १९९२ अझ १९९३ साल कार्तिकदेखि अमेरिकाका वाल्ट ह्विटम्यानका स्वच्छन्दताले नेपाली साहित्यमा प्रवेश गर्यो । आधुनिकताको नाममा इज्रापाउण्ड, टि.एस.इल्यट र फ्रान्सका कविहरूबाट पनि हाम्रा कविहरू प्रभावित भए । अवश्य कविहरूमा आत्मानुभूति, आत्मसम्मान, आत्माभिमान, अस्तित्व-चैतन्य, असन्तोष, संवेदनशीलता, संशोधनीय भावनाहरू अन्य देशका प्रसिद्ध कविहरूमा जस्तै अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्, आधुनिक दुष्टिकोणले कविहरूमा त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ । म फेरि दोहोर्याउँछु– पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति हामीलाई प्रशंसा गर्नुपरोस, तर र्याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै धमिलिने छैन ।
२०१० सालमा 'तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमाणलाई रथमा राखेर सबले ताने । स्वर्गीय श्री ५ त्रिभुवनबाट पनि अभिनन्दन प्रकट भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित् जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ ।
अन्त्यमा म यही भनेर भूमिका टुङ्ग्याउँछु– लेखनाथले नेपाली भाषाको ऋण तिरे तर यो कुरा कविको कानमा नपरोस्, कविलाई चाहिँ लागोस्– 'म अझै ऋणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्, जुन नढली फल दिन छोड्दैन । हामी रसास्वादन गर्न पाइरहौँ उनी चाहिँ सदैव हरियो, तरुण र चिरजीवी होऊन् ।
ज्ञानेश्वर
काठमाडौं
२०२१ चैत्र ९
बालकृष्ण सम